ब्लग


बैंकिङ नोकरी: घर बाहिरको जागिरको पीडा

आज पनि आखाँमा फिटिक्कै निन्द्रा छैन । मलाई थाहा छ, स्वास्थ्यको लागि दैनिक ६/७ घण्टा सुत्नु पर्छ । म सुत्न नखोजेको पनि होइन । अनिदो बस्न त कसलाई पो मन हुन्छ र ? फेसबुक जबरजस्ति कत्ति चलाउनु ? यो ब्लग लेख्नुको पछाडि मलाई निन्द्रा नलाग्नु पनि हो । अहिले मैले ल्यापटपमा लेख्दै गर्दा मेरो भित्तामा झुन्डीएको घडीले साढे बाह्र बजेको संकेत गरिरहेको छ । जागिर खाएपछि खटाएको कार्यक्षेत्रमा अवश्य जानुपर्दछ । यसमा दुइमत छैन । निक्कै बर्ष विराटनगर को घर पाएक नोकरी गरेपछि नयाँ परिवेश , नयाँ अवसर ,नयाँ जिम्मेवारी र चुनौतिहरु सामना गर्ने आफ्नै इच्छाले पुर्विपहाडको विकट क्षेत्र मैले नै रोजेको हो । फेरि नोकरी भनेको कामको साथ साथै जागिरको दौरान सरुवा भएर नयाँ नयाँ ठाउँ हेर्ने अवसर पनि हो । विभिन्न जात जाति धर्म भौगोलिक बिबिधता र प्राकृतिक छटाहाहरु सँगं परिचित हुने मौका पनि हो । नोकरीको दौडान बाहिर जाँदा र बस्दा आफ्नै एक किसिमको अनुभव र अनुभुति हुने रहेछ तर पारिवारिक पाटो पनि निक्कै गाह्रो हुने रहेछ । त्यसमा पनि बैंकको नोकरी बाहिर बस्दाको पीडा सम्झदा जिवनका कयौ पारिवारिक पाटाहरु छुट्ने रहेछन् । मलाई सम्झना छ, कोरोनाको कारण गत साल यातायातको साधन नचल्दा र सरकारले लकडाउन को आदेश दिँदा करिब ६ महना पछाडि मात्र घर जान पाएको तितो अनुभव । अनि घरको मुल गेट खोल्दै गर्दा दुई वर्षमा देखेको र छोडेको छोरी आब्या एक्कासि अढाई वर्षमा मलाई देख्दा अपरिचित भनेर भाग्दै डराएर मामु को मान्छे हो ? भनेर म तिर फर्केर सोधेको नमिठो अनुभव । नमिठो लाग्छ छोरिले नै बाबा नचिन्दा । मलाई यहाँबाट घर जान एक दिन पुरै लाग्ने र आउन एक दिन पुरै लाग्ने कारणले त्यसमा पनि बैंकको नोकरीमा भनेको बेला छुट्टि नपाइने हुनाले अक्सर ५÷६ महिनामा म घर जान्छु । घर जान पाए भने खुसि लाग्छ । भोलि घर जाने भनेपछि त्यो रात निन्द्रा नै लाग्दैन । ५/६ महिनामा घर जाँदा छोरी पहिले देखेको भन्दा निक्कै बढेकी हुन्छे । सानो लिचीको बिरुवा नर्सरीबाट ल्याएर अस्तिको पल्ट रोपेको थिएँ । यात्रामा बसभरी विरुवा कत्रा भए होलान् भनेर सम्झन्ना आउँछ । घर पुगि हेर्दा ओइलिएछ । पानी दिनै पिच्छे पटाउन बिर्षे छन् क्यारे । गुलाफको फूल पनि ओइलिएछ । घरको पर्खाल पनि चर्किन थालेछन् । सम्झाउने म पनि त घरमा छैन नि । फोनबाट भएपनि पानी पटाओ है भनेर सम्झाउनु पर्थ्यो । मैले पनि बैंकिङ नोकरीको व्यस्तताले बिर्सेछु । उनीहरुले पनि बिर्सिएछन् । कोरोनाको कारणले १५ दिन पाइने फोर्स लिभ पनि सबै बैकले नदिने भइसक्यो । घरको बुढी आमाको एउटै सपना छ, हरेक बुढाबुढिको जस्तै भारतको चारधाम तिर्थ यात्र गर्ने । यो साल लामो बिदा नपाएर हो । अर्को पल्ट आउँदा पक्कै तिर्थ लान्छु भनेर मेरी बुढी आमालाई मैले ढाँट्दै गाडी चढेर कार्यक्षेत्रमा फर्केको मलाई अझै सम्झना छ । नजिकैको छिमेकि मरेर दुःख लाग्छ । म यहाँ छ,ु मलामी जान पाइएन । आफन्त नातागोेताको घरमा बिवाह लागेको छ । फोनबाट सुन्छु र चित्त बुझाउँछु । यहाँ आफन्त पनि कोही छैनन् । मेरा सबै सम्वन्ध पेशागत हुन् । दिनभरि काउन्टरमा आउने मान्छेसँग रमाउन खोज्छु । मेरो बैंक भित्र कोहि केटाकेटी आए भने मेरो छोरी पनि यत्रै भइ होली जस्तो लाग्छ । बृद्घवृद्घा हरेक चौमासिकमा सामाजिक सुरक्षा भत्ता लिन भत्ताको लाइन मा बसेको देख्दा मलाई ति चाहुरिएको अनुहारमा आफ्नै आमा देख्छु । प्रत्येक पटक घर ३/४ दिनको छट्टिमा जाँदा आफ्नै घर बिरानो लाग्छ । जाँदा हवर हवर नै हुन्छ । बिजुलको बिल नतिरेको ६ महिना भएछ। घर जग्गाको कर नतिरेको महिनौ भएछ । टेलिफोनको लाइन पनि नतिरेर काटिएछ । फ्रिज पनि बिग्रिएछ । घरमा यो साल चाहिँ रङ लगाउनु पर्ने छ खै भ्याइँन्छ वा भ्याइँदैन । बुढी आमा मात्र होइन घरको भित्ताहरुले पनि मलाइ नै खोजिरहेको छ । म भने यता अफिसको टारगेट पुर्याउन तल्लिन छु । पेशागत कर्तव्य र धर्म मान्दै । बैंकको काम गरेपछि महिनामा तलब आउँछ अनि किरानाको मासिक रासनको बिल तिरिन्छ । बैंकले घरको चुलो बालेको छ । अफिस त १० देखि ५ बजेसम्म लाग्छ । तर, अफिस सकिएपछि उकुसमुकुस हुन्छ । घुम्न जाने कतै ठाउँ पनि छैन । तास पनि खेल्न आउँदैन । रक्सि कहिल्यै खाइएन । उफ ! सम्झदा यो एकान्त गाह्रो र गाह्रो महसुस हुन्छ । साथी त एकान्तमा केबल भित्ताको घडी भएको छ । घडीको सुई चाँडो घुमे हुने नी । क्यालेन्डरको पन्ना चाँडो पल्टे हुने नी । दशैं आउन एक महिना पनि छैन । घर जान पनि कमै दिन बाँकी छ । यहाँ बसेको पनि चार वर्ष भएछ । एकै ठाउँ बस्दा बस्दै अब पट्यार लाग्न थालिसकेको अब त घर पायक नै ट्रान्सफर भए हुने नी काम कति बाँकि छ । ट्रान्सफर भइहाले घर नजिक भए आमालाई तिर्थ लाने थिएँ । सधैँ पानी पटाइ ओइलिएको गुलाफहरु फुलाउने थिएँ । अनि नजिकैको मन्दिरको देवतालाइ चढाउने थिएँ । अब त छोरी पनि बाबा खोज्छे । उ सँग साँझमा खेल्ने थिएँ । घरका भित्ताहरु रङ्ग्याउने थिएँ । अनि फुल फुलाए जसरी फुलाउने थिएँ, मेरो ओइलिएको बैंकर परिवार ।

सामाजिक संजाल हेरेर सेयर किन्नेहरुका नाममा

११२९ विन्दुमा रहेको नेप्से परिसुचक बढेर ३१९८ विन्दुमा पुग्यो । बजार बढ्दा सबै खुसी थिए । किनभने आज ४ सय रुपैयाँमा किनेको सेयर भोलि ४४० हुन्थ्यो । पर्सि ४८४ रुपैयाँ हुन्थ्यो । केही लगानीकर्ताको त दिनै १० प्रतिशतका दरले पोर्टफोलियो बढ्यो पनि होला । सेयर बजार बढ्दा सबैभन्दा बढी खुसी सेयर ब्रोकर भए । ब्रोकरले दैनिक १ करोडभन्दा बढी पनि कमाए । दैनिक २० अर्ब रुपैयाँको हाराहारीमा कारोबार भइरहेको बेलामा एक ब्रोकर भन्दै थिए– जिन्दगीमा यति पैसा कमाइएला भनेर कहिल्यै सोचिएको पनि थिएन, नसोचेको पैसा कमाइएको छ । ब्रोकर मात्रै होइन, नेप्से, सेवोन र सीडीएससीले पनि राम्रै दाम कमाए । करको रुपमा सरकारले पनि टन्नै कमायो । त्यसैले बजार बढेको बेलामा लगानीकर्ता खुसी, सरकार झनै खुसी । ब्रोकर त सरकारभन्दा पनि खुसी । पैसा कमाउन पाउँदा खुसी नहुने को होलान् र ! तर, बढेर ३१९८ विन्दुमा पुगेको बजार अहिले घटेर २६९८ विन्दुमा आएको छ । नेप्से परिसुचक १५.६३ प्रतिशतले घटेको छ । बजार घटेपनि ब्रोकर कमिसन घटेको छैन । सरकारले कर पाइरहेको छ । नेप्से, सेवोन र सीडीएससी कमिसन खाइरहेकै छन् । बजार बढ्छ भन्ने मात्रै ज्ञान प्राप्त गरेर बजारमा छिरेका दया गर्न योग्य लगानीकर्तालाई अहिले तत्व ज्ञान भएको हुन सक्छ– सरकार, ब्रोकर, सेवोन र सीडीएससी नाफाका भागिदार मात्र होइनन्, घाटाको कारोबारमा पनि आफ्नो भाग खाइरहने परजीवी हुन् भनेर । हाम्रो बजारमा सरकार, ब्रोकर, सेवोन र सीडीएससी जुवातास खेलाउने खाले जस्तै हुन्, जो जसले जिते पनि मतलब राख्दैन, प्रत्येकचोटीको खेलमा सय पचास उठाइरहन्छ । त्यसरी खेलेको जुवातासमा के हुन्छ थाहा छ ? खेल्ने सबैले हारिसकेका हुन्छन्, पैसाजति खालेको तन्दामुनि थुप्रिएको हुन्छ । मैले ४ सयमा किनेको सेयरको मूल्य १२ सय पुग्यो भनेर केही अघि फुई लगाउने लगानीकर्तालाई अहिले यस्तै महसुस भएको होला । हाम्रो बजारमा अधिकांश लगानीकर्ता सामाजिक संजाल हेरेर सेयर किन्छन् । महाराज भनेर चिनिने दीपेन्द्र अग्रवालले कुन स्क्रिप्ट उठाउँदै छन्, सेयर बजारको डन भनेर चिनिने अम्बिका पौडेलले कुन कम्पनी ताक्दैछन् भन्ने कुरा सामाजिक संजालबाट थाहा पाउने र त्यसैको आधारमा कम्पनी छनोट गरेर सेयर किन्नेहरुको संख्या ठूलो छ । तर, सामाजिक संजाल हेरेर सेयर किन्नेहरुलाई थाहा छैन कि दीपेन्द्र अग्रवाल पैसा भएको मान्छेहरुको टीम बनाउँछन्, त्यस्ता मानिसको पैसा जम्मा पारेर लगानी गरिदिन्छन् र त्यस्तो लगानी मेरो नै हो भनेर सामाजिक संजालमा फुइ लगाउछन् भन्ने । विश्वास लाग्दैन भने दीपेन्द्र अग्रवाललाई सोध्नुस् न– मकवानपुरे काँग्रेसी नेता इन्द्र बानियाँको २० अर्ब रुपैयाँ सेयर बजारमा म्यानेज गरिदिने व्यक्ति को हो भनेर । अर्काको धनमा खेल्नेहरुलाई र आफ्नै धनमा बजारमा खेल्नेहरुलाई के कस्तो फरक महसुस हुन्छ, आफै विचार गर्नुस् । सेयर बजारका डन भनेर चिनिने अम्बिका पौडेलका खास मान्छे प्रकाश तिवारी अहिले काँग्रेसी नेता बन्न स्याङ्जातिर व्यस्त छन् । तिवारीलाई काँग्रेसको अधिवेशन लागेको छ । उनी अहिले गाउँतिर भन्दैछन् रे– ११ सयको नेप्सेमा छिरेर ३२ सय पुगेपछि बजारबाट निस्किएँ, अब बढ्यो भने पनि बढीमा ३५ सय पुग्ने न हो, ३२ सयबाट बढेर ३५ सय पुग्दा मलाई कति नै फाइदा हुन्छ र, अब क्यास लगेर बैंकमा राख्ने हो, वियरिस बजार आएपछि सेयर किन्ने हो, अर्काे बुलमा फेरि ३ गुणाले नाफा गरेर वाहिरिने हो । अम्बिका पौडेलले बजार बढ्ने देखियो भन्ने तर्क सार्वजनिक गरे भने बुझे हुन्छ– अब उनी सेयर बेच्ने सोचमा रहेछन् । सार्वजनिक रुपमा बजार घट्ने कुरा पौडेलले गरे भने अब उनी सेयर किन्ने सुरमा रहेछन् भनेर बुझ्नु पर्छ । सामाजिक संजाल हेरेर सेयर किन्ने विचरा लगानीकर्ताहरु पौडेलले जे भनिरहेका हुन्छन्, त्यसलाई ठ्याक्कै सुल्टै बुझिदिदा रहेछन् । अहिले फेसबुक, ट्वीटर, ह्वाट्सएप र भाइबर ग्रुपहरुमा यो कम्पनीमा फलानो पस्यो, यसले यो स्क्रिप्टलाई यति पुर्याउदैछ भन्ने हल्ला व्यापक छ । लगानीकर्ताहरु कस्तो भ्रममा हुने गरेका देखिन्छन भने अरुलाई धनी बनाइदिन अम्बिकाजी र दीपेन्द्रजीहरुलाई भगवानले नै पठाउनु भएको । अहिले फेरि क्लबहाउस आतंकले रात आतंकित छ । क्लबहाउसमा दीपेन्द्रजी आफ्नो बेग्लै झुण्डसहित उपस्थित हुन्छन् । उनको समुह हान्नुपर्छ, फाँड्नुपर्छ, ठोक्नुपर्छ, बजार बढ्नु पर्छ, बढेन भने सरकारले क्षतिपूर्ति दिनुपर्छ भन्ने आशयसहित रात रंग्याइरहेका हुन्छन् । क्लबहाउसमा मुक्ति अर्याल आतंक पनि रातमै सुरु हुन्छ । मुक्ति अर्याललाई चिन्नुहुन्छ नि ! उनी युरोप, अमेरिकादेखि विश्व बजार खर्लप्पै बुझेका पुँजी बजारका अति जान्ने सुन्ने (अजासु) व्यक्तित्व हुन् । प्रत्येक रात उनी ठसठस कन्दै बजार घट्दैन, बढ्छ, लगानी गर्नुपर्छ, जसरी हुन्छ अहिले झरेको बजार थेग्नुपर्छ भन्ने प्रवचन दिन्छन् । मुक्तिजीको क्लबहाउस रुममा सधै भेटिने व्यक्ति हुन् ग्लोबल आईएमई बैंकबाट जागिर गएपछि सेयर बजारका ज्ञाता बनेका बैंकर पर्शुराम कुँवर । कुँवरसँगै लोली मिलाउन आइपुग्ने गरेका छन्, मिस्टर अलनोन जस्तै गरी प्रस्तुत हुने बैंकर मनोज ज्ञवाली । त्यही भेटिन्छन् विष्णु बस्याल । केशव श्रेष्ठ हुँदैनन् त भन्नै भएन । अम्बिका पौडेल र प्रकाश तिवारी पनि बेलाबेला झुल्किने गरेका छन् । दीपेन्द्रजीको क्लबहाउस रुमको असलियत बजार बढ्नु पर्छ भन्ने कुरा गरेर बजारमा वाहुबल प्रवेश गराउने प्रकृतिको छ । उनी सेयर बजारको केन्द्रविन्दु आफू मात्रै हो भन्ने सन्देश प्रवाह होस भन्ने चाहन्छन् । दीपेन्द्र अग्रवालले जे बोल्यो बजार त्यही नै हो, त्यस्तै नै हुनुपर्छ भन्ने भ्रम यो ग्रुपको छ । मुक्तिजीको क्लबहाउस रुमको असलियत लगानीकर्तालाई बुलट्रयापमा पार्ने खालको छ । उनीहरु बजार बढ्छ, बढ्नुपर्छ, अहिले घटेको भएपनि जसरी पनि थेग्नुपर्छ भनेर लगानीकर्तालाई सेयर किनाउन चाहन्छन् । यो भनेको बुलट्रयाप हो । तर, यो ग्रुपले बुलट्रयापको अभ्यास गरेपनि बजारमा बियरिसट्रयाप सुरु भए जस्तो पनि देखिन्छ । सेयर बजारमा लगानी गर्न आउनेले सोझा लगानीकर्ता भनेर छुट पाउँदैनन् । साना लगानीकर्ता भनेर आरक्षण पनि हुँदैन । कम जानकारी भएका लगानीकर्ता भनेर बेग्लै कुनै व्यवस्था नै हुँदैन । कम्पनी कस्तो हो ? कम्पनीको बोर्ड र व्यवस्थापन कस्ता व्यक्तिले संचालन र नेतृत्व गरेका छन् ? कम्पनीको आगामी योजना के कस्तो छ ? कम्पनीको अहिलेको वित्तीय अवस्था कस्तो छ ? राम्रो प्रतिफल दिएको छ भने कसरी दिएको छ ? भविष्यमा कम्पनी कस्तो हुन सक्छ ? ट्रेडिङ प्रयोजनको लागि सेयर किन्दा के के कुराहरु हेर्ने ? लगानी प्रयोजनको लागि सेयर किन्दा के के कुरामा ध्यान दिने ? कम्पनीको फण्डामेन्टल र प्राविधिक विश्लेषणले के देखाउँछ ? वित्तीय विवरणहरु के कस्ता छन् भन्ने जस्ता विषय हेर्नु छैन, विश्लेषण गर्नु छैन । कसैको फेसबुक स्ट्याटस हेरेर पैसा खन्याएको छ, कसैले क्लबहाउसमा के भने भनेर दौडादौड गरेको छ । यस्ता हावादारी लगानीकर्ता फसेनन् भने सेयर बजारले राम्रोसँग काम गरेको छैन भनेर बुझ्नुपर्ने हुन्छ ।

