१ अर्ब लगानीमा कर्णालीमै पहिलोपटक ४ तारे रिसोर्ट, धार्मिक पर्यटक भित्र्याउने लक्ष्य
काठमाडौं । राराको मुर्माटपमा सोमबारदेखि कर्णाली प्रदेशको पहिलो चारतारे रिसोर्ट निर्माण सुरु भएको छ । एनआरएन अष्ट्रेलियाको लगानीमा प्रदेशकै पहिलो चारतारे सुविधा सम्पन्न रिसोर्ट निर्माण गर्न सोमबार हिन्दू धर्मअनुसार भूमि पूजा गरिएको हो । प्रदेशमा तीनतारेसम्मका होटल यसअघि सञ्चालनमा आए पनि चारतारे पहिलोपटक निर्माण गर्न लागिएको रारा होल्डिङ रिसोर्ट प्रालीका परियोजन प्रबन्धक अरुण चन्दले बताए । गत वर्ष काठमाडौंमा सरकारले आयोजना गरेको तेर्सो लगानी सम्मेलनमा अष्ट्रेलियामा रहेका नेपाली एनआरएन अभिषेक विक्रम शाहसहितको टोलीले ‘ड्रिम प्रोजेक्ट’का रूपमा रारामा चारतारे रिसोर्ट निर्माण गर्ने प्रतिबद्धता जनाएको थियो । सोही प्रतिबद्धचा अनुसार सङ्घीय सरकारसँग रारा होल्डिङ रिसोर्ट प्रालीले १८ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरेको उनले जानकारी दिए । कूल ७३ रोपनी क्षेत्रफलमा निर्माण हुने उक्त रिसोर्टको पहिलो चरणमा १ अर्ब रुपैयाँको लागतमा निर्माण हुने चन्दले बताए । उनका अनुसार पहिलो चरणमा ३६ र दोस्रो चरणमा १९ वटा सुविधा सम्पन्न कोठाका ९८ श्यया निर्माण हुनेछन् । दैनिक १ सय आन्तरिक तथा बाह्य पर्यटकलाई सेवा दिनेगरी यो रिसोर्टको भूमि पूजा गरी निर्माण सुरु गरिएको हो । रिसोर्टको औपचारिक रूपमा यही माघ ३० गते पर्यटन वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले शिलान्यास गर्ने कार्यक्रम रहेको रारा होल्डिङ रिसोर्ट प्रालीले जनाएको छ । यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकहरूले रारा क्षेत्रमा सुविधा सम्पन्न होटल नभएका कारण दुखेसो पोख्दै आएका बेला सिञ्जा भ्याली, रारा, छायाँनाथ र खप्तडलाई जोड्दै कर्णालीका धार्मिक क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रिसोर्ट निर्माण गर्न लागिएको परियोजन प्रबन्धक चन्दले जानकारी दिए । समुन्द्री सतहबाट ३ हजार ५ सय मिटर उचाइमा निर्माण हुने उक्त रिसोर्टको आगामी चैतदेखि पूर्वाधार निर्माण सुरु गरिनेछ । निर्माणपश्चात् रिसोर्ट सञ्चालनमा आएपछि प्रत्यक्ष १२० जनाले रोजगारी पाउनुका साथै १ हजार बढीलाई अप्रत्यक्ष रूपमा रोजगारीका अवसर सृजना हुने रिसोर्टका प्रतिनिधि प्रेम शाहीले बताए । उनका अनुसार यो परियोजनाले विशेषगरी भारतीय नागरिकलाई धार्मिक पर्यटकका रूपमा भित्र्याउने लक्ष्य राखेको छ । स्थानीय समुदायका पुराना घरशैलीका ५५ कोठामा ९८ श्यया निर्माण हुने यो रिसोर्टमा १ सयको क्षमता भएको सेमिनार हल, प्रत्येक कोठाका झ्यालबाट रारा र हिमाली शृङ्खलाको दृयावलोकन गर्न सकिने र रिसोर्टबाट आधा घण्टामाथि रहेको मुर्माटप पुगेपछि ७ जिल्लाको भूभाग अवलोकन गर्न सकिने प्रबन्धक चन्दले उल्लेख गरे । यहाँ आउने पर्यटक सबैले रारामा गाँस र बासका लागि राम्रो व्यवस्था नभएको भन्दै गुनासो राखेर जाने गरेकाले रिसोर्ट निर्माण थालिएको उनको भनाइ छ । केही वर्षयता रारा क्षेत्रकामाझ घट्ट, सल्लेरीमा एक दर्जनभन्दा बढी होटल सञ्चालनमा छन् तर सिजनमा यी होटलले पर्यटकलाई सेवा दिन समस्या हुँदै आएको छ । कर्णाली प्रदेशमा पहिलो पटक चारतारे रिसोर्ट मुर्माटपमा निर्माण हुने भएपछि रारामा आउने पर्यटकलाई बस्न र खान कुनै समस्या नहुने छाँयानाथ रारा नगरपालिका–८ का होटल व्यवसायी बिर्ख रोकायाले बताए ।
