
काठमाडौं । के नविल बैंकको आफ्नो खातामा २५ हजार रुपैंयाँ नगद छ ? त्यसो भए पाउनुस ३ लाख रुपैंयाँसम्मको घातक रोग बीमा र ७५ हजार रुपैंयाँको मृत्यु लाभ बीमा ।
नविल बैंकले आफ्नो खातामा २५ हजार रुपैंयाँ भन्दा बढी नगद मौज्दात राख्ने ग्राहकहरुलाई १३ वटा घातक रोगहरुको उपचारका लागि ३ लाख रुपैंयाँसम्म उपचार खर्च दिनेछ । त्यस्ता खाता वालहरुको मृत्यु भएमा आश्रित परिवारले अतिरिक्त ७५ हजार रुपैंयाँ मृत्यु लाभ बीमा पनि पाउनेछन् ।
नविल बैंकले मेट लाईफसँगको सहकार्यमा यस्तो योजना ल्याएको हो जसबाट अहिले नै नविल बैंकको खातामा २५ हजार भन्दा बढि नगद मौज्दात भएका ३ लाख ग्राहक लाभाम्वित भएका छन् । नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले १६ बर्षदेखि ६४ बर्षसम्मका नेपाली नागरिकहरुले यस्तो सुबिधा पाउने जानकारी दिए ।
रोग लागेको प्रमाण खुल्ने कागजात बुझाएको ३० दिनभित्र ३ लाख रुपैंयाँ भुक्तानी दिने मेट लाइफका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले बताए । उपचार गरेको बिल भौचर बुझाएपछि मात्रै दावी भुक्तानी पाइने समस्या यो बीमा पोलिसीमा नरहेको स्पष्ट पारे ।
नविल र मेट लाइफको सहकार्यबाट आएको यस्तो योजना मंसिर ८ गतेबाट नै लागु भैसकेको छ । बैंकले १३ वटा रोगहरु क्यान्सर, हृदयघात, कलेजो खराबी, फोक्सो खराबी, मृगौला खराबी, स्ट्रोक, कोभा, मुटु भल्भ सर्जरी, हेपटाईटिस, एप्लास्टिक,एनिमिया, गंभीर कोलोनरी धमनी, प्राथमिक पल्मोनरी उच्च रक्तचाप, प्रमुख अंग बोन /म्यारो प्रत्यारोपणका लागि ३ लाख उपचार खर्च दिने योजना ल्याएको हो ।