नेपाल पुनर्बीमा कम्पनी पाँच वर्षमा प्रवेश, एक अर्ब १३ करोड नाफा कमाउन सफल

<p>काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड पाँच वर्षमा प्रवेश गरेको छ । कम्पनीले मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी पाँचौ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा बीमा व्यवसायको विस्तार र विकासमा पनि कम्पनीले महत्वपूर्ण योगदान गरेको बताएका छन् । साथै, अर्थमन्त्री डा. खतिवडाले भविष्यमा कम्पनीको क्षमता समेत बढ्दै [&hellip;]</p>

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड पाँच वर्षमा प्रवेश गरेको छ । कम्पनीले मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी पाँचौ वार्षिकोत्सव मनाएको छ ।

वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा बीमा व्यवसायको विस्तार र विकासमा पनि कम्पनीले महत्वपूर्ण योगदान गरेको बताएका छन् । साथै, अर्थमन्त्री डा. खतिवडाले भविष्यमा कम्पनीको क्षमता समेत बढ्दै जाने अपेक्षा राखेका छन् ।

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले विदेशी बिमकले गर्ने पुनर्बीमाको उल्लेख्य हिस्सा स्वीकार गरी सेवा दिन सफल भएकोमा कम्पनीलाई बधाई दिएका छन् । कम्पनीका अध्यक्ष महेशकुमार गुरागाईंले नेपालको एकमात्र पुनर्बीमा कम्पनीको उद्देश्य नेपाली बीमा बजारको सुदृढीकरण गर्न बिमकहरुलाई सहयोग गर्नु रहेको बताएका छन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले बीमा व्यवसायलाई समयसापेक्ष बनाउन आफ्नो दक्षता अभिवृद्धि गर्दै अन्तर्राष्ट्रियस्तरको पुनर्बीमा सेवा दिने प्रतिबद्धता जनाउँदै तेस्रो मुलुकबाट बढी भन्दा बढी व्यवसाय गर्ने योजना रहेको बताए । केही महिनाभित्रै सर्वसाधारणलाई कम्पनीको सेयर जारी गर्ने पनि उनले जानकारी दिए । उक्त अवसरमा कम्पनीका उत्कृष्ट कर्मचारी श्रीमती बिनिता खनाल र सूश्री अनिता गौतमलाई नगद पुरस्कारका साथ सम्मान गरिएको थियो ।

नेपाल सरकारको प्रमुख लगानी रहेको यस कम्पनीको ८ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी छ । सर्वसाधारणलाई १ अर्ब ६० करोड सेयर बाडफाँड पश्चात चुक्ता पूँजी १० अर्ब रुपैयाँ पुग्ने छ । कम्पनीले गत आर्थिक वर्षमा करिब चार अर्ब प्रिमियम संकलन गरी एक अर्ब १३ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।

Share News