निजगढ विमानस्थल उच्च प्राथमिकता दिएर बनाउनुपर्छ : मन्त्री पाण्डे
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले निजगढ विमानस्थललाई सरकारले उच्च प्राथमिकता दिएर बनाउनुपर्ने बताएका छन् । सोमबार सरोकार दर्पणको लोकर्पण विमोचन समारोहलाई सम्बोधन गर्दै उनले निजगढ विमानस्थल ठूलो महत्वको विमानस्थल रहेको भन्दै निजगढ विमानस्थल बनाउनसके संसारलाई देखाउन मिल्ने खालको हुने बताए । उनले निजगढ विमानस्थल बनाउन विभिन्न बाधाहरु रहेको भन्दै मास्टरप्लानअनुसार विमानस्थल बनाउनुपर्नेमा जोड दिए। उनले निजगढ विमानस्थल नबनि फास्टट्र्याको पूर्णता नहुने उल्लेख गरे । महत्वकांक्षाको चाङ नेपालको नेतृत्व कर्ताहरुसँग रहेको भए पनि पूरा गर्न कठिनाइ रहेको बताए । उनले मध्यपहाडी राजमार्गमा १० वटा स्मार्ट सिटी बनाउने भनेर अघि बढाएको परिकल्पना अहिलेसम्म ५४ वटा पुगेको तर सम्पन्न गर्न कठिन रहेको बताए ।
प्रदेशमा पर्यटन: होटल र होमस्टेले आर्थिक चलायमान, वेडिङ र बर्थिङ हबले रोमाञ्चकता
काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ वटा प्रदेशमा पर्यटकीय दृष्टिकोणले विभिन्न सम्भावना रहेको प्रतिवदेन सार्वजनिक गरेको छ । राष्ट्र बैंकले ६ वटा प्रदेशको आर्थिक प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवदेन सार्वजनिक गर्दै त्यहाँ विभिन्न सम्भावना रहेको उल्लेख गरेको हो । कुन प्रदेशमा कस्तो सम्भावना ? कोशीमा होटल तथा रिसोर्टको सम्भावना नेपालको पर्यटन रणनीति २०१६-२०२५ को दोस्रो चरण २०२१-२०२५ अन्तर्गतमा नयाँ उत्पादनहरूलाई एकीकृत गर्नमा जोड दिइने रणनीति लिइएकाले सोबाट फाइदा लिन सकिने साथै सन् २०२५ मा २५ लाख २२ हजार ४० पर्यटक आउने अपेक्षा गरिएकाले कोशी प्रदेशमा रहेका विभिन्न पर्यटकीय गन्तब्यहरूमा सुविधा सम्पन्न होटल, रिसोर्ट, लज तथ होमस्टेहरू सञ्चालन गर्न सके पर्यटकहरूको बसाई अवधि लम्ब्याउन तथा पर्यटकले गर्ने खर्च बढाउन सकिने भएकोले आर्थिक क्रियाकलाप वृद्धि हुने सम्भावना देखिएको छ । कोशी प्रदेशमा उच्च गुणस्तरको शिक्षा र स्वास्थ्य सेवाहरूको माग बढिरहेको सन्र्दभमा कोशी प्रदेशको प्रमुख सहरहरूमा निजी र सार्वजनिक शैक्षिक संस्था तथा अस्पतालहरूको विस्तार हुन सक्ने सम्भावना प्रतिवेदनमा उल्लेख छ । सरकारले प्रत्येक स्थानीय निकायहरूमा अस्पताल तथा स्वास्थ्य चौकीहरूको निर्माण कार्यलाई तीव्रता दिएको तथा प्रत्येक जिल्लामा निजी अस्पताल र क्लिनिकहरू खुल्ने क्रम बढेसँगै गुणस्तरीय स्वास्थ्य सेवाहरूमा सर्वसाधारणको पहुँच विस्तार हुने देखिन्छ साथै ग्रामिण क्षेत्रहरूमा