विकासन्युज स्वतन्त्र लेखन प्रतियोगिता


उदाउँदा १० लेखकः जो विकासन्युज स्वतन्त्र लेखन प्रतियोगितामा विजयी भए

काठमाडाैं । विकासन्युज डटकमले आयोजना गरेको स्वतन्त्र लेखन प्रतियोगिताका उत्कृष्ट १० जना छनोट भइसकेका छन् । विकास मिडियाले सोमबार आयोजना गरेको विजेता घोषणा कार्यक्रम मार्फत् प्रतिष्पर्धामा उत्कृष्ट अर्थात् विजयी हुने १० जनाको नामावली समेत प्रकाशित गरिसकेकाे छ । तपाईं पाठक र आम नागरिकमा उत्कृष्ट हुने १० जना प्रतिष्पर्धी को हुन् भन्ने जिज्ञासा हुनु स्वभाविकै हो ।  हामीले उत्कृष्ट हुने १० जनाको विष्तृत जानकारी दिने प्रयास गरेका छौं । प्रतिष्पर्धाका लागि प्राप्त भएका सबै लेख तथा रचनाहरु उत्कृष्ट नै भएपनि प्रतिष्पर्धामा विजयी र पराजयी हुनु स्वभाविकै हो । तर पनि उत्कृष्ट भएका १० लेख तथा रचनाहरु लेख्ने लेखकहरु लेखन पेशामा अभ्यस्त भइसकेको उनीहरुका लेख/रचनाबाट प्रष्ट हुन्छ । को हुन् विजयी हुने १० प्रतिष्पर्धी ? सुवास मल्ल प्रथम पुरस्कार विजेता सुवास मल्लको स्थायी ठेगाना पुतलीबजार ३, स्याङ्जा हो । उनको पुरानो घर भने तनहुँ हो । तर उनी जन्मेको चाहिँ लम्जुङको बेसिसहरस्थित मामाघरमा हो । पोखरा विश्वविद्यालयबाट एमबीए गरेका मल्ल पोखरा विश्वविद्यालय स्नातक तहमा विकास अध्ययन विषयमा विश्वविद्यालय टपर पनि हुन् । विश्वविद्यालय टप गरेपछि उनले शिक्षा मन्त्रालयको स्कलरसिपमा जापानमा अध्ययन गर्ने मौका पाएका थिए भने यूरोपियन यूनियनको स्कलरसिपमा पोल्याण्डमा टुरिजम् म्यानेजमेन्ट विषय अध्ययन गर्ने मौका पाएका थिए । हाल उनी पोखराकै वेलनन एकेडेमीमा प्लस टुमा व्यवस्थापन विषय पढाउँछन् । उनी पोखरा विश्वविद्यालय साहित्य समाजको संस्थापक अध्यक्ष पनि हुन् । विभिन्न सामाजिक कार्यमा संलग्न ३१ वर्षिय मल्लले जटिल अवस्थामा विकासन्युजले सिर्जनात्मक कार्य गरेको बताए । ‘आयोजकले स्वतन्त्र लेखन प्रतियोगितामा निकै मिहिनेत गरेको देखिन्छ । व्यवस्थापन राम्रो देखियो । निर्णायक मण्डलमा पनि प्रशिद्ध व्यक्तिहरु राखिएको रहेछ’ उनले भने- ‘प्रतियोगितामा अत्यन्तै सकारात्मक चेतनाले भरिएको लेख रचनाहरु प्रकाशित भएकोमा पनि म धेरै खुशी भएँ,’ उनले भने । अविन ओझा दोस्रो पुरस्कार विजेता हुन् अविन ओझा । ओझाको जन्म तनहुँको दमौलीमा भएको हो । नेपालबाट ग्रामिण विकास विषयमा स्नातकोत्तर गरेका ओझाले लखनउबाट समाजशास्त्रमा विद्यावारिधि र अमेरिकाबाट अन्तर्राष्ट्रिय अध्ययन विषयमा दोस्रो मास्टर डिग्री गरेका छन् । सिटी युनिभर्सिटी अफ न्यूयोर्कको योर्क कलेजमा समाजशास्त्र विषयमा अध्यापन गर्ने ओझाले लेखेका लेख रचनाहरु