गाउँले परिकारको सहरमा तहल्का, तारे होटलमा प्रिमियम शुल्क
काठमाडौं । कुनै समय गरिबको खानाको रूपमा चिनिने कोदोको ढिँडो अहिले सहर बजारका ठूला तारे होटल तथा रेष्टुरेन्टमा आकर्षक खानाको परिकारको रूपमा चिनिन थालेको छ । होटलहरूमा यसको बढ्दो मागसँगै नेपालको रैथाने बाली कोदोको परिचय नै बदलिएको छ । पहिले चामलको भात खाने हैसियत भएको परिवारलाई धनी वर्गको रूपमा गनिन्थ्यो । आज ठीक विपरीत त्यहीं धनी भन्ने वर्गले नै खोजीखोजी कोदो, मकैलगायतको रैथाने परिकार खान थालेका छन् । पछिल्लो समय नेपाली रैथाने खानाको महत्त्व बढ्दै गएको छ । होटल व्यवसायीहरूका अनुसार अहिले कोदोको ढिँडो होटलहरूमा ‘लक्जरियस फुड’को रूपमा गणना भइसकेको अवस्था छ । यसको अर्थ महँगो शुल्क तिरेरै भएपनि ढिँडो खाने ग्राहकको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । कोदोको ढिँडो एक उदाहरणमात्रै हो । पछिल्लो समय स्थानीय खानाको माग साना होटल तथा रेष्टुरेन्टदेखि ठूला तारे होटलहरूमा बढिरहेको र सोही मागअनुसार होटलमा स्थानीय खानाकाे परिकारलाई प्राथमिकतामा राखिएको होटल संघ नेपाल (हान) का महासचिव साजन शाक्य बताउँछन् । उनका अनुसार चारतारे र पाँचतारे होटलहरूले अनिवार्य रूपमै मेनुमा नेपाली खानालाई समावेश गर्नैपर्छ । त्यसबाहेक अन्य होटलहरूले पनि आवश्यकता र मागअनुसार मिलाएर स्थानीय परिकारलाई प्राथामिकतामा राख्ने गरेका छन् । नेपाली खाना भन्नेबित्तिकै दाल,भात, तरकारी, गुन्द्रुक भन्ने धेरैको मानसिकता हुन्छ । तर, नेपाली परिकार त्यतिमा मात्रै सीमित छैन । नेपालमा विभिन्न जातजातिका विभिन्न परिकार उपलब्ध छन् । ती स्थानीय परिकारलाई होटलहरूले अहिले प्राथामिकतामा राखेर पस्किन थालेको महासचिव शाक्यले बताए । उनका अनुसार नेवारी फुडहरू जस्तै- बारा, चटामरी, योमरीजस्ता खानालाई समावेश गर्न थालिएको छ । शाक्य विदेशका होटहलरूमा पनि नेपाली खानाको फेस्टिबल गर्नुपर्यो भनेर माग आइरहेको बताउँछन् । उनले विदेशमा पनि नेपाली खानालाई प्रवर्द्धन गर्ने भनेर लागिरहेका बताए । हान आफैले समयसमयमा नेपाली खानाको प्रवर्द्धनकाे लागि लागिपरेको महासचिव साजन शाक्यले बताए । ‘हामीले भृकुटीमण्डमा रैथाने खानालाई प्रदर्शनमा राख्यौं । यसबाहेक आफ्नै कार्यक्रम हुँदा स्थानीय खानालाई प्रवर्द्धन गरिरहेका हुन्छौें ।’ होटल संघल नेपालले नेपाली खानालाई प्रवर्द्धन गर्नका लागि गत वर्षदेखि अभियान नै थालेको छ । यस वर्षको माघ २ गते सत्कार दिवसको अवसरमा सातै प्रदेशको खानालाई स्टलमा राखिँदै छ । बर्गर, पिजा, स्याण्डविच लगायत सहरिया परिकारलाई अहिले गाउँले ढिडो, कोदो, फापर लगायत परिकारले विस्थापित गर्न थालेका छन् । महँगा रेष्टुरेण्टमा अहिले गाउँले परिकारको शुल्क नै महँगो पर्छ । ग्राहकको माग नै गाउँले परिकार हुने