मेरा बैंकर साथी

अक्सर मेरा स्कुल पढ्ने धेरै साथीहरु आज नोकरीको सिलसिलमा कोही बिदेशिएका छन्, कोही सरकारी पेसामा आवद्द छन् । कोही व्यापारमा र कोही बैंकमा कार्यरत छन् । अरु पेसाका साथीसँग प्रायः भेट भइरहन्छ । कहिले कोटेश्वरमा बस चढ्दै गर्दा, कहिले चावहिलको सिनेमा हलमा, कहिले परिवारसँग घुम्न जाँदा फनपार्कमा । मसँग भेट नहुने साथीहरु भनेको प्राय: बैंकमा काम गर्ने साथीहरु हुन्। उनीहरुसँग आक्कल झुक्कल भेट हुन्छ । खुसी लाग्छ धेरै दिन पछि अचानक भेट हुँदा बैंकर साथीहरुसँग । धेरै दिनपछि आफूसँगै पढेको साथी भेट भयो । यस्सो बसेर कुराकानी गरौं न त भन्यो हतार छ यार कुनै दिन बसुम्ला नि ल भन्दै भेट्न पाएको हुँदैन बिदा भइहाल्छन् । कसैको मलामी जान हतार-हतार गरेझैँ जहिल्यै भेट्यो हतार-हतारमा हुन्छन् बैंकर साथीहरु । बैंकरहरु कार्य व्यस्तताले सामाजिक हुँदैनन्, कसैको बोलावट निम्तोमा पनि उनीहरु जाँदैनन् । विवाहमा पनि जाँदैनन् । मलामीमा पनि जाँदैनन् । बैंकरहरु घमण्डी हुन्छन् । व्यस्त त बहाना हो भन्ने आक्षेप एक हिसावले ठिकै हो कि हो कि जस्तो पनि लाग्छ । मेरै घरको कुरा गरुम् न । मैले कतिचोट आफ्नो घर सर्दा पूजा लगाउँदा होस् वा छोरीको पास्नीमा, कयौं चोटि आफूसँगै पढेका बैंकर साथीहरुलाई घरको कार्यक्रममा बोलाएको छु । कहिले क्लोजिङ् छ यार, आउन पाइनँ, सरि है, कहिले ट्रेनिङ छ यार, जुममा अनलाइन आउन पाइन है भन्दै आउदैनन् । तर, पनि उनीहरु साथी हुन् । म भने आफ्ना कार्यक्रममा बोलाउन छोडदिनँ । र, उनीहरु भने नआउन छोड्दैनन् । भनिन्छ नि, जो जहाँ काम गर्छ, जुन पेशामा आवद्द हुन्छ, विस्तारै उसको स्वभाव पनि पेशा अनुरुप हुँदै जान्छ । सायद त्यहि भएर होला, अरु पेसाका साथीहरुसँग कुरा गर्यो राजनैतिक, फिल्मीदेखि डुलेको घुमेको मात्र होइन मगंल ग्रहसम्मका कुरा हुन्छन् । मलाई कुरा गर्न मज्जा लाग्छ । आफनो पेशा पनि शिक्षक भएर होला, मलाई बोलिरहन मन पर्दछ । अँ साच्चि ! कुरा भनेपछि सम्झें । कुरा पनि दुईथरि हुन्छन् । एउटा गफ अर्थात आकाश पातालका कुरा जुन गरुन्जेल मज्जा लाग्छ । रमाइलो लाग्छ । तर, व्यवहारमा काम लाग्दैन । त्यसवाट शिक्षा पाइदैन । रमाइलो भने लाग्छ । यस्ता साथीहरु पनि चाहिन्छन्, कहिले काहीँ । अचाक्ली तनाव भयो भने रिफ्रेसमेन्ट हुनलाई । अरु साथीभन्दा मेरा बैंकर साथीहरु अलि फरक छन् । यिनीहरुसँग गफ गर्दा अलि चनाखो हुनु पर्दछ । डर पनि लाग्छ मलाई यिनिहरुसँग गफ गर्दा । कुरा गर्दै लग्यो हरेक कुरा आर्थिकमा ल्याएर जोडिदिन्छन् । जुनपनि कुरा फाइदा अनि नाफा घाटासँग तुरुन्त समावेश गरिहाल्छन । हिसावको बोक्रा बोक्रा निकाल्छन् । त्यहि भएर अलि डर लाग्छ मलाई बैंकर साथीहरुसँग कुरा गर्न । तर, पनि म प्रत्येक भेटमा बैंकर साथीहरुबाट केहि न केहि आर्थिक ज्ञान भने पाइनै रहन्छु । त्यहि भएर प्रायः पाँच–छ महिनामा एक–डेढ लाख वचत भएपछि खुसुक्क भेट्छु बैंकर साथीलाई । आर्थिक ज्ञान लिन र यो एक डेढ लाख कसरी सदुपयोग गर्ने भनेर सिक्न । उनीहरुमा आइडियाको खानी छ । म एउटा आइडिया लिन्छु र मेरो पैसाको सदुपयोग गर्छु । अब भनौ न, म सुरु सुरुमा गाउँबाट यो काठमाडौं आउदा मसँग पैसाको नाममा गाउँमा रहेको मेरो जग्गा र त्यो बेचेको पाँच लाख रुपैयाँ मात्र थियो । त्यहि बैंकर साथीको आइडिया र हिम्मतले एउटा पाँच लाखको सानो चार आना जग्गा किनियो । उसले भनेझै मलाई सेयरमा खासै रुचि र लगाव थिएन । उसले नै मेरो नागरिकता र फेटो मागेर उसकै ढिपीले डिम्याट खाता खोलियो । आइपिओ परिवारको हरेक सदस्यको नाममा भरियो पनि । यो सात आठ वर्षको दौरान आज मैले किनेको त्यो पाँच लाखको जग्गा आनाकै पन्द्र लाखमा जाने भइसक्यो । यता सेयरहरु पनि सवै बेच्दा नौ दश लाख जतिको पुगिसक्यो । अहिले उसैले घर बनाउन पनि मलाई हिम्मत दिइराखेको छ । केहि भएन भने जग्गा बैंकमा राखेर, मेरो शिक्षक पेसाको आम्दानी देखाएर होम लोन लिन भनिराखेको छ उसले । उ नभएको भए मलाई काठमाडौ जस्तो ठाउँमा घर बनाउने हिम्मत सायद आउदैन थियो होला । त्यहि भएर उसँग भेट नहुदा पनि खुसी लाग्छ । मेरै लागि र म जस्ताको लागि आइडिया बटुल्दै छ जस्तो लाग्छ । आखिर उसको ज्ञान मेरै लागि त हो नि । मेरो अरु साथीहरु खर्चालु छन् । एक भेटमा दुई तीन हजारको खर्च हुन्छ । मेरो भागमा एक हजार जति पर्छ । प्रत्येक भेटमा एक हजार चट् हुन्छ । तर, बैंकर साथीसँगको भेटमा दुई तीन सय नै काफि हुन्छ । एक हजारले त आइपियो भर्न पो पुग्छ । दश कित्ता सेयर पो भर्न मिल्छ भनेर उ ज्ञान दिन्छ मलाई । दश कित्ता सेयर भनेको भविश्यको केहि नभए पनि पचास हजार त पक्कै हो भनेर प्रत्येक आजको मेरो एक हजारलाई भविश्यको पचास हजारमा रुपान्तरण गर्छ मेरो बैंकर साथी । कहिले काहीँ त मलाई बोर पनि लाग्छ । उसले खाली आर्थिक मात्र कुरा गरेको देखेर । पैसा केहि होइन तर सवै थोक हो भनेर म पनि उसको कुरामा सहमति जनाउँछु । र, प्रत्येक भेटमा उसको हरेक कुरालाई सहमति जनाउँछु । बुझ्यौ तिमीले, सामान किन्दा मोलमोलाई गर्नु नि । डिस्काउन्ट माग्नु नि पसलेसँग । डिस्काउन्ट माग्न केको लाज भन्दै सानो सानो कुरा विचार गर्न लगाउछ उ, मलाई । तरकारी किन्दा किलोको पाँच रुपैयाँ घटायौ भने पनि वर्षमा त्यो पैसा दुई चार हजार हुन्छ भनेर उ मलाई तरकारी किन्न सिकाउँछ । वचत गर है, अनि वचत गरेको पैसा मुद्दतिमा राख है, धेरै व्याज पाइन्छ भन्दै मलाई वचत गर्ने बानी सिकाउँछ । ऊ फाल्तु कुरा गर्दैन । सायद पेशाले होला र उसको पेशाको बानीले होला । कसैलाइ सापटी नदिनु है, दिइहाले पनि धितो चाहि राख्नु है भन्दै ऊ मलाई सुरक्षित हुन सिकाउँछ । प्रत्येक मान्छेसँग नगद र कारोबार गर्दा क्लियर हुनु पर्दछ है । ऊ मसँग अभिभावक झै व्यवहार गर्छ । घर वनाउँ है, हाम्रो बैंकबाट होम लोन लेउ है । सस्तो व्याजको अफर छ है । अनि घर बनाएपछि घरको छानामा तरकारि लगाउ है भन्दै मलाई उ आत्मनिर्भर हुन सिकाउँछ । मेरो पैसा त सवै कति सेयरमा कति जग्गामा कति होमलोनको किस्ता तिर्नमा छ भन्दै आफूसँग चालु पैसा नभएको कुरा बताउँछ । सबै पैसा कमाउने र भविश्यमा बढ्ने क्षेत्रमा लगाएकोले सापटी दिन नसक्ने कुरा बताउँछ । तर, आइडिया चाहि दिन्छ मेरो बैकर साथी । आफू परिवारकै लागि रात दिन नभनि खटेको, परिवारलाई पर्याप्त समय दिन नसकेको, कामको व्यस्तताले समाजमा र सामाजिक क्रियाकलापमा समय दिन नसकेको, यत्रो कोरोनाको महामारीमा पनि ज्यानको जोखिम मोलेर सेवाग्राही कै सेवा गरेको तर परिवार, समाज र राज्यले त्यो नबुझिदिएकेले झन् उल्टै बैंकरलाई घमण्डी भनिदिएकोले आफ्नो र सबै बैंकर साथीहरुको मन यसमा चसक्क भएको कुरा उसले मलाई सुनाउँदा मेरो मन पनि खिन्न भएर आयो । अरु साथीहरुसँग हप्तै पिच्छे भेट हुदा गफ गर्न मज्जा लागेपनि, रमाइलो भएपनि हाँसी ठ्ट्टा भएपनि , सधै व्यस्त हुने मेरो बैंकर साथीसँग पाँच छ महिनामा एकचोटि मरेर भेट हुँदा पनि किन किन मलाई आफू आर्थिक रुपमा सुनिश्चित भएको महसुस हुन्छ । अरुले भनेझै उ आज मलाई घमण्डी लाग्दैन । बैंकर साथीलाई भेट्दा किन किन ढुक्क महसुस हुन्छ । त्यहि भएर होला सायद मेरो हरेक परिवारिक निम्तोमा ऊ आउन नभ्याए पनि म बुझ्छु उसको व्यस्तता । तर, बोलाउन उसलाई म छोड्दिन । म बोलाई रहन्छु, निम्तो गरिरहन्छु । मलाई थाहा छ, ऊ अत्यावश्यक क्षेत्रमा काम गर्ने मान्छे हो । टारगेट र प्रेसरमा काम गर्ने मान्छे हो । उसैले आइडिया दिएर होमलोन गर्दिएर आज म डेराको जिवनबाट मुक्ति हँुदै घर सर्दै छु । आज पनि मेरो निम्तोमा आउदैन । ऊ त म जस्ता हजारौको सेवाको लागि बैंकिङ काम गर्दै, सयौंको होमलोन, विजनेस लोन पास गर्दै कयौंको सपना पुरा गर्दै होला । कम्युटरको किवोर्डमा व्यस्त भई सायद कन्ट्रोल जेडआर गर्दै आफैलाई थकित हुनबाट रोक्दै रिफ्रेसमेन्ट गर्दै छ होला, मेरो प्यारो व्यस्त बैंकर साथी ।

