कृषि तथा वन विज्ञान विश्वविद्यालयको रजिष्ट्रारमा डा पाल नियुक्त

काठमाडौं । प्रधानमन्त्री एवं कृषि तथा वन विज्ञान विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले कृषि तथा वन विज्ञान विश्वविद्यालयको रिक्त रजिष्ट्रारमा प्रा डा पुष्करबहादुर पाललाई नियुक्त गरेका छन् । सोही विश्वविद्यालयमा कार्यरत डा पाल पशु चिकित्साविज्ञ हुन् । विश्वविद्यालयका उपकुलपति प्रा डा शारदा थपलियाको सिफारिसमा कुलपति ओलीले आज डा पाललाई नियुक्त गरेका हुन् । चितवनको रामपुरस्थित सो विश्वविद्यालयमा करिब चार हजार विद्यार्थी अध्ययनरत छन् ।

सहकारीको बचतमा सीमा नतोक्न महासंघको आग्रह, सञ्चालकको कार्यकाल सम्बन्धी व्यवस्था संशोधन गर्न माग

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सरकारले जारी गरेको सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशप्रति आपत्ति जनाएको छ । महासंघले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै अध्यादेशमा समावेश भएका केही प्रावधानहरूले सहकारी क्षेत्रलाई संकुचित एवं क्षयीकरण गर्ने भएकाले अविलम्ब प्रतिस्थापन विधेयकमार्फत ती बुँदाहरू संशोधन गर्न सरकारसँग माग गरेको छ । लामो समयदेखि सहकारी अभियानले माग गर्दै आएको कर्जा सूचना केन्द्र र निक्षेप तथा कर्जा सुरक्षण कोषका विषयमा विद्यमान संरचनामा नै समावेश गर्ने गरी सम्बोधन गरिएको, राष्ट्रिय सहकारी नियमन प्राधिकरण स्थापना तथा सदस्यहरूको बचत फिर्ता सुनिश्चित गर्न सहजता ल्याउने उद्देश्यले ऐनमा संशोधन गरिएको व्यवस्थाको महासंघले स्वागत गरेको छ । सहकारी क्षेत्रमा देखिएका समस्या सम्बोधनका लागि अध्यादेशमार्फत सकारात्मक पहल भएकोमा सरकारप्रति महासंघले आभार प्रकटसमेत गरेको छ । महासंघले बचत तथा ऋणको मुख्य कारोबार गर्ने संस्थाहरूमा कार्यक्षेत्रका आधारमा व्यक्तिगत बचतको सीमा निर्धारण गर्दा सहकारी संस्थाको सेवा दायरा र सदस्यहरूको वित्तीय पहुँचलाई प्रतिकूल असर पर्ने, बचत तथा ऋणको मुख्य कारोबार गर्ने संस्थाका सञ्चालक पदमा दुई कार्यकालभन्दा बढी निर्वाचित वा बहाल रहन नसक्ने व्यवस्थाले संस्थाको गतिशीलमा अवरोध सिर्जना गर्ने भन्दै संशाेधन गर्न माग गरेकाे छ । यस्तै,  प्रारम्भिक सहकारी संस्थाको सञ्चालक माथिल्लो तहको एक संघमा प्रतिनिधित्व गर्न सक्ने र सोही प्रकारले संघमा रहेका सञ्चालक माथिल्लो तहको अर्को संघमा प्रतिनिधित्व गर्न सक्ने प्रावधानको सुनिश्चितता गर्नुपर्ने, सहकारी प्रवर्द्धन कोषलाई सहकारी अभियानको दिगो विकास र सुदृढीकरणका लागि महासंघमा जम्मा गरि परिचालन गर्ने व्यवस्था गर्नुपर्ने माग पनि गरेकाे छ । गत आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका थिए । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गरेका हुन् । पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि संसद्को अधिवेशन नभएको अवस्थामा  सरकारले उक्त अध्यादेश ल्याएको हो । सहकारीसम्बन्धी अध्यादेश जारी, बचत र ऋणमा सीमा, अन्य व्यवस्था के-के छन् ?

आइसीएफसी फाइनान्सका ग्राहकलाई स्काईवाक टावरमा १५ प्रतिशत छुट

काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडका ग्राहकले स्काईवाक टावरको टिकट मूल्यमा १५ प्रतिशत छुट पाउने भएका छन् । बैंकको डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई वन्डर्स नेपाल प्रालिबाट सञ्चालित कमलादीस्थित स्काईवाक टावरको टिकट मूल्यमा १५ प्रतिशत छुट प्रदान गर्ने गरी दुवै पक्षबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उक्त साझेदारीमा आइसीएफसी फाइनान्सको तर्फबाट बजार प्रमुख सन्जोग गुरुङ र वन्डर्स नेपालको तर्फबाट प्रमुख सञ्चालन अधिकृत रोहित ज्ञावालीले हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार फाइनान्सका ग्राहकहरूलाई वन्डर्स नेपालले स्काईवाक टावरमा उपलब्ध मनोरञ्जनात्मक तथा अन्य सेवाहरूमा १५ प्रतिशत छुट उपलब्ध गराउनेछ ।