गरेको होटल व्यवसायी बताउँछन् । उच्च प्राथमिकतामा मौलिक खाना होटल हिमालयका फुड एण्ड वेबरेजका म्यानेजर राजेश यादव होटलले कन्टिनेन्टल, ओरिएन्ट, मेरियन्टका खानाका साथै स्थानीय खानालाई मेनुमा उच्च प्राथमिकताका साथ राखेको बताउँछन् । नेपाली खानाको उच्च माग भएसँगै होटलले पनि त्यसलाई प्राथमिकतामा राखेर सेवा प्रवाह हुने गरेको उनले बताए । उनका अनुसार हिमालय होटलकै लगानीमा सञ्चालित पाटन म्युजियम क्याफेमा ९५ प्रतिशत मौलिक नेवारी खानाहरू पस्किने गरिएको छ । यसबाट पनि मौलिक स्थानीय खानाको माग उच्च रहेको उनले बताए । पछिल्लो समय नेपाली खाना र संस्कृतिको झुकाब बढेर गएको यादवको भनाइ छ । उनले भने, ‘आजभन्दा २० वर्षअघि हेला गरिएको कोदो र फापरलाई सुपर फुडको रूपमा गणना गर्न थालिसकेको छ । उदाहरणको लागि लिम्बुले खाने खाना ‘किनेमा’ जुन सोयाबिनबाट बनेको हुन्छ, आज त्यसलाई ‘न्याटो’ भनिने सुपुर फुडको रूपमा राखिएको छ । यादव पछिल्लो समय नेपाली खानाको उच्च माग भएसँगै नेपाली नामबाटै होटलहरू खुल्न थालेको बताउँछन् । साथै पहिले बिदा मनाउन जाँदा पर्यटकको रोजाइमा पिजा, बर्गरजस्ता खाना रोजाइमा हुन्थ्यो भने आज नेपाली खाना हुने गरेको छ । विदेशी पर्यटकमात्रै नभएर आन्तारिक पर्यटकले नेपाली खानालाई महत्त्व दिन थालेको यादवले सुनाए । प्रचारप्रसारले लोकप्रियता बढ्यो आजभन्दा १० वर्षअघि आजजस्तो डिजिटल मिडियाको प्रभावकारिता थिएन । नेपाली खानाप्रति प्रचारप्रसार कम थियो । साथै नेपाली खानासम्बन्धी अनुसन्धान भएपनि बाहिर आउन सकेको थिएन । जसले गर्दा मान्छेहरूमा विशेषगरी विदेशी पर्यटहरूलाई यसले ‘साइड इफेक्ट’ गर्छ कि भन्ने डर थियो । विस्तारै प्रविधिको विकास र नेपाली खानाको प्रचारप्रसार बढ्न थाल्यो । अध्ययन अनुसन्धानबाट पनि यसको महत्त्व जनमानसमा पुग्यो । जसले गर्दा आज नेपाली खानाको माग बढेर गएको हो । नेपाली खानाप्रति आकर्षण आज आएर ह्वात्तै बढेको होइन । पहिले पनि नेपाली खानाप्रति मान्छेहरूको रुचि थियो नै । तर प्रचारप्रसारको कमीको कारण ती कुरा बाहिर नआएको चिफ एशोसिएसन नेपालका निवर्तमान अध्यक्ष श्याम लामा बताउँछन्। पछिल्लो समय प्रविधिको विकासले नेपाली खाना र महत्त्वका बारेमा सामाजिक सञ्जालदेखि विभिन्न सञ्चारमाध्यमबाट प्रचारप्रसार हुन थालेको छ । यसले गर्दा हरेक मान्छेमा स्थानीय खानाबारे जनचेतना बढ्दै गएको छ । जसले नेपाली खानाप्रतिको रुचि बढ्नमा महत्त्वपूर्ण भूमिका खेलेको लामाले बताए । उनले भने, ‘रैथाने परिकारको लोकप्रियता अहिले मात्रै नभएर विगतमा पनि थियो । मझौला होटल रेष्टुरेन्टले पहिलेदेखि खुवाउने भनेको नेपाली खाना नै हो । तर प्रचार हुन सकेको थिएन । सम्बन्धित सरोकारवाला, सामाजिक सञ्जाल, सञ्चार माध्यमलगायतका क्षेत्रबाट यसको प्रवर्द्धन हुन थालेसँगै अहिले नेपाली खानलाई धेरैले बढावा दिन थालेका हुन् ।’ विगतमा होटल तथा रेष्टुरेन्टले नेपाली खानालाई भन्दा कन्टिनेन्टल, चाइनिज, इन्डियनलगायतलाई मात्रै जोड दिन्थे । तर पछिल्लो समय नेपाली खानालाई मेनुमै समावेश गरेर पस्किन थालेको छ । होटल सोल्टीदेखि विभिन्न तारे होटलमा सेफको रूपमा काम गरिसकेका लामाले आफ्नो अनुभव साझा गर्दै भने, ‘मैले कन्टिनेन्टल खानाबाटै जागिर सुरु गरेको हो । नेपाली खाना त घरमै पाकिहाल्छ नि भन्ने मानसिकताले विदेशी खाना नै प्राथामिकतामा हुन्थ्यो । अहिले तारे होटलहरूले नेपाली खानालाई नै फलो गर्न थालेका छन् । यो पनि नेपाली खानाप्रतिको प्रवर्द्धन हो ।’ यसबाहेक विभिन्न संघसंस्थाले पनि स्थानीय खाना र संस्कृतिलाई प्रचारप्रसार गर्न थालेका छन् । होटल तथा रेष्टुरेन्टहरूले मात्रै नभएर होमस्टेहरूले पनि रैथाने खानालाई प्राथामिकता दिँदै नेपाली खाना पस्किनुपर्छ भनेर अभियान नै सञ्चालन गर्दै आइरहेका छन् । यसले स्थानीय खानाको लोकप्रियता बढ्दै गएको लामाले बताए । पर्यटकहरू जहाँ जान्छन्, त्यहींको संस्कृति र खानालाई फलो गर्ने प्रवृत्ति बढ्दै गएको हुँदा अहिले नेपाली खानाभन्दा पनि संस्कृति र ठाउँअनुसारको खानाको माग झन् बढेर गएको उनको तर्क छ । पछिल्लो समय ग्यास्ट्रोनोमी टुरिजमको अवधारणा बढ्दै गएकाले त्यसअनुसार सेफहरूले पनि खानालाई पस्किने गरेको लामाको भनाइ छ । उनका अनुसार सबै विदेशी पर्यटकले नेपाली खानालाई पचाउन नसक्ने हुँदा त्यही नेपाली खानालाई पर्यटकको स्वास्थ्यलाई ध्यानमा राखेर पस्किने गरेको छ । नेपाली खानाको महत्त्व नेपाली खाना स्वादको लागि नभएर स्वास्थ्यकै दृष्टिकोणले फाइदाजनक रहेको विभिन्न अनुसन्धानले पुष्टि गरेको छ । ‘नेपाली खाना पश्चिमेली खानाको तुलनामा बढी पोषक हुन्छ,’ हिमालय होटलका फुड एण्ड बेबरेज म्यानेजर यादवले भने, ‘दाल,भात र तरकारीमा हाम्रो शरीरलाई चाहिने कार्बोहाइड्रेट, प्रोटिन, मिनरल्स, म्याग्नेसियमजस्ता तत्त्व पाइन्छ । स्वादिष्ट मात्रै नभएर पोषक तत्त्वले भरिपूर्ण भएकाले पश्चिममा पनि पूर्वेली खानप्रति आकर्षण बढेर गएको छ ।’ नेपाली खानामा प्रयोग गरिने बेसार, धनियाँ मेथी, जिम्बुलगायत मसाला स्वास्थ्यका लागि सकारात्मक परिणाम दिने भएकाले यसको महत्त्व बढी रहेको यादव बताउँछन्। नेपालमा मात्रै नभएर विदेशमा समेत नेपाली खानाको माग उच्च रहेको छ । होटल हिमालयका फुड एण्ड बेभरेज म्यानेजर यादवका अनुसार विदेशमा नेपाली खानलाई भगवानलाई पुजेसरह मान्यता दिन्छन् । खाडी तथा युरोपियन देशमा छरिएर रहेका नेपालीहरू नेपाली रेष्टुरेन्टमा जान्छन्, यसले नेपाली खाना मात्रै नभएर देशप्रतिको माया पनि विदेशमा उच्च रहेको यादवले बताए । थप प्रवर्द्धनको आवश्यकता विगतको तुलनामा नेपालमा नेपाली खानाको बारेमा प्रचारप्रसार र