काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यमा १ अर्ब ६० करोड रुपैयाँ बराबरको १ करोड ६० लाख कित्ता आईपीओ निष्कासन गर्न लागको हो ।

आईपीओ निष्कासन गर्न नेपाल पुनर्बीमाले आरबीबी मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । आईपीओ निष्काशन सम्बन्धी सम्झौता—पत्रमा पुनर्बीमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) चिरायु भण्डारी र आरबीबीका सीईओ डा.रमेशकुमार भण्डारीले हस्ताक्षर गरेका छन् ।
पुनर्बीमाको अधिकृत पूँजी १५ अर्ब, जारी पूँजी १० अर्ब, र चुक्ता पूँजी ८ अर्ब ४० करोड रुपैयाँ छ । आईपीओ निष्कासन बाँडफाँड पश्चात संस्थाको चुक्ता पूँजी १० अर्ब रुपैयाँ पुग्ने छ । सार्वजनिक तथा निजी साझेदारी नीति अन्तर्गत सरकारको समेत स्वामित्व रहेको कम्पनीले ०७२ साउन १ गतेदेखि पुनर्बीमाको कारोवारको शुरु गरेको हो ।
गत आर्थिक वर्ष २०७४/०७५ अन्त्यसम्म ४ अर्ब रुपैयाँ पुनर्बीमा शुल्क संकलन तथा ९ अर्ब ४० करोड रुपैयाँ लगानी गरेको छ । गत आर्थिक वर्षमा कम्पनीले १ अर्ब ४० करोड खुद नाफा गरेको जानकारी दिएको छ ।