विभागको अनुसन्धानः


इच्छाराजको नखुलेको पाटोः करोडौंको आईपीओ, अर्बको सेयरदेखि विदेशमा लगानी !

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङमाथिको अनुसन्धानको अन्तिम चरणमा पुगेको छ । ठगी मुद्दामा थुनामा रहेका तामाङले सम्पत्ति शुद्धीकरण कसुर गरेको भेटिएपछि विभाग अनुसन्धानको निष्कर्षमा पुगेर उनी विरुद्द विशेष अदालतमा मुद्दा दर्ता गर्ने प्रक्रियामा पुगेको हो । विभागका अनुसार अब केही दिनभित्रै उनी माथि गरेको अनुसन्धानको प्रतिवेदन वकिल कार्यालयमा पेश गरेर मुद्दा दर्ता हुनेछ । तर, केही विषयले भने अझै पनि अनुसन्धान लब्याइरहेको विभाग स्रोतको भनाई छ । विभाग स्रोतका अनुसार उनी विरुद्द ले बैंकिङ, वित्तीय, विदेशी विनिमय वा सहकारीसँग सम्बद्ध कसुरमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ । ‘हामी अझै पनि उनको सम्पत्ति खोजिरहेका छौं, कतै भेटिन्छ कि भन्ने हिसावले हामीले अनुसन्धान लम्ब्याइरहेका छौं, अझै पनि पीडितहरु विभिन्न विषयहरु लिएर आइरहनु भएको छ, उहाँहरुले दिएको सूचनाका आधारमा रहेर अनुसन्धान गर्दा समय खर्च भइरहेको छ, तर, उनी विरुद्द मुद्दा दर्ता गर्ने कसुरहरु प्रशस्त भेटिएका छन्, सम्पूर्ण सम्पत्तिहरु खोजिसकेपछि मुद्दा दर्ता गर्नु पनि राम्रै हुन्छ, त्यसैले पनि हामी समय नै लिएर अनुसन्धान गरिरहेका छौं,’ ती अनुसन्धान अधिकारीले भने । लाखौंको आईपीओ तामाङले विभिन्न कम्पनीहरुमा साधारण सेयर (आईपीओ) पनि रहेको अनुसन्धानबाट खुलेको छ । विभाग स्रोतका अनुसार उनीसँग अहिले पनि विभिन्न कम्पनीको हजारौंै कित्ता साधारण सेयर भेटिएको हो । यकिन कति छ भन्ने विषयमा भने विभागले अनुसन्धान गरिरहेको छ । ‘पीडितहरुकै सूचनाका आधारमा हामीले खोजतलास गरिरहेका छौं, उनीसँग विभिन्न कम्पनीको साधारण सेयर (आईपीओ) भएको भन्ने जानकारी पाएपछि हामीले धितोपत्र बोर्डसँग सूचना माग गरेका छौं, केही डाटा आइसकेको छ भने केही आउने क्रममा छ,’ स्रोतले भन्यो । स्रोतका अनुसार उनले २ सयभन्दा बढी बैंक खाता खोलेर कारोबार गर्ने गरेका थिए । अहिले ती सबै बैंक खाताहरु बन्द छन् । २२ कम्पनीमा १ अर्ब बढी सेयर विभागका अनुसार तामाङसँग २२ कम्पनीको सेयर स्वामित्व खुलेको छ । विभागले दुई वर्षअघि देखि नै तामाङ आवद्ध सिभिल सहकारी र कम्पनीहरूको गतिविधि अनुसन्धान गरिरहेको भएपनि पछिल्लो समय भने अनुसन्धानमा तीव्रता दिएको हो । अनुसन्धानकै क्रममा विभागले तामाङ, उनकी श्रीमती र छोरीहरूको बैंक खाता र चल–अचल सम्पत्तिको कारोबार पनि रोक्का गरिसकेको छ । विभाग स्रोतका अनुसार २२ वटा कम्पनीमा तामाङको लगभग १ अर्ब सेयर स्वामित्व भेटिएको छ । अघिल्लो साता मात्रै बौद्धमा उनकै स्वामित्वमा रहेको नयाँ हाउजिङ फेला परेको थियो । जसको पूँजी ५ करोड रहेको बुझिएको छ । अझै पनि कतै नयाँ सम्पत्ति भेटिन्छ कि भन्ने चासोका साथ विभागले अनुसन्धान गरिरहेको छ । तामाङले धेरै कारोबार गैर–बैंकिङ प्रणालीबाट गर्ने गरेको पनि विभागको अनुसन्धानमा देखिएको छ । उनको बैंक खातामा त्यति धेरै कारोबार नभएकोले पनि उनले गैर–बैंकिङ प्रणालीबाटै कारोबार गर्दा उनको अझै धेरै सम्पत्ति हुन सक्ने विभागको अनुमान छ । शंकाको घेरामा प्रतिक्षा र प्रतिष्ठा