प्रवर्द्धन बढ्दै गएको छ । तर यो पर्याप्त भने होइन । नेपाली खानालाई नेपालमा मात्रै नभएर अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन सबै क्षेत्रबाट उत्तिकै सहयोगको आवश्यकता जरुरी रहेको औल्याउँछन् लामो समय सेफको रूपमा देश तथा विदेशका विभिन्न होटलहरूमा काम गरिसकेका भान्से लक्ष्मण । उनी पछिल्लो समय नेपाली खाना प्रवर्द्धनमा जुटेका छन् । सन् २०१८ मा ग्लोबल नेपाली सेफ संस्था स्थापना गर्नेदखि विभिन्न देशमा च्याप्टरको शुभारम्भ गर्दै उनी अहिले रैथाने नेपाली खानाको खोज, विकास र प्रवर्द्धनमा सक्रिय छन् । भान्से लक्ष्मण नेपालका कैयौं खानाका परिकारहरू प्रवर्द्धनकाे पर्खाइमा रहेको बताउँछन् । उनका अनुसार हाल थकाली खानामात्रै विश्वस्तरमा पुग्न सकेको छ । त्यसबाहेकका कैयौं रैथाने खानालाई हामीले चिन्न र प्रचारप्रसार गर्न बाँकी रहेको उनले बताए । उनले भने, ‘नेवार, थारु, नेवारी, तामाङ, राईलगायतका जातजाति रैथाने खाना निकै राम्रा छन्, त्यसलाई थप विकास गरी हामीले विश्वस्तरमा यसको प्रवर्द्धन गर्न सक्छौं, फूड टुरिजममार्फत पर्यटकीय गतिविधि पनि बढाउन सक्छौं ।’ नेपाली खानाको विकास र प्रवर्द्धन जति हुनुपर्ने हो, त्यसमा ध्यान दिन नसकेको उनको तर्क छ । उनका अनुसार मिथिला थालीलाई अब अन्तर्राष्ट्रिय स्तरमा पनि गर्ने योजना बनाइएको छ । जसका लागि मिथिला थालीको ‘न्युट्रिसन भ्यालु’ समेत निकालेर प्रचारप्रचार गर्ने सोच रहेको उनले बताए । ‘मिथिला थालीलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउनका लागि यसमा कति पौष्टिक तत्त्व छ भन्ने पनि ग्राहकले थाहा पाउनुपर्छ, यो अभ्यास पनि हो । त्यसैले आगामी दिनमा यसको इतिहास, महत्त्व र आवश्यकता बुझाउने गरी प्रचारप्रसारको योजना बनाएका छौं,’ उनले भने ।
५ अर्ब लगानीमा केबलकारसहित होटल र क्यासिनो व्यवसाय, सुदूरको आर्थिक गतिविधिमा कोशेढुङ्गा
काठमाडौं । नेपाल प्रिमियर लिग क्रिकेट (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्स पुग्नुअघि देखि नै कीर्तिपुर रङ्गशालामा अर्कै माहोल थियो । खेलको बीचबीचमा बजाइने लोकप्रिय देउडा गीत र नृत्यमा झुम्दै गरेका दर्शकहरुले सुदूरपश्चिमलाई राम्रैसँग परिचित गराएका थिए । सुदूरपश्चिम अब टाढा होइन, आम नेपालीको मनमुटुमा र केन्द्रमै छ भन्ने सन्देश त्यहाँ देखिन्थ्यो, सुनिन्थ्यो । देशको भूगोलमा त सुदूरपश्चिम टाढै छ, तर धेरै कुरामा केन्द्रमा छ । राजनीति होस् या कला सङ्गीत, प्रशासन होस् या सुरक्षा । अनेक आयाममा राष्ट्रको केन्द्रमा छ सुदूरपश्चिम । यी क्षेत्रमा प्रायः प्रभावशाली भूमिकामै देखिन्छ यो प्रदेश । अहिले पनि सुदूरपश्चिम प्रदेशबाट सङ्घीय मन्त्रिपरिषद्मा सङ्ख्या र प्रभावका आधारमै महत्वपूर्ण जिम्मेवारीमा छन् । यसअघि पटकपटक सुदूरपश्चिमले