बैंकर बुहारी

मलाई सम्झना छ– करिब दुई तीन वर्ष अगाडि, जतिखेर म बैंकमा नोकरी गर्दिनथें वा भनौं नोकरीको खोजिमा थिएँ, त्यतिखेर मेरो लागि घरमा विवाहको प्रस्ताव त्यति आउँदैनथ्यो । आईहाले पनि खासै राम्रो हुँदैनथ्यो । तर, जुन दिनदेखि बागबजार पद्मकन्या क्याम्पस छेउको एक प्रतिष्ठित बैंकमा काम गर्न थालेँ, त्यसमा पनि कस्टमर सर्भिस फ्रन्ट डेक्समा बसेर ग्राहकलाई सेवा दिन थालेँ र अलिअलि पैसा खेलाउन थालेँ, अनि त भुटुटुटु दिनहूँजसो घरमा मेरो लागि विवाहको प्रस्ताव आउन थालिहाल्याे । त्यति मात्र कहाँ हो र, परिचित र अपरिचितहरुको सामाजिक सञ्जाल फेसवुक र म्यासेन्जरमा साथी बनाउन रिक्वेस्ट पनि आउन थाल्यो । पहिलेपहिले नबोल्नेहरु पनि आजकल बहाना खोज्दै बोल्न खोज्छन् र नजिक हुन खोज्छन् । बोल्नु र नजिक हुन खोज्नु कदापि नराम्रो होइन । त्यहिभएर म पनि सामाजिक सञ्जालमा बोल्छु आफन्तजनसँग, साथीभाइहरुसँग अनि परिचित र अपरिचितहरुसँग । तर, बोल्दै गयो, अन्त्यमा मसँग बोल्न खोज्नेहरुको भित्री आसय भनेकै मलाई कसैको श्रीमती बनाउने, बुहारी वनाउने वा भाउजु बनाउने नै हुन्छ । कुरा यहिँ आएर टुंगिन्छ र म अनायासै मुडअफ हुन्छु र मोवाइल बन्द गर्छु । मलाई बुहारी बनाउन रुचाउनेहरु, मलाई भाउजु बनाउन रुचाउनेहरु, मलाई श्रीमती बनाउन चाहनेहरु मेरा सम्भावित तमाम सासु, नन्द र श्रीमानहरुदेखि आफैंमा हाँसो पनि उठ्छ । फेसबुकमा नयाँ फोटो मैलै अपलोड गरें भने सयौं लाइक आउँछ आजकल । वा भनौ बैंकको नोकरी गरेदेखि राम्रो कमेन्ट र लाइक बढेको छ । जमाना स्वार्थी छ नभए हिजोसम्म नबोल्नेहरु आज किन बोल्न खोज्छन् त ? नोकरी गर्ने नै केटी किन चहियो त ? बैंकर बुहारी नै किन रोज्छन् त ? मलाई हिजो भर्खर मात्र पनि एक ठाउँबाट विवाहको प्रस्ताव आयो । ममीले आज साँझ सुनाउनुभयो– केटा राम्रो छ अरे, राम्रो नोकरी गर्ने हो अरे, केटाको आमाले मलाई अफिस जाँदा देखेको रे, मन पराइन् अरे, भोलि हेर्न आउने रे हाम्रो घरमा । उनीहरुले तिमीलाई हेर्छन् छोरी । मुसुक्क हाँसिदिनु, केही सोध्न सक्छन् राम्ररी जवाफ दिनु भन्दै ममीले मलाई सम्झाउनु भयो । खाना खाइसकेपछि राति ओछ्यानमा पल्टिँदै सोच्न थालेँ – आजकल मानिसहरुको नजरमा बैंकर अविवाहित केटी रोजाइको एक नम्वरमा पर्दै गइरहेका छन् । बैंकर युवतीहरु स्मार्ट हुने, आर्थिक रुपमा सवल र सक्षम हुने अनि मेहेनती हुने कारणले गर्दा नै सबैकाे नजर उसमा गढेको छ । बैंकमा नोकरी गरेपछि परिवार, अफन्तजन र इस्टमित्रको यति धेरै विवाहको दवाव वढ्छ कि, यहि भएर करिब ८० प्रतिशत युवती बैंकमा नोकरी गरेको एक या दुई वर्षमै विवाह बन्धनमा बाँधिन्छन् । हो, मैले पनि एक दिन विवाह गर्नैपर्छ । आज नभए भोलि त यो बन्धनमा पक्कै बाँधिनु छ । तर, त्यति सजिलो कहाँ छ र बैंकरको घरजम ?विहान ९ बजेदेखि साँझ अवेरसम्म कार्यालयमै समय बिताउनु पर्छ । विदा पनि भनेको बेला पाइँदैन । कति गाह्रो छ घर र बैंकको व्यवस्थापन गर्न । मलाई थाहा छ, मेरा कतिपय साथीहरु छन्, जसले अविवाहित हुँदा मज्जाले बैंकमा समय दिएका थिए । समयमै कार्यालयमा आउँथे र राति पनि अबेरसम्म काम गर्थे । तर, विवाहपछि घर र अफिसको तालमेल मिलाउन नसक्दा र घरकाले बैंकर बुहारीलाई घरधन्दामा नसघाउँदा आजकल कार्यालय आउन ढिलो हुने मात्र होइन, कतिपयले त नोकरी नै छोड्नुपरेको तितो यथार्थ छ । त्यहि भएर मलाई कता कता डर  पनि लागिरहेको छ । भोलि मलाइ हेर्न आउने केटा कस्तो होला ? किन मैसँग विवाह गर्न खोजेको होला ? कतै मलाईभन्दा पनि मेरो मासिक तलव र बोनसको लोभले त होइन ? मेरो हुनेवाला सासु कस्ती होलिन् ? यी नानाथरी कुराहरु मनमा खेल्न थाले । फेरि अर्काे मनले भन्याे – होइन होइन, म त आफैंमा सक्षम केटी हो नि । उनीहरुले मलाई मन पराउने र हेर्ने मात्र हाेइन बरू मैले पनि केटा र उसकाे परिवार हेर्न पाउनुपर्छ । मेरो चाहना अनुसारको उनीहरु पनि हुनुपर्छ । मैले पनि रोज्न पाउनुपर्छ । वास्तवमा, एउटा हुनेवाला श्रीमानमा बाबाले जसरी केयर गर्ने साथीको छवि खोज्ने मलाई पनि हक छ । बहिनीले दिदीलाई जसरी माया गर्ने र हरेक अन्तरंग कुराहरु साट्नसक्ने नन्द खोज्ने मलाई पनि हक छ । आमाले जसरी मलाई भान्सामा सघाउनुहुन्छ, बैंकवाट घर थाकेर आउँदा छोरी गलेकी होली भन्दै जसरी मायाले टाउको सुम्सुम्याउनुहुन्छ, ठीक त्यस्तै छवि भएकी सासु खोज्ने मलाई पनि हक छ । बुढी भान्सामा काम गरिरहेकी छे, यो त महिलाकै मात्र काम हो भन्ने साेचाइ राख्दै हातमा रिमोट लिएर टिभी हेरेर बस्ने वा मोवाइल खेलाएर बस्ने श्रीमान् मलाई पटक्कै चाहिँदैन । हाे, मलाई हक छ आफूलाई बुझ्ने केटा रोज्ने । अनि मात्र म चुरा लगाउँछु, अनि मात्र म कसैको नामको सिन्दुर लगाउँछु । विवाह गर्ने, खुसीमा चुरा लगाउने रहरमा भोलि गएर यो चुरा भित्रको मेरा आजका स्वतन्त्र हातहरु बन्धन भयो भने के गर्नु ? भोलि मलाई हेर्न केटाकाे परिवार आउँदैछन् । आमाले भनेझैं उनिहरूसँग अवश्य म मुसुक्क हाँस्नेछु, झर्को नमानी हरेक कुराको जवाफ पनि दिनेछु । तर, मसँग पनि एउटा प्रश्न हुनेछ । मात्र एउट प्रश्न म सोध्नेछु मेरो हुनेवाला सासुलाई– बैंकर बुहरी नै किन चाहिने नि ? के हजुर बैंकर बुहारीको सासु हुने जस्ताे गहन जिम्मेवारी निभाउन सक्नुहुन्छ ?

तिमी दलित भएकोले कोठा पाइनौ, म बाहुन भएर कोटा पाइनँ

प्रिय मित्र नमस्कार, यो हप्ता नेपाली छापा, डिजिटल अनलाइन खबरहरु र रेडियो तथा टेलिभिजनहरुमा तिम्रै सर्वाधिक चर्चा सुनियो । तिमीले दलित भएर कोठा नपाएको खबरहरु बारम्बार सुनियो । तिमी छाइरह्यौं यो हप्ता नेपाली मिडियामा, समाजिक सन्जालहरुमा । आजको एक्काइसौं शताब्दीमा पनि यस्ता मानवीय जातीय विभेदका समाचारहरु सुन्दा मलाई असाध्यै नरमाइलो लाग्छ । आजको एक्काइसौं शताब्दीमा पनि सामाजिक कुरितीले मान्छेलाई विभेद गर्न मान्छे नै अग्रसर हुनु मानव जातिकै लागि लज्जाको विषय हो भन्ने मलाई लाग्छ । म सुन्दछु साथी, बेलाबेलामा नेपाली समाजमा कहिले दलित भएकै कारणले मन्दिरमा छिर्न नपाएको, कथित उपल्लो जात भनाउदाहरुसँग मन परापर हँुदा पनि विवाह गर्न नपाएको, भोज बिहे बटुलोमा सामेल हुन नपाएको जस्ता समाचारहरु पनि म वारम्वार पढिरहेको हुन्छु । मलाई पनि दुःख लाग्छ, नरमाइलो लाग्छ । तर, यो पनि थाहा छ कि यस्ता सामाजिक कुरितीहरु विस्तारै हट्दै जाने छन् र पहिलेको तुलानामा हटिरहेका पनि छन् । पिडा आ–आफनै छन् साथी । दलितलाई समाजिक तिरस्कारको पिडा छ । महिलालाई महिलाकै पिडा छ । मधेशीलाई आफ्नै हिसावको चित्त दुखाई छ । गरिबलाई गरिबीकै पिडा छ । बेरोजगारलाई रोजगारीको तनाव छ । व्यापारीलाई व्यापारकै चिन्ता छ । देश आर्थिक रुपमा सवल र सक्षम नहुन्जेलसम्म यस्ता पिडा देखिरहन्छन् भन्ने लाग्छ साथी । के गर्छाैं ! यो समाज यस्तै छ । विस्तारै परिवर्तन हुदै पनि त छ । त्यसैले दुःख लाग्छ नै । तर, समाज परिवर्तनको लागि हामी सबैको संयुक्त प्रयास आवश्यक छ । परिवर्तन भनेको एक्कासी हुँदैन । हरेक जातजतिका आ–आफनै समस्याहरु छन् । कसैलाई भाषाको समस्या होला, मैले बुझ्ने भाषा वोलेन भनेर । मेरो जातले वोल्ने भाषा, स्कुल, कार्यालयमा लागू गरेन भन्ने होला कसैलाई । कसैलाई मेरो धर्म मानेन् भन्ने होला । कसैलाई मेरो संस्कृति लोप भयो भन्ने होला । विविधताको साझा मञ्चमा बसेपछि यस्ता समस्या कहिले काँही आउदा रहेछन् । कहिले ‘लोग्ने टोकेको’ नाउँमा जिउदै जलाइएको समाचार सुन्छु । कहिले दाइजोको नाउँमा हत्या गरेको समाचार सुन्छु । कहिले वोक्सीको नाममा यातना दिएको समाचारहरु सुन्छु । साह्रै दुःख लाग्छ । तर, के गर्नु आखिर यस्ता सामाजिक कुरितीहरु त छन् नै । ठूलो मेहेनत गरेर यस्ता सामाजिक कुरिती हटाउँदै जानु नै छ हामीले । हामीले धैर्य गर्नुपर्छ भन्ने मलाई लाग्छ । सजग हुनुपर्छ । यस्ता समस्या बेला बेलामा देखा परिरहेको छन्, नेपाली समाजमा । तर, हामीले विवेकपूर्ण काम गर्नुपर्छ । यस्ता सामाजिक कुरितीलाई जरैदेखि उखेलेर फाल्नुछ । त्यसको लागि समय, मेहेनत र प्रयास सानो गरेर हुँदैन । सानो अभियानले यो सामाजिक कुरिती उखेलेर मिल्काउन सकिन्न । कानुनभन्दा माथि जस्तै गरी रहेको सामाजिक कुरितीलाई परास्त गर्नु भनेको कुहिनोले पहाड भत्काउनु जस्तै हो । तर, निरन्तरको र सामुहिक लडाईले नै यस्ता कुसंस्कार हटाउन सकिन्छ । हामी त सयौं थुंगा फूलका एउटै माला नेपाली न हौं । त्यसैले विस्तारै नेपाली समाज परिवर्तन हुनेछ भन्ने अपेक्षा गर साथी । विचलित नहोऊँ । चित्त नदुखाउँ, डेरा पाइन भनेर । डेरा अवश्य पाउने छौं । फरक यत्ति हो, तिमीले कोठा नपाउँदा खबर बन्छ । देशको प्रमुख समाचार बन्छ र बजार तातिन्छ । तर, मैले जति गरे पनि समाचार बन्दैन । समस्या आ–आफ्नै छन् । तिमीलाई बस्नलाई समस्या, मलाई खान समस्या । तिमी दलित भएकोले कोठा पाइनौं । म गरिब भए पनि के गर्नु ? फगत बाहुन भएकोले कोटा पाइनँ ।