टेलिमेडिसिन सेवा र गुणस्तरीय शिक्षाको लागि ई-लर्निङ सेवा सुरु गर्न सक्ने देखिएको छ । कोशी प्रदेशमा प्राकृतिक सौन्दर्य, ऐतिहासिक, धार्मिक, सांस्कृतिक, भौगोलिक, साहसिक महत्वका स्थलहरूको पहिचान, समुचित प्रर्वद्धन, विकास तथा प्रचारप्रसारका साथै पर्यटन पूर्वाधार विकासमा प्रदेश सरकार तथा स्थानीय तहले उच्च प्राथमिकताका साथ बजेट विनियोजन गर्ने गरेकोले आगामी दिनमा पर्यटन क्षेत्र यस प्रदेशको अर्थतन्त्रको मुख्य संवाहकको रुपमा विस्तार हुने देखिएको प्रतिवेदनमा उल्लेख छ । इन्टरनेटको पहुँच विस्तारसँगै सूचना प्रविधि क्षेत्रका व्यवसायहरूले पर्यटनबाट भन्दा बढी अर्थतन्त्रमा योगदान गरेको सन्र्दभमा कोशी प्रदेशमा पनि सूचना प्रविधि क्षेत्रका नयाँव्यवसायहरू सुरु गर्न सकिने तथा सबै स्थानीय तहमा कम्तीमा एउटा बैंक तथा वित्तीय संस्थाको विस्तार भई वित्तीय सेवाको पहुँच बढ्दै गएकाले अनौपचारिक अर्थतन्त्रको हिस्सा कम हुँदै जाने प्रतिवेदनमा उल्लेख छ । मधेशको सान बढाउन सक्छन् धार्मिक स्थल मधेश प्रदेशमा सिम्रौनगढ, गढीमाई मन्दिर, जनकपुरको जानकी मन्दिर, जलेश्वर महादेव र सप्तरीको छिन्नमस्ता मन्दिर जस्ता ऐतिहासिक एवम् धार्मिक महत्वका तीर्थस्थलहरू रहेकाले यस प्रदेशमा धार्मिक तथा सांस्कृतिक पर्यटन विकासको राम्रो सम्भावना रहेको छ । मधेश प्रदेश ताजा माछाको लागि लोकप्रिय रहेको तथा हवाई र स्थलमार्गको सुगम पहुँच रहेकोले स्तरीय होटल तथा रेष्टुरेन्टको स्थापना गरेमा माछापालन हुने स्थानहरूमा मत्स्य पर्यटन लगायतका पर्यटकीय विकास गर्न सकिने सम्भावना देखिएको प्रतिवेदनमा उल्लेख छ । उपयुक्त भौगोलिक संरचना रहेकोले शिक्षा, स्वास्थ्य तथा खेलकुद क्षेत्रलाई समावेश गरी एकीकृत पर्यटन कार्यक्रम सञ्चालन गर्न सकिने सम्भावना रहेको देखिन्छ । जनकपुर क्षेत्रमा रहेको पोखरी तथा तालतलैयाहरू लगायत शहरको उचित सरसफाई र श्रृंगार गरी पर्यटक आकर्षित गर्न सकेमा यसबाट समेत पर्यटन क्षेत्रको विस्तार गर्न सकिने सम्भावना छ । भारतसँग खुल्ला सिमाना भएकोले पर्यटन पूर्वाधार विकास गर्न सके स्तरीय भारतीय पर्यटक भित्र्याउन सकिने उच्च सम्भावना रहनुका साथै मधेश प्रदेश कृषि तथा माछापालनमा अग्रस्थानमा रहेकाले कृषिलाई आकर्षक र आधुनिक व्यवसायको रुपमा विकास गरी कृषि पर्यटन लगायतका पर्यटकीय विकास गर्न सकिने सम्भावना देखिएको प्रतिवेदनमा उल्लेख छ । पर्यटकको ठूलो गन्तव्य बन्न सक्छ गण्डकी नेपाल सरकारको आ.व. २०८१/८२ को बजेटले सोह्र लाख पर्यटक भित्र्याउने लक्ष्य सहित सातै प्रदेश समेटिने गरी टाकुरा पर्यटकीय गन्तव्य, इकोहिल स्टेशन, धार्मिक स्थलको दर्शन गर्न यातायात सेवाको सञ्चालन, प्रयोगविहीन विमानस्थललाई साहसिक पर्यटकीय खेलमा प्रयोग, जनकपुरलाई वेडिङ हव, लुम्बिनीलाई बर्थिङ हव लगायतका कार्यक्रमहरु समेटेकोले सोको कार्यान्वयनबाट गण्डकी प्रदेशमा पर्यटनको प्रचुर सम्भावना रहेको प्रतिवेदनमा उल्लेख छ । नेपाल सरकारले कास्की जिल्लाको पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिसकेको तथा गण्डकी प्रदेश आफैमा उत्कृष्ट पर्यटकीय गन्तव्य भएकाले सुविधासम्पन्न होटल तथा लजहरु लगायत पर्यटकीय पूर्वाधारहरुको निर्माण गर्न सकेमा पर्यटनबाट रोजगारी, आय बढाउन सकिने सम्भावना देखिएको उल्लेख छ । पोखरा अन्तरर्राष्ट्रिय विमानस्थललाई पूर्णरुपमा संचालनमा ल्याउन सकेमा यस प्रदेशमा आन्तरिक तथा बाह््रय पर्यटकको आगमन बढ्न सक्ने तथा उत्तर दक्षिण लोकमार्गकोरुपमा रहेको कालीगण्डकी कोरिडोरकोकाम द्रुत गतिलेअघि बढेकाले निर्माण सम्पन्न भएपश्चात् सडकमार्गबाट चीन र भारतसँग सोझैसम्बन्ध कायम हुने भएकाले भारतीय र चिनिया पर्यटकहरूको आगमनमा उल्लेख्य वृद्धि हुने सम्भावना रहेनुका साथै नेपाली कृषि तथा औद्योगिक उत्पादनलाई समेत सहजै निर्यात गर्न सकिने प्रतिवेदनमा उल्लेख छ । यस प्रदेशको सबै स्थानीय तहहरूमा वाणिज्य बंकै का शाखा स्थापना भइसकेको साथै बकै वित्तीय संस्थाहरुले वित्तीय साक्षरताको कार्यक्रमलाई प्रभावकारी बनाउँदै लगेकाले सम्पूर्ण जनताहरुमा वित्तीय पहुँच थप विस्तार हुदै जाने तथा यस प्रदेशलाई रहेको गण्डकी विश्वविद्यालयलाई माइनिङ बायोडाइभर्सिटी तथा हाइड्रोपावरको विशिष्टकृत अध्ययन/अध्यापन गराउने विश्वविद्यालयको रुपमा विकास गर्न सके तथा मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेजमा बाह्य मुलुकहरूबाट समेत विद्यार्थी आकर्षित गर्न सकेमा यस प्रदेशमा शैक्षिक क्षेत्रको विकास गर्न सक्ने सम्भावना रहेको प्रतिवेदनमा उल्लेख छ । ट्रेकिङको हब बन्न सक्छ लुम्बिनी नेपाल सरकारले बजेट मार्फत घोषणा गरेका विभिन्न कार्यक्रमहरु जस्तै लुम्बिनीलाई बर्थिङ हव, बुटवल– भैरहवा कोणमा धार्मिक पर्यटन र बुटवलमा सूचना प्रविधि पार्क निर्माण गर्ने कार्यक्रम राखिएको हुँदा यस प्रदेशमा सेवा क्षेत्रको उल्लेखनीय वृद्धि हुन सक्ने सम्भावना देखिएको छ । आधारभूत पूर्वाधार विकास गरी राप्ती तथा कालीगण्डकी नदीमा ¥याफ्टिङ्ग, ग्रामीण क्षेत्रमा ट्रेकिङ, पर्वतारोहण, तथा साइकल यात्रा सम्बन्धि पूर्वाधारहरु निर्माण हुन सकेमा साहसिक पर्यटनको प्रवद्र्धन गर्न सकिने, तिलौराकोट, लुम्बिनी र देवदह क्षेत्रहरुमा थप पूर्वाधारहरु निर्माण गरी धार्मिक तथा सांस्कृतिक पर्यटनको रुपमा विकास गर्न सकेमा आन्तरिक एवम्वाह्य पर्यटकहरुको आगमनमा वृद्धि हुने सम्भावना देखिएको प्रतिवेदनमा उल्लेख छ । यस प्रदेशका विभिन्न पर्यटकीय स्थलहरु घुमाउने प्रयोजनका लागि तालिम प्राप्त गाईडको व्यवस्था गर्न सकेमा सेवा क्षेत्रमा थप रोजगारी सिर्जना हुने सम्भावना छ । पर्यटकीय स्थलहरुको कमाण्डर कर्णाली पर्यटन व्यवसायको प्रचुर सम्भावना बोकेको यस प्रदेशमा धार्मिक, सांस्कृतिक, ऐतिहासिक महत्वका पर्यटकीय स्थलको पहिचान, संरक्षण र सम्बद्र्धन गर्नमा तिनै तहका सरकारी निकायहरुको ध्यानाकर्षण भएमा साथै उक्त विषयलाई उच्च प्राथमिकताका साथ नीति तथा कार्यविधिमा सम्बोधन भएमा पर्यटकीय पूर्वाधारहरुको तीव्रतर विकास गरी कर्णाली