काठमाडौंको सुरक्षा कमाण्डपछि संसदीय यात्रामा, कुलमानलाई हराएर राखे रेकर्ड
काठमाडौं । काठमाडौं–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डे निर्वाचित भएका छन् । उनले १८ हजार ७५७ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ११ हजार १७१ मत ल्याएर दोस्रो बने । यो क्षेत्रमा कांग्रेसका उम्मेदवार रमेश अर्यालले ६ हजार मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार रामेश्वर फुयालले ३ हजार ८१६ मत ल्याए । नेकपाका उम्मेदवार निरज लामाले ५१८ मत मात्रै ल्याए । उनले काठमाडौं महानगरपालिकाको नगर प्रहरी प्रमुख भएर काम गरिसकेका छन् । उनले करिब डेढ दशकभन्दा बढी समय सार्वजनिक सुरक्षा र कानून कार्यान्वयनसँग सम्बन्धित क्षेत्रमा सेवा दिएका छन् । उनको कार्यशैली कडा अनुशासन, निर्णय क्षमता र प्रशासनिक नेतृत्वका कारण चर्चित छ । पाण्डे काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलका प्रमुख बनेपछि उनी सार्वजनिक रूपमा धेरै चर्चामा आए । विशेष गरेर उनी बालेनसँग नजिक भएपछि चर्चामा आएका थिए । उनले सार्वजनिक स्थानमा अतिक्रमण नियन्त्रण, सडक व्यवस्थापन, फुटपाथ व्यापार नियन्त्रण, महानगरका नियम कार्यान्वयन जस्ता कामहरूको नेतृत्व गरेका थिए । सामाखुसी घर भएका उनले शैक्षिक योग्यता स्नातकोत्तर पास रहेको छ ।
पाँचौं पटक संसदमा प्रचण्ड, पूर्वप्रधानमन्त्रीबाट बन्न सक्छन् एक्ला विजेता
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड विजयी भएका छन् । उनी पूर्वी रुकुमबाट विजयी भएका हुन् । उनले ११ हजार २८२ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनले नेकपा एमालेका उम्मेदवार लिलामणी गौतमलाई ७ हजार ३४९ बढी मतान्तरले पराजित गरे । गौतमले ३ हजार ९३३ मत पाएका हुन् । विद्यार्थी जीवनमै राजनीतिक चेतना बोकेका प्रचण्डले कक्षा १० पढ्दादेखि नै राजनीतिक गतिविधिमा रुचि देखाएका थिए। वि.सं. २०२८ सालमा कम्युनिस्ट आन्दोलनसँग औपचारिक रूपमा आबद्धता जनाएका हुन् । त्यसपछि उनको राजनीतिक यात्रा निरन्तर अगाडि बढ्दै गयो । २०४६ सालको जनआन्दोलन हुनुअघि उनी मशालका महासचिव भइसकेका थिए । त्यसपछि नेपालको राजनीतिक इतिहासलाई नै मोड दिने घटनामध्ये एक वि.सं. २०५२ साल फागुन १ गते सुरु भएको सशस्त्र आन्दोलनको नेतृत्व उनले गरे । त्यस्तै, २०५८ सालमा प्रचण्ड नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष बने भने सोही वर्ष उनले जनमुक्ति सेनाको सर्वोच्च कमान्डरको जिम्मेवारी पनि सम्हाले । उनी पहिलो पटक २०६५ सालमा प्रधानमन्त्री बनेका थिए भने त्यसपछि २०७३ र तेस्रो पटक २०७९ मा प्रधानमन्त्री बनेका थिए । वि.सं. २०६४ को पहिलो संविधानसभा निर्वाचनमा रोल्पा र काठमाडौं–१० बाट निर्वाचित भएका उनी वि.सं. २०७० को दोस्रो संविधानसभा निर्वाचनमा सिरहा–५ बाट निर्वाचित भएका थिए । २०७४ मा चितवन–३ बाट निर्वाचित भएका उनी २०७९ मा गोरखाबाट निर्वाचित भएका थिए । यस पटक उनी रुकुम पूर्वबाट विजयी भएका हुन् । यो उनको संसदमा पाँचौं पटक हो । यस पटक उनी वियजी हुने सायद एक्ला पूर्व प्रधानमन्त्री बन्न सक्ने सम्भावना बढेको छ ।
