काठमाडौं । लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकूलपति प्रा. नरेशमान बज्राचार्यको ज्यादती र मनोमानीतन्त्रले विश्व विद्यालय अस्तव्यस्त बन्दै गएको आरोप लागेको छ । लुम्बिनी, रुपन्देहीमा केन्द्रिय कार्यालय रहेको र पठनपाठन पनि नियमित रुपमा केन्द्रमै भैरहेको विश्वविद्यालयको प्रमुख व्यक्ति नरेशमान बज्राचार्य भने अधिकांश समय राजधानीमै बस्ने गरेका छन् ।
प्रधानमन्त्रीकोे कार्यालयले नै पत्र पठाई हरेक विश्वविद्यालयका पदाधिकारीहरु सम्बन्धित ठाँउमा बस्नुपर्ने निर्देशन दिएको थियो । तर उनी भने विभिन्न बहाना बनाई एक वर्षमा करिब १ महिना मात्र विश्वविद्यालयमा हाजिर हुने र बाँकी समय राजधानी तथा विदेश भ्रमणमा बिताउने गरेका छन् । लुम्बिनीमा घरभाडा वापत मासिक २२ हजार रुपैंयाँ बुझ्ने उनी गुम्बामा बस्ने गरेका छन् ।
त्यस्तै विदेश भ्रमणमा जाँदा नियम बिपरित प्रतिदिन दुई सय डलर लिने गरेको पनि स्रोतले बताएको छ । स्मरण रहोस् विश्व विद्यालय अनुदान आयोगका अध्यक्षले विदेश भ्रमण गरे वापत प्रतिदिन २५ डलर मात्र पाउँछन् तर त्यही आयोगले अनुदान दिएर चलेको विश्वविद्यालयले भने आफैं नियम बनाएर स्वयं उपकूलपतिले नै मनोमानी ढंगले खर्च गर्ने गरेका छन् ।
लुम्बिनी विश्व विद्यालयको क्षेत्र विस्तार एवं विकासका लागि ५ नं. प्रदेशका सबै राजनितिक दलहरुको प्रयासबाट देवहमा १०० विघा सरकारी जग्गा प्राप्त हुँदैछ । उनलाई महिला कर्मचारीमाथि हातपात गरेको आरोप पनि विगतमा लागेको थियो । सरकारले लुम्बिनी बौद्ध विश्वविद्यालयको ललितपुर स्थित सम्पर्क कार्यालय केही महिना अघि नै हटाउने निर्णय गरेको थियो । तर उपकुलपति भने अझै पनि बिभिन्न बहानामा राजधानीमै बसिरहेको विश्वविद्यालयको उच्च श्रोतले बतायो । एक बर्षमा उनको ३० देखि ४० दिनमात्रै हाजिरी कायम रहेको श्रोतले बतायो ।
उनीका विरुद्ध विविश्वविद्यालयका अन्य पदाधिकारी र कर्मचारीहरुले मोर्चा बन्दी गरेका छन् । बज्राचार्यले सरकारको अनुमति बिनै १६ पटकसम्म बिभिन्न देशको भ्रमण गरेको पनि श्रोतले बतायो । दोश्रो कार्यकाल पुनः उपकूलपति बन्ने दौडमा लागेका बज्राचार्यलाई रोक्न उनका चार बर्षे क्रियाकलापहरुको फेहरिस्ता कुलपति अर्थात प्रधानमन्त्रीलाई बुझाउने तयारी अन्य पदाधिकारी तथा कर्मचारीले गरिरहेका छन् ।