विभागले तामाङमात्रै होइन उनको परिवारको सम्पत्तिको पनि अनुसन्धान गरिरहेकोछ । हालसम्म २२ कम्पनीमा १ अर्बको सेयर र काठमाडौं किर्तिपुरको घरजग्गा मात्रै विभागले फेला पारेको छ । अन्य सम्पत्ति भने फेला पार्न सकेको छैन । अहिले तामाङकी श्रीमति सिर्जना शाक्य तामाङ, दुई छोरी प्रतिक्षा र प्रतिष्ठा फरार छन् । तामाङकी कान्छी छोरी प्रतिष्ठा बेलायतमा छन् भने जेठी छोरी प्रतिक्षा नेपालमै भएपनि फरार सूचीमा छन् । उनीहरुको नाममा रहेको सम्पत्तिको पनि विभागले खोजी गरिरहेको छ । कतिपयले बेलायत बस्दै आएकी छोरीमार्फत् विदेशमा रकम ओसारेको आशंका पनि गरेका छन् । प्रहरीले त्यसमा पनि थप अनुसन्धान गरिरहेको छ । ‘दुवै छोरी विदेशमा पढ्छन्, उहाँ पनि विदेश्मै पढ्नु भएको हो, उनीहरुले गरेको आम्दानी चाहिँ अहिलेसम्म हराएको देखिन्छ, त्यसैले पनि विदेशमा पैसा राखेको छकि भन्ने आशंका छ, यस बारे हामीलाई सूचना पनि आइरहेको छ, हामी त्यस विषयमा पनि अनुसन्धान गरिरहेका छौं,’ अनुसन्धानमा खटिएका एक अनुसन्धान अधिकारीले भने । ती अधिकारीका अनुसार विदेशमा लगानी वा पैसा राखे/नराखेको विषयमा अनुसन्धान गर्न भने विभागलाई कठीन नै छ । स्रोतका अनुसार तामाङकी छोरी प्रतिक्षा र प्रतिष्ठाको नामा पनि लाखौंको सेयर छ । प्रतिक्षाको तीन कम्पनीमा लगानी छ । प्रतिक्षाको विभिन्न कम्पनी, बैंक र वित्तीय संस्थामा संस्थापक र साधारण गरी ४० लाख रुपैयाँ मूल्य बराबरको लगानी रहेको जानकारी विभागलाई प्राप्त भएको छ । यस्तै, तामाङकी श्रीमति सिर्जना शाक्यको नाममा पनि अर्बौंको सम्पत्ति रहेको सूचना विभागलाई छ । तर, भेटाउन भने सकेको छैन । ‘तामाङकी श्रीमती सिर्जना शाक्य तामाङले सरकारी जागिर अवधिभर ३२ लाख रुपैयाँ मात्रै कमाएको देखिन्छ तर, उनको नाममा अर्बभन्दा धेरै सम्पत्ति रहेको बुझिएको छ, उनी र सहकारीमा काम गर्ने कर्मचारीहरु पनि फरार हुँदा विभागले सम्पत्ति फेला पार्न सकिरहेको छैन,’ स्रोतले भन्यो । तामाङ र सिभिल सहकारीका अन्य कर्मचारीहरूका सम्बन्धमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानका आधारमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको थियो । अदालतले गत पुसमा थुनछेक आदेश गर्दै तामाङ र सिभिल सहकारी संस्थाका अध्यक्ष केशवलाल श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । अहिले दवै जना थुनामामै छन् । सीआईबीले तामाङ र उनका कर्मचारीहरूलाई मुलुकी अपराध संहिता २०७४ बमोजिम ठगी र संगठित अपराध निवारण ऐन २०७० बमोजिम दोषी ठहर गरेको थियो । सम्बन्धित सामग्री: इच्छाराजले अजय सुमार्गीलाई १ अर्ब २५ करोडमै बेचेका हुन् ‘सिभिल लक्जरी’ रु बैंकिङ च्यानलमा देखिएन सिटीसी मल बेचेको पैसा आफुलाई पनि दिन सहकारीको कोषलाई आग्रह, २१ करोड असुल्न लिलाम गरिँदै इच्छाराज तामाङलाई दिएको प्रभु बैंकको ४० करोड कर्जा संकटमा इच्छाराज तामाङलाई पुर्पक्ष्यका लागि थुनामा पठाउन अदालतको आदेश इच्छाराज तामाङमाथिको अनुसन्धान सक्यो सीआईबीले, सहकारीको रकम २१ ‘डमी’ कम्पनीमा ८ अर्ब ऋण नतिरेपछि इच्छाराजको सीटीसी मल लिलाम हुँदै, ऋण तिर्न सञ्चय कोषको ३५ दिने म्याद इच्छाराजको वयानः सहकारीको पैसाले घर बनाएँ, घर बेच्दा घाटा लागेर पैसा सकियो