छुट्टै बैठक बोलाउने तयारीमा देउवा पक्ष, होटलमा के भयो छलफल ?
काठमाडौं । नेपाली कांग्रेसको चौधौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक बोलाउन शेरबहादुर देउवा पक्ष सक्रिय बनेको छ । देउवा पक्षले कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा बैठकको तयारी गरिरहेको बुझिएको छ । आइतबार (आज) धुम्बाराहीस्थित एक होटलमा बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले केन्द्रीय समिति बैठक डाक्ने निर्णय गरेको हो । निवर्तमान कार्यसमितिका प्रवक्ता डा. प्रकाश शरण महतका अनुसार पार्टीभित्रको पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्न विभिन्न तरिकाले छलफल भइरहेको छ । ‘ती छलफलहरुले आवश्यक ठाने केन्द्रीय समिति बैठक पनि बोलाउन सकिन्छ,’ डा. महतले भने । उनका अनुसार बैठक बोलाउने जिम्मेवारी कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिइएको छ । आवश्यकताका आधारमा बैठकको मिति, समय र स्थानबारे शीर्ष नेताहरूसँगको परामर्शपछि तय गरिनेछ । पार्टीभित्र जारी विवादका कारण नेतृत्व संरचना अझै स्पष्ट हुन नसकेको अवस्थामा देउवा समूहले आन्तरिक छलफललाई अघि बढाउन खोजेको देखिन्छ । गत पुस अन्तिममा सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भए पनि सो प्रक्रिया अस्वीकार गर्दै देउवा पक्ष अदालत पुगेको छ । उक्त विवाद अहिले सर्वोच्च अदालतमा विचाराधीन छ । अदालतले चैत्र २२ गते पेशी तोकेको छ । अदालतको निर्णय नआएसम्म औपचारिक रूपमा कुनै ठोस कदम चाल्न नहुने निष्कर्षमा नेताहरु पुगेका छन् । विशेष महाधिवेशनअघि तत्कालीन सभापति शेरबहादुर देउवाले उपसभापति खड्कालाई कार्यवाहकको जिम्मेवारी सुम्पेका थिए । अहिले सोही व्यवस्थाअनुसार पार्टीका नियमित गतिविधि सञ्चालन भइरहेका छन् । अदालतको फैसला अनुसार के गर्ने भनेर तयारी र छलफल चलिरहेको डा. महतले बताए ।
आधिकारिकताको माग गर्दै देउवा समूह आज अदालत जाँदै
काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह आधिकारिकताको माग गर्दै आइतबार (आज) सर्वोच्च अदालत जाने भएको छ । शुक्रबार निर्वाचन आयोगले गगन थापा समूहलाई दिएको आधिकारिकताको मान्यताविरुद्ध देउवा समूह अदालत जाने भएको हो । देउवा समूहले आज सर्वोच्च अदालतमा रिट दायर गर्न लागेको हो । देउवा समूहको शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध राजनीतिक र कानुनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो । कानुनी पाटोको जिम्मेवारी तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिइएको छ । देउवा समूहले निर्वाचन आयोग र नेपाली कांग्रेसका नवनियुक्त सभापति गगन कुमार थापाविरुद्ध रिट दायर गर्ने तयारी गरेको हो ।
निर्वाचन आयोगले वैधानिकता नदिए देशभर आन्दोलन गर्ने संस्थापन कांग्रेसको चेतावनी
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले आफूहरूलाई आधिकारिकता नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिएको छ । पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो चेतावनी दिएका हुन् । उनले षड्यन्त्र र दबाबमा परेर निर्वाचन आयोगले पार्टी विधान र संविधानविपरीत निर्णय गरेर वडा तहदेखि केन्द्रसम्म आन्दोलन चर्काउने चेतावनी दिएका हुन् । खड्काले पार्टीको केन्द्रीय कार्यसमिति बाहेक कुनै पनि पदाधिकारीलाई विशेष महाधिवेशन बोलाउने अधिकार नभएको जिकिर गर्दै आफूहरू नै आधिकारिक भएको जिकिर गरे । उनले भने, ‘पार्टीको विधान, संविधान र निर्वाचनसम्बन्धी ऐन र दलसम्बन्धी ऐनको आधारमा भन्दा तलमाथि भएर यदि निर्वाचन आयोगले षड्यन्त्र र दबाबमा परेर संविधान र लोकतन्त्रमाथि बडारिएको कालो बादललाई साथ दिँदै आयोगले नेपाली कांग्रेसको विधानविपरीत अन्यथा निर्णय गर्यो भने देशभर आन्दोलन गर्नेबाहेक हामीसँग विकल्प हुनेछैन ।’ ‘प्रत्येक ठाउँमा नेपाली कांग्रेस चारतारे झण्डा र रुख लिएर हामी अगाडि बढ्छौं । हामीलाई निर्वाचन आयोगले त्यस्तो गर्छ भन्न लागेको छैन । आशंका, अविश्वास र बाहिर आएका भ्रमहरूका आधारमा भनेका हौं,’उनले थपे । पुस अन्तिममा काठमाडौंमा सम्पन्न पार्टीको विशेष महाधिवेशनमार्फत नयाँ कार्यसमिति चयन गरेपछि कांग्रेस विभाजित भएको छ । पार्टीको संस्थापन पक्ष र विशेष पक्ष वैधानिकताको लडाइँमा छन् ।
निर्वाचन आयोग पुगेका नेपाली कांग्रेसका नेताहरू के भन्छन् ?
काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई असर गर्ने कुनै निर्णय गर्न नहुने बताएका छन् । शुक्रवार नेपाली कांग्रेसको आधिकारिकता दाबी गर्न आयोगमा पुगेका सभापति शेरबहादुर देउवा पक्षका नेताहरूले यस्तो बताएका हुन् । उनीहरूले आयोगले संविधान, राजनीतिक दलसम्बन्धि ऐन, नेपाली कांग्रेसको विधान र आफूहरूले उपलब्ध गराएको कागजातको आधारमा नै निर्णय गर्ने विश्वास गरे । कांग्रेसको आधिकारिकता आफूहरूले पाउने र छुट्टिएर गएकाहरू पनि मूलधारमा नै फर्किने नेताहरूको विश्वास छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले निर्वाचन हुने की नहुने आशंका भइरहेको बेलामा थप जटिल परिस्थिति उत्पन्न हुनेगरी निर्णय गर्न नहुने बताए । सिन्धुपाल्चोकमा आफूहरूले चुनावी सभा समेत थालेको उनको भनाइ छ । यस्तो स्थितिमा आयोगले संविधान विपरीत, कांग्रेसको विधान विपरीत निर्णय गरेमा देशमा निर्वाचनको प्रक्रिया नै बिथोलिने उनले बताए । निर्वाचन बिथोलिएमा त्यसको जिम्मेवारी आयोगले लिनुपर्ने उनको भनाइ छ । कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले पनि निर्वाचन आयोगले कानून नियम, संविधान र विधानअनुसार आफूहरुको पक्षमा निर्णय गर्ने विश्वास व्यक्त गरे । उनले कांग्रेस विभाजनलाई रोक्न अन्तिमसम्म प्रयास गरेपनि असफल भएको बताए । विभाजनले निर्वाचनसँगै देशको राजनीतिमा पनि ठूलो असर पर्ने उनको भनाइ छ । नेपाली कांग्रेस रामेछापका जिल्ला सभापति पूर्णबहादुर तामाङले कांग्रेसको आधिकारिक सभापति शेरबहादुर देउवा नै रहेको बताए । उनले प्रतिनिधि सभाको निर्वाचनको लागी माघ ६ गते मनोनयनको लागि देउवाले नै टिकट बाँड्ने दाबी गरे । उनले शनिबारबाट नै सभापति देउवाले टिकट बाँड्न सुरु गर्ने जानकारी दिए । उनले गगन थापा, विश्वप्रकाश शर्माहरूले अर्को पार्टी गठन नगरेकोले उहाँहरू पनि देउवाको हातबाट टिकट लिएर चुनाव लड्न जाने दाबीसमेत गरे । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइराला लगायतका नेताहरू पार्टीको आधिकारिकता दाबी गर्न निर्वाचन आयोग गएका थिए । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा यो विवादले कांग्रेसको चुनावी तयारीमा असर पर्नसक्ने विश्लेषकहरूले बताएका छन् । आयोगको निर्णय कुर्नुपर्ने अवस्था आएमा यो मुद्दा सर्वोच्च अदालतसम्म पुग्नसक्ने सम्भावना छ ।
विशेष महाधिवेशनबाट ८८५ महाधिवेशन प्रतिनिधि बाहिरिएको खड्काको दाबी
काठमाडौं । नियमित महाधिवेशन पक्षधर नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनमा सहभागी रहने भनिएका ८ सय ८५ हस्ताक्षरकर्ताहरूले विशेष महाधिवेशनबाट बाहिरिएको जानकारीसहितको हस्ताक्षर पार्टी कार्यालयमा बुझाएको बताएका छन् । शुक्रबार निर्वाचन आयोगमा आधिकारिकता दाबी गर्न पुगेका कार्यवाहक सभापति खड्काले यस्तो बताएका हुन् । उनले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित विशेष महाधिवेशन गरेको भनिएको भएपनि ८ सय ८५ हस्ताक्षरकर्ताहरूले हस्ताक्षर फिर्ता लिएको बताए । खड्काले भने, ‘हस्ताक्षरकर्ता, सहभागीकर्ता भन्नेखालको कुरा आएको छ । ती हस्ताक्षरकर्ता सहभागीमध्ये ८ सय ८५ जना त्यसबाट अलग रहेको, फिर्ता लिएको आफ्नो हस्ताक्षरसहित मुख्यसचिवले केन्द्रीय कार्यालयमा कार्यवाहक सभापतिलाई सम्बोधन गरेर पठाउनुभएको छ ।’ विशेष महाधिवेशन भेलाभन्दा पहिला र पछिको हस्ताक्षर आफूहरूसँग रहेको उनले पनि दावी गरे । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले विशेष महाधिवेशनबाट केन्द्रीय कार्यसमिति चयन गरिसकेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा यो विवादले कांग्रेसको चुनावी तयारीमा असर पर्नसक्ने विश्लेषकहरूले बताएका छन् । आयोगको निर्णय कुर्नुपर्ने अवस्था आएमा यो मुद्दा सर्वोच्च अदालतसम्म पुग्नसक्ने सम्भावना छ । कांग्रेसको यो विवादले पार्टीको चुनाव चिन्ह रुख र झण्डा कुन पक्षले पाउने भन्ने प्रश्न पनि उठेको छ ।
कांग्रेसमा सुरु भयो आधिकारिकताको लडाइँ, गगन पक्षपछि देउवा पक्ष पनि पुग्यो आयोग
काठमाडौं । नेपाली कांग्रेसमा आधिकारिकताको लडाइँ सुरु भएको छ । विशेष महाधिवेशनपछि बिहीबार विवरण अद्यावधिकसँगै आधिकारिकता माग गर्न निर्वाचन आयोग पुगेका सभापति गगनकुमार थापापछि देउवा पक्ष पनि शुक्रबार (आज) निर्वाचन आयोग पुगेको हो । सभापति शेरबहादुर देउवा पक्षका नेता तथा कार्यकर्ताहरू आज बिहान निर्वाचन आयोग पुगेका हुन् । आयोगमा देउवा पक्षका नेताहरु कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता शेखर कोइराला, रमेश लेखक, विमलेन्द्र निधि, रमेश रिजाल, श्याम घिमिरे, कल्याण गुरुङ, धनराज गुरुङ, मीनेन्द्र रिजाल, महालक्ष्मी उपाध्याय ’डिना’, सुजाता कोइराला, एनपी साउद, नैनसिंह महर, जीतजंग बस्नेत पुगेका छन् । उनीहरुले देउवा पक्ष नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन् । ठूलो नेता तथा कार्यकर्ताको जमात देउवा पक्षमै रहेकोले आफूहरू नै आधिकारिक नेपाली कांग्रेस भएको उनीहरुको तर्क छ । उनीहरुले अहिले आयोगका पदाधिकारीसँग छलफल गर्नेछन् । बिहीबार गगन–विश्वको टिम आयोगमा पुगेर आफूहरू नै आधिकारिक कांग्रेस भएको र विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति आइसकेको जानकारी गराएका थिए । आयोगमा पुगेको थापाले आफू नै कांग्रेसको सभापति भएको बताएका थिए भने कांग्रेस विभाजन समेत नभएको तर्क राखेका थिए । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा यो विवादले कांग्रेसको चुनावी तयारीमा असर पर्नसक्ने विश्लेषकहरूले बताएका छन् । आयोगको निर्णय कुर्नुपर्ने अवस्था आएमा यो मुद्दा सर्वोच्च अदालतसम्म पुग्नसक्ने सम्भावना छ । कांग्रेसको यो विवादले पार्टीको चुनाव चिन्ह रुख र झण्डा कुन पक्षले पाउने भन्ने प्रश्न पनि उठेको छ ।