प्रदेशको अर्थतन्त्रमा सेवा क्षेत्रको योगदान वृद्धि गर्दै समग्र कर्णालीबासीको जीवनस्तरमा सकारात्मक परिवर्तन गर्न सकिने उच्च सम्भावना रहेको छ । यस प्रदेशमा रारा, शे-फोक्सुण्डो, कुपिण्डे, स्यार्पु, पचाल झरना, बुलबुले ताल, काँक्रेविहार, सिँजा सभ्यता र पञ्चकोशी लगायतका प्राकृतिक, सांस्कृतिक तथा धार्मिक महत्व बोकेका पर्यटकीय क्षेत्रहरु रहेकोले पर्यटन पूर्वाधारहरुको विकास र बिस्तार गरी आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षण गर्न सकिने उच्च सम्भावना रहेको । यस प्रदेशको हिमाली तथा उच्च पहाडी जिल्लाहरुमा इन्टरनेटको न्यून पहुँच भएको अवस्थामा इन्टरनेटको विस्तारको उच्च सम्भावना रहेको छ । त्यस्तै, सुर्खेत विमानस्थललाई स्तरोन्नती गरी प्रदेश अन्तर्गतका जिल्लाहरु डोल्पा, मुगु, हुम्ला, जुम्ला तथा रुकुम पश्चिममा यात्रुवाहक हवाई सेवा नियमितरुपमा सञ्चालन गर्न सकेमा यस क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रको प्रचार–प्रसार हुन गई आय तथा रोजगारी बढ्ने सम्भावना रहेको प्रतिवेदनमा उल्लेख छ । बैंक तथा वित्तीय संस्थाहरुमा सर्वसाधारणको पहँुच र वित्तीय साक्षरतामा आएको सुधारले घरेलु, साना तथा मझौला उद्योगहरुको विकास हुने क्रम बढ्दो रहेकोले सो क्षेत्रमा कर्जा बिस्तारको सम्भावना उच्च रहेको उल्लेख छ । सुदूरपश्चिममा लगानी बढाउन आवश्यक नेपाल राष्ट्र बैंकले सुदूरपश्चिम प्रदेश सरकारमा पर्यटनमा विविध सम्भावना रहेको उल्लेख गरेको छ । स्थानीय तथा प्रदेश सरकारबाट पर्यटन प्रवद्र्धनका लागि आवश्यक पूर्वाधार निर्माण एवम् प्रचार प्रसारका कार्यक्रमहरु सञ्चालनमा रहेकोले आन्तरिक एवम्बाह्य पर्यटकको आगमनमा वृद्धि भई प्रदेशको आर्थिक विकास एवम् रोजगारीमा टेवा पुग्न सक्ने प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा जनसंख्याको अनुपातमा कर्जा लगानी कम रहेकाले कर्जा लगानीमा वृद्धि गरी आर्थिक गतिविधि तथा रोजगारीका अवसरहरु बढाउन सकिने, प्रदेशका सातदेवीहरू डिलासैनी, निङ्लासैनी, मेलौली, शैलेश्वरी, बडिमालिका, उग्रतारा र त्रिपुरासुन्दरीलाई धार्मिक सर्किटको रूपमा प्रवद्र्धन गर्न सकिने उल्लेख छ । यस्तै, प्रदेश सरकार तथा स्थानीय तहबाट पर्यटन प्रवद्र्धनका लागि आवश्यक पूर्वाधार निर्माण एवं प्रचार प्रसारका कार्यक्रमहरु सञ्चालनमा रहेकोले आन्तरिक एवं बाह्य पर्यटकको आगमनमा वृद्धि भई प्रदेशको आर्थिक विकास एवं रोजगारीमा टेवा पुग्न सक्ने उल्लेख छ । कैलालीको गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्थापना भएपश्चात गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवा उपलब्ध हुनुका साथै यी पूर्वाधारहरुको सञ्चालनले आसपासका क्षेत्रमा आर्थिक गतिविधि विस्तार हुन सक्ने र यस प्रदेशमा सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा समेत उल्लेख्य विकास भएकाले आधुनिक प्रविधिको प्रयोगमार्फत् सेवा क्षेत्रलाई थप इकमर्स व्यवसायतर्फ चलायमान बनाउन सकिने बताइएको छ ।