काठमाडौं । ‘नेपालमा आवास सुबिधा सहितको अन्तर्राष्ट्रिय स्तरको स्कूल नभएकाले व्यवसायिक घरानाका अविभावकहरुले आफ्ना सन्तानहरुलाई भारतका विभिन्न स्कूलमा पढाउन पठाईरहेका छन् । त्यसलाई क्यास गर्ने उद्देश्यले ३ वर्ष अघि विश्वस्तरीय स्कूल सञ्चालन गर्ने योजना बनायौं । त्यसको ६ महिनापछि निर्माण आरम्भ गरियो । र, अहिले १ देखि ५ कक्षासम्म र ११ कक्षाको पढाई सुरु भएको छ’, यो भनाई हो काठमाडौं वर्ल्ड स्कूलका प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालक डा. राजेन्द्र कुमार घिसिङको ।

डा. राजेन्द्र कुमार घिसिङ- प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक, काठमाडौं वर्ल्ड स्कुल
२४ वर्षसम्म जेम्स स्कूलको उच्च व्यवस्थापनमा सम्हालेका घिसिङ यतिबेला एसिया क्षेत्रकै विद्यार्थीहरुका लागि अध्ययन गन्तब्य बनाउने भन्दै ड्रिम प्रोजेक्टको कार्यान्वयनमा जुटिरहेका छन् । भक्तपुरको सूर्यबिनायक नगरपालिका ७ गुण्डुमा रहेको काठमाडौं वर्ल्ड स्कूल नै घिसिङको ड्रिम प्रोजेक्ट हो ।
यो उनको मात्रै होइन, शिक्षा क्षेत्रका चर्चित हस्ती डा. खगेन्द्रप्रसाद ओझा र पछिल्लो समय चौधरी ग्रुपको समेत महत्वकांक्षी परियोजना हो । स्कूल यसै वर्षदेखि सञ्चालनमा आईसकेको छ । ढिलो गरि भर्ना आव्हान गर्दा पनि १ देखि ५ कक्षासम्म ३५ जना विद्यार्थी भर्ना भएका छन भने ११ कक्षामा २२० जनाले अध्ययन गरिरहेका छन् । पहिलो वर्षमै अविभावक तथा विद्यार्थीहरुको उत्साहजनक सहभागीताले हौसला मिलेको बताउँछन घिसिङ ।
हामीले उनलाई एक दर्जन प्रश्न सोध्यौं । घिसिङले उत्साहित हुँदै हाम्रा प्रश्नहरुको जवाफ मात्रै दिएनन्, ड्रिम प्रोजेक्टको फेहरिस्तै सुनाए ।
काठमाडौं वर्ल्ड स्कूल कसरी ?
अन्तर्राष्ट्रिय(इन्टरनेशनल) स्कूल बनाउँदा ५ प्रतिशत विदेशी विद्यार्थी आवश्यक पर्ने नियम रहेछ । त्यसकारण इन्टरनेशनल नाम नराखेर वर्ल्ड स्कुल नामाकरण गरियो । वर्ल्ड स्कूलले पनि पनि विश्वव्यापी मान्यता पाउँछ । देशको राजधानी काठमाडौं र विश्वस्तरीय स्कूल बनाउने योजना अनुसार काठमाडौं वर्ल्ड स्कूल नाम राखएिको हो । यसले विश्वस्तरीय ब्राण्ड पाउनेछ भन्ने आस छ ।
आफ्नै पाठ्याक्रम, विश्वस्तरीय अध्यापन
हामीले दिने शिक्षा भनेको राष्ट्रिय पाठ्यक्रम कै हो । १ कक्षादेखि १२ कक्षासम्म नै स्वदेशी पाठ्यक्रम पढाउँछौं । अर्काे वर्ष अर्थात सन २०७६ सालदेखि क्याम्ब्रिज विश्व विद्यालयको ए लेभल पनि सञ्चालन गर्दैछौं । फरक यति हो कि हामीले स्वदेशी पाठ्यक्रम प्रयोग गरेपनि पढाउने शैली भनेको अन्तर्राष्ट्रिय स्तरको हुनेछ ।

हाम्रो पेडागोजी (शिक्षण पद्दति)मा अहिले संसारभर उत्कृष्ठ कहलिएका अभ्यासहरु हुनेछन् । आजको शिक्षा भनेको पढ्ने/पढाउने मात्रै होइन, एउटा विद्यार्थीका सर्वाङगिर्ण विकासका लागि आवश्यक सबै उपाय अपाउनुपर्छ ।