नछाेडाैं खबरदारी गर्न

नेपालको राजनीतिक संस्कारमा फस्टाउन नसकेको चिज हो खबरदारी । हाम्रो देशमा कुनै पनि राजनीतिक घटनामा अन्धभक्त भएर गरिने समर्थन र अन्धभक्त भएर वा लहैलहैको बिरोधले गाँज हाल्दा जनतामा खबरदारी चेतको बिकास हुन सकिरहेको छैन। कोही कसैबाट गरिएको खबरदारीले पनि प्रश्रय लिन सकिरहेको छैन। त्यसैले राष्ट्रले बारबार दुर्घटना झेल्नुपरेको छ। खराब कार्य नहोस् , नगरियोस् भनी समयमै दिने सल्लाह, सुझाव, दबाब  तथा चेतावनीलाई खबरदारी भनेर सामान्य रूपमा बुझ्न सक्छौँ। यसै कदमको थालनी जनता तथा सेवाग्राहीबाट राज्य संचालक व्यक्तिहरु तथा राज्यलाई गर्न सकिरहेका छैनौं। नेपालमा बिरोध र समर्थनका थुप्रै कार्यक्रम र आन्दोलन हुने गर्छन् । तर, त्यसै कार्यक्रम तथा आन्दोलनमा सहभागी कतिपय जनमासलाई थाहा हुँदैन कि आफू किन र केको लागि उक्त कार्यक्रम तथा आन्दोलनमा संलग्न हुँदै छु भन्ने। साँच्चिकै माइतीघर मण्डलामा आन्दोलनको नेतृत्व गर्नेहरू, देशका विभिन्न बजार, चोक, सडकमा आन्दोलनको नेतृत्व गर्ने सबै व्यक्तिहरु उनीहरुले भने झैँ पीडित, अपहेलित, शोषितवर्गको आवाज उठाउन, न्याय दिलाउन, खबरदारी गर्न तलिन भएर लागेका हुन्छन् त ? मलाई लाग्छ कदापि होइन। यो त सोझा साझा जनता देखाएर जनमास बटुल्ने आधार मात्र हो। आफूले जस लिने, अरुलाई चिल्लो घसिदिने अनि स्वार्थको रस लिने झेल मात्रै हो। खासमा भन्ने हाे भने केही आन्दोलन मात्रै बास्तविक छन र हुन्छन् । त्यस्ता आन्दोलनकर्मीहरुप्रति सलाम र साथ छ। केही आन्दोलनकर्मीहरु व्यक्तिनिहित स्वार्थमा लागेका हुन्छन्। कसैको विपक्षमा बोलेर, कसैको पक्षमा लागेर निकट बन्न खोज्ने र आफ्नो अहोदा बढाउन खोज्ने गर्छन्। गलत व्यक्तिलाई पनि राम्रो भनेर, गलत कदमलाई पनि राम्रो कदम भनेर गरिने आन्दोलनले गर्दा आन्दोलन किन, के का लागि गर्नुपर्छ भन्ने कुराको औचित्य समेतलाई अर्थहीन बनाएको छ। नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई नियाल्दा  जुन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमाथि हस्तक्षेप गरी गरेको संसद विघटनलाई लिएर सडकमा समर्थक र विरोधीले आन्दोलन गरेका छन। त्यस्ता आन्दोलन तथा कार्यक्रमहरु आवश्यक छ्न् कि छैनन् ? बुझ्नु जरुरी छ। पार्टीभित्रको आन्तरिक विवाद मिलाउन नसकि आवेग र आक्रोशमा राष्ट्रलाई नै बिचलित अवस्थामा पुर्याउन सफल नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र उनको कु- कदमलाई सफल पार्न साथ दिने राष्ट्रपति बिद्यादेवी भण्डारीको हर्कतलाई कसरी सही कार्य भन्न सकिन्छ ? कसरी समर्थन गर्न सकिन्छ ? बिना कारण संबिधानमै किटान नगरिएको अधिकार हातमा लिएर तीन बर्षमै प्रतिनिधिसभा  विघटन गर्नु जस्तो कु- कार्य गर्दा पनि केपी शर्मा ओली राष्ट्रप्रेमी नेता हुन, राम्रो कार्य गर्न खोज्दा पनि प्रचण्ड र माधवकुमार नेपाल पक्षले पार्टीभित्र साथ दिएनन्त्य, सैले संसद विघटन गरे भनेर कु-तर्क दिएर समर्थनमा लाग्नु मुर्खता बाहेक अरु केही होइन। कागको स्वर सुनिसकेपछि पनि, काग होइन, कोइली हो, यसको रुप कालो छ भनेर कारण दिनु कत्तिको जाहेज हुन्छ होला र ! कोरोना महामारीको समयमा लकडाउन हुँदापनि स्वास्थ्य सामाग्री खरिदमा अनियमितादेखि यति, गोकर्ण रिसोर्ट, ललिता निवास, सम्धी काण्ड, ७० करोड काण्ड  जस्ता भ्रष्टाचारमा मुच्छिएका आफू निकट नेताहरूलाई मन्त्री बनाउदै, राजनीतिक नियुक्ति दिदै भ्रष्टाचारीहरुलाई संरक्षण गर्दै जाने अनि मिडियामा म भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्नेहरुलाई छाड्दिन भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिको कुनै अर्थ छैन। भारतीय गुप्तचर निकाए रअका प्रमुखसँग भेटेर देश डुबाउने खेल खेल्ने, अमेरिकी साम्राज्यवादीहरुसँग मिलेर एमसीसी पास गर्न खोज्ने जस्ता हर्कतले उहाँ देश र जनताको लागि कतिको उचित काम गर्दै हुनुहुन्थ्यो भन्ने प्रष्ट हुन्छ। कालापानी, लिपुलेक सहितको नेपालको नक्सा बनाउदा पनि सार्वजनिक रूपमा प्रयोगमा ल्याउन नसक्नु, भारतीय सेनालाई नेपाली भुमिबाट हटाउन नसक्नु उनको कमजोरी हो। यस्तो दुर्दशा देख्दा पनि केपि ओलीलाई समर्थन गरी हाम्रा नेता राष्ट्रप्रेमी, हामी राष्ट्रप्रेमको पक्षमा भनेर ओलीको समर्थनमा सडकमा उत्रिनु, सामाजिक संजालमा भजन किर्तन गर्नु असभ्य नागरिकको पराकाष्ठा हो। हाम्रो समर्थन सिर्फ अन्धभक्ति मै सिमित छ। हामीले कहिल्यै पनि हाम्रो नेतृत्वलाई  गलत कार्य नगर्नु भनेर खबरदारी गर्न सकेका छैनौं। गलत हुँदा पनि गलत हो है भनेर खुलेर भन्न सकेका छैनौं भने कसरी राम्रो प्रतिफल पाउन सक्छौं त ? ओलीको कदम गलत हुँदा फेरि यो हैन कि प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल सही छ्न् । यो बिल्कुल गलत भ्रम हो। पार्टी र सरकारभित्र आफू र आफ्नो मान्छे बन्ने, बनाउने स्वार्थमा लागिरहने यी नेताहरूको मागले गर्दा जनताले विश्वास गरेर जिताएको विशाल पार्टी  नेकपा फुटको संघारमा पुग्न र देशमा संसद विघटनको परिस्थिति आउन सफल भएको हो। प्रचण्डमा हिजोको दिनमा केपी ओली अस्वस्थ हुँदा, ओलीको आयु कम छ भन्ने अड्कल काटेर आफू प्रधानमन्त्री र ठुलो पार्टी नेकपाको एकल अध्यक्ष बन्ने प्रलोभनको दाउ थियो। जब केपी ओली स्वस्थ भए प्रचण्डमा आक्रोशत र बैराग्यता उत्पन्न भयो। पार्टी एकताको सम्झौता अनुसार साढे २ बर्षको सरकार संचालनको सत्ता अबधि सकिए लगत्तै कि प्रधानमन्त्री छोड्न कि अध्यक्ष पद छोडन दबाब दिन थालियो। तर प्रधानमन्त्री केपी शर्मा ओलीको दुबै पद नछाड्ने मनस्थिति देखेपछि, ओलीलाई पतन गर्न माधवकुमार नेपाललाई उचाल्न प्रचण्ड पुगेका हुन। एमाले र माओवादी पार्टी एक हुँदा माधवकुमार नेपाललाई प्रचण्डले केपीपछि एमालेको तर्फबाट आफ्नो प्रतिस्पर्धी सम्झेका थिए । ओलीले पनि एमालेको नवाैँ महाधिवेशनको आफ्नो प्रतिस्पर्धी हुन भन्ने पुर्वाग्रह राखेर नेपाल पक्षलाई पार्टीभित्र सक्ने प्रयत्न गरिरहे। नेताहरूको कदमबाट कतिपनी बिचलित नभएर विधि र विधानका कुरालाई जोड दिने नेता माधवकुमार नेपाल आफ्नो कुरामा अडिग थिए। नीति नियमकाे मयार्दामा रहने माधवकुमार नेपाललाई पछिल्लो समय प्रचण्डको साथ मिल्दा प्रचण्ड- नेपाल नेकपाभित्रको बलियो समुह बन्न पुग्यो। आफू निकट नेताहरूलाई मन्त्री, मुख्यमन्त्री, राजनीतिक नियुक्तिको निम्ति प्रस्ताव प्रधानमन्त्री समक्ष दिन थाले । तर प्रधानमन्त्रीले बेवास्ता गर्ने, काम नगर्ने गर्दा उहाँ प्रति असन्तुष्ट सबै शिर्ष नेताहरूको माेर्चा तयार हुन थालेको थियोे। पार्टीभित्र बैठक बसाल्न खोजियो । तर प्रधानमन्त्री बैठकमा उपस्थिति नहुने, बैठक सारिरहने, कहिलेकाहीँ बैठक बसेको खण्डमा भएका निर्णय पनि कार्यन्वयन नगर्ने चलन देखिएपछि राजनीतिक परिस्थिति नयाँ माेडमा लम्कियो। बैठकका निम्ति अध्यक्ष प्रचण्डको प्रस्ताव पत्र आयो जसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई थुप्रै आरोप लागे । अध्यक्ष ओलीबाट पनि  प्रस्तावहरु आए एकले अर्कालाई दोषी ठहर्‍याए। अध्यक्ष केपी ओलीले अर्को अध्यक्ष प्रचण्डलाई प्रस्ताव फिर्ता लिन अनुरोध गर्दा अस्विकार गरियो। ओली नयाँ योजनाको थालनीमा पुगे। प्रचण्ड – माधव पक्षले ओलीलाई अध्यक्षबाट हटाउन खोजेको याेजनालाई प्रधानमन्त्रीबाट समेत हटाउन लाग्ने गरी बिस्तारित गरेर अविश्वासको प्रस्ताव ल्याउने चेष्टा भित्री रूपमा हुँदै थियोे। उक्त प्रयासको पत्तो पाएर ओलीले न रह्यो बाँसऽ न बझ्यो बाँसुरी भने झै संसद विघटन नै गरिदिए। बि.सं.२०७८ बैशाख १७ र २७ गरी २ चरणमा निर्वाचन  गर्नेगरी मध्यावधी निर्वाचनको मिति तोकिदिए। जसले नेपालमा नयाँ राजनीतिक तरंग उतपन्न भयो। नेकपा पार्टीभित्र को के बन्ने, बनाउने भन्ने सत्ता अन्तरद्वन्दले  देशलाई नै राजनीतिक दुर्घटनामा पारेका छ। देशलाई दुर्घटनाको बाटोमा पुर्याउनमा मुख्य भुमिका प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपतिसंगै नेकपाका शिर्षनेताहरू र हनुमानी कार्यकर्ता नै हुन। पार्टीभित्र जबज, जनताको जनबाद, २१औँ शताब्दीको जनवाद कुनै बिचार, दर्शन तथा सिद्धान्तको अन्तर-द्वन्द नभएर व्यक्तिबादी स्वार्थ र पदिय लोभ नै मुख्य भेदको बिषय थियो। यी विविध व्यक्तिवादी स्वार्थी खेल चलेको थाहा हुँदाहुँदै पनि नेता कार्यकर्ताहरुबाट शिर्ष नेताहरूलाई खबरदारी नहुँदा, नेकपा फुटको संघारमा पुगेको हो। जसले गर्दा नेकपा ओली समूह र प्रचण्ड- नेपाल समुहमा विभाजित भएको छ। एकले अर्का अध्यक्षलाई कारबाही गर्दै, पार्टी प्रवक्ता नियुक्ति गर्दै, केन्द्रिय सदस्य थप्दै आफ्नो समुह आधिकारिक नेकपा हो भनी निर्वाचन आयोगमा दाबी पेस  गरेका छ्न। सूर्य चिन्ह दुईटै पक्षले आफ्नो हुनुपर्ने भन्दै निर्वाचन आयोग समक्ष पुगेका छ्न।  संसद विघटन असैंवैधानिक छ। प्रतिनिधिसभा पुनःस्थापन गर्न सर्वोच्च अदालतमा उजुरी गरिएको छ। प्रचण्ड- नेपाल समुह प्रधानमन्त्रीको कु- कदमको विरुद्ध आन्दोलनमा छन। प्रमुख विपक्ष कांग्रेस लगायत केही अन्य दलहरूले पनि ओलीको संसद विघटनको बिरोध गरिरहेका छ्न। संसद विघटनको बिरोध गर्नु राम्रो कुरा हो। त्यसैले सम्पुर्ण राष्ट्रप्रेमी नागरिकहरु संसद विघटन जस्तो प्रतिगामी कु- कदम विरुद्ध एकजुट भएर आन्दोलनमा जुटनु जरुरी छ। तर केपी ओली जिन्दावाद भन्दै ओलीको प्रतिगामी षड्यन्त्रलाई स्वागत गर्न, समर्थनमा सडकमा आउने केपी ओली पक्षका नेता कार्यकर्ताहरुको कदम  भने असभ्य नागरिकहरुको असभ्य राजनीतिक अभ्यासको पुष्टि हो। ओलीलाई संसद विघटन गर्दा पनि राम्रो गरे भन्ने नेता कार्यकर्ता तथा नागरिकहरु यो देश बर्बादिको हिस्सेदार हुन्। नेताले गलत गरिरहेका छन्। तर नेता कार्यकर्ताहरुले एकतर्फि रूपमा समर्थन गरिरहेका छ्न। यसले गर्दा नेतालाई थप गलत कार्य गर्न प्रोत्साहन गरिरहेको छ। नेकपा ओली पक्षले आफूलाई आधिकारिक ठहर्‍याउन, समर्थन बढाउन पार्टी र जनबर्गीय संगठनमा केन्द्रीय कमिटी सदस्य र अन्य पदको प्रलोभन देखाएका छन। त्यही पदमा लोभीएर केन्द्रिय सदस्य हुन हाम फाल्नेहरुले गलत कार्य गर्नलाई  प्रोत्साहन दिरहेका छ्न। यदि यिनै केन्द्रिय सदस्यहरु भोलिको दिनमा राज्य सत्तामा पुगे भने के गतिलो कार्य गर्न सक्छन् त ? पक्कै सक्दैनन्। उहीँ राजनीतिक संस्कार सिकेका र मानेका व्यक्तिहरुले राम्रो कार्य बिल्कुलै गर्न सक्दैनन। अहिले बनेका केन्द्रीय सदस्यहरुले देशमा भोलिको दिनमा सही नेतृत्व लिनेछन भन्ने आशा राख्नु त शरीरको लुतो फाल्छु भनेर नालिको ढलले नुहाउनु सरह नै हो। यो कदम गलत छ भनेर खबरदारिका साथ समर्थक अथवा बिरोधी हुनुपर्ने ठाउँमा सत्ता, पदको लोभमा लम्किनु उचित हैन। अहिले प्रचण्ड- नेपाल पक्षबाट संसद विघटनको बिरोध भइरहेकोे छ। यसको समर्थनमा जनमास देखापर्नु भनेको प्रचण्ड-नेपाल नेतालाई समर्थन भन्दा पनि देशमा भएको प्रतिगामी षड्यन्त्र विरुद्धको जनमास हो। बारबार यस्ता किसिमका असंबैधानिक कदम अरु कसैले नदोहोर्‍याउन भनेर गरिएको जनताको खबरदारी पनि हो। हिजो उखु किसानको लागि, निर्मला पन्तको न्यायको निम्ति, गरिब, पीडित, शोषित जनताको न्यायको निम्ति सदन हुंदा सदनमा नबोल्ने, सडक हुँदा सडकमा नआउने नेताहरू आफ्नो जागिर अर्थात संसद स्वाहा हुँदा सडकमा आएर हामी जनता र राष्ट्रको निम्ति लडिरहेका छौँ भन्नु मजाक बाहेक अरु केही होइन। गतिलो नेता केपी, प्रचण्ड, नेपाल, खनाल, देउवा, बाबुराम कसैलाई मान्न सकिदैन। सबैको मुल्यांकन भैसकेको नै छ। जुन जोगी आएपनि कानै चिरेका भनेझै यिनै नेताहरुको पछाडि लाग्ने दोस्रो तहका युवा नेताहरूले पनि सत्ता अवसर पाए गतिलो काम गर्लान् भन्ने झिनो आशा पनि छैन। किनकि यिनै दोस्रो तहका नेताहरूले यी गलत नेताहरुलाई आफ्नो व्यक्तिगत स्वार्थको लोभमा साथ दिइरहेका छन। त्यही राजनीतिक संस्कारलाई अंगाल्दै आएका छ्न। त्यस्तै तेस्रो तथा पछिल्लो पुस्ताले सिक्दै जानेछन र गलत राजनीतिक संस्कारबाट गलत मान्छेले राज्य संचालनको स्थान ओगटन पुग्नेछन्। जबसम्म हामी मौन हुन्छौं। गलत कदमको बिरोध गर्दैनौं, गलत हुँदा तथा गलत हुनै लाग्दा खबरदारी गर्दैनौं,  तबसम्म गलत मान्छेहरु गलत कार्य गर्दै राज्य सत्तामा पुग्नेछन् र राष्ट्रलाई दुर्घटनामा पारिरहने छन। साँच्चिकै हाम्रो खबरदारी छैन। हामीले अब कहिले गर्ने खबरदारी ? खबरदारी नभएसम्म त  गलत कार्यले पुन: स्थान लिईरहने नै छ। यद्यपि देशमा सही नेतृत्व र सही राजनीति संस्कारलाई बढुवा दिने हो भने आजको दिनमा गलत कार्य गर्ने, गराउने र गर्दै गरेका सबैलाई खबरदारी गर्नुपर्छ। गल्ती अनुसार सजायको कठघरामा उभ्याउनुपर्छ। तब केही असल नेतृत्व र असल राजनीतिक संस्कारले स्थान लिने छ। खबरदारीले गलत व्यक्तिलाई गलत कार्य गर्नलाई रोकावट गर्छ र गलतलाई सच्याएर सही बनाउन मद्दत पुग्छ। अहिले संसद विघटनको विरुद्ध भएका आन्दोलनले सर्वोच्च अदालतलाई खबरदारी गरिरहेको छ। गलत निर्णय नलियोस्, मूर्ख र निरङ्कुश शासकी शक्तिको झुकाव नगरोस्। संबिधानलाई मिचेर गरेको प्रतिनिधिसभा विघटनलाई खारेज गरी संसद पुनःस्थापन गरोस भन्ने हो। निर्वाचन आयोगले पनि उल्लेखित मापदण्ड अनुसार निष्पक्ष रुपमा मापदण्ड पुगेको समुहलाई आधिकारिक नेकपा पार्टी र सूर्य चिन्ह प्रदान गरोस भनेर खबरदारी गरेको हो। त्यस्तै अन्य दिनमा आउने अरु प्रधानमन्त्रीहरुले पनि आफू मनपरी संविधान मिचेर संसद विघटन जस्तो कु- कार्य गर्न आँट नगरुन भन्ने हो। त्यसैले खबरदारी स्वरुप प्रतिगामी षड्यन्त्र विरुद्ध चर्को दबाबमुलक आन्दोलनमा आम नागरिकहरुको एक्यवद्धता हुन जरुरी छ। कुनै नेताको पक्ष, विपक्षभन्दा पनि गलत सहि छुट्याएर गलत कदम विरुद्ध नेताकार्यकर्ता तथा जनताले खबरदारी गर्नुपर्छ। यो नै आजको आवश्यकता हो। त्यसै स्वरुप यो लेखले पनि राष्ट्रमा स्थायित्व सरकार कायम गरि सुशासन सहित समृद्धिको बाटोमा लम्किन सम्पुर्ण देशभक्त नागरिकहरुमा खबरदारी चेतको बिकास हुनसकोस भन्ने अपेक्षा राख्दछ।

