आयोगको सिफारिस पूर्ण कार्यान्वयन गर्न प्रधानमन्त्री कार्कीको आग्रह

काठमाडौं । प्रधानमन्त्री शुशीला कार्कीले आगामी सरकारले उच्चस्तरीय छानबिन आयोगले दिएका सिफारिसहरू पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएकी छन् । बिहीबार राष्ट्रको नाममा सम्बोधन गर्दै उनले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबारे छानबिन गर्न गठित आयोगको प्रतिवेदन कार्यान्वयन आगामी सरकारको प्रमुख दायित्व हुने बताइन् । उनले उक्त आन्दोलनका क्रममा ज्यान गुमाएका र घाइते भएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूका परिवारप्रति ऐक्यबद्धता जनाइन् । ‘अहिले सम्बोधन गर्दै गर्दा मन भारी भएको  छ। जेनजी आन्दोलनका मृतक र घाइते सम्झँदा पीडा महसुस हुन्छ,’ उनले भनिन्, ‘मृतक र घाइतेका आफन्तहरू, तपाईंहरू एक्ला हुनुहुन्न, हामी सबै एक भएर अघि बढ्नुपर्छ ।’ कार्कीले आफ्नो कार्यकाल सम्हाल्दा चुनौती र डर रहेको उल्लेख गर्दै ६ महिनाभित्रै निर्वाचन सम्पन्न भई जननिर्वाचित सरकार आउन लागेकोमा सन्तोष व्यक्त गरिन् । उक्त आन्दोलनका क्रममा ७६ जनाको मृत्यु, २ हजार ६०० भन्दा बढी घाइते तथा करिब ८४ अर्ब रुपैयाँ बराबरको क्षति भएको उनले जानकारी दिइन् ।  उनले निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न योगदान पु¥याउने निर्वाचन आयोग, सुरक्षा निकाय तथा सम्पूर्ण कर्मचारीलाई धन्यवाद दिँदै विषम परिस्थितिका बाबजुद निर्वाचनमा सहभागी भएका राजनीतिक दल र मतदाताप्रति आभार प्रकट गरिन् ।  प्रधानमन्त्री कार्कीले आफ्नो सरकारले निर्वाचन प्रक्रियामा नयाँ मापदण्ड स्थापना गरेको दाबी गर्दै आगामी दिनमा त्यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन् । ‘यो निर्वाचन प्रणालीले बहुमत आउँदैन भन्ने भाष्यलाई अन्त्य गरेको छ,’ उनले भनिन् ।  उनले नयाँ सरकारले स्वदेशमै रोजगारी सिर्जना, आर्थिक विकास र सुशासन स्थापना गर्ने विश्वास व्यक्त गर्दै जटिल अपराध तथा भ्रष्टाचार नियन्त्रणका लागि जिम्मेवार निकायलाई व्यावसायिक रूपमा काम गर्ने वातावरण सिर्जना गरिएको उल्लेख गरिन् ।