एनसेलले ल्यायो नयाँ प्याकहरू, २८.३ रुपैयाँमैँ अनलिमिटेड भ्वाइस र डेटा
काठमाडौं । नेपालको अग्रणी दूरसञ्चार कम्पनी एनसेलले पहिलोपटक दिनको ३० रुपैयाँभन्दा कममा नै अनलिमिटेड भ्वाइस र डेटा सेवा लिन सकिने प्याकहरुसहित विभिन्न नयाँ प्याकहरू संचालनमा ल्याएको छ । आम ग्राहकहरूमाझ बढ्दो भ्वाइस र डेटा सेवाको मागलाई ध्यानमा राख्दै कम्पनीले नयाँ प्याकहरु संचालनमा ल्याएको हो । भ्वाइस सेवामा, एनसेलले ३९ रुपैयाँदेखि ५९९ रुपैयाँसम्म शुल्क पर्ने ६ वटा नयाँ प्याकहरू सार्वजनिक गरेको छ । जसमा ७ दिनको लागि मात्र १९८ रुपैयाँमा उपलब्ध अनलिमिटेड अल नेपाल प्याक पनि समावेश छ । यस प्याकमार्फत ग्राहकहरूले दिनको मात्र २८.३ रुपैयाँमा अनलिमिटेड भ्वाइस कल सेवाको फाइदा लिन सक्छन् । एनसेलबाट एनसेलमा कल गर्न टक टाइम चाहिने ग्राहकहरूले ३ दिनको लागि मान्य अनलिमिटेड डे अन नेट प्याक लिन सक्छन्, जसको मूल्य मात्र ५० रुपैयाँ रहेको छ । त्यसैगरी, ५९९ रुपैयाँमा ग्राहकहरूले ८४ दिन अर्थता झण्डै तीन महिनासम्म प्रयोग गर्न मिल्ने ९९९ मिनेटको कुनै पनि नेपाली नेटवर्कमा कल गर्न मिल्ने अल नेपाल टक टाइम प्राप्त गर्न सक्छन् । भारतमा फोन गरी सम्पर्कमा रहिरहन पर्ने ग्राहकहरूलाई लक्षित गर्दै, एनसेलले ४९ रुपैयाँमा २८ दिनसम्म मान्य रहने इन्टरनेशनल लङ् डिस्ट्यान्स (आइएलडी) प्याक संचालन गरेको छ, जसअन्तर्गत ग्राहकहरूले भारतमा प्रतिमिनेट मात्र २.९९ रुपैयाँ (कर बाहेक) मा फोन गर्न सक्छन् । यो दर हाल लाग्दै आएको शुल्कभन्दा २५ प्रतिशत सस्तो हो । सस्तो शुल्कमा बढी मोबाइल डेटाको माग बढिरहेको अवस्थालाई ध्यानमा राख्दै, एनसेलले २ आकर्षक प्याकहरू सार्वजनिक गरेको छ । ९९ रुपैयाँ पर्ने पहिलो प्याकमा ग्राहकहरूले ३ दिनसम्म अनलिमिटेड डेटा लिन सक्छन् । २ हजार ४९९ रुपैयाँ शुल्क रहेको दोस्रो प्याकमा ग्राहकहरुले ८४ दिनसम्म अनलिमिटेड डेटाको फाइदा लिन सक्छन् । यसले अनलिमिटेड डेटाको प्रति दिनको खर्च मात्र २९.८ रुपैयाँमा झारेको छ । आफ्नो लोकप्रिय सधैं अन प्याकअन्तर्गत, एनसेलले १ हजार ९९९ रुपैयाँमा २८ दिनसम्म मान्य रहने अनलिमिटेड डेटा र अनलिमिटेड भ्वाइस सेवा रहेको प्याक संचालनमा ल्याएको छ । त्यसैगरी, ग्राहकहरूलाई १ हजार १९९ रुपैयाँमा ८४ दिनका लागि १ हजार १९९ मिनेट अल नेपाल टक टाइम, २५ जीबी डेटा र ९९ एसएमएस पाइने अर्को प्याक पनि उपलब्ध गराएको छ । ‘नयाँ अनलिमिटेड भ्वाइस, डेटा प्याकहरू र अन्य प्याकहरूमार्फत सबैका लागि कनेक्टिभिटी अझ सहज र सस्तो बनाउँदै छौं । ग्राहकलाई डिजिटल जीवनशैलीसँग मेल खाने गरी सेवा प्रदान गर्दै, कनेक्टेड नेपालको निर्माणमा योगदान दिन प्रतिबद्ध रहेका छौं,’ एनसेलका चीफ कमर्शियल अफिसर उमेर मोहसिनले भने । ग्राहकहरूलाई थप लाभ सुनिश्चित गर्दै एनसेलले हाल जारी एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३ को अवसरमा सधैं अन रिन्यूअल ल्याक र साना डेटा प्याकहरूमा आकर्षक बोनसहरू पनि प्रदान गर्दै आएको छ । एनएसएल डबल डेटा अफरअन्तर्गत ३९९ रुपैयाँबाट सुरु हुने सधैं अन रिन्यूअल प्याकमा ग्राहकहरूले बोनसको रूपमा डबल डेटा प्राप्त गर्दछन् । त्यसैगरी, एनसेल एप मार्फत खरीद गरिने ५० रुपैयाँको अनलिमिटेड डेटा र १५० रुपैयाँको डबल मजा प्याकमा ग्राहकहरूले क्रमशः एनसेलबाट एनसेल नम्बरमा कल गर्न मिल्ने २० मिनेट टक टाइम र २ जीबी बोनस डेटा प्राप्त गर्दछन् ।
