काठमाडौँ । भूकम्पका कारण क्षतिग्रस्त भएका ६० प्रतिशत विद्यालयको पुनर्निर्माण सकिएको छ । २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण मुलुकभर ७ हजार ५ सय ५३ विद्यालयमध्ये ४ हजार ९८ विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ । १ हजार ९९० निर्माणधिन, ३७७ वटा छनोट र १ हजार ९७ वटा विद्यालय निर्माण हुन बाँकी छन् ।
शिक्षा मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका प्रमुख निर्देशक इमनारायण श्रेप्ठका अनुसार कुल ३३ हजार ४ सय ३५ कक्षाकोठामा पूर्ण, अधिक र आंशिक क्षति पुगेको थियो । त्यसमध्ये १६ हजार १ सय ६० कक्षाकोठाको पुनर्निर्माण भइसकेको बताए । उनले भने आगामी २ वर्षमा भित्र विद्यालय पुनर्निर्माण सम्पन्न हुन्छ ।
भूकम्पका कारण २१ हजार १ सय ६९ कक्षाकोठा पूर्णरुपमा, १२ हजार ५ सय २२ कक्षाकोठा अधिक रुपमा र १५ हजार ९ सय ९० ओटा कक्षाकोठा आंशिक रुपमा क्षति भएका थिए ।
विद्यालय निर्माणमा विद्यालय व्यवस्थापन समिति, गैरसरकारी संस्था र निर्माण व्यवसायी मार्फत् निर्माण गरिएको छ । विद्यालय व्यवस्थापन समिति मार्फत् हालसम्म ३ हजार २ सय ९४, निर्माण व्यवसायीमार्फत् ३७ र गैरसरकारी संस्था मार्फत् ७ सय ५८ ओटा विद्यालयको पुनर्निर्माण भइसकेको छ ।
भूकम्प आपत्कालीन विद्यालय पुननिर्माण आयोजना, यूएसआईडीको सहयोगमा विद्यालय पुनर्निर्माण आयोजना, भूकम्प प्रभावित समुदायका लागि विपद् जोखिम न्यूनीकरण परियोजना, भारत सरकारको सहयोगमा पुनर्निर्माण, चीन सरकारको सहयोगमा विद्यालय पुनर्निर्माण, विपद् उत्थानशील विद्यालय आयोजना, गैरसरकारी संस्थाबाट विद्यालय पुनर्निर्माण, विद्यालय व्यवस्थापन समितिबाट विद्यालय पुनर्निर्माण तथा तत्कालीन शिक्षा विभागमार्फत् विद्यालयको पुनर्निर्माण भइरहेकोे छ ।
हालसम्म विद्यालय पुनर्निर्माणमा २६ अर्ब रुपैयाँ खर्च भइसकेको प्राधिकरणले जनाएको छ । त्यसबाहेक विद्यालय पुनर्निर्माणपछि चाहिने थप अन्य सहायक सुविधा शौचालय, खानेपानी, मैदान तथा भवन निर्माणका लागि थप २५ अर्ब रुपैयाँ लाग्ने प्राधिकणका केन्द्रीय आयोजना कार्यान्वयन एकाई शिक्षाका कार्यकारिणी सदस्य धुव्रप्रसाद शर्माले जानकारी दिए । उनले विद्यालयको पुनर्निर्माण तीव्ररुपमा भइरहेको र चालू आर्थिक वर्षभित्रै ८० प्रतिशत विद्यालयको पुनर्निर्माण गर्ने लक्ष्यअनुसार काम भइरहेको बताए ।
उनका अनुसार हाल १३ सय ७९ संरचनाको पुनर्निर्माण सुरु गर्न नसकिएको, ३ हजार ८ सय १६ विद्यालय सम्पन्न भएको र २ हजार ३ सय ७९ विद्यालयको पुनर्निर्माण भइरहेको बताए । भूकम्पका कारण मुलुक ३२ जिल्लामा रहेका शैक्षिक संस्था तथा विद्यालयमा क्षति पुगेको थियो ।