विरेन्द्रकाे नाेट, महँगाेमा किनबेच

एक जना महिला मित्रले मैतीदेवि नजिकै घर किन्न लागिछन् । तीन फूटे बाटो भएको धितोमा बैंकले कर्जा दिन मान्दैनन् । सञ्चारकर्मी भएको थाहा पाएपछि बैंकहरु झन टेडिन्छन् । साथीभाईसँग सरसापट गरेर र सहकारीबाट कर्जा लिएर घर किन्न लागेकाे सुनाइन् । गाउँबाट आएकालाई सहरियाले पत्याउन्नन् । होस्टैमा हैसे गर्छु भने । थोरै रकम सापटी दिएँ । ‘मैले बैंकबाट ओडी (कर्जा) चलाएको छु । १४ प्रतिशत व्याज तिरेको छु । साथीसँग म व्याज लिन्न । सकेसम्म छिटो फिर्ता गर्नु’ मैले त्यतिबेला भनेको थिएँ । सापटी लिएको तिथिमिति याद छैन, चेक काटेर दिएको थिएँ । खोज्यो भने ठ्याक्कै मिति पनि थाहा हुन्छ । करिव ८/१० महिना पछि उनले पैसा फिर्ता गरिन् । पैसा फिर्ता पाएको मिति याद छ, यसै दशैंको फूलपातीको अघिल्लो दिन। स्वयम्भू पाउँस्थिति इन्जियिरको अफिसमा बसेर प्रस्तावित भवनको नक्सालाई अन्तिम रुप दिदै थिएँ । साथीको फोन आयो । ‘मुखले केही नभने पनि मनमनले गालिगरिरहनु भएको होला । पैसा जम्मा गरेकी छु, भेटौं न ।’ केही बेरपछि सिटी मल अगाडि भेट्ने कुरा भयो । कोभिडको डरले साथीसँग बस्ने वातावरण पनि भएन । रेष्टुरेन्टतिर पस्ने, कफी खाने प्रस्ताव पनि गरिएन । रसियन कल्चर सेन्टरको अगाडि गाडी साइट लगाएँ । मास्क नखोली फूटपाथमा उभिएर २/३ मिनेट कुरा गर्यौं । साथीले चेक दिने होला भन्ने सोचेको थिए । उनले नोटको बण्डल दिइन् । अचेल नोटसँगै कोभिड आउने डर हुन्छ । विश्वासकै बीच नाेट नगनी फ्रन्ट बक्समा हुत्याउन खोज्दै दिएँ । ‘पैसा गन्नोस् सर’ उनले भनिन् । ‘पछि पुगेन भन्नुपर्ला।’ गनेँ । पुग्यो । थन्याएँ । र, मोटर हुँइक्याएँ । कोभिड महामारीसँगै बजारबाट ल्याइएका किनमेल केही दिन गाडीमै छोड्ने बानी छ । प्रमाणीत र बैज्ञानिक आधार नभए पनि मिल्ने बस्तुहरु किनेर ल्याएपछि केही दिन गाडी मै राख्दा कोरोना घर भित्र नर्छिला कि भन्ने भ्रान्तीले मेरो मनमा बास पाएको छ । त्यो नोटको बण्डल बैंकमा पुर्याउने समय पनि भएन । दशैंअघि त्यसले घरभित्र प्रवेश पनि पाएन । दशैंसँगै खल्ती र दराज रित्तए । त्यो विटोले दराजमा ठाउँ पायो । त्यसपछि डेरीदेखि पेट्रोलपम्पसम्म, कागतीदेखि गुर्जो किन्दासम्म अर्थात जहाँ डिजिटल पेमेन्ट हुँदैन, त्यस ठाउँमा ती नोट चल्ल थाले । भद्रकालीस्थित सेनाको पेट्रोल पम्पमा भुक्तानी गर्दा चार हजार रुपैयाँ झिकेर दिएँ । काउन्टरको क्यासियर नोट धेरै पटक वल्टाई पल्टाई हेर्यो । मेरो मुखमा हेर्यो । जोरविजोरको झमेलामा नपर्न प्रेस पास गलामा झुण्डाएको थिएँ । परिचय पत्रमा पनि उसले आँखा लगायो । अनि, पेट्रोलको भुक्तानी गरेको कागजको चिट/टुक्रो काट्न मानेन । आफूभन्दा पाको आर्मीको सहयोग लियो । ‘यो नोट कस्तो हो’ उसले सिनियरलाई सोध्यो । क्यासिएरलाई नक्कली नोटको शंका लागेछ । ‘यो उहाँले दिनुभएको हो’ मलाई नक्कली नोट कारोबारी झै किटानी गर्यो । ‘यो राजा विरेन्द्रको पालाको नोट हो । सक्कली हो’ पाका आर्मीले काँचा क्यासिर आर्मीलाई भने । त्यसपछि उनले मलाई हेरेर सफाइ दिन खोजे । र भने– ‘केटाकेटीहरुलाई के थाहा । राजाका पालाका पैसा देख्या पनि छैनन् ।’ पर्समा भएको थप नोटमा ध्यान दिए । सबै नोटमा तत्कालिन राजा विरेन्द्रको फोटो रहेछन् । ज्ञानेन्द्र शाह राजा भएपछि नयाँ नोटमा ज्ञानेन्द्रको फोटो छापिन थालेको, राजा ज्ञानेन्द्र कै पालामा पूर्व राजाहरुको फोटो भएको नोटहरु खिचेर थन्क्याउन र नयाँ राजा छापिएको नोटहरु मात्र बजारमा पठाउन सरकारले राष्ट्र बैंकलाई निर्देशन दिएको २ दशक पूरा हुन लागेछ । गणतन्त्र स्थापनापछि नेपाली नोटमा राजाको सट्टा सगरमाथाको तस्वीर राख्न थालेको, सगरमाथाको तस्वीर छापिएपछि राजा अंकित नोटहरु खिच्ने र नष्ट गर्न थालेको पनि दर्जन वर्ष नाघिसक्यो । तर दुई दशक पुराना नोट मेरो हातमा कसरी पर्यो ? मनमा आयो । ‘अँ याद आयो । सापाटी फिर्ता आएको पैसा हो यो’ साँच्चै नक्कली परेको भए तीनलाई समाउँथे ।’ भित्री मनको कुरा हो यो । उनको हातमा यो पैसा कसरी पर्यो होला ? मनमा अर्को प्रश्न तेर्सियो । आशंकापूर्ण तर्क धेरै आए । पेट्रोल हालियो, हिडियो । कालिमाटीमा रोकिएर फलफूल किन्न थालेँ । त्यहि विरेन्द्रको फोटो छापिएको नोट दिएँ । व्यापारीले नोट वल्टाई पल्टाई हेर्यो । मेरो अनुहार नहेरी घर्रामा घुसार्यो । मनमा लाग्यो यसले नोट चिन्यो । तिहार नजिकिदै जाँदा दराजको विटो सकिदै गएछ । श्रीमतीले भनिन्–‘घरमा पैसा सकिन लाग्यो । बाटो मिलाएर एटीएम छिर्नु ।’ ‘तिहार खर्च पुग्दैन’–अल्छी मान्दै सोधेँ । ‘दक्षिणा दिनसम्म त पुग्ला’ उनले भनिन् । भाईटिका सम्पन्न भयो । दिदीवहिनी बीचमा बसेर रमाईला कुरा हुँदै थिए । उनीहरुमा नयाँ खुशी देखियो । तिहारमा माइत आएका चेली त्यसैमा खुशी हुन्छन् । कोभिड महामारीको बीचमा पनि सबै दाईभाईलाई टिका लगाउन पाएकोमा अर्को खुशी थियो । त्यसमाथि दक्षिणामा राजा विरेन्द्र भएको हजार रुपैयाँको नोट पाएकोमा उनीहरुमा थप खुशी रहेछ । यो नोट कसको हातबाट आयो ? उनीहरुमा खुल्दुली जाग्यो । ‘मसँग थिए ती नोट’ म बोलेँ । ‘दाई मलाई अरु पनि साटी दिनुस्’ बहिनीहरु सीता र जानुकाले एक स्वारमा हतारिएर भने । ‘छ भने मलाई पनि है’ दिदीले पनि मन्द स्वरमा भन्नुभयो–‘भान्जाले विरेन्द्रको फोटो भएको सबै दरका नोटहरु पाएसम्म संकलन गरिरहेको छ ।’ मलाई भने धेरै मोह भएन । पर्समा हेरेको । विरेन्द्र अंकित थप तीन वटा नोट रहेछन् । ‘यी मेरो हातमा परेका अन्तिम नोट हुन् । एउटा म राख्छु, दुईटा दिन्छु’ निर्णय सुनाईहालेँ । हातैबाट खोसेर दुबै नोट सीताले नियन्त्रणमा लिइन् । जानुकाले जोड बलगर्दा पनि उनले बाँडिनन् । मेरो प्यारो सगरमाथा अंकित नोट मैले फिर्ता पाएँ । उनीहरुले विरेन्द्रको फोटो भएको नोट महँगोमा किनबेच भईरहेको चाल पाएका रहेछन् । क लेखिएको नोट झनै महँगोमा किनबेच हुने गरेकाे उनीहरूले सुनेका रहेछन् । याे विषय मेरो जानकारीमा थिएन । राजा विरेन्द्र छापिएका नोट प्रिमियम मूल्यमा किनबेच हुने गरेकाे विषयले मेरो पनि ध्यानाकर्षण भयो । बास्तविकता के रहेछ भनेर नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा नोट विभाग प्रमुख रेवतीप्रसाद नेपालसँग जिज्ञासा राखेँ । ‘कुनै पनि नोट अंकित मूल्यभन्दा बढीमा किनबेच गर्न पाइदैन । कानुनतः त्यो दण्डनीय हुन्छ’ उनले भने–‘तर पुराना नोटहरु ऐतिहासिक अभिलेख राख्नेहरुले बढी मूल्य तिरेर पनि किन्ने र राख्ने प्रचलन विश्वभर नै छ । नेपालमा पनि राजा विरेन्द्र भएको नोटहरु धेरै मूल्यका किनबेच हुने गरेको हामीले अनौपचारिक रुपमा सुनेका छौं ।’ बजारमा राजा अंकित नोटहरु नगन्य रहेको उनले बताए । ‘प्रचलित नोटमा शुन्य दशमलव शुन्य १ प्रतिशत भन्दा पनि कम मात्र राजाको तस्वीर भएको नोट पाइन्छ । राजा विरेन्द्र अंकित नोट त झनै विरलै छ’ उनले भने । राजा विरेन्द्र भएको लोपाेउन्मुख नोटको विटो हातमा परेर सकियो । मेरो हातमा क५८ ८६०६१६ नोट मात्र बाँकी छ । नोट विभाग प्रमुख रेवती नेपालका अनुसार यो नम्बर भएको नोट अरु कसैसँग पनि हुँदैन । यो नोट मेरो लागि अमूल्य भयो । अब कसैलाई दिन्न, सरकारले खोसेन भने ।

जहाँ कोरोनाको त्रास छैन

विद्यालय तहमा पढ्दा साथीहरुसँग एउटा शिर्षकमा वादविवाद निकै खेलिन्थ्यो । हरेक शुक्रबार आउने बित्तिकै वादविवादको शिर्षक हुन्थ्यो, ‘शहरी जीवनभन्दा गाउँले जीवन बेश वा गाउँले जीवनभन्दा शहरी जीवन बेश ।’ सरहरुले बिहीबार नै वादविवादको शिर्षक दिनुहुन्थ्यो । बिहीबार रातभर किताबका पाना खोजी–खोजी सोही शिर्षकको पाठ गज्जवले घोकिन्थ्यो । पछिल्लो दिन शुक्रबार आउँछ । बिहीबार रातभर रटेको सबै पाठ सकि नसकि भनिन्छ । सरहरुले गरेको मूल्याकंनको नतिजा आउँछ । मेरो स्मरण रहेसम्म वादविवादमा म पहिलो दोस्रो वा तेस्रो नभएको शुक्रबार हुन्थेन । तर, मैले पनि एकिन गर्न सकेको थिएनँ कि शहरमा बेश कि गाउँमा । चिट तानेर दुई मध्ये एक शिर्षकमा आफ्नो धारणा म गज्जवले राख्थेँ । किनकि म ती दुवै विषयको बारेमा रातभर घोक्थेँ । तर, बोलेरै पहिलो, दोस्रो वा तेस्रो भएको स्मरण भने ताजै छ । मन खोलेर भन्दा मलाई पनि थाहा थिएन कि साँच्चिकै गाउँमा बेश कि शहरमा ? यो प्रश्नको उत्तर मैले यो ब्लगमार्फत दिन खोजेको छु । यसको लागि तपाईले म सँगै यात्रा गर्नुपर्ने हुन्छ । दशैं आउन १ हप्ता बाँकी थियो । गत वर्षहरुमा एक हप्ता बाँकी हुँदा काठमाडौंबाट घर फर्किँदा फरक खालको माहोल हुन्थ्यो । घरपरिवार र आफूलाई चाहिने लुगाकपडाहरु खरिद गर्न बजारमा ब्यस्त भइन्थ्यो । यो वर्ष भने मैले न कुनै सपिङ गरेँ, नत कोठा बाहिर नै निस्केँ । दशैंमा घर जाने वा नजाने निक्र्यौल पनि गर्न सकिएन । कोरोना भाइरसकै डरले ५/६ महिनादेखि कोठाबाटै काम गरिहरेको थिएँ । एकातर्फ दशैंमा घर जाने हुटहुटीले मन छटपटाइरहेको थियो भने अर्कोतिर कोरोनाको डरले मन सिथिल तथा संकुचित । यहीबीचमा रुम पाटर्नर दिनेशसँग परामर्श गरेर हामी सुरक्षित भएर घर जाने निर्णय भयो । घर आउनुभन्दा एक हप्ता अगाडि नै हामीले टिकट लियौं । टिकट लिइसकेपछि पनि काठमाडौंमा कोरोना संक्रमण दर झन–झन बढ्यो । हाम्रो मुटु कोरोनानाको संक्रमण दरभन्दा झन बेगले चल्न थाल्यो । कतै सरकारले यहीबीचमा लकडाउन त गर्ने होइन ? त्यो एक हप्ताको अवधिमा हाम्रो मनमा यो प्रश्नले ठाउँ जमाउँदै गयो । यसरी एक हप्ताको चिन्तापूर्ण दिनहरु हामीले कोठाभित्रै काट्यौं । असोज ३० गतेको हाम्रो टिकट थियो । अघिल्लो दिन झन मनमा अनेकौं प्रश्नहरु उत्पन्न हुन थाले । भोलि त घर जाने दिन । जाने कि नजाने ? काठमाडौंमा कोरोनाको यति ठूलो त्रास छ । हामी घर गयौं भने कतै घरको मानिसले असहज महसुस त गर्दैनन् ? म मात्र होइन, साथी दिनेशले पनि बेला–बखत मलाई यस्तै जिज्ञासाहरु गरिरहन्थे । असाेज ३० गते बिहान साढे ८ बजेको जहाज धनगढीका लागि उड्नेवाला थियो । बिहानै उठियो । फ्रेस भइयो । मनमा त्रास उतिकै। आफूलाई कोरोना संक्रमण हुने डरभन्दा पनि आफूसँग कोरोना रहेछ भने घरपरिवारलाई सारिन्छ कि भन्ने सबैभन्दा ठूलाे चिन्ता । त्योबीचमा पीसीआर परीक्षण गर्ने सोच पनि नआएको होइन । तर पीसीआर परीक्षण गरिहाले पनि नतिजाकाे लागि एक हप्ता नै कुर्नु पर्ने बाध्यता । त्यो समयसम्म हामी धनगढी पुगिसकेका हुन्छौं । त्यसैले पनि पीसीआर परीक्षणतिर लागिएन । त्यतिकैमा मोबाइल बज्यो , मैले मोबाइलतर्फ आँखा लगाएँ । मेसेज आएको रहेछ । सम्पादक शिव सत्याल सरले शुभयात्रा, ह्याप्पी दशैं भनेर एकाबिहानै पठाएको मेसेजले अघि मनमा स्थान लिँदै गरेको चिन्तालाई केही हलुको भएको मैले महसुस गरेँ । त्यसको लगत्तै प्रधान सम्पादक रामकृष्ण पौडेल सरले फोन गर्नुभयो । उहाँले यात्रामा सजग भएर घर जान र उच्च सर्तकता अपनाउन लगायतका सुझाव सल्लाह दिनुभयो । केही मिनेटको उहाँसँगको कूराकानीले पनि मन थप हलुको भएको मैले आभास गरेँ । किन ? उत्तर मलाई पनि थाहा छैन । तर, अगाडिदेखि मनमा लिइरहेको चिन्ताले आधा स्थान छोडिसकेको थियो । एउटा ट्याक्सी लिएर दिनेशसँगै त्रिभुवन विमानस्थलतर्फ लाग्यौं । विमानस्थलमा पनि यात्रुको ठूलो भिड । त्यो भिडले अघिल्लो दिन एक पत्रिकामा ‘बसपार्कभन्दा विमानस्थलमा यात्रुको ठूलो भिड’ भन्ने शिर्षक स्मरण गर्न बाध्य बनायो । विमानस्थलमा पनि लाईनमा लागेर टिकेटिङको काम गर्यौं । विमानस्थललको भिडले मनलाई भित्रैभित्र झनै तरंगित बनाइहरेको थियो । विमानस्थलमा भनेजति सुरक्षा सतर्कता मैले पाइनँ । जति एउटा कोठामा बसेर आएका समाचार हेरर सुरक्षा सतर्कता अपनाइन्छ भनेको थियो, त्यो दृश्य मेरो आँखाले विमानस्थलमा देख्न पाएन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाज धनगढीका लागि उड्यो । जहाजबाट देखिएका मनोरम हिमालयहरुले कोरोनालाई चुनौती दिइरहेका थिए । कोरोनाको त्रासले संकुचन भएको मेरो मन केही मिनेटको सेताम्ये हिमालले निकै फराकिलाे बनाएकाे महसुस गरेँ । करिब ५५ मिनेटपछि जहाज धनगढी विमानस्थलमा अवतरण भयो । हामीलाई लिन धनगढीबाट दाई पाण्डव पूजारा आउनु भएको थियो । शुरुमा उहाँसँग सँगै बस्न असहज महसुस गरेँ । तर, उहाँमा खासै सतर्कता नदेखेपछि गाडीमै धनगढीतर्फ लाग्यौं । काठमाडौंको कोरोना महामारीको खाल्डोबाट धनगढी गएका हामी हामीमाथि नै शंका गरिरहेका थियौं । कतै हाम्रो कारणले अरुलाई कोरोना त सर्ने होइन भन्ने बढी चिन्ता थियो । धनगढी विमानस्थलबाट मनमा भएको कोरोनाको त्रासदी बोकेर निवासरतिर लाग्यौं । गाडीमा अनेकन प्रश्नहरू  उब्जिए । सडकमा मास्क प्रयोग गर्नेकाे संख्या निकै कम । काठमाडौंको सडकमा मास्क प्रयोग नगरेका बिरलै भेटिन्थे । कोठा बाहिरको पसलमा जाँदा पनि हातमा पञ्जा र मास्क प्रयोग गरेको बानी । धनगढी मुख्य सडकमै धेरैले मास्क नै प्रयोग नगरेको दृश्यले आश्चर्य लाग्नु स्वभाविक नै थियो । तर, त्यो अवस्था धनगढी बजारको सडकमा मैले नदेख्दा अनेकौं प्रश्नहरु उठे । केही प्रश्न मैले पाण्डव दाइलाई सोधेँ । पहिले मानिसहरुले धेरै स्वास्थ्य सुरक्षाका विधिहरु अपनाए पनि अहिले विस्तारै मास्क लगाउन पनि छोड्न थालेको उहाँले प्रतिक्रिया दिनुभयो । चाडबाड नजिकिएसँगै सरकारका प्रतिनिधि र डाक्टरहरुले बारम्बार आग्रह गरेका थिए, ‘यसपालीको दशैँ जहाँ हुनुहुन्छ त्यहीँ मनाउनुहोस्, स्वास्थ्य सुरक्षाका मापदण्ड ख्याल गर्नुहोस् ।’ यी वाक्यहरु घरपुग्दासम्म खेलिरहे । धनगढी उपमहानगरपालिका वडा नम्बर १४ फूलबारीमा पुगेँ । हातमा पञ्जा, मुखमा मास्क, खल्तीमा स्यानिटाइजर । सुरक्षा सतर्कता मैले अपनाएको थिएँ । शुरुमा घरपरिवारसँग घुलमिल अर्थात नजिक जान पनि डराएँ । घर पुगेको पछिल्लो दिन अर्थात कात्तिक १ गते घर बाहिर निस्किनँ । कतै आफूमा कोरोना संक्रमण छ भने अरुलाई सर्छ कि भन्ने पीर थियो मनमा । तर, म आएको थाहा पाएपछि गाउँका साना नानी बाबुहरु घरमै पुगे । उनीहरुबाट म टाढै बस्न प्रयास गरेपनि नजिकै आएपछि उनीहरुको जिद्दीको अगाडि मेरो केही जाेर चलेन । मास्कबिनै नजिक आएका उनीहरु कोरोनालाई चुनौती दिइरहेको थिए । न बालबालिका, न युवा न वयस्क, नत वृद्धलाई नै कोरोनाको चिन्ता छ मेरो गाउँमा । मानिसले स्वतन्त्र रुपमा सडकमा गाडी गुडाइरहेका छन् । न मुखमा मास्क छ, न सामाजिक दूरी । कोरोनालाई वेवास्ता गरेर मानिसहरु स्वतन्त्र रुपमा सडकमा निस्किरहेका छन् । हुन पनि जति कोेरोनाको वेवास्ता छ, त्यो अनुसारको संक्रमण फैलनु पर्नेमा अहिले धनगढी उपमहानगरपालिका वडा नम्बर १४ मा सक्रिय संक्रमितको संख्या शून्य छ । गाउँमा धेरैलाई मैले मास्क किन लगाउँनु हुन्न भन्ने प्रश्न गरेँ । उनीहरु गाउँको हावाले कोरोना उडाउँछ, हामीलाई कोरोना लाग्दैन , किन लगाउनु पर्यो मास्क भन्ने लगायतका प्रतिक्रिया दिन्छन् । त्यो जवाफले हाँस्नु बाहेक मेरो मुखमा शब्द नफुरेकै हो । करिब ६ महिना काठमाडौंको कोठाभित्रैबाट काम गरेको अनुभव छ मसँग । कोठाबाटै काम गर्दा कहिले ज्वरो आएको जस्तो महसुस हुने, कहिले टाउको दुख्ने, कहिले पूरै शरिर दुख्ने लगायतका लक्षण मलाई देखिन्थे । आफूलाई कतै कोरोना त लागेन भन्ने अनेकन प्रश्न मनमा आउँथे । तर, अहिले म गाउँमा छु । काठमाडौंमा बसेर दैनिक लिने पीर सन्ताप अहिले आफै हराएर गएकाे छ । कोठा बाहिर जाँदा पनि मास्कलगायत अन्य स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गर्ने म गाउँमा आएर मास्क लगाउन छोडिसकेको छु । काठमाडौंमा हुँदा अनेकन समस्याहरु देखिने मेरो शरिरमा आजभोलि ती समस्याहरु देखिन छोडिसकेका छन् । काठमाडौंमा स्वास्थ्य सुरक्षा अपनाएर पनि बेग्लै खालको पीर तथा मानसिक तनाव हुन्थ्यो । तर अहिले गाउँमा मास्क नलगाएर पनि न त्यास्ता कुनै लक्षण देखिन्छन् नत मानसिक चिन्ता नै । काठमाडौंमा बस्दा दैनिक कोरोनाका बिरामीहरु गणना गरेर बस्ने म आजभोलि देशमा कति संक्रमित छन् कुनै मतलब छैन । काठमाडाैं छँदा म सोच्थेँ, यसपालिको दशैंमा गाउँघरमा नरामाइलो होला । टिका लगाउन एक अर्काको घर कोहि नजालान् । तर, गाउँमा त्यो उल्टो देखियो । सबैले एक आपसमा मिलेर दशैं मनाए । गाउँमा न सामाजिक काम रोकिएको छ, नत सामाजिक भेलाहरु रोकिएका छन् । गाउँमा न कोरोनाको डर छ । न स्वास्थ्य सुरक्षा अपनाइएको छ नत कोरोनाका संक्रमितहरु छन् । त्यसैले म भन्छु गाउँ नै बेश छ ।