त्यसका लागि हामीले आइपीसी अर्थात इन्टरनेशनल प्राइमरी करिकुलमको अभ्यास गर्छाै । यसले लण्डनको करिकुलमका आधारमा पेडागोजी बनाएको छ । अहिले आइपीसी शिक्षण पद्दति संसारका १०० वटा देशहरुमा लागू भएको छ । हामी हाम्रै पाठ्यक्रमलाई आइपीसीको ढाँचामा राखेर अध्ययन गराउँछौं ।
कक्षा १ देखि ६ सम्म आइपीसीको पेडागोजी रहन्छ भने ७ देखि १० सम्म आइएमवाईसी (इन्टरनेशनल मिडल इअर करिकुलम) सञ्चानल गर्छाै । त्यो चाँही आइबी (इन्टरनेशनल बाकालाउरियट अर्गनाइजेशन) एजुकेशनसँग नजिक छ । नेपालमा त्यस्तो पद्दति अहिलेसम्म युलेन्स स्कूलले प्लस टुमा मात्रै चलाईरहेको छ । त्यो भन्दा तलको क्लासमा चाँही हामीले चलाउने प्रयास गरिरहेका छौं । नेपाल सरकारको अनुमति, जनशक्तिको व्यवस्थापन लगायतका काममा लामो समय लाग्ने रहेछ । त्यसैले केहि ढिलो हुने जस्तो देखिएको छ ।
माटो सुहाउँने र प्रतिष्पर्धी
हिजोका दिनमा पनि नेपालले दिएको शिक्षा अन्तर्राष्ट्रियस्तरकै थियो । नेपालीहरु आज नासादेखि हार्भडसम्म पुगेका छन, तिनले यहीँ पढेका थिए । नेपालको शिक्षा हिजो पनि राम्रो थियो र आज झन राम्रो बनाउने प्रयासमा हामी जुटेका हौं । आजका दिनमा नेपालीले नेपालभित्र मात्रै प्रतिष्पर्धा गरेर हुन्न । विश्व बजारमा उत्पादित जनशक्तिसँग प्रतिष्पर्धा गर्नुपर्छ । त्यसकारण हाम्रो शिक्षाले त्यस्तो प्रतिष्पर्धा गर्न सक्षम जनशक्ति उत्पादन गर्नुपर्छ ।
नेपालमा ३ कक्षामा अध्ययन गराइने गणित र बंगलादेश तथा अमेरिका वा बेलायतमा पढाइने गणित एउटै हो । गणित, विज्ञान लगायतका विषयहरु संसारभर एउटै हुन्छन् । सामाजिक शिक्षा र इतिहासका बिषयमा आफ्ना केहि कुरा राख्न सकिन्छ । विद्यार्थीको वौद्धिक विकास मात्रै होइन, सर्वाङगिर्ण विकासलाई ध्यान दिनुपर्छ ।

एउटा विद्यार्थीमा नेपाल देखि विश्वको जुनसुकै कुनामा गएर प्रतिष्पर्धा गर्न सक्ने क्षमताको विकास आजको अपरिहार्य आवश्यकता हो । त्यसका लागि पाठ्यक्रमसँगै पेडाजोजी(शिक्षण पद्धति) पनि विश्वस्तरिय हुनुपर्छ । त्यसैले हाम्रा कक्षा कोठाहरु इन्टरनेट, पावर प्वाइन्ट, समूहगत अध्ययन लगायतका सबै सुबिधा हामी कहाँ छ ।
शिक्षण पद्दति २० प्रतिशत मात्रै कन्टेन्ट डेलिभरी हुनुपर्छ । बाँकी ८० प्रतिशतमा सामाजिक, सांस्कृतिक, नेतृत्व विकास, सम्वेगात्मक कुरा समेटिनुपर्छ । नत्र ९९ प्रतिशत नम्बर ल्याएर उतिर्ण भएपनि उसले नेतृत्व गर्न सक्दैन । विद्यार्थीमा कम्युनिकेशन स्किल चाहिन्छ, आफ्ना कुरा राख्न सक्ने क्षमताको विकास अनिवार्य हुन्छ ।
जनशक्ति व्यवस्थापन
