
काठमाडौं । सांग्रीला डेभलपमेन्ट बैंक लिमिटेडले नवनियुक्त कर्मचारीहरुलाई १० दिने अभिमुखीकरण तथा बैंकिङ्ग तालीम सम्पन्न गरेको छ । नवनियुक्त कर्मचारीहरुलाई शाखामा पठाउनुभन्दा पहिले सामाजीकरण गराउने र बैंक सम्बन्धित कामहरु तथा नीति नियमको बारेमा जानकारी दिने र सिकाउने उदेश्यले अभिमुखीकरण तालीम राखेको हो ।
बैंकले यही भदौ १ गते देखी १० गतेसम्म दिएको तालिममा नवनियुक्त ६५ जना कर्मचारी सहभागी भएका थिए । उक्त तालिममा नवनियुक्त कर्मचारीहरुलाई बैंकले प्रदान गर्ने सेवा सुविधा सम्बन्धि आवश्यक तालिम प्रदान गरेको थियो ।
१० दिने कार्यक्रमको समापन कार्यक्रममा बोल्दै बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले यस किसिमको तालिमले नवनियुक्त कर्मचारीहरुको कार्यकुशलता बढ्ने र कर्मचारीले यस्ता तालिमबाट आफुले सिकेको कुरा प्रयोगमा ल्याउनु पर्ने बताएका छन् ।
यसैगरी, निमित्त प्रमुख कार्यकारी अधिकृत तथा कर्जा तथा मार्केटिङ्ग प्रमुख निर्मलकुमार श्रेष्ठले यस्ता कार्यक्रमले कर्मचारीको आत्मविश्वासमा समेत बृद्घि गरि बैंकको प्रतिनिधित्व गर्न थप उर्जा प्रदान गर्ने बताए ।