शिक्षकले तलब माग्दा जागिरबाटै निकालिनु पर्ने ?

हामी शिक्षकलाई सत्मार्ग देखाउने गुरू मान्छौं । आमा बुवापछिको सम्मान गर्नुपर्ने भनेको शिक्षक हो भन्ने गरिन्छ । त्यसैले त हिन्दू धर्ममा गुरू पूर्णिमा मनाइन्छ । जसमा आफ्नो सत्कर्म, सत्मार्गको बाटो डोर्याउने गुरूको पूजासमेत गरिन्छ । शिक्षकले विद्यार्थीको भविष्यको मार्गदर्शन गर्छन् । अफ्ठ्याराहरूलाई समाधानको बाटोमा लैजाने नै शिक्षक हुन् । जब तिनै शिक्षक समस्यामा पर्छन्, विद्यार्थी कसरी अगाडि बढ्न सक्लान् ? हो, विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना महामारीले सबै क्षेत्र समस्याग्रस्त छ । त्यसमा शिक्षा क्षेत्र झन यसको चपेटामा परेको छ । एकातिर विद्यार्थी चैतदेखि विद्यालय जान पाएका छैनन् भने अर्काेतिर तलब नपाएर शिक्षकहरू समस्यामा छन् । यतिमात्र कहाँ हो र, महामारीको कारण देखाउँदै निजी विद्यालयले शिक्षकहरू निकालिरहेका छन् । निजी मात्र नभएर केही सामुदायिक विद्यालयमा कार्यरत अस्थायी करार शिक्षक कर्मचारी पनि यसको शिकार बनेका छन् । यसको ज्वलन्त उदाहरण म आफै छु । मेरो घर विराटनगर महानगरपालिका १२ बर्कीमा हो । भक्तपुर सूर्यविनायक बाराहीस्थानको महेन्द्र मास्के संचालक रहेको महेन्द्र विद्या आश्रम नामको एक निजी विद्यालयमा म अध्यापन गराउँदै आएको थिएँ । माध्यमिक तहमा गणित विषय पढाउँदै आएको मलाई महामारीका कारण तलब दिन नसक्ने भन्दै स्कुलले निकालिदियो । महामारीका कारण सबैमा मानसिक तनाव परिरहेको बेला जागिर गुमेको अर्काे समस्यामा म परेँ । सरकारी स्कुलका शिक्षक घरमै बसेर पनि तलब भत्ता खाइरहेका छन् । म अनलाइन कक्षा पढाइरहेका छु । तर, एकाएक असार अन्तिमतिर भोलिबाट तपाईं काममा नआउनुहोला भनिदियो । विद्यार्थीले पनि मैले पढाएको राम्रैसँग बुझिरहेका थिए । उनीहरूबाट एकदम राम्रो प्रतिक्रिया आइरहेको थियो । जसले गर्दा म निकै उत्साहित बनेको थिएँ । महामारीका बेला पनि विद्यार्थीलाई कसरी पढाईमा सहभागी गराइराख्ने भन्नेतर्फ मेरो ध्यान केन्द्रित हुन्थ्यो । गत चैतदेखि तलब नदिएपछि विद्यार्थीको भविष्यका लागि अनलाइन कक्षा पढाइरहेका थियौं । अनलाइन कक्षा लिइरहेको भएपनि मलाई आर्थिक समस्या थियो । काठमाडौंमा कोठा भाडामा बसेर सबै किनेरै खानुपर्ने, घरबेटीलाई भाडा तिर्नुपर्ने, पैसै नभएपछि चैतदेखि साउनसम्म कसरी व्यवस्थापन गरे हुँला ? विद्यालयले मासिक ३८ हजार रूपैयाँ पारिश्रमिक पाउनेगरी गत मंसिरदेखि करारमा राखेको थियो । चैतसम्म राम्रै तरिकाले काम चलिरहेको थियो । विद्यार्थीको नजरमा पनि लोकप्रिय शिक्षक बनेको थिए । आखिर जति जे गरेपछि पेटमा एक छाक हाल्न पनि त पैसा नै चाहिन्छ नै । तर, चैतदेखि नै पैसा पाएको थिइनँ । आज पाइन्छ, भोलि पाइन्छ भन्दै आशै आशमा एक होइन, दुई होइन, चार महीना बितिसक्यो । तलब दिनु त कता हो, मैले काम गरेको पारिश्रमिक पाउँ भन्दा उल्टै जागिरबाट हात धुनुपर्यो । आफ्नो मिहेनतको कमाई माग्दा जागिरबाटै निकालिनु पर्ने यो कहाँको न्याय हो ? यस्तो बेला विद्यालयले झन् थप सहयोग गर्नुपर्नेमा उल्टै भोलिबाट काममा नआउनुहोला भनिदियो । चार्टर्ड एकाउन्टेन्टका लागि परीक्षा दिन गत वर्ष विराटनगरबाट काठमाडौं आएको थिएँ । परीक्षा दिएर खाली बसेको बेलामा पढाउनका लागि अफर आयो । आफ्नो बायोडाटा बुझाएर अन्तर्वार्ता दिँदा नाम निस्कियो । लामो समयदेखि तलब नपाउँदा खर्च कसरी व्यवस्थापन गर्ने भन्ने तनावमा छु । काठमाडौंमा जागिर नै गुमाएपछि त्यहाँ बस्नु आवश्यक नै भएन। त्यसैले अहिले आफ्नै घर फर्केको छु । विद्यालयले मलाई मात्रै होइन, मेरो पक्षमा लागेका अर्का अंग्रेजी विषय पढाउने शिक्षकलाई पनि त्यहीदिन जागिरबाट निकाल्यो । तलब दिनुभन्दा जागिर नै खाइदियो । निजी विद्यालयको यस्तो दादागिरी ? हामीलाई साह्रै अन्याय गरे । यदि यो देशमा साच्चै सरकार छ भने यस्तालाई कारवाही गरोस् । जागिरबाट निकालेपछि पनि सबै हिसाब ‘क्लियर’ गरेर पठाउनुपर्नेमा अहिलेसम्म केही भएको छैन । चैतदेखि असारसम्म १ लाख ४४ हजार रूपैयाँ पाउनुपर्नेछ । त्यो मध्ये २७ हजार मात्र दिइयो । जागिर नै गएपछि काठमाडौंमा बसेर के गर्ने भनेर घर आएँ । कमाउन गएको छोराले केही न केही ल्याएको होला भन्ने आशमा बसेका आमा बुवालाई के भनेर सम्बोधन गर्ने ? मसँग त्यसको उत्तर थिएन । करार सम्झौतामा जुनसुकै बेला पनि जागिरबाट निकाल्न सकिने कुरा उल्लेख छ । जागिरबाट निकालेकोमा मेरो गुनासो होइन । तर, यस्तो महामारीको बेला जागिर नै नभएपछि के खाने ? कसरी बाच्ने ? घरमा आमाबुवा र दुई भाइ गरी चार जनाको परिवार छ । काठमाडौंमा पैसा कमाउन गएको छोरा जागिर नै गुमाएर घर फर्किनु पर्दा कुन आमा बुवाको मन नरोला र ? साथीभाइ तथा आफन्तसँग ऋण निकालेर अहिलेसम्म घरखर्च चलाइरहेको छु । लामो समयदेखि काम गरेको पैसा नपाउँदा मानसिक तनावमा छु । कुनै बेला त सुसाइड गरू कि जस्तो लाग्छ । फेरि मनमा आमा बुवा, भाइ तथा घर परिवारको याद आउँछ । त्यसैले त अहिलेसम्म आफ्नो र आफूजस्तै पीडित शिक्षकहरूको न्यायका लागि आवाज उठाइरहेको छु । आफ्नो मनमा अनेकन प्रश्न आउँछन् । पैसा कमाउन नसकिएको भए ठिकै छ भनेर चित्त बुझाउन सकिन्थ्यो होला । तर, यहाँ त काम गरेको पैसा पाइएन । एकातिर काम गरेको पैसा पाइएन, अर्काेतिर काम गरेको पैसा देऊभन्दा जागिरबाट नै निकालियो । शिक्षकलाई विद्यालयहरुले गरेको यो व्यवहार अहिलेको परिवेश र परिस्थिति तथा कानुन सुहाउँदो छ ?

प्रसूति गृहको ‘ह्वील लक’

