काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले प्राइम जीवन उपहार नामको नयाँ बीमा योजना ल्याएको छ । न्युनतम पाँच लाख रुपैंयाँ बीमाङक कायम गरिएको योजनामा अधिकतमको सिमा तोकिएको छैन् । न्युनतम १६ बर्षका किशोर किशोरी देखि ५५ बर्ष उमेरसम्मका मानिसहरुले यो बीमा लेखमा सहभागीता जनाउन सक्नेछन् ।
७० बर्षको उमेरमा अनिवार्य बीमा अवधी समाप्त हुने योजनामा मुल बीमालेखमा बीमा प्रारम्भ भएको पहिलो बार्षिकोत्सवपछि अनिवार्य रुपमा मुल बीमालेख बराबर बिमाङकको सहायक बीमालेख जारी गरेर बिमितलाई दोहोरो सुबिधा उपलब्ध हुनेछ ।
बीमा लेख समाप्त भएपछि बीमाङकको २५ प्रतिशत तथा अनिवार्य सहायक बीमाङकको १०० प्रतिशत तथा खुबै बीमालेखले आर्जन गरेको बोनस पनि प्राप्त हुनेछ ।
बीमा लेख कायमै रहेको अवस्थामा बीमितको मृत्यु भएमा मुल बीमालेख र सहायक बीमालेखको बीमाङक रकम तथा बोनस रकम एकमुष्ठ भुक्तानी गरिनेछ । बीमितले थप सुबिधा लिन चाहेमा दुर्घटना बीमा पनि गराउन सक्नेछन् ।
नयाँ बीमा लेखा सार्वजनिक गर्दै बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले नयाँ खाले बीमा पोलिसीहरुले बीमा क्षेत्रको विकासमा सहयोग पुर्याउने धारणा राखेका थिए । प्राइम लाइफका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले नयाँ बीमा लेख मार्फत नागरिकहरुले डबल फाईदा लिन सक्ने बताए ।