सन् २०१० देखि विभिन्न पत्रपत्रिकाहरुमा प्रकाशन हुँदै आएका छन् । ‘यस्तो खालको प्रतियोगिता पहिला थिएन । निबन्ध वा कथा लेखन प्रतियोगिता भएका थिए, तर स्वतन्त्र लेखन प्रतियोगिता गर्ने र विधागत रुपमा उत्कृष्ट लेख रचनालाई पुरस्कृत गर्ने विकासन्युजको प्रयास पहिलो हो’ उनले भने । विकासन्युजले निर्णायकमण्डलमा राखेका पात्रहरु र उत्कृष्ट लेख रचना छनौट गर्न अपनाएको विधि धेरै राम्रो रहेको उनको बुझाई छ । यस्तो प्रतियोगिताले पुराना र नयाँ लेखकहरुलाई प्रोत्साहित गर्ने उनले बताए । धनप्रसाद पौडेल प्रतियोेगितामा तृतिय भएका व्यक्ति हुन् धनप्रसाद पौडेल । पुतलीबजार ८, स्याङ्जामा वि.सं. २०४३ साल फागुन ६ गते जन्मेका पौडेलले माध्यमिक शिक्षा स्याङ्जामै पूरा गरे । उनले पाटन संयुक्त क्याम्पसबाट एमएस्सी गरी हाल सिन्धुपाल्चोकमा सरकारी जागिरमा कार्यरत छन् । उनी कानुनका विद्यार्थी समेत हुन् । समसामयिक विषयवस्तुमा लेख्न रुची राख्ने धनप्रसाद यो समयमा विकासन्युजले गरेको स्वतन्त्र लेखन प्रतियोगिताले थप लेख्न प्रोत्साहन मिलेको बताउँछन् । सञ्जिव पौडेल सञ्जिव पौडेलको ‘आत्मनिर्भरताको बाटोमा’ लेख सबैभन्दा उत्कृट लेख भएको छ । उनको जन्म कास्कीको रुपा गाउँपालिकामा वि.सं. २०४२ मंसिर १९ गते भएको हो । नेपाली विषयमा स्नातकोत्तर गरेका उनी हाल पोखरा विश्वविद्यालयमै अध्यापन गराउँछन् । उनी हाल नेपाली लेखक संघ कास्कीका अध्यक्ष समेत रहेका छन् । समसामयिक विषयवस्तुमा लेख्न रुची राख्ने उनका लेख रचनाहरु विभिन्न पत्रपत्रिका तथा अनलाइन सञ्चार माध्यममा पनि प्रकाशन हुने गरेका छन् । तारा भट्टराई ‘आँखा अझै खुल्न बाँकी छ’ कविताकी रचनाकार तारा भट्टराईको कविता उत्कृष्ट कवितामा छनोट भएको छ । तारा भट्टराईको जन्म वि.सं. २०४३ साल बैशाख २ गते भएको हो । मोरङको सुन्दर हरैचा नगरपालिका-१२ मा जन्मिएकी तारा अहिले सरकारी सेवामा कार्यरत छिन् । उनी हाल मोरङकै बेलबारी नगरपालिकामा प्रशासन सेवा अधिकृत छैटौं तहमा सेवा गर्दै आएकी छिन् । ११ वर्षदेखि निरन्तर सरकारी जागिरमा भएपनि उनको रुचीको क्षेत्र भने पत्रकारिता र साहित्य हो । एमपीएमा स्नातकोत्तर गरेकी उनी कानुनकी विद्यार्थी पनि हुन् । उनी कोरोना भाइरसको कारण आफू धेरै तनाव र डरमा रहेको समयमा विकासन्युजले स्वतन्त्र लेखन प्रतियोगिताको आयोजना गरी लेखनमा व्यस्त बनाउने भूमिका खेलिदिएकोमा धन्यवाद प्रकट गर्छिन् । मन्दिरा मधुश्री ‘पाँचौं युग’ नामको कथा शीर्षक राखेकी मन्दिरा मधुश्रीको कथा उत्कृष्ट भएको छ । वि.