साउन १५ गते बिहानै ज्वाइले फोन गर्दै भन्नुभयो- सावित्रालाई गाह्रो भएको छ, उपचारको लागि मन्थली ल्याउन लागेको । ‘हिजोदेखि लगातार पेट दुखिरहेको छ, एपेन्डिक्स हो कि भन्ने शंका लागेको छ, मन्थलीमा के कस्तो उपचार हुन्छ, नभए काठमाडौं नै ल्याउनु पर्ने होला,’ उहाँले थप्नुभयो । मैले हुन्छ भने । उहाँले साझ ७ः३० बजेतिर फेरि फोन गर्नुभयो । रामेछाप सदरमुकाम मन्थलीमा रहेको रामेछाप सामुदायिक अस्पतालमा विरामी भर्ना गर्नुभएछ । तर, शंका गरिए जस्तो एपेन्डिक्स भएको होइन होला भन्ने जवाफ अस्पतालले दिएछ । तर, समस्या के हो भन्ने पत्ता लागेनछ । थप उपचारको लागि काठमाडौं ल्याउने निर्णय गर्दै उहाँ गाडी खोज्न थाल्नुभएछ । एम्बुलेन्स छैन । भाडाका गाडी लकडाउनको कारण बन्द । रातो नम्बर प्लेटका निजी सवारी साधन मन्थलीदेखि काभ्रेको साँगा वा धुलिखेलसम्म मान्छे ओसार्न व्यस्त । गाडी पाइएनछ । बल्लबल्ल एउटा ट्याक्सी भेटिएछ । ट्याक्सीले मन्थलीबाट धुलिखेलसम्म ल्याएको ३० हजार रुपैयाँ भाडा मागेछ । हो, ३० हजार रुपैयाँ । सामान्य अवस्थामा मन्थलीबाट काठमाडौं आएको सुमोमा नै करिब १ हजार रुपैयाँ भाडा लाग्थ्यो । ज्वाइले फोन गर्नुभयो । यो सबै घटना सुनाउनु भयो । केही व्यवस्था मिलाउन सकिन्छ कि भनेर म लागेँ । रामेछापकै पत्रकार सरोज सुवेदीलाई फोन गरेँ । सुवेदीले ‘एम्बुलेन्स पाइन सक्छ, मलाई दुई चार कल फोन घुमाउन दिनुस् न’ भन्नुभयो । नभन्दै उहाँले रामेछापको एम्बुलेन्स भेट्टाउनु भएछ । साढे ७ हजार रुपैयाँ रहेछ भाडा । पत्रकार दिपक घिमिरेले मन्थलीमा आवश्यक समन्वय गरेर एम्बुलेन्स चढाएर काठमाडौं पठाउनु भयो । गत विहीबार ८ बजे मन्थलीबाट एम्बुलेन्स हिड्यो । राती काठमाडौंको हेल्पिङ ह्याण्ड अस्पतालमा ल्याइयो । हेल्पिङ ह्याण्डस्ले पनि एपेन्डिक्स नभएको बरु पाठेघरमा समस्या भएको हुन सक्ने भन्दै प्रसूति गृह थापाथली रिफर गरिदियो । शुक्रबार बिहान २ बजेतिर प्रसुती गृह पुर्याइयो । प्रसूति गृहको इमर्जेन्सीमा भर्ना गराइयो । विहान ७ बजेतिर म प्रसूति गृह पुगेँ । कोरोना संक्रमण सन्त्रासको कारण अस्पतालको पार्किङमा गाडी लान नदिने गरिएको रहेछ । आफूसँग स्कुटर थियो । कहाँ राख्ने त ? ‘त्यो तपाईंको समस्या हो, भित्र ल्याउन मिल्दैन’ सुरक्षा गार्डले भने । अनि सडक किनारा खोज्दै हिडेँ । प्रसूति गृहको मुलढोका नजिकै अलिकति कुनो जस्तो ठाउँ छ । तर, भित्तामा लेखिएको रहेछ ‘पार्किङ निषेध ।’ स्कुटर त्यही राखेँ । भित्र गएँ । विरामी भेटेँ । करिब आधा घण्टाजति बसेँ । घरबाट खाना बनाएर ल्याउनु पर्ने भयो । साढे ७ बजेतिर निस्केको त स्कुटरमा ट्राफिकले ह्वील लक गरेछ । सेतो मोटरसाइकल अड्याएर नजिकै ट्राफिक बसिरहेका रहेछन्–चन्द थरका । उनलाई गएर सोधे– मेरो स्कुटरमा ह्वील लक तपाइले लगाएको हो’ भनेर । उनले ‘हो’ भने । ‘किन लगाएको ?’ मैले सोधेँ । ‘यहाँ पार्किङ गर्न मिल्दैन भन्ने देख्नुभएन ?’ उनले भने । देखेको थिएँ– मैले भनेँ । ‘अनि किन राख्नुभएको त ?’ उनले सोधे । ‘कहाँ राख्नु त ? पार्किङमा लान मिल्दैन रे । विरामी इमरजेन्सीमा छ । तपाईंलाई विश्वास लाग्दैन भने हिड्नुस्, गएर हेरौं’ भनेँ । ‘स्कुटर कहाँ राख्ने भन्ने तपाईंको कुरा हो । यहाँ राख्न मिल्दैन । नो पार्किङ लेखेको छ । तपाईंको विरामी भेट्न जान म डाक्टर होइन, तपाईंको आफन्त पनि होइन । मेरो ड्युटी पनि त्यो होइन । पार्किङ गर्न नमिल्ने ठाउँमा स्कुटर राख्नुभयो, त्यसैले मैले ह्वील लक लगाएँ ।’ उनले भने । एकछिन गलफत्ती गरेँ । उनले गलत ठाउँमा पार्किङ गरेवापत जरिवाना तिर्नुपर्ने अडान लिए । जरिवाना तिर्नको लागि उनले मेरो लाइसेन्स मागे । अब पर्यो अर्काे फसाद । सवारी चालक अनुमतिपत्रको म्याद सकिएपछि गत वर्षको साउनतिर यातायात व्यवस्था कार्यालयमा गएर राजस्व तिरेँ । राजस्व तिरेको एउटा चिर्कटो दिइएको थियो । त्यो चिर्कटो र म्याद सकिएको लाइसेन्स देखाएपछि सवारी चलाउन पाइन्छ भनेर यातायात कार्यालयले भनेको थियो । त्यो चिर्कटो च्यातियो । म्याद सकिएको लाइसेन्स मात्रै बाँकी छ । म्याद सकिएको लाइसेन्स देखाउँदा अर्काे कारबाहीमा परिएला भन्ने डर लाग्यो । यातायातले लाइसेन्स आएको छैन भनेर दिएको छैन । घर पुगेर विरामी बैनीलाई खाना लिएर आउनु पर्ने थियो । नो पार्किङमा पार्किङ गरेको सँगै सवारी चलाउन चाहिने आवश्यक कागजपत्र नबोकेको अर्काे अभियोग पनि थपिने भयो । अनि इमान्दार जस्तो बनेर ब्लुबुक झिकेर ट्राफिकको हातमा राखिदिएँ । र, भनेँ ‘सर, म पत्रकार हो, विरामी इमरजेन्सीमा छ, घर गएर खाना ल्याइदिएर अफिस जानुपर्नेछ, त्यसैले मिल्छ भने त्यसै ह्वील खोलिदिनुस्, मिल्दैन भने पनि छिटो चिट काटेर मलाई छोडिदिनुस्’ भनेँ । मैले म पत्रकार हो भनेको र अलि ‘कुल’ पनि बनेको देखेर ट्राफिक पनि अलि ‘कुल’ भए । अनि उनले ‘नर्मल जरिवाना तिर्ने गरी चिट काटिदिने’ बताए । पछि थाहा भयो–नर्मल जरिवाना भनेको ५ सय रुपैयाँ तिर्नु भन्ने हुँदोरहेछ । लाग्यो– ५ सय किन तिर्नु ? ट्राफिकसँग अझै ‘रिक्वेष्ट’ गरेँ । निकै अनुरोध गरेपछि उनले चिट काटेनन्, ह्वील खोलिदिएँ । मेरोसँगै ह्वील लक गरिएका अन्य ४/५ वटा बाइकको ह्वील लक पनि त्यसरी नै खोलियो कि ‘नर्मल जरिवाना’ तिर्नुपर्यो ? खोजिनीति गर्न भ्याउने अवस्थामा थिइनँ । कोठातिर लागेँ । मन्त्री र कालोम्याट प्रसूति गृहको मुलढोका अगाडी नर्भिक अस्पतालको पार्किङ छ । त्यहाँ जतिबेला पनि छिर्न पाइन्छ । मोटरसाइकल र स्कुटर राखेको प्रतिघण्टा २५ रुपैयाँ तिर्नुपर्छ । त्यसपछि म जतिबेला पनि नर्भिकको पार्किङमा स्कुटर राखेर प्रसूति गृह छिर्ने गर्न थालेँ । शनिवार (हिजो) राती खाना लिएर जान अलि ढिला भयो । रातीको ९ बजिसकेको थियो । विरामीको कुरुवालाई राती सुत्ने सुविधा छैन । त्यसैले म्याटमा सुत्न मिल्छ भनेर विरामी कुरुवाले म्याट बोकेर जाने गरेका रहेछन् । कोरोना संक्रमण भित्र पस्न नदिन प्रसूति गृहको गेटमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । शनिवार रातीको दृश्य अझ अनौठो थियो । म्याट बोकेर गएका विरामी कुरुवालाई सुरक्षा गार्डले रोकिरहेका थिए । गेटको गलफत्ती एकछिन हेरेपछि थाहा भयो– शनिवार कालो रंगको म्याट भित्र लान रोकिएको रहेछ । ‘कालो म्याट भित्र लान मिल्दैन, अर्काे रंगको छ भने लानुस्, नभए क्यान्टिनको छेउमा अर्काे म्याट पाइन्छ, त्यही किनेर चलाउनु’ गेटमा तैनाथ सुरक्षा गार्ड उर्दी लगाइरहेका थिए । खाना पुर्याएर फर्कें । विरामी कुरुवा भतिजी बसेको थिइ । राती १० बजेतिर फोन गर्दै भनी– अंकल भोलि मन्त्री आउने रे, विहान ७ बजेदेखि १२ बजेसम्म छोरा मान्छेलाई अस्पतालमा पस्न दिदैन रे, भिनाजुलाई अस्पताल नआउनु भन्नु, मलाई लिन विहान आउँदा दिदी कुर्न कोही लेडिज ल्याउनु पर्ने भयो, कसलाई लिएर आउनु हुन्छ, ल्याउनु’ उसले भनी । बल्ल बुझें । अघि कालो म्याट भित्र लान नदिनुको कारण भोलि आउने मन्त्री रहेछन् । …………………. मनमा केही प्रश्न उब्जिए । मन्त्री आउने दिन कालो म्याट लान नपाइने हो भने अरु दिन किन पाइने ? मन्त्री आउने दिन छोरा मान्छेले आफ्ना आमा, श्रीमती, दिदी बहिनी वा आफन्त कुर्न नपाउने हो भने अरु दिन किन पाउने ? मन्त्री आउने दिन सरसफाइ र स्वास्थ्य सुरक्षालाई विशेष ध्यान दिनुपर्ने भए अरु दिन किन नपर्ने ? म्याटको रंगप्रति अस्पताल प्रशासनको बुझाइ के होला ? प्रश्न अरु पनि उब्जिए । रामेछापबाटै प्रदेशसभामा निर्वाचित सांसद कैशाल ढुंगेल बागमती प्रदेशको अर्थमन्त्री छन् । रामेछाप सदरमुकाममै राम्रो अस्पताल किन नबनाएको होला ? जिल्ला सदरमुकामै सामान्य अवस्थामा सार्वजनिक सवारी साधनले हजार रुपैयाँ भाडामा यात्रा गराउने दुरीमा एउटा गाडीले विरामी ल्याउन ३० हजार रुपैयाँ देऊ भन्न सक्ने मनोमानी अवस्थाको जननी को हो ? यस्ता विकृति रोक्न पहल किन नगरेको ? रातो नम्बर प्लेटका गाडीले चर्काे भाडा असुलेर साँगा चोकसम्म ल्याउने र त्यहाँबाट १ मिलोमिटर हिडेर उपत्यका छिर्दा चै कोरोना नआउने ? सार्वजनिक सवारी साधनले कोरोना ओसार्ने, निजी नम्बर प्लेटका गाडीले कोरोना किच्छ भन्ने सोचको हिमायती को होला ? प्रश्नको बाढी रोकिएन । सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स) किन दिन्छ ? राजस्व उठाउन मात्रै ? लाइसेन्सको म्याद समाप्त भएपछि नविकरण गर्नै पर्ने भनेको राजस्व उठाउनको लागि मात्रै हो ? राजस्व तिरेको रसिदले गाडी चलाउन पाउने व्यवस्था कुन कानुनमा छ ? लाइसेन्स दिन्छु भनेर जनतासँग पैसा असुल्ने तर एक वर्षसम्म पनि लाइसेन्स नदिने फट्याइ यातायात कार्यलयले किन गरेको ? पैसा लिएपछि जे दिन्छु भनेको छ, त्यो दिनु पर्दैन ? यस्तै प्रश्नका बीचमा झल्यास्स सत्तारुढ नेकपा सम्झिएँ । फेरि प्रश्न नै थपिए । केपी ओलीले प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद नछाडेकोले यो समस्या आएको हो ? प्रधानमन्त्री ओलीले नेकपा कार्यकारी अध्यक्ष प्रचण्डलाई सामाजिक संजालमै गाली गर्ने व्यक्तिलाई रेल्वे कम्पनीको महाप्रबन्धकमा नियुक्त गरेकोले मन्थलीबाट धुलिखेल ल्याएको भाडा ट्याक्सीले ३० हजार मागेको हो ? कि प्रधानमन्त्री ओलीले एकपक्षीय रुपमा स्थायी कमिटी बैठक स्थगन गरेका कारण मन्त्री आउने दिन प्रसुती गृहमा छोरा मान्छेलाई प्रवेश दिनु हुदैन भन्ने अल्पज्ञान पसेको ? एकाएक प्रधानमन्त्रीको अनुहार याद आयो । हँसिलो अनुहार । कालो भादगाउँले टोपी । पुष्ट गाला । दौरा, सुरुवाल, कालो कोट र कालो जुत्तामा सजिएका प्रधानमन्त्री केपी शर्मा ओली । सर्वहारालाई राज्यत्ताको मुलधारमा ल्याउनु पर्छ भन्ने मान्यताले कम्युनिष्ट दर्शन बोकेर जिन्दगीको लामो समयसम्म जेलनेल भोगेको व्यक्ति प्रधानमन्त्री बनेपछि ‘यति’ र ‘ओम्नी’ पोस्ने प्रधानमन्त्री । धर्मलाई अफिम जस्तै हो भन्दै संसारभर साम्यवाद स्थापना गर्न हिडेको एक किशोर, जिवनको उत्तरार्धमा झण्डै दुई तिहाई मत प्राप्त दलबाट चुनिएर प्रधानमन्त्री बनेपछि भगवान रामको जन्मथलो कता होला भन्दै भौतिरिरहेको एक ‘स्वप्नद्रष्टा’ कार्यकारी प्रमुख । प्रधानमन्त्रीलाई भेट्न सक्ने ‘हैसियत’मा म छैन । भेटेपनि माथि उठाएका प्रश्न सोध्नुको औचित्य छ जस्तो मलाई लाग्दैन । प्रधानमन्त्रीलाई यति चै सोध्न पाए हुन्थ्यो– भगवान रामको जन्मथलो अयोध्या भेटियो प्रधानमन्त्रीज्यू ?