वैकल्पिक राजनीति हुँदै प्रदेश र दोस्रो पटक संघीय सदनमा विराजभक्त
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन काठमाडौं-८ बाट विराजभक्त श्रेष्ठ विजयी भएका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट विजयी भएका हुन् । उनले २४ हजार ५९२ मत पाएर विजयी भएका हुन् । २०७९ को चुनावमा पनि उनी सोही क्षेत्रबाट विजयी भएका थिए । त्यसअघि उनी बागमती प्रदेश सभाका सदस्यका रुपमा पनि काम गरिसकेका छन् । २०७४ सालको प्रदेशसभा निर्वाचनमा तत्कालीन विवेकशील साझा पार्टीबाट श्रेष्ठ समानुपातिक पद्धतिबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । विराजले काठमाडौंमा भएको गुठी विधेयक विरुद्धको आन्दोलन, अकुपाई टुँडिखेल लगायतका आन्दोलनको नेतृत्व गरेका थिए । प्रदेश र संघीय सदनमा हुँदा पनि चर्को आवाजमा नागरिकको आवाज उठाउँदै आएका थिए ।
दोस्रो पटक संसदमा शिशिर, शिक्षा क्षेत्रमा दख्खलता
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा रास्वपा उम्मेदवार शिशिर खनाल विजयी भएका छन् । शुक्रबारको अन्तिम मतपरिणाम अनुसार ४३ हजार ८६३ मत गणना हुँदा खनालले २७ हजार ७११ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सबुज बनियाले ६ हजार ६४७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार अमन मास्केले ४ हजार ३७३ मत पाए । खनालको संसदको यात्रा यो दोस्रो पटक हो । २०७९ को चुनावमा पनि उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए । खनाल शिक्षा क्षेत्रका जानकार मानिन्छन् । उनी यसअघि छोटो समयका लागि शिक्षा मन्त्री समेत बनेका थिए । टिच फर नेपालका संस्थापकमध्येका एक रहेका खनाल दुर्गम क्षेत्रको शिक्षा सुधारमा काम गर्दै आएका थिए । ‘टिच फर नेपाल’ को नेतृत्व गरेका खनालले राजनीतिमा आउनुअघि सार्वजनिक शिक्षा सुधारको अभियान चलाएका थिए । ४७ वर्षीय खनाल टोखा १० गोंगबुका बासिन्दा हुन् । उनले अमेरिकाको युनिभर्सिटी अफ विस्कन्सनबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गरेका छन् । २०७४ को चुनावपछि उनी तुलसीपुर उपमहानगरको शिक्षा सल्लाहकार भएका थिए । उनले महात्मा गान्धीको विचारमा आधारित सर्वोदय अभियानमार्फत श्रीलङ्का, भारत, अमेरिकालगायतका ठाउँहरुमा सामाजिक विकास र प्राकृतिक प्रकोप व्यवस्थापनका उल्लेखनीय काम गरेका छन् ।
३२ वर्षीय योगेशको संसदमा दोस्रो पटक इन्ट्री, यस्तो छ व्यावसायिक र राजनीतिक पृष्ठभूमि
काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन विजयी भएका छन् । उनी मस्ताङ–१ बाट विजयी भएका हुन् । उनले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका इन्द्र धारा विष्टलाई हराएर जित निकालेका हुन् । ३२ वर्षीय गौचनले ३ हजार ३०७ मत पाएर विजयी भएका हुन् । उनले प्रतिस्पर्धीको भन्दा १ हजार ५ सय १ मतले जित निकालेका हुन् । उनी अघिल्लो प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि विजयी भएका थिए । उनी नेपाली कांग्रेस