मुलुकको शासनको बागडोर सम्हालेको त छँदैछ । यसबाहेक संस्कृति, पर्यटन र प्रकृतिको कुरा गर्ने हो भने पनि अरूभन्दा सम्पन्न छ, सुदूरपश्चिमको भूगोल । धार्मिक पर्यटकीय क्षेत्र, जलस्रोतको अथाह भण्डार, जडीबुटीसमेत अनेकन प्राकृतिक स्रोतसाधनले भरिपूर्ण मानिन्छ यहाँको माटो । यति हुँदाहुँदै पनि यो क्षेत्रमा पर्यटन होस् या अन्य पूर्वाधारले भने अपेक्षाकृत कमी नै छ यहाँ । जलविद्युत् उत्पादनमा केही लगानी त देखिन्छ तर मुलुकको निजी क्षेत्र खासै ठूला परियोजनामा यहाँ अघि सरेको देखिएको छैन । सायद यसैकारण पनि हुनसक्छ राजधानी काठमाडौँबाट निकै टाढा भएकैले आफूहरु हेपिएको गुनासो यहाँका आम मानिसमा व्याप्त छ । सरकार र निजी क्षेत्र दुवैको लगानी सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली जिल्लामा अन्य प्रदेशको तुलनामा कमै रहेको मात्र होइन मानव विकास सूचकाङ्कमा पनि यी दुवै प्रदेश धेरै पछि रहेका छन् तर यतिखेर भने सुदूरपश्चिममा पूर्वाधारको लगानीमा उत्सुकता देखिन थालेको महसुस भएको छ । खासगरी पर्यटन पूर्वाधार निर्माण, उद्योग स्थापना तथा मेडिकल कलेज स्थापनाजस्ता केही क्षेत्रमा निजी क्षेत्र आकर्षित हुन थालेका छन् । रोजगारीको विकराल समस्या भोगिरहेको सुदूरपश्चिमबाट बर्सेनि हजारौँ मानिस छिमेकी भारतका विभिन्न सहर, बजारमा कामका लागि भौँतारिरहेको अवस्थामा नेपालभित्रै रोजगारी सिर्जना गर्ने प्रयत्न हुनु आफैँमा ठूलो उपलब्धि हो । यही सिलसिलामा हालै मात्र आइएमई समूहले सुदूरपश्चिममै पहिलो पटक झण्डै पाँच अर्ब लगानीमा जाल्पादेवी केबलकार निर्माण गर्नेगरी शिलान्यास गरेको छ । पछिल्ला वर्षहरुमा सरकारी एवं निजी क्षेत्रको लगानी खुम्चिरहेको र लगानीकर्ताहरुमा संशयका बीच कैलालीको कर्णाली पुल नजिक चिसापानीमा जोखिम मोलेर यति ठूलो लगानीमा केबलकारसहित पर्यटन पूर्वाधार बन्न लागेको छ । नेपालसहित सीमावर्ती भारतीय पर्यटकलाई समेत आकर्षित गर्नेगरी निर्माण हुन लागेको यस पर्यटन पूर्वाधारमा केबलकारसहित पाँचतारे होटल, बालउद्यान, जिपलाइन, क्यासिनो समेतका संरचना बन्न लागेको आइएमई समूहका अध्यक्ष चन्द्र ढकालले बताए । निजी क्षेत्रबाट सुदूरपश्चिममा यति ठूलो लगानी भएकै यो पहिलो हो, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्षसमेत रहेका ढकालले भने, ‘हामी जोखिम मोलेरै यो ठाउँमा आएका छौँ । यस परियोजनाले अरूलाई पनि सुदूरपश्चिममा लगानी गर्न उत्प्रेरित गर्ने हाम्रो विश्वास छ । देशका सातै प्रदेशमा कम्तीमा एउटा केबलकारसहित होटल तथा अन्य एकीकृत पर्यटकीय संरचना निर्माणको अभियानअन्तर्गत सुदूरपश्चिम आइपुगेका छौँ ।’ सुन्दर कर्णाली पुल तर्नासाथ सुदूरपश्चिम प्रदेश सुरु हुन्छ । यो पुलको पश्चिमतर्फ कैलाली जिल्लामा निर्माण हुने यो बृहत् पर्यटन पूर्वाधारको परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हालै शिलान्यास गरेको हो । यो पूर्वाधार सुदूरमै लगानीको नयाँ ढोका खुल्न लागेको शिलान्यास समारोहमा मन्त्री डा राणासहितका सहभागी मन्त्रीहरु र पर्यटन व्यवसायीहरुले बताएको थियो । अध्यक्ष ढकालका अनुसार झण्डै ३.२ किलोमिटर लामो यस केबलकारले चिसापानी र मोहन्याल गाउँपालिकाको राजकाँडालाई जोड्नेछ । यो नेपालमा हाल सञ्चालित केबलकारमध्ये सबैभन्दा लामो हो । यसमा ४० वटा गोन्डोला रहने पनि ढकालले जानकारी दिए । विश्वकै उत्कृष्ट इटालियन कम्पनीका उपकरण जडान गरेर निर्माण हुने यस केबलकारले कैलालीको सबैभन्दा दुर्गम मानिएको मोहन्याल गाउँपालिकाको राजकाँडालाई जोड्नेछ । तुलनात्मक रुपमा हरेक मौसममा चिसो हावा बहने राजकाँडाबाट कर्णाली नदी, उत्तरतर्फ अपी र सैपाल हिमाल, सुर्खेत, डडेल्धुरा समेतका धेरै जिल्लाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । जाल्पादेवी केबलकार निर्माणको शिलान्यास समारोहमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री डा राणाले कर्णाली नदी पश्चिममा लगानी गर्न निजी क्षेत्र आउनु प्रदेशकै लागि गौरवको कुरा भएको बताए । ‘हामी त वर्षौंदेखि यो दिनको पर्खाइमा थियौँ, आज त्यो दिन आएको छ । अब अरू व्यवसायीलाई पनि सुदूरपश्चिम आउने ढोका खुलेको छ । सुदूरपश्चिममा त जनता पनि गरिब छन् । यहाँ साधनस्रोत पनि छैन, लगानी उठ्दैन भन्ने धेरैको सोचलाई अब यो परियोजनाले बदलिदिएको छ । कसै न कसैले जोखिम लिनै पथ्र्यो, आइएमई ग्रुपले यो आँट लिएर अरूलाई पनि अब यहाँ आउन ढोका खोलिदिएको छ,’ मन्त्री डा राणाले भनिन् । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले पनि सुदूरपश्चिममा निजी क्षेत्रले यति ठूलो परियोजना विकास गर्न थालेकामा खुसी हुँदै भने, ‘पूर्वाधार निर्माणमा वन क्षेत्र बाधक भए त्यसलाई सुल्झाउन र सहजीकरण गर्न वन मन्त्रालय तयार रहेको छ । हामी निजी क्षेत्रसँग हातेमालो गर्न तयार छौँ ।’ अझ, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशमा लगानी गर्न चाहने निजी क्षेत्रका लागि जमिन, विद्युत् र सडक निर्माणमा सहजीकरण गरी उपयुक्त वातावरण तयार गर्न हरक्षण तत्पर रहेको बताए। आफूहरुले प्रदेशमा लगानी सम्मेलन आयोजना गरेको, निजी क्षेत्रका उद्योगी–व्यवसायीलाई प्रदेशमा लगानीका लागि निरन्तर संवाद र आग्रह गरिरहेको बताउँदै उनले चिसापानीमा केबलकार बनाउने योजना सुनेदेखि नै आफूले सहजीकरण गरिरहेको सुनाए । कैलालीका उद्योगी एवं जाल्पादेवी केबलकार परियोजनाका साझेदार सूर्यबहादुर थापाले केबलकार निर्माणका क्रममा आफूहरुले अनेकन चुनौतीको सामना गरे पनि अन्ततः सफलतातर्फ उन्मुख भएको बताए । उनले भने, ‘सरकार र निजी क्षेत्र मिलेर सिङ्गो सुदूरपश्चिमका आकर्षक धार्मिक तथा पर्यटकीय गन्तव्यहरुलाई विकास गर्नुपर्छ । यी पूर्वाधार निर्माणले यहाँ रोजगारी सिर्जना हुनाका साथै राष्ट्रिय अर्थतन्त्रमा ठूलो टेवा पुग्नेछ ।’ सुदूरपश्चिम प्रदेशलाई देवभूमिका रुपमा पनि चिनिन्छ । यो प्रदेशसँगै महाकालीपारिको भारतको उत्तराखण्ड क्षेत्र समेतमा थुप्रै मठमन्दिर रहेकाले यो समग्र क्षेत्रलाई देवभूमि भन्ने गरिएको हो । बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको सङ्गम क्षेत्र खप्तड पर्यटकीय रुपमा महत्वपूर्ण छ । यहाँ त्रिवेणीधामका साथै २२ पाटन छन् । समुद्री सतहबाट तीन हजार दुई सय २७ मिटरको उचाइमा रहेको यो क्षेत्र दुई सय २५ वर्ग किमीमा फैलिएको छ । कैलालीको कर्णाली नदीमाथि बनेको एक खम्बे (स्टेट केबुल ब्रिज) पुल, तत्कालीन राजा महेन्द्रले विसं २०२८ मा एक महिना बसेर राजकाज गरेको इतिहास रहेको कैलालीको टीकापुरस्थित टीकापुर उद्यान, कैलालीकै घोडाघोडीस्थित विश्व रामसार क्षेत्रको सूचीमा सूचीकृत घोडाघोडी ताल क्षेत्र यहीँ छ । यसैगरी, बाह्रसिङ्गाको झुण्ड देख्न सकिने कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, सोही जिल्लाको महाकाली नदी माथि बनेको नेपालकै लामो मध्येको झोलुङ्गे पुल, डडेल्धुराको ऐतिहासिक अमरगढी किल्ला, अजयमेरुकोटको दरबार, अछामको रमारोशन क्षेत्र (१२ ताल अठार ठूला मैदान भएको क्षेत्र), वैद्यनाथधाम, चुरे पहाडको फेदमा रहेको कैलालीको गोदावरीधाम क्षेत्र, सीमापारि भारतीय नागरिकका कुलदेवता मानिने कैलालीको बेहँडाबाबा धाम, डडेलधुराको उग्रतारा मन्दिर, घटाल बाबाको मन्दिर र महाकाली नदी किनारको पर्शुराम धाम, डोटीको शैलेश्वरी मन्दिर र बड्डीकेदारधाम, बैतडीको त्रिपुरासुन्दरी मन्दिर, निङ्लाशैनी र भूमेश्वर महादेवको गुफा, बाजुराको बडिमालिका आदि मुख्य छन् । कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवर कर्णाली चिसापानीमा केबलकार स्थापनाको योजनाले प्रदेशको आर्थिक गतिविधिमा ठूलो टेवा पुग्ने बताउँछन् । होटेल, रेष्टुरेन्ट, यातायातलगायत क्षेत्रको गतिविधि पनि बढ्न गई समग्रमा आर्थिक समृद्धिमा टेवा पुग्नेछ । चिसापानी क्षेत्र सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको केन्द्र भाग रहेकाले यहाँ बन्न लागेको केबलकार मुख्यगरी भारतीय पर्यटकलाई लक्षित गरेर स्थापना गर्न लागिएको भन्दै उनले भने, ‘सुदूरपश्चिम र लुम्बिनी प्रदेश नजिकका भारतीय क्षेत्रमा केबलकार सञ्चालनमा नरहेकाले चिसापानीमा केबलकारको योजना ल्याउनु निकै सान्दर्भिक छ ।’ उनले भने, ‘हाम्रो यहाँ त्यति धेरै जनसङ्ख्या छैन, भारतको उत्तरप्रदेशमा झण्डै २४ करोड बढी जनसङ्ख्या छ, आन्तरिक पर्यटकसँगसँगै भारतीय पर्यटकलाई भित्र्याउन सकेमा केबलकारको योजनाले आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पार्नेछ ।’ मोहन्याल गाउँपालिकाका प्रमुख देवीदत्त उपाध्यायले विकास पूर्वाधारका दृष्टिले सबैभन्दा पिछडिएको चुरे पहाडमा अवस्थित मोहन्यालको आर्थिक विकासमा यस परियोजना निर्माणले ठूलै टेवा दिने विश्वास व्यक्त गरे । मोहन्याल क्षेत्रमा उत्पादन हुने वस्तुको खपत हुने, स्थानीय जनताले उत्पादित वस्तुको राम्रो मूल्य पाउने, ‘होम स्टे’ अझ फस्टाउने तथा गाउँपालिका क्षेत्रमा रहेका अन्य पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनमा मद्दत पुग्ने बताए। कैलालीको चिसापानी समेत ठूलो बजार र औद्योगिक क्षेत्र ओगटेको लम्कीचुहा नगरपालिकाका प्रमुख सुशिला शाहीले सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारका रुपमा रहेको चिसापानीमा केबलकार निर्माणले पर्यटकीय गतिविधि बढ्ने र व्यावसायिक पूर्वाधार निर्माणमा निजी क्षेत्र थप उत्साहित हुने बताए । सुदूरपश्चिमको कैलाली चिसापानीमा निर्माण हुने यस पूर्वाधारले सुदूरपश्चिमका साथै लुम्बिनी क्षेत्रका नेपालगञ्ज, बर्दिया समेतका क्षेत्रको पर्यटन प्रवद्र्धनमा सघाउने व्यवसायी सूर्यबहादुर थापाको भनाइ छ । हुन पनि कर्णालीवारि लुम्बिनी प्रदेशको बर्दिया छभने पुल तर्नासाथै दाहिनेपट्टिबाट लाग्ने बाटोले छोटो दूरीमै सुर्खेत भएर कर्णाली प्रदेशलाई जोड्छ । अनि केबलकार निर्माणस्थल त सुदूरपश्चिमको कैलाली भइहाल्यो । जसरी यो स्थान तीन प्रदेशको सङ्गमस्थल छ त्यसैगरी, पर्यटनको पनि त्रिवेणी छभन्दा हुन्छ । किनभने कर्णालको र्याफ्टिङ र बर्दिया राष्ट्रिय निकुञ्ज त पर्यटनका विश्वप्रसिद्ध आकर्षण नै हुन् । त्यसैले आफैँमा सुन रहेको यो ठाउँमा केबलकारले सुगन्ध थप्ने विचार शिलान्यास समारोहमा उपस्थित स्थानीयले राखेका थिए । रासस
सोल्टी होटल्स एण्ड रिसोर्ट्सको ब्रान्ड एम्बेसडरमा पन्त, सोल्टी हेरिटेज क्लबको मोबाइल एप सुरु
काठमाडौं । सोल्टी होटल्स एण्ड रिसोर्ट्सले सोल्टी हेरिटेज क्लबको लागि मोबाइल एप सुरु गरेको छ । सोल्टी हेरिटेज क्लब मोबाइल एपले सदस्यहरूलाई पोइन्ट ट्र्याक गर्न, बुकिङ व्यवस्थापन गर्न र व्यक्तिगत अफरहरूको पहुँच लिन सजिलो बनाउने छ । हाल यो एप्लिकेशन एन्ड्रोइड फोनमा उपलब्ध छ र चाँडै नै आईओएसमा पनि उपलब्ध हुने बताइएकाे छ । सोल्टी होटल्स एण्ड रिसोर्ट्सले आफ्नो नयाँ ब्रान्ड एम्बेसडरमा अभिनेत्री सुरक्षा पन्तलाई नियक्त गरेको छ । ब्रान्डसँगको पन्तको सम्बन्धले यसको बजार उपस्थितिलाई अझ बलियो बनाउने प्रेस विज्ञप्तिमा जनाइएकाे छ । यो होटल चेनको लागि एक रोमाञ्चक नयाँ अध्याय भएको विज्ञप्तिमा उल्लेख छ । यसले स्थानीय र विश्वव्यापी बजार दुवैमा प्रिमियम अनुभव ल्याउने विश्वास व्यक्त गरिएकाे छ । आतिथ्य उद्योगमा एक अग्रणी नामको रूपमा द सोल्टी होटल्स एण्ड रिसोर्ट्स विश्वस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध छ।