काठमाडौंका सबै क्षेत्रमा आजै रातिबाट मतगणना हुने
काठमाडौं । काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा आजै रातिबाट मतगणना सुरु हुने भएको छ । काठमाडौं जिल्ला निर्वाचन कार्यालयका अधिकारी ठाकुरप्रसाद भट्टराईले काठमाडौंका सबै क्षेत्रमा आजै रातिबाट मतगणना सुरु गरिने जानकारी दिए । अहिले सबै निर्वाचन क्षेत्रबाट मतपत्रको बाकस संकलन गर्न काम भइरहेको उनले बताए । काठमाडौंमा शान्तिपूर्ण निर्वाचन भएको उनको भनाइ छ । कहाँ-कहाँ मतगणना हुँदैछ ? क्षेत्र नं १ सहकारी विभाग क्षेत्र नं २ कागेश्वर मनोहरा नगरपालिका क्षेत्र नं ३ चामुन्डा माध्यमिक विद्यालय नारायणटार क्षेत्र नं ४ बुढानीलकण्ठ नगरपालिका २ जेष्ठ नागरिक कार्यालय क्षेत्र नं ५ श्री समाज भवन टोखा नगरपालिका–५ क्षेत्र नं ६ तार्केश्वर नगरपालिका, धर्मस्थली क्षेत्र नं ७ जुडो हल नयाँबजार क्षेत्र नं ८ जनउद्दार मावि हरिसिद्धी, काठमाडौं क्षेत्र नं ९ चन्द्रगिरी नगरपालिका, बलम्बु क्षेत्र नं १० त्रिभुवन विश्व विद्यालय स्मृति भवन कीर्तिपुर
अर्बौं खर्च गरेर मधेसको दलित बस्ती बनाउने गगनको वचन
सर्लाही । नेपाली कांग्रेसका सभापति एवं सर्लाही ४ का उम्मेदवार गगनकुमार थापाले मतदान केन्द्रहरूको अवलोकन गरेका छन् । काठमाडौं ४ मा बिहान मतदान गरी सर्लाही पुगेर उनले विभिन्न मतदान केन्द्रहरूको अवलोकन गरेका हुन् । उनले सर्लाही जानुअघि काठमाडौं क्षेत्र नम्बर ४ को मैतीदेवी मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिने क्रममा अवसर दिएमा पाँच वर्ष सुशासनमा काम गर्ने बताएका थिए । त्यस्तै, उनले मधेसमा गएर आफूले राजनीतिक पूर्णता पाएकोसमेत बताएका छन् । पहाड र काठमाडौंका बारेमा जानेको भए पनि मधेसका बारेमा सिक्ने अवसर सर्लाही ४ ले नै दिएको उनले बताए । साथै सर्लाहीको अवस्था निकै नै गम्भीर भएको बताउँदै सुधार गर्ने कामहरु पहिलो वर्षदेखि नै थाल्ने वचनसमेत दिए । उनले सर्लाही गएरै आफूले सीमानामा मल ल्याउँदा भित्रबाट बल प्रयोग गर्नुपर्छ भन्ने कुरा थाहा पाएको जनाए । उनले उखु किसानको पहिलाको जस्तो अनुदान काट्ने कल्पना पनि गर्न ससकेको पाठ त्यहीँ गएरमात्र सिकेको बताए । उनले सरकारमा बस्दै गर्दा अरुको बजेट काटेर भए पनि मधेसको दलितको घर फेर्ने कुरा पहिलो वर्षमै गर्ने बताए । उनले भने, ‘अरबौं पैसा लागोस् । बरु मन्त्रालय काटौं । मैले त्यहाँ गएर के देखेर आएँ भने मान्छे अहिले पनि यस्तो अवस्थामा पनि बसिरहेको रहेछ भन्ने कुरा थाहा थिएन भन्ने पनि एकदमै लज्जाको विषय हो ।’
हाइप्रोफाइल क्षेत्रमा प्रहरीको विशेष ‘फोकस’, चार जिल्लामा मात्रै १७ हजार बढी प्रहरी परिचालन
काठमाडौं । हेभीवेट उम्मेदवार भएका जिल्लामा १७ हजार ४१९ प्रहरी कर्मचारी खटिएका छन् । नेपाल प्रहरीले झापा, सर्लाही, पूर्वी–रुकुम र चितवनमा सबैभन्दा बढी प्रहरी परिचालन गरेको छ । नेपाल प्रहरीका अनुसार झापामा सबैभन्दा बढी प्रहरी कर्मचारी खटाइएको छ । नेपाल प्रहरीको केन्द्रीय कार्यालयका अनुसार झापामा ६ हजार ४१४, सर्लाहीमा ६ हजार ५२८, चितवनमा ३ हजार ७८५ र रुकुम-पूर्वमा ६९२ प्रहरी परिचालन गरिएको छ । हेभीवेटका उम्मेदवार भएका ठाउँमा विशेष सुरक्षा व्यवस्थापन गर्न अन्य ठाउँको तुलनामा बढी प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका प्रवक्ता अवि नारायण काफ्लेले बताए । झापा ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाह छन् । चितवन २ मा रास्वपाका सभापति रवि लामिछाने उम्मेदवार छन् । सर्लाही ४ मा रास्वपाका अमरेश सिंह र नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छन् । रुकुम–पूर्वमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल उम्मेदवार छन् । उम्मेदवारको सुरक्षा तथा मतदानस्थलको सुरक्षा संवेदनशीलतालाई ख्याल गरेर बढी प्रहरी परिचालन गरिएको उनको भनाइ छ । काफ्लेले विगतका निर्वाचमा भएका घटनालाई लिएर दोलखा, रामेछाप, अछाम र बाजुरालाई सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखिएको बताए । सुरक्षाकर्मीको संख्यासमेत बढाइएको उनको भनाइ छ । ‘मतदानस्थल र मतदाताको सुरक्षामा विशेष चासोका साथ निगरानी गरिएको छ,’ प्रवक्ता काफ्ले भने,’ अवाञ्छित गतिविधि नहोस भनेर प्रहरी सुरक्षाकर्मी बढाइएको छ । सादा पोशाकदेखि विशेष प्रहरीसमेत परिचालन गरिएको छ ।’ निर्वाचनलाई लक्षित अनावश्यक घटना नघटोस् भनेर खतराको पहिचान गर्ने प्रहरी खटाइएको काफ्लेले बताए । प्रहरीले निर्वाचन बिथोल्ने किसिमका घटनाको मूल्यांकन गरेर तत्कालै एक्सन लिने गरेको उनले उल्लेख गरे । मतदानस्थल वरपर सीसीटीभीसमेत राखेर सुरक्षा व्यवस्थाको विश्लेषण गरिएको उनको भनाइ छ । निर्वाचन व्यवस्थापनमा अन्य सुरक्षाको समन्वय गरिरहेको पनि उनले खुलाए । काफ्लेले अरूको नाममा भोट हाल्ने प्रवृत्तिलाई अन्त्य गर्ने दावीसमेत गरे । ‘यो पटक विदेश गएका र मृत्यु भएका तथा शारीरिक रूपमा अशक्त मानिसहरुको नाममा भोट हाल्ने प्रवृत्तिलाई पूर्ण रूपमा अन्त्य गर्छौं,’ उनले भने, ‘विगतमा सुरक्षाकर्मी र मतदान स्थलमा खटिएका कर्मचारीलाई त्यस्ता व्यक्तिहरुको सहयोगमा मत हाल्न लगाइएको थियो । त्यस्ता गतिविधि रोक्न राजनीतिक दल, स्थानीय बुद्धिजीवीलाई राखेर कडा निगरानी गरिनेछ ।’ मतदानस्थलमा बुथ लुट्ने समेत सम्भावना रहेकाले प्रहरीले सुरक्षा दिने र कडा कारबाही गर्ने काफ्लेले बताए । प्रहरीले बुथ लुटिन सक्ने, उम्मेदावरमाथि हातपात र मतदातालाई रोकिन सक्नेलाई सीसीटीभीबाट निगरानी गरेर कडा कारबाही गर्ने प्रवक्ता काफ्लेले चेतावनी समेत दिए । मौन अवधिमा सामाजिक सञ्जालको दुरुपयोगलाई सबैभन्दा बढी ख्याल गरिने उनले बताए । सामाजिक सञ्जालमार्फत आचारसंहिता उल्लंघन गर्नेलाई बढी कारबाही गरिने उनको भनाइ छ । मौन अवधिमा सामाजिक सञ्जाल निगरानी गर्न केन्द्रीय निर्वाचन सेल गठन गरिएको काफ्लेले प्रस्ट पारे । १५(१५ जनाको टोलीमा केन्द्रीय साइबर सेल गठन गरिएको उनको भनाइ छ । एसएसपीको नेतृत्त्वमा निर्वाचन सेल गठन गरिएको उनले जानकारी दिए । ‘पैसा वितरण, भौतिक सहयोग, मनोवैज्ञानिक त्रास र विष्फोटक पदार्थ राख्नेमाथि विशेष निगरानी राखिएको छ,’ उनले भने, ‘मौन अवधिमा गरिएको व्यवहारलाई पहिचन गरेर विश्लेषण गरेर प्रहरी परिचालन गरिएको छ ।’ मतदानस्थलको सुरक्षालाई लिएर मजबुत बनाइएको तथा डोरी पनि दह्रो बाँध्ने व्यवस्था गरिएको उनले सुनाए । त्यसैगरी, कुल ७७ हजार ६७७ हजार प्रहरी परिचालन भएका छन् । सुरक्षा दृष्टिकोणलाई ध्यानमा राखेर निर्वाचन प्रहरी र नेपाल प्रहरीका कर्मचारीसहित ७७ हजार ६७७ प्रहरी परिचालन भएका हुन् । काफ्लेका अनुसार १४ हजार २२५, संवेदनशील मतदानस्थलमा २६ हजार ६५२ र अति संवेदनशील मतदानस्थलमा ३६ हजार ८०० प्रहरी परिचालन छन् । ‘निर्वाचन सुरक्षामा कति प्रहरी सहभागी छन्, कति हातहतियारसहित प्रहरी पुगेका र कसरी व्यवस्थापन गरिएको छ, त्यसको सम्पूर्ण विवरण ईएमआईमा सफ्टवेयरमा समावेश गराइन्छ,’ उनले भने, ‘मतदान स्थलमा सुरक्षा संवेदनशीलतालाई ख्याल गरेर केही दुर्घटना भएमा पनि जीआईएस सफ्टवेयर समेत जडान गरेको छ । जहाँ हेलिकोप्टर सहजै अवतरण गर्न सक्छ वा सक्दैन त्यसको प्रत्यक्ष अवलोकन गर्न सक्छ । जसलाई भौगोलिक अवस्थाको सूचना दिने गर्छ ।’