‘पहुँचवाला’को चार्टर फ्लाइट चक्कर

काठमाडाैं । जापानमा अध्ययनरत भाइ पुरुषोत्तम फागुन पहिलाे साता काठमाडौं आएको थियो । चैत अन्तिम सातातिर जापान फर्कने उसको योजना थियो । तर, कोरोना भाइरस संक्रमण रोक्न भन्दै चैत ११ गतेदेखि सरकारले देशव्यापी लकडाउन जारी गर्यो । गाउँ गएको भाइ उतै ओखलढुंगामै रोकियो । सरकारले हवाई उडान पनि रोकेकोले जापान जाने विषय पनि बन्द थियो । यस्तैमा मे २० (७ जेठ) मा भाइले फोन गरेर जापान जाने कुरा सुनायो । उसको कुरा सुन्दा छक्क परेँ । लकडाउनको समय, ओखलढुंगादेखि काठमाडौं आउने समस्या, फेरि सबै प्रकारका हवाइ उडान रोकिएकोले सम्भव कुरा जस्तो नै लागेन । तर, उसैले २४ मेमा सुमेघ ट्राभल्सले जापानको नारिता लैजान लागेको डिटेल भाइबरमा पठाइदियो । उसलाई यो जानकारी जापानबाट आएको रहेछ । जापानको उसको अध्ययन गर्ने शैक्षिक संस्थाले नै यो दिन, यो ट्राभलले जापान चार्टर फ्लाइट गर्दैछ भनेर भाइलाई जानकारी पठाउँदो रहेछ । जानकारीमा विभिन्न बैंकको नाम उल्लेख गरेर सो ट्राभल्सको खातामा पैसा हालिदिनु भनिएको थियो । पत्रकारको जात न पर्यो । पेशागत कारणले पनि जिज्ञासुसहित शंकालु हुनैपर्छ । लकडाउनको बेलामा कसैले अवाञ्छित कार्य गरी ठग्न खोजेको हो कि भन्ने शंका उत्पन्न भयो । अनि गृहमन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीलाई सम्पर्क गरी लकडाउनमा अन्तराष्ट्रिय चार्डर फ्लाइट हुन्छ कि हुन्न भनेर सोधेँ । उनले हुन्छ भने । काठमाडौं बाहिरका यात्रु कसरी काठमाडौं आउँछन् त भनेँ । उनले जहाजको टिकट पक्का भएपछि र भिसा अवधि कायमै रहेकाको हकमा सम्बन्धित जिल्ला प्रशासनले पास बनाएर पठाउने व्यवस्था मिलाइएको जानकारी दिए । अनि सुमेघ ट्राभलले २४ तारिकमा जापानको नारिता जान स्वीकृति लिएको हो भनेँ ? उनले यो बारेमा आफूलाई जानकारी नभएको भन्दै एक जना उपसचिवको नाम र फोन नम्बर दिए । गृहका उपसचिव उमाकान्त अधिकारीले दिएको व्यक्तिलाई फोन गरेँ । उनले २४ तारिकको लागि नारिता चार्टर फ्लाइट गर्ने तयारी सुमेघ ट्राभलले गरेको तर गृहमन्त्रालयबाट अन्तिम स्वीकृति पाइनसकेको बताए । र, ती उपसचिवले सुमेघ ट्राभलका मेघ केसीको फोन नम्बर दिदै थप जानकारी उनैसँग लिन भने । यतिबेलासम्म म सामान्य पत्रकारबाट ‘पहुँचवाला’ भैसकेको थिएँ । किनभने गृहमन्त्रालयका अधिकारीसँग सम्बन्ध भइसकेको थियो, ट्राभल एजेन्सीका मान्छेको नम्बर पाएको थिएँ । लकडाउन जस्तो असामान्य परिस्थितिमा प्रशासन र व्यवसायी दुबैसँग सम्पर्क र समन्वय गर्न सक्ने व्यक्ति सामान्य हुँदैहोइन । मेघ केसीलाई फोन गरेँ । उनले भोलि विहान फोन गर्न भने । तर, यही बीचमा अर्काे एउटा ट्राभल एजेन्सीले २८ मेमा जापानको ओसाकामा चार्टर फ्लाइट गर्न लागेको जानकारी विभिन्न सामाजिक संजालमा भेटियो । भाइले पनि आफू बस्ने ठाउँ नारिताभन्दा ओसाकाबाट नजिकै पर्ने र २४ तारिकको लागि तयारी गर्न समय कम हुने भएकोले २८ तारिकमा ओसाका जान पाए राम्रो हुने बतायो । ओसाका एयरपोर्टमा आउने भए भाइले अध्ययन गर्ने शैक्षिक संस्थाले नै गाडी लिएर लिन आउने भनेको रहेछ । त्यसैले भाइले पनि ओसाका जान पाए उपयुक्त हुने बतायो । यो प्रसंग २१ मेको थियो । ओसाका चाटर्र फ्लाइट गर्न लागेको ट्राभल एजेन्सीको मान्छेलाई फोन गरेँ । उनले २८ मेमा आफूले ओसाका फ्लाइट गर्न लागेको बताए । उनले पनि टिकेट वापतको पैसा तत्काल बैंकमा जम्मा गरिदिन आग्रह गरे । माथि नै उल्लेख गरिसकेको छु कि म पहुँचवाला भइसकेको थिएँ । त्यसैले गृहमन्त्रालयका ती उपसचिवलाई फोन गरेर गृहको स्वीकृति पाउन अघि नै टिकटको पैसा दिन कत्तिको जोखिमरहित छ भनेर सोधें । उनले सबै सरकारी निकायबाट स्वीकृति पाइसकेपछि मात्रै टिकटको पैसा दिनु राम्रो हुने सुझाए । अनि २८ मेमा ओसाका उडान गर्ने ट्राभल एजेन्सीको मान्छेसँग फेरि कुरा गरें । उनको फाइल गृहमन्त्रालयसम्म नपुगेको बताए । अनि उनी मलाई साथीको व्यवहार गर्दै सबै प्रक्रिया जानकारी गराउन लागे । त्यो बेलासम्म उनले पर्यटन मन्त्रालयबाट स्वीकृति भने लिएका रहेछन् । २२ मेमा एक जना साथीले मलाई फोन गरे । उनको सालोलाई अमेरिका जानुपर्ने रहेछ । २४ मेमा प्रेसिडेन्ट ट्राभलले अमेरिका उडान गर्दै रहेछ । साथीको सालोलाई टिकट उपलब्ध भएन भनेर इमेल गरिएको रहेछ । तर, उनलाई जसरी पनि अमेरिका जानै पर्ने रहेछ । साथीले मबाट केही सहयोगको अपेक्षा गरेका रहेछन् । मैले सहयोग गर्न सक्ने अवस्था थिएन । त्यसैले यसमा सहयोग गर्न सक्ने व्यक्ति पर्यटनमन्त्री योगेश भट्टराई हुन भनेँ । नभन्दै उनले पनि च्यानल मिलाएर पर्यटनमन्त्री भट्टराई समक्ष यो विषय पुर्याएछन् । साथीको सालोले अमेरिका जाने टिकट पाए । गए । यो चार्टर्ड फ्लाइटकै अनुभव भएकोले उल्लेख गरेँ । अँ साँच्ची, उडान अनुमति लिने प्रक्रियाबारे भन्नै विर्सेछु । सबैभन्दा पहिला ट्राभल एजेन्सीले विदेश जाने मान्छे खोज्दा रहेछन् । कति यात्रु हुन सक्छन् भन्ने अनुमान अद्यागमन विभागबाट लिन्छन वा अन्यत्रबाट भन्ने थाहा भएन । त्यसपछि सामाजिक संजालमार्फत सूचना प्रवाह गर्दा रहेछन् । यात्रु यकिन गर्न अग्रिम पैसा बुझाउनु भन्ने शर्त राखिएको हुँदो रहेछ । त्यसपछि ट्राभल एजेन्सी पर्यटन मन्त्रालय जादा रहेछन् । पर्यटन मन्त्रालयले स्वीकृति दिएपछि कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई पत्राचार गर्दाेरहेछ । यो पत्रमा सम्बन्धित देश जाने यात्रुको नामावली र पासपोर्ट नम्बर उल्लेख हुँदो रहेछ । र, नेपाल एयरलाइन्सलाई चार्टर फ्लाइट गर्ने बारे जानकारी पनि दिइदो रहेछ । पर्यटनको पत्र प्राप्त भएपछि उच्चस्तरीय समन्वय समितिले परराष्ट्र मन्त्रालयमा त्यो निवेदन पठाउँदो रहेछ । पर्यटन मन्त्रालयले सम्बन्धित देशको दूतावाससँग समन्वय गर्दाेरहेछ । दूतावासले उडान अनुमतिको लागि स्वीकृति दिने भनेपछि परराष्ट्रले सो फाइल फेरि उच्चस्तरीय समन्वय समितिमा पठाउँदो रहेछ । परराष्ट्र मन्त्रालयबाट पनि फाइल फिर्ता भएपछि उच्चस्तरीय समन्वय समितिले सो फाइल गृहमन्त्रालय पठाउने रहेछ । गृहमन्त्रालयले निवेदनमा संलग्न भएका व्यक्तिहरुलाई सवारी पासको व्यवस्था मिलाउन सबै जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिने गरिएको रहेछ । चार्टर फ्लाइट स्वीकृतिको प्रसंग उल्लेख गरेको सन्दर्भ बुझ्नु भयो नै होला । साथीको सालो योगेश भट्टराईको सहयोगमा अन्तिम समयमा अमेरिका जान पाएको विषय सम्झनुस भन्नका लागि यो प्रसंग जोडिएको मात्रै हो । हुन त साथीको सालो ७९ हजार रुपैयाँको टिकट क्यान्सिल गरेर बसेका थिए । चार्टर फ्लाइटमा ३ लाख ५० हजार रुपैयाँ तिरेर गए । फेरि पहिलाकै विषयमा फर्काैं । २२ मेमा ओसाका जाने जहाजको टिकट पक्का दिन्छु भन्यो त्यो ट्राभल एजेन्सीले । भाइसहित उसका साथीहरु ७ जना सँगै जाने थिए । उनले, ‘इकोनोमा प्याक भयो भने पनि त्यही पैसामा विजनेस क्लासमा हालेर लैजान्छु सर तपाईंका भाइहरुलाई, किन चिन्ता गर्नुहुन्छ’ भन्थे उनी । ७ जनामध्ये ४ जनाले त टिकटको अग्रिम भुक्तानी गरेछन् । मैले पनि अन्तिम स्वीकृति पाएपछि मात्रै भुक्तानी दिदाँ हुने सुविधा पाएको थिएँ । यो बेलासम्म ट्राभलको मान्छे र गृहमन्त्रालयका ती उपसचिवले म पत्रकार हो भन्ने जानकारी पाएकै थिएनन् । म दिनै जस्तो फोन गरेर के भयो भनेर सोधिरहन्थे । उनी स्वीकृतिको प्रक्रियामा नै रहेको बताउँदै गर्थे । घरबाट भाइले मलाई फोन गरेर के भयो दाइ भनिरहेको हुन्थ्यो । पछि थाहा भयो, जवाफ कोहीसँग पनि रहेनछ । २६ मेमा बल्ल त्यो ट्राभल एजेन्सीले भन्यो कि मैले स्वीकृति नपाउने भए भनेर । अब पर्यो फसाद । भाइलाई टिकट मिल्ने पक्का जस्तै भएको जानकारी गराएको थिएँ । टिकट मिलेन । उसलाई दिने जवाफ पनि भएन । त्यसैले २ पटक त उसको फोन पनि उठाइनँ । तर, भाइ फोन गरेको गर्यै गर्न थाल्यो । एकाएक पहुँवाला बनेको म, फेरि सुरुकै अवस्थाको भएँ । सामाजिक संजालमा फेरि अर्काे जानकारी भेटियो, ४ जुनमा सेरेना ट्राभलले नारिता उडान गर्दैछ भन्ने । गृहका तिनै उपसचिव मार्फत त्यो ट्राभलका मुख्य व्यक्ति विष्णु बस्नेतको फोन नम्बर पाइयो । सुरुदेखि नै सम्पर्कमा रहेका कारण ती उपसचिव पनि मप्रति अलि सकारात्मक भइसकेका थिए । उनी मलाई सहजीकरण गर्न चाहन्थे । त्यसैले होला, उनी सेरेना ट्राभल्सका बस्नेतसँग ‘तपाईं आफै पनि कुरा गर्नुस्, मिल्यो भने म पनि आग्रह गर्छु, तर उनीहरुको व्यवसाय भएकोले मैले धेरै जोड गर्न मिल्दैन’ भन्थे । सेरेना ट्राभल्सका बस्नेतले टिकट छैन भने । उनको कार्यालयमा सम्पर्क गर्दा केशव थापा भन्ने व्यक्ति सम्पर्कमा आए । उनले जापान जाने सबै व्यक्तिको पासपोर्ट, दाइरो कार्ड (जापान बस्ने अस्थायी अनुमतिपत्र) भाइबरमा पठाउनु भने । पठाएँ । उनीहरुले ४ जुन र ७ जुनको लागि अनुमति लिएका रहेछन् । दुबै फ्लाइटको लागि टिकट सकिएको बताए । आफूहरुले १४ र १९ तारिकको लागि पनि अनुमति लिन खोजेकोले त्यसमा पठाउन सकिने संकेत गरे । जुन ४ र ७ तारिकको लागि भाडा १ हजार अमेरिकी डलर तय भएको रहेछ । भाइको शैक्षिक संस्थाले ४ जुनमा मिलाएर आऊ भनेर म्यासेज पठाइरहदो रहेछ । भाइ ४ जुनको फ्लाइटमा जसरी भएपनि मिलाउनु न दाइ भनेर भनिरहन्थ्यो । तर, मिलाउने कसरी ? देखापढी डटकममा कार्यरत पत्रकार साथीले पर्यटन क्षेत्रमा पनि रिपोर्टिङ गरेका थिए । त्यसैले उनीबाट पनि केही पहल हुन सक्छ भनेर सोधेँ । ती साथीले मन्त्रालयमा भनेर काम हुन नसक्ने भएकोले पर्यटन बोर्डमा कुरा गर्नु भने । बोर्डका यी मान्छेले सहयोग गर्न सक्छन्, तपाईंले भन्दा भएन भने म पनि उपाय लगाउँला भन्ने उनको कुरा आयो । उनकै सल्लाह अनुसार बोर्डका ती अधिकारीसँग कुरा भयो । बोर्डका ती अधिकारीलाई परिचय खुलाएर कुरा गरेँ । उनले सहयोग गर्ने बचन दिदैं अर्काे एक जनाको नाम र फोन नम्बर दिए । ‘मेरो नाम लिएर उहाँलाई भन्नुस्, सहयोग गर्नुहुन्छ, उहाँले के भन्नुहुन्छ मलाई खबर गर्नुस्’ भने । फ्लाइटमा सरकारी कोटा पनि हुने भएकोले सातै जनालाई एकैपटक नसकिए पनि मिलाएर पठाउन सकिने अवस्था हुन सक्ने बताए । बोर्डका ती अधिकारीले भनेको व्यक्तिलाई फोन गरेँ । उनले ‘सर (बोर्डका ती अधिकारी) सँग म पनि कुरा गरौंला, चार्टर फ्लाइटमा सरकारी कोटा भन्ने नै हुँदैन, सबै सरकारी निकायबाट नामसहितको स्वीकृति लिइसकेकोले पछि व्यक्ति थपघट गर्न नमिल्ने’ आशय व्यक्त गरे । मैले भने साथीको सालो अन्तिम समयमा अमेरिका उडेको सम्झेँ । जे सम्झे पनि काम भएन । बढो बेचैनीमा थिएँ । यत्तिकैमा न्यूज २४ टेलिभिजनमा कार्यक्रम संचालन गर्ने डेभलपमेन्ट फोरमका अध्यक्ष शिव अधिकारीलाई सम्झेँ । किनकि उहाँको ट्राभल एजेन्सीहरुको संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) सँग राम्रो सम्बन्ध र सम्पर्क रहेको जस्तो मलाई लागेको थियो । अधिकारीलाई फोन गरेँ । उहाँले टानका एक पदाधिकारीसँग त्यही बेला फोन गर्नुभयो र मेरो समस्या जस्तोको तस्तै राखिदिनुभयो । ती पदाधिकारीले हुन्छ भने । पासपोर्ट र दाइरो कार्ड मागे । मैले भाइबरमा पठाइदिएँ । पछि थाहा भयो ती पदाधिकारीले सुमेघ ट्राभल्सका मेघ केसीलाई नै भनेका रहेछन् । अब भाइको जापानयात्रा छिटोमा ११ जुनमा हुनेभयो । तर, ११ जुनको फ्लाइटका लागि समेघले स्वीकृति लिइसकेको थिएन । यस्तैमा १ जुनमा विहानै भाइले फोन गर्यो । र, एउटा अर्काे ट्राभलको नाम लिँदै त्यसमा गएर १ लाख ४३ हजार रुपैयाँ बुझाइदिनु टिकट छ रे भन्यो । भाइले भनेको व्यक्तिसँग सम्पर्क गरेँ । उनले आजै पैसा बुझाउनु, ४ तारिकको टिकट पाइन्छ भन्यो । उसले आफ्नो कम्पनीको बैंक खातामा पैसा जम्मा गरिदिए हुन्छ भन्यो । मैले उनलाई भेटेर चेक दिने बताएँ । उनले आफ्नो नक्साल अफिसमा आउन भने । नक्साल पुगेर फोन गरेँ । आफू दरबारमार्ग भएकोले त्यही आउँन भने । दरबारमार्ग गएँ । सडकमै बसेर चेक काट्न लागेँ । उनले एक व्यक्तिको नाम दिदै उसको नाममा चेक काट्न भने । मैले व्यक्तिको नाममा चेक काट्न नसक्ने बताएँ । उनले त्यसो भए ‘अफिस जानुस्’ भने । हुन्छ भनेर म उनको अफिस गएँ । भाइ र उसको एक साथीको १ लाख रुपैयाँसहितको चेक काटिदिएँ । रिसिप्ट दिए । बोकेर फर्के । बेलुका नै टिकट पठाइदिए । सेरेना ट्राभल्सले टिकट मूल्य १ हजार डलर तोकेको थियो । अर्काे ट्राभल्स मार्फत प्रतिव्यक्ति १ लाख ४३ हजार रुपैयाँ तिरेँ । त्यो दिनको अमेरिकी डलरको विक्रीदर प्रतिडलर १२१ रुपैयाँ २९ पैसा तोकेको थियो नेपाल राष्ट्र बैंकले । मैले कति डलर तिरेँ भन्ने हिसाव अझै गरेको छैन । र, गर्दिन पनि । टिकट पाएपछि पास कसरी बनाउने भन्ने अर्काे समस्या आइलाग्यो । यस्तैमा ओखलढुंगाका सहायक प्रमुख जिल्ला अधिकारी तुलसी भट्टराईलाई डराइ डराइ फोन गरेँ । मलाई सिडिओ अफिसका मान्छेसँग असाध्यै डर लाग्छ । त्यसमा पनि ओखलढुंगाको सिडिओ अफिसमा सम्पर्क गर्न झन् धेरै । किनकि २०५६ सालमा नागरिकता बनाउन जाँदा चस्माको दुबै खुट्टामा कालो डोरी बाधेर गर्दनसम्म पुर्याएका एक मोटे र अग्ला कर्मचारीले चस्मालाई नाकको डाडीमा झार्दै मलाई झपारेको अझै विर्सेको छैन । ओखलढुंगाको सिडिओ कार्यालय भन्ने वित्तिकै तिनै कर्मचारी सम्झन्छु । तर, तुलसी भट्टराई त्यस्ता रहेनछन् । मैले आफ्नो समस्या राख्ने वित्तिकै टिकटको कपि इमेल वा भाइबर गरिदिए त्यही माध्यमबाट पास उपलब्ध गराइदिने बताए । मैले त्यसै गरेँ । उनले पास पठाइदिए । सिडिओ कार्यालय त्यस्तो तर्सिनु पर्ने स्थान होइन रहेछ भन्ने आभास मलाई तुलसी भट्टराईले गराए । जे होस्, भाइ ४ जुनमा जापान उड्यो । र, ५ जुन साँझ ५ बजेतिर फोन गर्दै भन्यो ‘दाइ म कोठामा आइपुगेको २ घण्टा भयो, जापान एनआरएनले प्रतिव्यक्ति १५ हजारका दरले नारितादेखि नागोयामा हामी बस्ने घरसम्म ल्याइदियो, आरएको जहाजमा लास्टै हल्लाउँदो रहेछ नि दाइ ।’ मेरामा बत्ती नभएकोले सम्पर्क गर्न अलि ढिला भएको रहेछ । म ‘पहुँचवाला’को भाइ राम्रोसँग जापान पुग्यो । जापानमा सुरक्षित रहनु है भाइ ।