९ महिनामा साढे २ अर्ब राजस्व सङ्कलन, कर बक्यौता राख्नेको बैंक खाता र जग्गा रोक्का गर्दै
काठमाडौं । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा २ अर्ब ३५ करोड १४ लाख ४४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । उक्त रकम गत आव २०८०/८१ को सोही अवधिको तुलनामा ८.२६ प्रतिशतले बढी हो । कार्यालयको तथ्याङ्कअनुसार गत आव २०८०/८१ को (साउन-चैत) महिनामा २ अर्ब १७ करोड १९ लाख ३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको सूचना अधिकारी एवं कर अधिकृत डोरराज सुनुवारले जानकारी दिए। चालु आव २०८१/८२ मा ४ अर्ब ६१ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको उनले बताए । गत आवको भन्दा राजस्व सङ्कलन बढेको भए पनि चालु आवको ९ महिनाको लक्ष्यको ८१.४५ प्रतिशत मात्र राजस्व सङ्कलन भएको कर अधिकृत सुनुवारले बताए । कार्यालयले ९ महिनामा आयकरबाट १ अर्ब ७ करोड ९४ लाख ९४ हजार रुपैयाँ, ब्याज बापत ७ करोड १९ लाख ९४ हजार रुपैयाँ, मूल्य अभिवृद्धि कर बापत ७६ करोड ७१ लाख ९ हजार रुपैयाँ, अन्तःशुल्क बापत ३९ करोड ९७ लाख ६७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यसैगरी आयकर र मूल्य अभिवृद्धि कर नतिर्ने विभिन्न ११ वटा फर्म तथा कम्पनीहरूलाई कारबाही गरी १ करोड ७५ लाख रुपैयाँ असुल गरिएको कर अधिकृत सुनुवारले जानकारी दिए । ‘कार्यालयले राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न निरन्तर बजार अनुगमन र निगरानी गरिरहेको छ । यसका साथै कर बक्यौता राख्ने करदाताको बैंक खाता रोक्का गर्ने, जग्गा रोक्का गर्ने लगायत कानुनी कारबाही पनि गरिएको छ,’ उनले भने ।
मकवानपुरमा यात्रीबस दुर्घटना १६ जना घाइते, गुडिरहेको कारमा आगलागी
काठमाडौं । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका-६ सुनाचुरीस्थित सडक खण्डमा आज बिहान यात्रु बाहक बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन् । इटहरीबाट भैरहवातर्फ जाँदै गरेको लु२ख ५९९ नम्बरको बस सडकबाट करिब १० मिटर तल खस्दा बसमा सवार १६ जना यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेहरुको उद्धार गरी उपचारको लागि चितवन अस्पतालतर्फ पठाइएको उक्त कार्यालयका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए । बस चालक बाराको कोल्बी नगरपालिका-११ निवासी २९ वर्षीय राकेश चौधरीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैबीच, कुलेखानी-भीमफेदी-काठमाडौं सडकखण्ड अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-४ निबुवाटारमा गुडिरहेको भारतमा दर्ता भएको गाडीमा आगलागी भएको छ । काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको जीज १२ डीए ९६१८ नम्बरको कारमा आगलागी भएको र त्यसबाट गाडी पूर्ण रुपमा जलेको उनले बताए । आगलागीबाट मानवीय क्षति भएको छैन ।