मुस्ताङका सभापति रोमी गौचन थकालीका छोरा हुन् । योगेश थासाङ गाउँपालिका लेतेका बासिन्दा हुन् । उनले बिजनेस म्यानेजमेन्टमा स्नातक गरेका छन् । उनी पर्यटन व्यवसायी र होटल व्यवसायी पनि हुन् । उनी पार्टीको साविक लेते गाउँ सभापति, जिल्ला सदस्य हाल कांग्रेस गण्डकी प्रदेश सदस्य र महाधिवेशन प्रतिनिधि भएर नेपाली कांग्रेसमा सक्रिय बन्दै आएका छन् । सानै उमेरदेखि राजनीतिमा सक्रिय थकालीले जिल्लामा नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका थिए । नेविसंघको राजनीतिसँगै भूगोलमा पनि जोडिएका थकाली जिल्ला कार्यसमिति सदस्य पनि सानै उमेरमा भएका थिए । उनले होटल कालोपानी, लेते मुस्ताङ र पोखरामा त्रिथुङ्गा ट्राभल्स एण्ड टुर्स प्रालि एमडी, मुस्ताङमा किवी खेतीलगायत अर्गानिक कृषि फार्म सञ्चालन गर्दै आएका छन् ।
वैकल्पिक राजनीतिबाट उदाएकी रञ्जुलाई शिशु र सांसद उपहार
काठमाडौं । रञ्जु दर्शना ३० वर्षको उमेरमा सांसद बनेकी छन् । बिहीबार भएको निर्वाचनमा उनले १५ हजार ४५५ मत पाएर जित वियजी हासिल गरिन् । ६ हजार ३६४ मत ल्याएका नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्री दोस्रो भए । तेस्रो भएका राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत पाए । रञ्जु वैकल्पिक राजनीतिबाट उदाएकी हुन् । १७ वर्षको उमेरमै उनी २०७० सालमा विवेकशील नेपाली पार्टीमा आवद्ध भएर राजनीतिमा सक्रिय बनिन् । देशमा बन्द हड्ताल हुनु हुँदैन भनेर उनी सडकमा निस्किइन् । स्व. उज्जल थापाको नेतृत्वमा सक्रिय बनेर काम गरिन् । पछि सो पार्टी विवेकशील साझा बन्यो । रञ्जु काठमाडौंको मैतीदेवी क्षेत्रकी स्थायी बासिन्दा हुन् । उनले स्नातक तहसम्मको अध्ययन गरेकी छन् । २१ वर्षको उमेरमै काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्नि । तर, विजयी हुन सकिन्न । उनी पराजित भएपनि उनको चर्चा देशभर भयो । उनी रञ्जु दर्शना ९ वर्षपछि प्रतिनिधिसभा सदस्य बनेकी छन् । उसो त उनी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–५ बाट ‘सेलरोटी’ चुनाव चिह्नसहित उम्मेदवार बनेकी थिइन् तर चुनाव जित्न सकिनन् । त्यसबेला उनले जम्मा ६०० मत पाएकी थिइन् । २०८१ सालमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरिन् र पार्टीको केन्द्रीय सदस्य बनिन् । रास्वपाबाटै काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनिन् र चुनाव जितिन् । विजयी भएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै रञ्जुले यो जितलाई देश र परिवर्तन पक्षको जितका रूपमा व्याख्या गरेकी छिन् । उनले ’घण्टी’ चुनाव चिह्नमा मतदान गर्ने सम्पूर्ण मतदाता तथा शुभकामना दिने शुभेच्छुक र साथीहरू प्रति हार्दिक आभार एवं नमन प्रकट गरेकी छिन् । उनले आफ्नो विजयलाई जनताको परिवर्तनप्रतिको चाहनाको परिणाम भएको बताएकी छिन् । चुनाव प्रचार प्रसारमा पनि उनी ९ महिनाको गर्व बोकेर हिडेकी थिइन् भने मतदानको दिनमा पनि शीशु बोकर उनी मतदान केन्द्रमा पुगेकी थिइन् । उनलाई एकै पटक शिशु र सांसद उपहार मिलेको छ ।