
एजेन्सी । भारतमा शनिबारदेखि हुलाक कार्यालयबाट बैकिङ कारोबार सुरु हुने भएको छ । भारत सरकारले शनिबारदेखि हुलाक कार्यालयमा खाता खोल्ने गरी इण्डिया पोष्ट पेमेन्टस् बैंक सञ्चालनमा ल्याउने भएको हो ।
प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार राजधानी नयाँदिल्लीस्थित तलकातोर स्टेडियमबाट ६५० शाखा र ३ हजार २५० एक्सेस प्वाइन्टबाट एकैपटक कारोबार शुरु गर्ने छन् । पोष्ट पेमेन्टस् बैंकमा बचत तथा चल्ती खाता खोल्नुका साथै मनि ट्रान्फर, युटिलिटी पेमेन्ट, इन्टरप्राइजेज र मर्चेन्ट पेमेन्ट कारोबार हुने फाइनान्सियल एक्सप्रेसले जनाएको छ । भारतले वित्तीय समावेशीका लागि पोष्टल बैंक सञ्चालनमा ल्याउन लागेको हो ।
पोष्टल बैंक भारत सरकारको शतप्रतिशत स्वामित्व खुलेको हो । भारतले वित्तीय पंहुच बढाउन र समावेशी बैंकिङ अवधारणा कार्यान्वयनका लागि नयाँ बैंक अवधारणा लागु गर्न लागेको हो । यसअन्तर्गत १ लाख ५५ हजार हुलाक कार्याल यस बैंकमा जोडिने भएका छन् ।
यो बैंक सञ्चालनमा आएपछि एयरटेल पेमेन्ट बैंक र पेटम पेमेन्टस् बैंकले प्रतिस्पर्धा गर्नुपर्ने छ । नयाँ बैंकको प्रविधि विकासमा ४० अर्ब र मानव संशाधन खर्च २३ करोड ५० लाख भारु हुने जारी गरिएको प्रेश विज्ञप्तिमा उल्लेख गरिएको छ ।