काठमाडौ । प्राइम लाईफ इन्स्योरेन्स कम्पनीका डेपुटी सिइओ चिरायु भण्डारी २०३४ साल मंसिर १३ गते बीमा क्षेत्रमा प्रवेश गरेका हुन् । राष्ट्रिय बीमा संस्थानबाट बीमा क्षेत्रमा प्रवेश गरेका भण्डारी हाल प्राइम लाईफमा व्यवस्थापकीय टीमको सेकेन्ड म्यानको रुपमा छन् ।
भण्डारी हालसम्मको अवधिमा ४ वटा बीमा कम्पनीमा आवद्ध भएर अनुभव हासिल गरिसकेका छन् । राष्ट्रिय बीमा संस्थान, नेशनल लाईफ, नेपाल पुनर्बीमा कम्पनी तथा हाल प्राइम लाईफमा उनको आवद्धता रहेको छ ।
भण्डारीले एसएलसी दिदाँ बीमा क्षेत्रमा आफ्ना मान्छेले काम गरिरहेका थिए । आफ्नो केही मान्छेहरुको प्रेरणाले उनी बीमा क्षेत्रमा प्रवेश गरे ।
त्यतिबेला बीमा क्षेत्रमा प्रवेश गरेको सम्झदा उनलाई खुशी लाग्ने गर्छ । त्यति बेलाको चलनमा एसएलसी परीक्षा दिइसकेपछि सबैले केही न केही काम गर्ने गर्थे । उनले पनि आफ्नो जागिरको खोजी गर्न थाले । सोही समयमा आफ्ना केही निकटम आफन्तहरुले उनलाई बीमा क्षेत्रमा जागिर गर्न सुझाएका थिए । बीमा भनेको जागिरसँगै सेवा पनि हो भन्ने उनको बुझाइ छ ।
हाल भण्डारीको उमेर ६१ वर्ष पुगिसकेको छ । उनले बिचलित नभई बीमा सेवालाई निरन्तरता दिइरहेका छन् ।
बीमा क्षेत्रको लामो अनुभव हाँसिल गरिसकेका भण्डारीले बीमा क्षेत्रका धेरै सबल र राम्रा पक्षहरु देखेका छन् । उनले बीमा क्षेत्रमा फाइदै फाइदा रहेको बताएका छन् । उनले बिमितलाई निकै फाइदा रहने बताएका हुन् ।
भविष्य अनिश्चित भएपनि बीमाले दिने प्रतिफल निश्चित छ । आजैदेखि जम्मा गरेको चिजले भोलि सहयता दिन्छ । बीमाले भनेको परेको बेलामा सहायता दिन्छ भन्ने उनको बुझाइ छ ।
राम्रो बानी
भण्डारी स्पष्ट वक्ता हुन् । देखेका कुरा व्यक्त गर्ने उनको स्वभाव छ । उनलाई आफ्नो बानी साह्रै मन पर्छ । उनले विकासन्यूजसँग आफू स्पष्ट रुपमा कुरा राख्ने मान्छे भएकाले काम गर्न निकै सहज हुने बताएका छन् ।
नराम्रो बानी
भण्डारी अहिलेसम्म एक जनापनि आफन्त बनाउन नसकेकोमा दुःख व्यक्त गरेका छन् । साथै, उनलाई आफ्नो यो एउटा नराम्रो बानी रहेको महशुस भएको छ ।
तर उनले आफ्नो मान्छे कति बनाए भन्ने कुरा व्यवसायिक जीवनसँग तुलना गरेर भनेको बताएका छन् । प्राइम लाइफमा आउनु अघि उनी नेपाल पुनर्बीमा कम्पनीमा थिए । उनले सो समयमा एकजना पनि आफन्त बनाउन नसकेको खुलाएका छन् ।
‘मैले नेपाल पुनर्बीमा कम्पनीमा एकजना पनि आफन्त बनाउन सकिनछु, नभए त मेरो पुनर्बहाली भइहाल्थ्यो होला नि,’ उनले त्यो बेलाको स्मरण गर्दै भने ।
भोज भतेरमा हल्का पिइन्छ
भण्डारी आफूले कहिलेकाही मदिरा खाने गरेको बताउछन् । उनले बताए अनुसार उनलाई मदिरा दैनिक लिएको मन पर्दैन । उनी आफूले समेत कहिले काही पार्टी, समारोहका डिंं«क गर्ने गरेको बताए ।
‘खुट्टै टेक्न नसक्ने गरी, उभिनै नसक्ने गरी खाने त म होइन, यसो भोज भतेर सभा समारोह कहिलेकाही हल्का खाने गरेको छु’, भण्डारीले भने ।
यस्तो भने बिमितलाई
जीवन बीमा गर्नु पर्ने मुख्य कारण भनेको भविष्यको लागि बचत गर्नलाई हो ।
अर्को कुरा भनेको परिवारको सुरक्षाका लागि बीमा आवश्यक छ । यस्तो सुरक्षा भनेको आर्थिक सुरक्षा नै हो ।
यस्तै, अहिले त ट्याक्सको सुविधा पाउँन पनि बीमाले मद्दत गर्छ । सोही कारण जीवन बीमा गर्नु भनेको मुख्य कुरा नै हाम्रो जस्तो देशलाई भविष्यलाई सुरक्षित गर्नको लागि हो ।
हाम्रो देशमा सरकारले दिने भनेको अन्य विदेशी राष्ट्रहरुमा जस्तो ठूला सेवा सुविधा त छैन । सरकारले दिँदा पनि जेष्ठ नागरिकलाई केही हजार रकम दिने मात्रै व्यवस्था छ ।
यसरी ७० वर्ष पुगेपछि २/३ हजार रुपैयाँ मात्र थापेर त्यसले पुर्याउन मद्दत पुगे पनि कम नै हुन्छ ।
सबै सरकारी कर्मचारी पनि छैनन् । सबै जागिरे पनि छैनन् । यस्तो अवस्थामा बीमाको महत्व झन बढी हुने उनको भनाइ छ ।
अब कसैले जीवन बीमा किन गर्ने भन्यो भने आफ्नै सुरक्षा हुन्छ है भन्ने कुरा सोच्नु पर्यो भन्ने उनको भनाइ छ ।
यसको साथ–साथै केही ट्याक्स छुट लगायतका कुरा चाहि जीवन बीमा गर्दा थप सुविधाको रुपमा अपनाउन सकिन्छ ।
कोरोना महामारीको असर न्यून
व्यवसायिक रुपमा हेर्दा कोरोना महामारीको असर प्राइम लाईफमा न्यून छ । अघिल्लो आर्थिक वर्षको तुलनामा व्यवसायिक प्रगति भएकै छ ।
‘विश्व नै प्रभावित भएको महामारीबाट हामी मात्र अछुतो छौं भन्ने अवस्था त छैन तर हामीले महामारीको बेलामा पनि संयमित भएर आफ्नो सेवालाई अघि बढाउने प्रयास गरिरहेका छौं,’ उनले भने ।