काठमाडौं। प्रदेश ३ सरकारले ‘एक विद्यालय एक नर्स’ कार्यक्रम संचालन गर्ने भएको छ। दुई वर्षअघि संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘एक विद्याल एक नर्स’ कार्यक्रम संचालनमा ल्याउने योजना बनाएको थियो।
कार्यक्रम संचालनका लागि प्रदेश ३ को सामाजिक विकास मन्त्रालयले प्रदेशभित्रका सामुदायिक विद्यालयका प्राध्यानाध्यापक, स्थानीय पालिकाका प्रतिनिधि लगायतलाई एक दिने अभिमूखीकरण तालिम प्रदान गरेको छ।
पहिलो चरणमा छनौट गरिएका १३ जिल्लाका २० विद्यालयमा यो कार्यक्रम संचालन गरिने जानकारी प्रदेश ३ को सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ।
कार्यक्रम अन्तर्गत परिवार नियोजन, यौन तथा यौनिकता, व्यक्तिगत र वातावरणीय सरसफाई तथा फोहोरमैला व्यवस्थापनसम्बन्धी परार्मश सेवा प्रदान गरिने लक्ष्य लिइएको छ।
यसैगरी, स्वस्थ जीवनशैली, स्वस्थकर खानपिनका सम्बन्धमा परामर्श र विद्यालय स्वास्थ्य इकाई निर्माण गरी विद्यार्थीलाई स्वास्थ्य सेवा पनि प्रदान गरिनेछ।
सामान्य स्वास्थ्य परीक्षण, पोषण लेखाजोखा, नियमित स्वस्थ जीवनशैलीबारे जानकारी गराउन, प्राथमिक उपचारको व्यवस्था, अभिभावक-बालबालिकाको स्वास्थ्य र स्वस्थ जीवनशैलीका बारेमा जानकारी गराउने लगायतका काम पनि विद्यालयका नर्सले गर्नेछन्।