१२९ कम्पनीलाई खनिज उत्खनन अनुमति, ५२ वटा चुनढुंगा खानी थपिए

काठमाडौं । खानी तथा भूगर्भ विभागअन्तर्गत रहेको खनिज सम्पदा महाशाखाले देशभरका १२९ व्यक्ति तथा कम्पनीलाई खनिज उत्खननका लागि अनुमति प्रदान गरेको छ । महाशाखाले देशका विभिन्न भूभागमा रहेका खनिज सम्पदाको अध्ययन गरी उक्त संख्यामा उत्खनन गर्न व्यक्ति तथा कम्पनीलाई अनुमति प्रदान गरेको हो । अनुमति दिएका खानीमध्ये चुनढुंगा ५२, क्वार्ज चार, रातोमाटो पाँच, कोइला १४, सिसा तीन, टल्क १२, फलाम तीन, डोलोमाइट एक, मार्बल तीन, स्ल्याब आठ, म्याग्नेसाइट एक, जिङ्क एक, कायनाइट ९, क्याल्साइट एक र टुर्मालिनका १२ रहेका छन् । महाशाखाका प्रमुख रामप्रसाद घिमिरे खनिजका लागि महाशाखाले ३६४ स्थानमा अध्ययन गरेपनि जम्मा १२९ स्थानमा मात्र उत्खननका लागि अनुमति दिएकोे बताए । “सबै खोजतलास गरेका ठाँउमा खनिज हुन्छ भन्ने हुँदैन, खनिज पत्ता लागेको ठाउँमा मात्र उत्खनन गर्ने हो”– उनले भने । नेपालमा उत्खनन गर्न लागेका खनिजमध्ये अधिकांश स्वदेशी लगानीमै उत्खनन भएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार चार खनिजको उत्खनन भारतीय र तीन खनिजको उत्खनन चिनियाँ कम्पनीले गर्न लागेका छन् । नेपालमा उत्खनन गरिएका खनिजलाई अति महत्वपूर्ण, महत्वपूर्ण र साधारण गरी तीन भागमा छुट्टाइएको छ । तीमध्ये अति महत्वपूर्णमा सुन, चाँदी, हीरालगायतका बहुमूल्य धातु पर्छन् । महत्वपूर्णमा चुनढुंगा, काइनाइट, फलाम र साधारणमा रातोमाटो, गिट्टी, बालुवालगायत पर्दछन् । मुलुकमा उत्पादित काइनाइट, टुर्मालिन र क्वार्जजस्ता खनिज पदार्थलाई मूल्य अभिवृद्धि र प्रविधिको अभावका कारणले दुई वर्षदेखि विदेशमा निकासी गर्न नसकिएको महाशाखा प्रमुख घिमिरेले जानकारी दिए । रासस

