काठमाडौं । नेपाल अटो मेकानिक्स व्यवसायी संघको साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । शनिवार सम्पन्न अधिवेशनमा अध्यक्ष ठाकुरप्रसाद न्यौपाने चयन भएका छन् । न्यौपाने यस अघि महासचिव पदमा कार्यरत थिए । साधारण सभाको उद्घाटन गर्दै मन्त्री विष्टले दक्ष जनशक्तिको अभाव भए तापनि लाखौ नेपाली विदेश पलायन भएको अवस्थामा अटो मेकानिक्स क्षेत्रले हजारौलाई रोजगारी प्रदान गरिरहेको जानकारी दिएकाे छ । आगामी दिनमा आत्म सम्मानका साथ वातावरण निर्माणका लागि सहयोग गर्ने बताए ।
अटो मेकानिक्सको रोजगारी र सहरको सुन्दरताका लागि सबै वर्कसप एकै स्थानमा उपलब्ध ‘अटोल्यान्ड’ आवश्यक भएको र यसका लागि स्थानीय निकायसँग समन्वय गर्नका लागि सरकारले सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गरेको छ । सर्वसम्मतिका आधारमा चयन भएको कार्यसमितिको प्रथम उपाध्यक्ष माधवबहादुर रिमाल, द्वितीय उपाध्यक्ष दिपेन्द्र बुढाथोकी, महासचिव सुशील ढकाल, सचिव सुमनप्रसाद सुवेदी, कोषाध्यक्ष मोहम्मद अस्फाक र सहकोषाध्यक्ष डालप्रसाद भट्टराई छन् ।
त्यसैगरी सदस्यहरुमा मोहम्मद अयुब, इन्द्रबहादुर प्रधान, बुद्धिकृष्ण गजुरेल, बद्रीकुमार श्रेष्ठ र आस मोहम्मद चयन भएका छन् । बाँकी २ जना सदस्य कार्यसमितिले मनोनित गर्नेछ । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष राजेन्द्र मल्लले देशमा भएका सबै सवारी साधनको गुणस्तरयुक्त तरिकाले मर्मत गर्नका लागि राम्रो वातावरण निर्माण गर्नु पर्ने आवश्यकता भएको र यसका लागि सहकार्य गर्न चेम्बर पनि तयार भएको बताए ।
अटो मेकानिक्स व्यवसायी संघका निवर्तमान अध्यक्ष दीपक खड्काले वैदेशिक रोजगारीका कारण अटो मेकानिक्स र प्राविधिकहरु विदेश पलायन हुने क्रम बढेकाले यसका लागि देशमा ठूला पूर्वाधार निर्माणको आवश्यकताका साथै महानगर, उपमहानगर र नगरपालिकाहरुमा अटोल्यान्ड निर्माण गर्नु पर्ने आवश्यकतामा जोड दिए ।
