चार जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः नेतृत्वका लागि मात्र नभई व्यवसायीलाई संरक्षण गर्ने नेतृत्व चाहिँन्छ
काठमाडौं । आगामी चैतमा नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा हुदैछ । तर विश्वभर फैलिरहेको कोरोना भाइरसकै कारण पनि साधारणसभा सर्ने सम्भावना बढी छ । सो साधारण सभाले नयाँ नेतृत्व पनि चयन गर्दैछ । विधानअनुसार महासंघको बरिष्ठ उपाध्यक्ष आगामी कार्यकालको लागि स्वतः अध्यक्ष हुनेछन् । त्यसैकारण अहिलेका बरिष्ठ उपाध्याक्ष शेखर गोल्छा महासंघको आगामी कार्यकालको अध्यक्ष हुँदैछन् । तर, चैतमा हुने अधिवेशनले गोल्छापछिको नेतृत्व पनि चयन गर्दैछ । चैतमा हुने महाधिवेशनले जसलाई बरिष्ठ उपाध्यक्ष बनाउनेछ, सो व्यक्ति नै गोल्छापछिको महासंघको अध्यक्ष बन्नेछ । निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था भएको कारण पनि महासंघको नेतृत्वका बारेमा चासो र सरोकार हुनु स्वभाविकै हो । सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर कार्यान्वयन गर्ने अधिकांश काममा महासंघको संलग्नता हुने भएकोले पनि यसको महत्व धेरै छ । महासंघले सबैभन्दा धेरै चिन्ता र सरोकार राख्ने भनेको उसका आफ्नै सदस्यहरुको हित प्रबद्र्धन नै हो । कुनै पनि संघ संस्थाले आफ्ना सदस्यहरुको हित संरक्षण र प्रबद्र्धन गर्नको लागि नै काम गर्नुपर्छ । यसैकारण महासंघका सदस्यहरुले अबको नेतृत्वबाट के कस्तो अपेक्षा राखेका छन् ? यो प्रश्न हामीले स्याङ्जा उद्योग वाणिज्य संघका अध्यक्ष बिक्रान्त कुमार श्रेष्ठ, नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष केशब प्रसाद भण्डारी, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिम बहादुर हमाल र गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामीलाई सोधका छौं । उनीहरुले महासंघको अबको नेतृत्वले सरकारसँग सहकार्य र व्यवसायीका समस्या सुनिदिने र नेतृत्वमात्र नभएर व्यवसायीलाई संरक्षण गर्ने नेतृत्व आवश्यक रहेको धारणा राखेका छन् । साहसिक नेतृत्वको आवश्यकता छ बिक्रान्त कुमार श्रेष्ठ, अध्यक्ष, स्याङ्जा उद्योग वाणिज्य संघ नेपाल उद्योग वाणिज्य महासंघको अबको नेतृत्वले सबै व्यवसायीको हक समान हो भन्ने ठानोस् । समान व्यवहारले काम गरोस् । हामी साना तथा मझौला व्यवसायीहरुका धेरै समस्याहरु छन् । ती समस्याहरुलाई साहसिक तरिकाले समाधान गर्ने नेतृत्व हामीलाई आवश्यक छ । हामीले गाउँपालिकादेखि केन्द्रसम्म कर तिर्नु पर्ने अवस्था छ । यसको अन्त्य गरोस् । बंैंकले ७ प्रतिशत भनेर ऋण दिन्छ पछि ८ प्रतिशत लिन्छ । यो प्रवृतिलाई व्यवस्थित गर्ने नेतृत्व हामीलाई चाहिन्छ । सबैको अपेक्षा भनेको जसले सबैलाई समान व्यवहार गरेर अगाडि बढ्छ त्यही हामीलाई चाहिन्छ । सरकारसँग लविङ गर्न खालको हुनु पर्छ केशब प्रसाद भण्डारी, अध्यक्ष नवलपरासी उद्योग वाणिज्य संघ सरकारसँग उद्योगी व्यवसायीका समस्यालाई सरल रुपले पुर्याइदिने नेतृत्व आवश्यक छ । हामीलाई कर ठूलो समस्याका रुपमा देखा परेको छ । हामी लगानी गर्न खोज्छौं तर हामीलाई त्यो खालको वातावरण सिर्जना हुँदैन । अबको नेतृत्वले निजी क्षेत्रसँग सहकार्य र समन्वय गरेर अगाडि बढ्ने हुनु पर्छ । उद्योग र व्यवसायीलाई हेर्ने दृष्ट्रिकोण एउटै हुनु पर्छ । कुनै पनि कानुनी कूराहरु ल्याउँदा हामी निजी क्षेत्रको सहकार्य बिना सफल र देश सम्बृद्ध बन्न सक्दैन । हामी सँग सहकार्य गरेर अगाडि बढ्ने सिर्जना अबको नेतृत्वले गर्नु