काठमाडौं वर्ल्ड स्कुलमा अध्ययन गराउने सबै शिक्षक शिक्षिकाहरु नेपाली नै हुनेछन् । नेपालमा विश्वस्तरिय अध्यापन गराउने सक्ने जनशक्तिको अभाव छैन् । केबल शिक्षण पद्धतिको ज्ञान मात्रै थपिदिए पुग्छ । त्यसकारण हामीले शिक्षकहरुका लागि तालिम दिन संसारका राम्रा अध्यापकहरुलाई बोईरहेका छौं । शैक्षिक सत्र सुरु हुनुभन्दा पहिले एक पटक र शैक्षिक सत्रको मध्यक्रममा एक पटक विदेशी विज्ञ मार्फत शिक्षक।शिक्षिकाहरुलाई तालिम दिन्छौं । यसपाली पनि सुरुमै २ हप्ताको तामिल दिईसकेका छौं । विश्वको वर्तमान शिक्षण पद्धति, डिजिटलाइजेशनको प्रभाव र त्यसको सदुपयोग, अब हुन सक्ने विकासका बारेमा हामी सचेत छौं ।
लक्षित अविभावक र विद्यार्थी
काठमाडौं वर्ल्ड स्कूलको लक्षित वर्ग भनेको मध्यम वर्ग, उच्च मध्यम वर्ग तथा उच्च घरानाका अविभावक र विद्यार्थी नै हुन् । नेपालका विद्यालयहरुले दिने शिक्षालाई चित्त नबुझाएर आफ्ना सन्तानहरुलाई भारतका विभिन्न अन्तराष्ट्रिय विद्यालयहरुमा अध्ययन गराईरहेका छन् । उनीहरुलाई नेपालमै विश्वस्तरीय शिक्षा दिने हाम्रो योजना हो ।
नेपालमा काम गर्ने विदेशी कुटनीतिक नियोगका कर्मचारीका सन्तानहरु पनि हाम्रो लक्षित वर्गमा पर्छन् । पाँच बर्षभित्र एसिया क्षेत्रका विद्यार्थीहरुलाई लक्षित गर्ने योजना छ । भारतमा अहिले कोरिया र थाइल्याण्डका विद्यार्थी पढिरहेका छन् । हाम्रो स्कुलमा भारतका स्कुलको जस्तै राम्रो पुर्वाधार छ, हामी त्यहि शैली र गुणस्तरको शिक्षा दिन्छौं ।
विदेशबाट पढ्न आउनेहरुका लागि भने नयाँ पाठ्यक्रमको विकास आवश्यक छ । उनीहरुले नेपाली पढ्नु आवश्यक हुन्न र त्यो सम्भव पनि छैन् । आज भारतका स्कूलहरुमा एक हजार भन्दा बढि नेपाली विद्यार्थी पढिरहेका छन् । भारतको गोठगाउँमा मात्रै ५ सय बढी विद्यार्थी पढ्छन् । जीडी गोयन्का, पाथवे गोल्ड स्कूल, दुन स्कुल, जेन स्कुल लगायतमा अध्ययन गरिरहेका छन् ।
त्यहाँ नेपाली अविभावकहरुले औषतमा मासिक एक लाख रुपैंयाँ भारु तिरिरहेका छन् । हाम्रो अध्ययनले त्यो तथ्य उजागर गरेको हो । अझै आउने/जाने र अन्य खर्च जोड्ने हो भने एउटा बच्चा पढाउन बार्षिक १६ लाख जति भारु खर्च भैरहेको देखिन्छ । परिवारबाट टाढा राखेर त्यति महंगोमा अध्ययन गराउनुपर्ने बाध्यता नेपाली उच्च घरानाका अविभावकहरुलाई छ ।
कति क्षमता छ स्कूलको ?
यहाँ १२ सय विद्यार्थीलाई पढाउन सकिन्छ । एउटा कक्षामा ३ वटा सेक्सन राख्छौं । एउटा सेक्सनमा २४ देखि २६ जनालाई मात्रै राख्छौं । प्रवेश परिक्षा पास गरेपछि मात्रै यहाँ पढ्न पाइन्छ ।
दुई तारे सुबिधाको होस्टेल
हामीले दुई तारे सुबिधासहितको होस्टेल सञ्चालन गर्दैछौं । सुरुमा १५० जना क्षमताको होस्टेल बनाईरहेका छौं । माग बढ्यो भने ३८० जनाको क्षमतासम्म बढाउन सकिने अवस्था छ ।
पूर्वधार
स्कूल भित्र ४७.५ रोपानी जमिन छ । १६ रोपनीमा होस्टेल बनाउने योजना हो । पहिलो चरणमा ६.५ रोपनीमा बोइज र गल्र्स होस्टेल बनाईसकेका छौं । भदौंदेखि प्लस टुका विद्यार्थीलाई होस्टेलमा राख्छौं ।
कसकाे लगानी ?