सं. २०२९ बैशाख २८ गते जन्मिएकी मन्दिरा मधुश्रीको घर भोजपुर हो । मधुश्री भोजपुरको मुलाबारीमा जन्मिए पनि हाल उनी काठमाडौंमै बस्छिन् । भाषा साहित्यमा दख्खल राख्ने उनको रुचीको विषय नै साहित्य हो । उनले नेपाली साहित्यमै स्नातकोत्तर गरेकी छिन् । उनका दुई वटा साहित्यिक कृति ‘बुधनको घोडी’ कथा संग्रह र ‘मधुराग’ गजल संग्रह प्रकाशित भइसकेका छन् भने अझै केही कृतिहरु प्रकाशनको चरणमा रहेको उनी बताउँछिन् । रमेश भट्टराई सामाजिक सञ्जालमा सबैभन्दा बढी कमेन्ट आएर छनोट भएको ‘हजुरबा, म र छोरी’ नाम रहेको निबन्धका लेखक रमेश भट्टराई हुन् । ताप्लेजुङको फुङलिङ नगरपालिका-२ मा वि.सं. २०४४ साल जेठ २५ गते जन्मेका भट्टराई समसामयिक लेखनका साथै भाषा साहित्यमा रुची राख्छन् । नेपाली विषयमा पीएचडी स्कलर उनी आदर्श बहुमुखी क्याम्पसमा उप-प्राध्यापकका रुपमा कार्यरत छन् । गोपाल खनाल गोपाल खनालको ‘प्रकृति माथि न्याय गरौं, जित मान्छेकै हुनेछ’ निवन्ध विधामा उत्कृष्ट भएको छ । लेखन साहित्य र पत्रकारितामा रुची भएका खनालको ज्नम वि.सं. २०४५ असार ९ गते भएको हो । विभिन्न सञ्चार माध्यममा संलग्न भएर काम गरिरहेका उनी हाल पोखराको टप्स माध्यमिक विद्यालयमा अध्यापक छन् । नुवाकोटको तारकेश्वर गाउँपालिका-१, दाङसिङ घर भएका उनी विगत १५ वर्षदेखि पोखरामै छन् । उनले नेपाली विषयमा स्नातकोत्तर गरेका छन् भने स्नातकमा पत्रकारिता विषय लिएर पत्रकारितामा आवद्ध भएका हुन् । दिपेश घिमिरे दिपेश घिमिरेको लेख सम्पादकको उत्कृष्ट छनोटमा परेको छ । रामेछापको बबियाखर्कमा जन्मेका दिपेश घिमिरे त्रिभुवन विश्वविद्यालयका समाजशास्त्र विषयका उप-प्राध्यापक हुन् । समाजशास्त्र विषयमै एमफिल गरेका दिपेश हाल थप अध्ययनका लागि अमेरिकामा छन् । समसामयिक विषयवस्तु, भ्रष्टाचार न्युनिकरण र सुशासन अभिवृद्धिमा कलम चलाउने उनका लेख रचना विभिन्न पत्रपत्रिका तथा अनलाइन सञ्चार माध्यममा समेत नियमित प्रकाशन हुने गरेका छन् । सन्तोष तिमल्सिना लेख सामाजिक सञ्जालमा सबैभन्दा बढी सेयर भएर उत्कृष्ट हुने व्यक्ति हुन् सन्तोष तिमल्सिना । काभ्रेको बेथानचोक गाउँपालिका-२, ढुंखर्कमा वि.सं. २०४४ पुस २ गते उनको जन्म भएको हो । शिक्षाशास्त्रमा स्नातक गरेका उनी हाल विभिन्न सामाजिक सञ्जाल, पत्रकारिता र सहकारीमा पनि आवद्ध छन् । वि.सं. २०६५ सालदेखि नै पत्रकारिता सुरु गरेका उनी हाल काभ्रेकै ‘काभ्रे सन्देश’ साप्ताहिक पत्रिकामा सह-सम्पादकको भूमिकामा कार्यरत छन् । उनले काभ्रेको पार्वती क्याम्पसबाटै स्नातक गरेका हुन् ।   विजेता घाेषणा कार्यक्रमकाे भिडियाे हेर्नुस्:

मल्लले जिते एक लाखको स्वतन्त्र लेखन प्रतियोगिता

