
काठमाडौं । उत्तर भारतको एक अग्रणी स्वास्थ्योपचार सेवाप्रदायक संस्था म्याक्स हेल्थकेयरले नेपालमा सेवा विस्तार गरेको छ । कम्पनीले शनिवार एक समारोहबीच काठमाडौंमा अत्याधुनिक सुविधा सम्पन्न विरामी सहायता केन्द्रको शुभारम्भ गरेको हो ।
केन्या, म्यानमार, इराक, इथियोपिया, नाइजेरिया र उजवेकिस्तानमा सेवा सञ्चालन गर्दै आएको कम्पनीले नेपालमा पनि सेवा विस्तार गरेको हो । उपचारका लागि भारत जाने नेपालीहरुको संख्या उल्लेख्य भएकोले नेपालमा सेवा केन्द्र सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।
नेपालमा स्वास्थ्योपचार क्षेत्रमा निजी हस्पिटलहरु र डायग्नोस्टिक केन्द्रहरुको संख्यात्मक वृद्धि भएको अवस्थामा म्याक्स हेल्थकेयर नेपालमा आएको हो । ‘हामीले म्याक्स हेल्थकेयरमा नेपालबाट मात्रै वर्षेनी सयौं विरामीहरुलाई स्वास्थ्य सेवाप्रदान गर्ने गरेका छौं । यो नयाँ विरामी सहायता केन्द्र म्याक्स हेल्थकेयरले विश्वभरका विरामीहरुलाई विश्वस्तरीय स्वास्थ्यउपचार सेवा गर्न गरेको प्रतिबद्धताकै एक बिम्ब हो’ कम्पनीले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
कम्पनीका अनुसार विरामी सहायता केन्दको शुभारम्भसँगैं म्याक्स हेल्थकेयर, नयाँ दिल्लीद्वारा उपलब्ध गराइरहेको विश्वस्तरीय स्वास्थ्य उपचार सेवामा नेपालका जनताहरुको पनि पहुँचपुग्नेछ । विरामीहरुले टाढै बसेर टेलि–परामर्शको मद्दतले सम्भावित जिज्ञासाहरुको समाधान प्राप्त गर्न समर्थ हुनेछन् । यस विरामी सहायता केन्द्रले नेपालमा म्याक्स हेल्थकेयरका डक्टरहरुद्वारा शल्यक्रिया सम्बन्धी सुविधा पनि प्रदान गर्नेछ र म्याक्स हेल्थकेयरमा उपचार गराई फर्किएका नेपाली विरामीहरुलाई फलो–अप उपचार सेवा पनि उपलब्ध गराउनेछ ।
‘हामीले प्रत्येक महिना ४० जना विरामीहरुलाई नजिकबाट हेरिरहेका छौं’ कम्पनीले भनेको छ ‘हामीसँग हरेक महिना ७०–८० जना विरामीहरुले सेवा लिने अपेक्षा गरिरहेका छौं ।’
‘हाम्रो लक्ष्यभनेको स्थानीय स्वास्थ्योपचार सेवा प्रदायकहरु बिएनबि हस्पिटल, स्टार हस्पिटल, मेडिसिटी, आदिसँग नजिकमा रहेर काम गर्ने, क्लिनिसियनहरु र नर्सिङ स्टाफहरुको एक कार्यदल खडा गर्ने रहेको छ । एकीकृत कार्यक्रमअन्तर्गत डक्टर र स्टाफ प्रशिक्षण कार्यक्रमहरु, म्याक्स हेल्थकेयरका विज्ञहरुबाट स्थलगत परामर्शहरु र प्रक्रियाहरु एवं हस्पिटल व्यवस्थापनमा प्रभावकारिता अभिवृद्धि गर्ने रहेका छन्’ सिटिभिएस दिल्ली एण्ड एनसिआर, कार्डियाक साइन्स–कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जरी, म्याक्स सुपर स्पेसियालिटी हस्पिटल, साकेतकासिनियर डाइरेक्टर डाक्टर रजनीस मल्होत्राले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भने ।
म्याक्स हेल्थकेयरले उत्तर भारतको १२ स्थानहरुमा ३० वटाभन्दा बढी मेडिकल तहहरु संचालन गर्दछ । यसमध्ये दिल्ली र एनसिआरमा ९ वटा छन् भनें बाँकी अन्य मोहाली, बथिण्डा र देहरादुनमा रहेका छन् । म्याक्स हेल्थकेयरको सञ्जालमा रहेका १२ वटा हस्पिटलहरुसँग २,२०० डाक्टरहरु, ९,३ ०० कामदारहरुको संलग्नता छ भनें ८० भन्दा बढी राष्ट्रका २५ लाख विरामीहरुले उपचार गराएको रेकर्ड छ ।