काठमाडौं । कम्पनीको सञ्चालक समितिले गरेको निर्णयलाई मात्र सर्वोपरि मानेर त्यसैअनुसार शेयर बजारमा लगानी गर्न/लगानी झिक्न चाहने लगानीकर्तालाई लाइफ इन्स्योरेन्स कर्पोरेसनले गतिलो सन्देश दिएको छ ।
इन्स्योरेन्स सञ्चालक समितिको गत साउन २४ गते बसेको बैठकले शेयरधनीलाई ३६ प्रतिशत बोनस सेयर तथा उक्त बोनस सेयरबापत लाग्ने कर प्रयोजनका लागि १.८९ रुपैंया नगद लाभांश दिने गरी गरिएको प्रस्तावलाई बीमा समितिले अस्वीकार गरी वित्तीय विवरण संशोधनका लागि निर्देशन दिएपछि सञ्चालक समितिको शनिबार पुनः बैठक बसी १२ प्रतिशत बोनस शेयर तथा त्यसमा लाग्ने ०.६३ प्रतिशत नगद लाभांश दिने संशोधित प्रस्ताव गरेको छ । यो स्रस्तावलाई बीमा समितिले स्वीकृत गरेपछि शेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन् ।
उक्त प्रस्तावसँगै आइतबारको शेयर बजारमा सो इन्स्योरेन्सको शेयर मूल्यमा भारी गिरावट आएको छ । आइतबारको शेयर बजारमा एलआईसीले सर्वाधिक मूल्य गुमाएको छ । कम्पनीको शेयर मूल्यमा ५.६३ प्रतिशतले गिरावट भई १५०० रुपैंयामा अन्तिम कारोबार भएको छ । समग्रमा दोहोरो अंकको गिरावट आएको बजारमा कम्पनीको मूल्यमा आएको गिरावट सामान्य देखिए पनि लगानीकर्तालाई सञ्चालक समितिको निर्णयलाई नै अन्तिम मान्ने प्रचलनप्रति सावधान रहनुपर्ने सन्देश दिएको छ ।