काठमाडौं। प्राध्यापक यादवराज कोइराला संयोजकत्वमा गठन भएको कार्यदलले विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर नेपालमा पठनपाठन गरिरहेका शिक्षण संस्थालाई नियन्त्रण गर्नुपर्ने सुझाव दिएको छ। शिक्षामन्त्री गिरीराजमणि पोखरेललाई बुझाएको प्रतिवेदनमा यस्तो सुझाव दिएको छ।
कार्यदलको सुझावमा विदेशी पाठ्यक्रम अनुसार पढाइ सञ्चालन भइरहेका कलेजले पाँच वर्ष भित्रमा २० प्रतिशत पाठ्यक्रम नेपाली परिवेश अनुसार बनाउनुपर्ने, नेपाली विश्वविद्यालयमा पढाइ भएका भन्दा फरक पाठ्यक्रम रहेका विषयको मात्र पढाइ सञ्चालन गर्न अनुमति दिनुपर्ने छ।
एउटा शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका क्याम्पसमा न्यूनतम पाँचजना पूर्णकालिन शिक्षक नियुक्त गर्नुपर्ने व्यवस्था गर्न भनिएको छ। प्रतिवेदन तयार गर्ने क्रममा कार्यदलले राजधानी तथा बाहिरका २२ वटा यस्ता क्याम्पसमा अध्ययन गरेको थियो।