पर्छ । यो निर्वाचनको अपेक्षा सरकारसँग लविङ गर्न सक्ने नेतृत्व हुनु पर्यो । जिल्ला नगरका व्यवसायीका भावना बुझ्ने नेतृत्व हुनुपर्छ । गैर कानुनी रुपबाट हुने कामलाई रोक्नु पर्यो । हाम्रा धेरै समस्या छन् । यसको नेतृत्व आउने नेतृत्वले गर्न आवश्यक छ । सबै व्यवसायीलाई समान व्यवहार गर्ने नेतृत्व आवश्यक छ खिम बहादुर हमाल, अध्यक्ष बुटवल उद्योग वाणिज्य संघ उद्योगी व्यवसायीका समस्यालाई पहल गरी समाधान गर्नतर्फ अगाडि बढ्ने नेतृत्व हामीलाई आवश्यक छ । नेपाल उद्योग वाणिज्य महासंघमा अब आउने नेतृत्वले सबै उद्योगी व्यवसायीहरुलाई सम्बोधन गर्न सकोस् । देशमा रोजगार सिर्जना गर्ने मूख्य भूमिका उद्यागी व्यवसायीको हुन्छ । यसका लागि नीति नियमहरु सजिलो बनाउनका लागि अबको नेतृत्वले भूमिका खेल्न सक्नु पर्छ । अबको नेतृत्वले राम्रो काम गरोस् भन्ने हामीले अपेक्षा गरेका छौं । करको कुरामा धेरै समस्या छ । यसको समस्या निराकरण गर्ने काम भइरहेको छैन । ठूला घराना र उद्योगीहरुका समस्याहरुलाई मात्र सुन्ने र बुझ्ने मात्र नभई समग्र व्यवसायीको हितमा काम गर्न सक्ने हुनु पर्छ । हाल हामी साना व्यवासयीहरुका धेरै समस्याहरु छन् । ती समस्याहरुलाई सरल रुपमा लिएर राज्यसँग वार्ता गर्न सक्ने हुनु पर्छ । नेतृत्वका लागि मात्र नभई व्यवसायीलाई संरक्षण गर्ने खालको नेतृत्व हामीलाई आवश्यक छ । श्रीप्रसाद भलामी ,अध्यक्ष ,गुल्मी उद्योग वाणिज्य संघ हालसम्मको नेतृत्वले सशक्त रुपमा निजी क्षेत्रका माग राख्न सकिरहेको अवस्था छैन । हाम्रा धेरै मागहरु छन् । जुझारु नेतृत्व हामीलाई आवश्यक छ । नेतृत्वका लागि मात्र नभई व्यवसायीलाई संरक्षण गर्ने खालको नेतृत्व हामीलाई आवश्यक छ । हाम्रो समस्या ढुवानीको छ । हाम्रो पहाडमा साना व्यवसायी मात्र छौं । यो समस्यालाई समाधान गर्ने नेतृत्व हामीलाई आवश्यक छ । नेपाल उद्योग वाणिज्य महासंको अब आउने नेतृत्व कुशल सक्षम र सबै व्यवसायीका पिर मर्का बुझ्ने खालको हुनु पर्छ । हामी जिल्ला नगरका व्यवसायीका समस्याहरु अहिले सम्म राज्यसम्म पुगाउने प्रयास महासंघले गर्न सकेको अवस्था छैन । त्यो अवस्थालाई अबको नेतृत्वले गहन रुपमा लिन सकोस् हाम्रो यही अपेक्षा छ । सम्बन्धित समाचार: उद्योग वाणिज्य महासंघको चुनाव सार्न दबाब कर्णालीका व्यवसायीको दुखेसोः महासंघले हाम्रो समस्या कहिल्यै बुझ्दैन, अपेक्षा याे छ भनेर के गरौं सुदूर-कर्णालीका व्यवसायी भन्छन्- हामी सँधै थिचियौं, अब हामीलाई माथि उठाउने नेतृत्व चाहिँन्छ किशोर प्रधानको उम्मेदवारी घोषणा सभामा शेखर गोल्छा गए, सौरभ ज्योति गएनन् चार जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले व्यवसायीका समस्या सुनिदिए पुग्छ निर्वाचन नजिकिँदै गर्दा महासंघमा ध्रुवीकरण तीव्र पाँच उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः राजनीतिक दललाई गुहार्नुपर्ने प्रवृतिको अन्त्य गरोस् पाँच उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः अबकाे नेतृत्वले साना व्यवसायीका पनि पिरमर्का बुझोस् चार जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः महासंघ ठूला घरानाको मात्र नहाेस् चार प्रदेश महासंघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले शक्ति विकेन्द्रित गर्न सकोस् तीन प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले एसएमईको प्रबर्द्धन सोचोस्
चेक बाउन्सको आरोपमा गुरागाईं पक्राउ