काठमाडाैं । विकासन्युज डटकमले आयोजना गरेको स्वतन्त्र लेखन प्रतियोगिताको विजेता सुवास मल्ल बनेका छन् । कोरोना महामारी र हाम्रो भविष्य विषयक शिर्षकमा आयोजना गरिएको स्वतन्त्र लेखन प्रतियोगितामा प्रतिस्पर्धाका लागि प्राप्त भएका १ सय ११ लेखमध्ये  ९६ लेख प्रकाशित भएका थिए । त्यस मध्ये मल्लले लेखेकाे अवसरहरुले ढकढक्याउँदै हाम्रो ढोका शिर्षकको लेख प्रथम भएकाे हाे । यस्तै, स्वतन्त्र लेखन प्रतियोगितामा अविन ओझा दाेस्राे भएका छन् भने तृतिय धनप्रसाद पौडेल भएका छन् । ओझाले पृथक तरिकाले उदाउँदै विश्व र पौडेलले निरर्थक मानव निर्मित सीमाना र सुरक्षा घेरा शिर्षकको लेख लेखेका थिए । यस्तै, प्रतिस्पर्धामा लेख समूहमा सञ्जिव पौडेलको आत्मर्निभरताको बाटोमाको शिर्षकको लेख उत्कृष्ठ भएकाे छ भने सम्पादकीय समूहबाट छनोट लेख दिपेश घिमिरेको समृद्धि र वर्वादीको दोबाटोमा उभिएको नेपाल शिर्षकको लेख छनोट गरिएको छ । सामाजिक सञ्जालमा सबैभन्दा बढी कमेन्ट भएको रमेश भट्टराईको हजुर बा म र छोरी शिर्षकको लेख छनोट भएकाे छ भने सबैभन्दा बढी सेयर भएको सन्तोष तिमिल्सिनाको विश्वबन्धुत्वको भावनामा आगामी यात्रा शिर्षकको लेख लाेकप्रियबाट विजयी भएकाे छ । यस्तै, मन्दिरा मधुश्रीको पाँचौ युग उत्कृष्ट कथा, तारा भट्टराईको आँखा आजै खुल्न सके जीवन बाँकी रला  उत्कृष्ट कविता र गोपाल खनालको प्रकृतिमाथि न्याय गराैं जित मान्छेकै हुनेछ नामको निवन्ध विधागत रूपमा उत्कृष्ट भएका छन् । विकासन्युजले सोमबार एक कार्यक्रमको आयोजना गरी विजेताहरुको नाम घोषणा गरेको हो । यसभन्दा अघि भानुजयन्ती अर्थात आजैको दिनमा भब्यताका साथ कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गर्ने भनिए पनि विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण १५ जनाभन्दा बढी भेला हुन नपाइने सरकारको नियमलाई पालना गरी सम्पादन मण्डल र निर्णायकहरु बसेर विजेताहरुको घोषणा गरिएको विकास मिडियाका प्रबन्ध निर्देशक रामकृष्ण पौडेलले बताए । निर्धारित समयभित्र १०५ जना लेखकले १ सय ११ वटा लेखर रचना पठाएर प्रतिस्पर्धामा भाग लिएका थिए । प्राप्त लेख रचनाहरु इमेलमा प्राप्त मिति र समयका आधारमा क्रमागत रुपमा सूचिकरण गरिएको थियो । पहिला प्राप्त रचनालाई पहिला नै प्रकाशन गर्ने विधिमा गएकोले कुनै पनि लेखकले दुई वा सोभन्दा बढी रचना पठाएको अवस्थामा पहिलो प्रकाशनलाई प्रतिस्पर्धामा सहभागी गराइएको थियो । प्रतिस्पर्धाको लागि १ सय ११ वटा लेखररचनाहरु प्राप्त भएकोमा ९६ वटा प्रतिस्पर्धीका रुपमा प्रकाशित भएका थिए । पौडेलले कपीमा लेखेर फोटो खिचेर वा स्क्यान गरी इमेल गरेका वा पुनः टाइप गर्नु