काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार-२०७५’बाट पुरस्कृत हुने चार पत्रकारको नाम सार्वजनिक गरेको छ । साउन १५ गते बसेको फोनिज सचिवालय बैठकले पुरस्कार छनौट समितिको बैठकको निर्णयलाई अनुमोदन गर्दै पुरस्कृत पत्रकारको नाम सार्वजनिक गरेको हो ।
उक्त पुरस्कारबाट यस वर्ष अनलाईन विधामा उजिर मगर, टेलिभिजन विधामा भैरव आङला, छापा विधामा छेटु शेर्पा र रेडियो विधामा बिमला चौधरी पुरस्कृत हुने भएको फोनिजका संगठन सचिव मिलन लिम्बूले बताए । जनही ४० हजार रुपैयाँ राशीको पुरस्कार २०७५ साउन २७ गते फोनिजको स्थापना दिवसको अवसरमा आयोजना गरिने ‘१९औं स्थापना दिवस तथा पुरस्कार वितरण समारोह-२०७५’ कार्यक्रममा प्रदान गरिने सचिव लिम्बूले जानकारी दिए ।
पुरस्कृत पत्रकारको संक्षित विवरणः
उजिर मगर
२०५२ सालमा हाँक साप्ताहिकबाट पत्रकारीता सुरुवात गरेका उजिर मगरले महिमा साप्ताहिक, कान्तिपुर दैनिक र नागरिक दैनिकमा लामो समय काम गरिसकेका छन् । हाल एभरेष्ट दैनिक डटकममा कार्यरत मगर नेपाल पत्रकार महासंघका निवर्तमान महासचिव हुन भने फोनिजका सल्लाहकार समेत हुन् ।
भैरव आङ्ला
२०५६ सालमा मिराक साप्ताहिकबाट पत्रकारीता शुरु गरेका भैरव आङ्लाले न्यूज टाइम्स साप्ताहिक, मर्निङ पोष्ट दैनिक, खबर पत्रिकार साप्ताहिक, भूगोल साप्ताहिक, धरान टाइम्स दैनिक, सयपत्री दैनिक र सप्ताकोसी एफएममा काम गरिसकेका छन् । सुनसरीबाट एबीसी टेलिभिजनमा काम गरिरहेका आङला धरानको विजयपुर एफएमका कार्यक्रम संयोजक पनि हुन् । उनले लिम्बू भाषामा रेडियो कार्यक्रम उत्पादन तथा प्रशाणरण गरेर मातृभाषा बिकासमा समेत उनको योगदान पुर्याएका छन् ।
छेटु शेर्पा
२०६३ सालदेखि ब्लाष्ट टाइम्स दैनिकबाट पत्रकारीता शुरु गरेका छेटु शेपाले गोरखापत्र दैनिक, सगरमाथा टेलिभिजन र न्यूज २४ टेलिभिजनमा काम गरिसकेका छन् । हाल अन्नपूर्ण दैनिकमा कार्यरत शेर्पा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य समेत हुन् ।
बिमला चौधरी
२०६२ सालदेखि पत्रकारीता शुरु गरेका कमला चौधरीले रेडियो तुलसीपुर, रेडियो बागेश्वरी लगायतमा काम गरिसकेकी छिन् । हाल बाँकेको नेपालञ्ज स्थित रेडियो सदभावमा कार्यरत चौधरीले पत्रकारीता जीवनको सुरुवातदेखि नै थारु भाषा विकासमा योगदान पुर्याउँदै आएकी छिन् ।