यो स्कूलमा सबै भन्दा ठूलो लगानीकर्ताका रुपमा डा. खगेन्द्र प्रसाद ओझा हुनुहुन्छ । केही प्राध्यापकहरु र केही उद्योगी व्यवसायीको पनि लगानी छ । म आफैं पनि लगानीकर्ताका रुपमा सहभागी छु । त्यसबाहेक चौधरी समूहले ३५ प्रतिशत लगानी गरेको छ । सुरुमा मास्टर प्लान बनाउँदा २.५ अर्ब रुपैंयाँ लगानी हुने प्रक्षेपण थियो । अहिले योजना भन्दा केहि खर्च बढेको छ । अपरेशन कष्ट र निर्माण सामग्रीको मूल्य पनि बढेको छ । पुरै संरचना तयार हुँदा २७५ करोड लगानी पुग्नेछ ।
नागरिकलाई आईपीओ पनि
अहिले स्कूलमा ७५ करोड लगानी भैसकेको छ । ६ महिनादेखि ९ महिनाका बीचमा एक अर्ब लगानी पुग्नेछ । सरकारले एक अर्ब भन्दा धेरै लगानी भएका कम्पनीले सेयर जारी गर्नुपर्ने भनेको छ । यो स्कूललाई पनि पब्लिक बनाउनुपर्छ भन्ने सोँचमा हामी पुगिसकेका छौं । एक दिन नागरिकहरुले काठमाडौं वर्ल्ड स्कूलमा सेयर लगानी गर्न पाउँनेछन् ।
शुल्क कस्तो ?
अघि नै भनियो कि यो विश्वस्तरको स्कूल हुनेछ । पूर्वाधारदेखि शिक्षण पद्दति सबैमा बिशेष ध्यान दिएका छौं । त्यसकारण यो स्कूलमा अन्यको भन्दा केहि बढी शुल्क हुन्छ नै । नेपालमा पाँच तारे स्कुल भन्नेहरुको भन्दा हामी राम्रो पढाउँछौं । त्यसकारण हाम्रो शुल्क उनीहरुको भन्दा १० देखि १५ प्रतिशतसम्म बढी हुनेछ । यसपाली १ कक्षादेखि ५ कक्षासम्मका लागि मासिक ३५ हजार शुल्क लिएका छौं ।
अर्काे वर्ष १ देखि ७ कक्षासम्म भर्ना लिन्छौं । अहिले ११ कक्षामा अध्ययन गरेकाहरु १२ पुग्छन् । अर्काे वर्षदेखि हामीले १ कक्षा र ४ कक्षामा मात्रै भर्ना लिन्छौं । अलिपछि ११ कक्षामा पनि अन्य विद्यार्थीको भर्ना लिँदैनौं । ए लेभलका लागि भने नयाँ विद्यार्थीको पनि भर्ना लिन्छौं ।
६५ प्रतिशत काम सकियो
पूर्वाधार निर्माणको ६५ प्रतिशत काम सकेका छौं । सिए ब्लकको निर्माण सुरु भैसक्यो । अब बाँकी भनेको ६ सय सिट क्षमताको मल्टिपर्पाेज अडिटोरियम हल हो । ६ महिनापछि त्यसको निर्माण पनि सुरु हुन्छ । सन २०१९ को अन्त्यसँगै पूर्वाधार निर्माणको काम सम्पन्न हुन्छ ।
रोजगारी
हामीले सोचे अनुसारको विद्यार्थी ल्याउन सक्दा ३१९ जनाले रोजगारी पाउनेछन् ।
विद्यार्थी सहजै पाउँछौं
हामीले लक्षित गरेको विद्यार्थी संख्या पुर्याउन कुनै कठिनाई छैन् । काठमाडौंमा धेरै ठूलो संख्यामा धनाढ्यहरु छन् । अर्काे वर्षदेखि अन्य ठूला शहरहरुमा पनि प्रचार गर्छाै । यसपाली ब्राण्डिङमा पनि ध्यान दिदैछौं ।
स्थानीयसँगको सम्बन्ध
जमिन खरिद गरेदेखि नै स्थानीय बासिन्दासँगको सम्बन्ध सुमधुर बनाईरहेका छौं । यस्ता ठूला प्रतिष्ठानबाट स्थानीयमा ठूलो आस पनि हुन्छ । हामीले सामाजिक उत्तरदायीत्वलाई बिर्सेका छैनौं । यो क्षेत्रका सामूदायिक विद्यालयहरुका शिक्षकहरुको क्षमता बढाउन तालिम, स्थानीयहरुलाई क्षमता अनुसारको रोजगारी दिईरहेका छौं । यो क्षेत्रका सांसद महेश बस्नेतले पनि हामीलाई साह्रै सहयोग गरिरहनु भएको छ । उहाँले हौसला दिईरहनु भएको छ ।