पर्ने, विदेशी लेखक वा अन्य संस्थाको वेवसाइटबाट पुरै अनुच्छेद नै नेपालीमा उल्था गरिएको भेटिएका लेख र रचनाहरुलाई प्रतिस्पर्धामा सहभागी नगराएको बताए । एउटै लेखकले पठाएका एक भन्दा बढी चरना मध्ये पहिले पठाएकाे लेख/रचना प्रकाशित गरिएकाे थियाे । ‘प्राप्त लेख र रचनालाई पहिलो चरणमा हामीले प्रकाशनयोग्य छ कि छैन भनेर मात्र मूल्याङ्कन गरेका थियौं, दोस्रो चरणमा पाठक मूल्याङ्कनलाई निश्चित अंक दिँदै प्रकाशित लेख र रचनाको गुणस्तर मूल्याङ्कन गर्यौं, असार १५ गतेसम्म विकासन्युजको वेबसाइट, फेसबुक र ट्वीटर पेजमा आएका प्रतिक्रिया तथा सेयर संख्यालाई मूल्याङकनको रुपमा हेरेर उत्कृष्ट लेख रचनालाई छनोट गरिएको हौं,’ उनले भने । यस्तै, विकासन्युजका सम्पादक शिव प्रसाद सत्यालले प्रतिस्पर्धामा भाग लिई सर्वाधिक सेयर भएको लेख रचना र र सर्वाधिक प्रतिक्रिया प्राप्त लेखनलाई पनि पुरस्कृत गर्ने योजना रहेको बताए । उनले कोरोना भाइरसको कारण उत्पन्न लकडाउनले विजेताहरुलाई विजेता घोषणा कार्यक्रममा सहभागी गराउन नपाएको बताउँदै अब अगष्ट १५ मा पुरस्कार वितरण कार्यक्रमको आयोजना गरी पुरस्कार हस्तान्तरण गर्ने बताए । यस्तै स्वतन्त्र लेखन प्रतियोगिताका निर्णायक अर्थविद् डा. अच्युत वाग्लेले आफूले लकडाउनको समयमा प्रतिस्पर्धाका लागि प्राप्त भएका लेख/रचनाहरु पढ्न र मूल्याकंन गर्न पाउँदा धेरै खुसी महसुस भएको बताए । मैले युवाहरुमा यति धेरै सिर्जनासिलता छैन भन्ने महसुस गरेको थिएँ, यी लेख/रचनाहरु पढेपछि यति सिर्जनसिल र परिपक्क युवाहरु पनि देशमा रहेछन् भन्ने ठाने, उनले भने । अर्का निर्यायक साहित्यकार बासुदेव अधिकारीले लकडाउनको समयमा यस्तो किसिमको लेखन कार्यक्रम गरेकोमा आयोजकलाई धन्यवाद दिए । उनले सिर्जनशील युवाहरुलाई लेखनमा प्रोत्साहन गर्नको लागि यस्ता खालका कार्यक्रमको आवश्यकता रहेको बताए । यस्तै लेखन प्रतियोगिताको अर्का निर्णायकमा प्रध्यापक डा.भगवान कोइराला थिए । तर कार्यव्यस्तताका कारणा उनी कार्यक्रम विजेता घाेषणा कार्यक्रममा सहभागी हुन नपाएकाे जानकारी दिए । विकास न्युजडटकमले चैत २० गते सार्वजनिक सूचना प्रकाशित गरी ‘कोरोना महामारी र हाम्रो भविष्य’ विषयमा लेख र रचना प्रतियोगिता गर्ने जानकारी गराएको थियो । प्रतियोगितामा प्रथम हुने लेख/रचनाले १ लाख रुपैयाँ नगदसहित सम्मान दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ नगद र सम्मान प्राप्त गर्नेछ । यस्तै, विभिन्न विधामामा उत्कृष्ठ हुने लेखलाई पनि पुरस्कृत गरिने छ । पुरस्कार वितरणको कार्यक्रम भने अगष्ट १५ लाई तोकिएको विकास मिडिया प्रालिले जनाएको छ ।