तुलसीपुर । जिल्ला प्रहरी कार्यालय दाङले चेक बाउन्सको आरोपमा पीडितको उजुरीका आधारमा इटहरीबाट भोजराज गुरागाईंलाई पक्राउ गरेको छ । बैंक कसुर मुद्दामा इटहरी उपमहानगरपालिका–५ निवासी गुरागाईंलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमीत खड्काले बताए । पीडित मान कम्पनीले जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएपछि गुरागाईंविरुद्ध बैँक कसुर मुद्दा दर्ता गरेको थियो । गुरागाईं विरुद्ध एक महिनाअघि मुद्दा दर्ता भएको थियो । मुद्दा दर्ता भएपछि उनी लुकीछिपी बसेको अवस्थामा मङ्गलबार साँझ इटहरीबाट प्रक्राउ गरी दाङ ल्याइएको हो । गुरागाईं विरुद्ध म्याद थप गरेर अनुसन्धान गरिने प्रहरी नायब उपरीक्षक खड्काले बताएका छन् । गुरागाईंले दिएको रु तीन लाख २० हजारको चेक नसाटिएपछि पीडितले उजुरी दिएका थिए । रासस
बागलुङमा तामा खानीको सम्भाव्यता अध्ययन शुरु
गलकोट । बागलुङको काठेखोला गाउँपालिका–७ रेशको धनिखोरियास्थित खानीदुलामा रहेको तामा खानीको सम्भाव्यता अध्ययन शुरु भएपछि स्थानीयवासी खुशी भएका छन् । दुई चिनियाँ प्राविधिक टोलीले खानीको सम्भाव्यता अध्ययन शुरु गरेपछि यहाँका स्थानीयवासी हर्षित भएका हुन् । विगतमा स्थानीयवासीले खानीदुलामा तामा निकालेका पाँच वटा गहिरा प्वालसमेत भएकाले तामा खानीको सम्भाव्यता अध्ययन थालिएको काठेखोला गाउँपालिकाले जनाएको छ । सो तामा खानीमा तामाको अवस्था र सम्भावनाका विषयमा दुई चिनियाँ प्राविधिक टोलीले खानीको सम्भाव्यता अध्ययन थालेको काठेखोला गाउँपालिका–७ रेशका वडाध्यक्ष प्रेम लामिछानेले जानकरी दिए । “वडाभित्र रहेका स्रोत र साधनको पहिचान गर्ने कार्यक्रमअन्तर्गत तामा खानीको सम्भाव्यता थालेका हौँ”, लामिछानेले भने, “खानीका तामाको अवस्थाका विषयमा ल्याब परीक्षणपछि मात्रै पत्ता लाग्नेछ ।” खानीलाई उत्खनन गरेर आर्थिक उपार्जन गरी वडालाई समृद्ध बनाउने उद्देश्यले खानीको सम्भाव्यता अध्ययन शुरु गरेको वडा कार्यालयले जनाएको छ । तामा खानीको सम्भाव्यता अध्ययन शुरु भएपछि स्थानीयवासी हर्षित भएको वडाध्यक्ष लामिछानेले बताए । उनका अनुसार वर्षौँदेखि ओझेलमा परेको खानीको उत्खननपछि यस क्षेत्रमा समृद्धिको ढोका खुल्नेछ । जिल्लाको काठेखोला गाउँपालिकाको पहलमा खानीको सम्भाव्यता अध्ययनका लागि प्राविधिक टोली झिकाएर अध्ययन थालेको हो । चिनियाँ टोलीले जोम्बिङ इन्ड्रेस्टिलको प्राविधिक सहयोगमा बागलुङ नगरपालिका–९ तित्याङ अडडाँडा, बागलुङ नगरपालिका–११ रायडाँडा तथा काठेखोला गाउँपालिकाको रेशमामा फलाम तथा तामा खानीको सम्भाव्यता अध्ययन गरिरहेको छ । बागलुङ नगरपालिका–९ तित्याङस्थित अडडाँडामा तामा खानी उत्खननका लागि चिनियाँ प्राविधिक टोली आएर खानीको भित्रि तहमा तामाको अवस्थाको अध्ययन तथा खानी खन्ने काम गरिरहेको वडाध्यक्ष गणेश थापाले जानकारी दिए । उक्त टोलीले जोम्बिङ इन्ड्रेस्टिलको प्राविधिक सहयोगमा नेपालको शुभम् ग्रुपसँग मिलेर तामा खानीको अध्ययन गर्न बागलुङ आएको हो । अडडाँडामा तामा खानीको प्रचुर सम्भावना रहेको भन्दै तामा खानीको उत्खननसमेत थालिसकेको ग्रुपका प्रतिनिधि सूर्य अधिकारीले जानकारी दिए । उनका अनुसार तित्याङ र रेशबाट ठूलो परिणाममा तामा निकाल्न सकिएमा स्थानीय तहलाई फाइदा पुग्ने बताए । बागलुङ जिल्लाको बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, गलकोट नगरपालिका, तमानखोला गाउँपालिका, बडिगाड गाउँपालिकामा परम्परागत तरिकाले तामा तथा फलामखानी सञ्चालनमा आए पनि पछिल्लो समय बन्द भएका थिए । रासस