अब मुलुकको मुख्य एजेन्डा नै आर्थिक समृद्धि र विकासः पूर्व प्रधानमन्त्री ओली

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष के.पी शर्मा ओलीले अब मुलुकको मुख्य एजेन्डा नै आर्थिक समृद्धि र विकास हुने बताएका छन् । लगानीमैत्री वातावरण तयार पारी मुलुकको आर्थिक विकासलाई अगाडि बढाउँंदै लैजाने भन्दै उनले स्वदेशमै धेरै रोजगारीको सिर्जना गरेर युवाहरूको विदेश पलायनलाई रोक्न प्राथमिकताका साथ लैजाने बताए । नेपाल घरेलु तथा साना उद्योग महासंघको पदाधिकारी एवं कार्यसमितिको टोलीसँग ओली निवास बालकोटमा आइतबार कुरा गर्दै ओलीले स्वदेशमै रोजगारी सिर्जना गर्न नै केन्द्रित रहँदै, यसका लागि घरेलु तथा साना उद्योग, कृषि, पर्यटनमा आधारित उद्यमशीलता गर्न युवा वर्गलाई आकर्षित गर्न जोड दिएर अगाडि बढ्ने बताएका छन् । सियो धागोदेखि चामल र तरकारी/फलफुलमा समेत विदेशीको भर पर्नुपर्ने अवस्थाबाट देशलाई मुक्त गर्नुपर्नेमा जोड दिंदै उनले देशलाई आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता औंल्याए । देशभित्रै उत्पादन गर्नसक्ने कुरा पनि बाहिरबाट ल्याउनुपरेको प्रति संकेत गर्दै पूर्व प्रधानमन्त्री ओलीले एकआध वस्तुबाहेक धेरै कुरामा आत्मनिर्भर हुनसक्ने प्राकृतिक स्रोत साधन हुँदाहुँदै पनि बाहिरबाट आयात गर्ने परिस्थिति अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । प्राकृतिक रूपमा धनी नेपालीले आफुसँग भएको प्राकृतिक धनको सदुपयोग गर्दै कुनै बेला हरेक वस्तुमा आत्मनिर्भर रहेकोमा अहिले परनिर्भर बनेको टिप्पणी गर्दै उनले भने –‘कुनै समय हाम्रो अर्थतन्त्र पुरै आत्मनिर्भर थियो । कुनै पनि वस्तु आयात गर्नुपर्दैनथ्यो । तर त्यो स्वाट्टै आयातमुखी सजिलो बाटोतर्फ जाँदा अहिलेको चरम परनिर्भरताको अवस्था सिर्जना भयो ।’ केही वर्षअघिसम्म मुलुक लत्ताकपडा, खाद्यान्नमा आत्मनिर्भर थियो, विस्तारै परनिर्भरता बढ्दै गएको चर्चा गर्दै अहिले स्वदेशमा टाँक, सियो, धागोसमेत बन्दैन, परनिर्भता बढ्दै गइरहेको छ, यस्तो अवस्थालाई अन्त्य गर्न घरेलु तथा साना उद्योगबाट मात्र सम्भव रहेको बताए । मुलुकमा सबैखाले उद्योग, कृषि, व्यापार, तथा सबैखाले सेवा क्षेत्रलाई आजको विज्ञान प्रविधि र उन्नत चेतनाबाट तीब्र विकास गर्न प्रतिबद्ध रहने बताउँदै ओलीले सानो उद्योगले मुलुकलाई अग्रगामी दिशातर्फ लैजान सबैभन्दा ठूलो भूमिका खेल्न सक्ने भनाइ राखेका छन् । सरकार सडक बनाउने, उद्योगधन्दाको विकास गर्ने, रोजगारी बढाउने, अन्य पूर्वाधारको विकास गर्ने र देशलाई उन्नत बनाउने अभियानमा आफु लाग्ने भन्दै उनले देशको विकास उन्नत र प्रगतिका लागि स्वदेशी उद्योग र उत्पादनलाई जस्तोसुकै सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। मुलुकलाई आत्मनिर्भर हुने गरी पर्याप्त मात्रामा गुणस्तरीय वस्तुको उत्पादन गर्न साना तथा घरेलु उद्यमी व्यवसायीलाई उनको सुझाव थियो । आफ्नै कच्चा पदार्थमा आधारित उत्पादनलाई जोड दिन भन्दै उनले स्वदेशी उत्पादनको प्रवद्र्धनका लागि जस्तोसुकै सहयोग गर्न तयार रहेको दोहोर्याउँदै पूर्व प्रधानमन्त्री ओलीले साना तथा घरेलु उद्योगी÷व्यवसायीले आर्थिक लाभसँगै मुलुकको आत्मनिर्भरतातिर लाग्न आग्रह गरेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले नेपालको आर्थिक रुपान्तरणको बाहक र समावेशी अर्थतन्त्र निर्माणको आधार स्तम्भ लघु घरेलु तथा साना उद्योगहरु नीतिगत प्रष्टताको अभावमा फष्टाउन नसकेको बताएका छन् । लघु घरेलु तथा साना उद्योगको विकास मार्फत नेपालको आर्थिक रुपान्तरण हासिल गर्न सकिने भन्दै उनले नेपालमा यस्ता उद्योगहरूलाई प्रविधि प्रयोग र क्षमताका हिसाबले प्रतिस्पर्धी, पुस्ता हस्तान्तरण र युवा वैज्ञानिक र अनुसन्धानकर्ताहरुका विभिन्न किसिमका प्रविधि तथा उपकरणहरुको आविष्कार, खोज, अनुसन्धान र आविष्कारहरुलाई उद्योग विकाससँग जोड्नुपर्ने आवश्यकता औंल्याए । स्थानीय स्तरमा उपलब्ध स्रोतसाधनको उपयोग गरी परम्परागत कृषि र विप्रेषणमा आधारित अर्थतन्त्रलाई औद्योगिकीकरणमा उन्मुख गराउने उद्देश्यले सरकारले ल्याएको उक्त रणनीति कार्यान्वयन गराउन सके अर्थतन्त्रमा लघु, घरेलु तथा साना उद्योगको योगदान ह्वात्तै बढ्ने बताएका छन् । विगतमा सम्पन्न स्थानीय तहको निर्वाचन र हालै सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन पश्चात संविधानले परिकल्पना गरेको तीन तहको सरकारको व्यवस्थापन अब पूर्णतः कार्यान्वयनमा आउने विश्वास रहेको महासंघका अध्यक्ष गिरीले बताए।

सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टील्सको भेटघाट कार्यक्रम सम्पन्न, करिब २५० ठेकेदारको उपस्थिति

काठमाडौं । सर्वोत्तम सिमेन्ट प्रा.लि र लक्ष्मी स्टील्स प्रा.लिले काठमाडौं (बालाजु र धापासी) जिल्लालाई केन्द्रित गरी भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । भवन निर्माण कार्यमा संलग्न सिनियर प्राविधिक (ठेकेदार) हरुलाई लक्षित गरी सो क्षेत्रमा उक्त कार्यक्रम गरेको हो । कार्यक्रममा घर बनाउँदा सिमेन्ट र डण्डीको प्रयोग प्राविधिक रुपमा कसरी गर्दा भुकम्प प्रतिरोधात्मक हुने र सिमेन्टको प्रयोग प्राविधक रुपमा उपयुक्त तरिकाले कसरी गर्दा सिमेन्टको खपत पनि कम हुन जान्छ भन्ने बारेमा जानकारी गराइएको थियो । उक्त भेलामा काठमाडौं (बालाजु र धापासी) क्षेत्रका करिब २५० जति ठेकेदारहरुको उपस्थिति रहेको थियो । अत्याधुनिक यूरोपियन भि.आर.एम. प्रविधिद्धारा सिमेन्ट उत्पादन गर्नेे नेपालकै पहिलो उद्योग सर्वोत्तम सिमेन्टले ग्रिन सर्वाेत्तम ओ.पि.सि र श्री ग्रिनnपि.एस.सि नामक ब्राण्डका सिमेन्टहरु नेपालभर सर्वत्र बिक्री वितरण गरिरहेको छ । यस उद्योगद्धारा उत्पादित यस सिमेन्टको मसिनोपन प्रतिग्राम ४५०० से.मि स्क्वायरसम्म रहेको कम्पनीले जनाएको छ । सर्वोत्तम सिमेन्ट क्रसबार कुलर इन्टेलिजेन्ट मेसिन कन्ट्रोलको प्रयोग गरी सिमेन्टको गुणस्तरमा एकरुपता प्रदानगर्ने नेपालको एक मात्र सिमेन्ट उद्योग हो । साथै, आफ्नै इस्टिम इन्जिनबाट विद्युत उत्पादन गर्ने र सिमेन्टको गुणस्तरमा एक रुपता प्रदान गर्न एक्सरे डिफ्राक्सनबाट परिक्षण हुने कम्पनी हो ।