सानिमा जनरल इन्स्योरेन्सको आईपीओ भोलि बुधबारदेखि भर्न पाइने

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले निष्काशन गर्न लागेको प्राथमिक सेयर (आईपीओ)मा भाेलि बुधबार (असोज २१ गते) देखि आवेदन दिन पाइने भएको छ । कम्पनीले सो दिनदेखि प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरको ३० लाख कित्ता अर्थात ३० करोड रुपैयाँ बराबरको आईपीओ बिक्री गर्न लागेको हो । कूल ३० लाख कित्ता साधारण सेयर मध्ये ५ प्रतिशत अर्थात एक लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ४ प्रतिशत अर्थात एक लाख २० हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । त्यसपछि बाँकी रहेको २७ लाख ३० हजार कित्ता सर्वसाधारणमा बिक्री गरिने कम्पनीले जनाएको छ । यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । ७० करोड रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी आईपीओ बाँडफाँडपछि एक अर्ब रुपैयाँ पुग्नेछ। आईपीओको निश्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार यो आईपीओको निष्कासन बन्द छिटोमा असोज २५ गते बैंकिङ समय पश्चात हुने छ । कम्पनीले असोज ५ गतेमात्र साे मात्राकाे सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कम्पनीको लेखा परिक्षण हुन बाँकी रहेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २०७६/२०७७ मा कम्पनीको प्रतिसेयर नेटवर्थ १०६.३५ रुपैयाँ र प्रतिसेयर आम्दानी २.६६ रुपैयाँ रहेको छ । जुन चालु आव २०७७/२०७८ मा बढाएर क्रमशः १०९.१ रुपैयाँ र ४.५४ रुपैयाँ पुर्याउने कम्पनीको प्रक्षेपण रहेको छ ।

२ लाख ७० हजारले पाए जनरल इन्स्योरेन्सको सेयर

काठमाडौं । जनरल इन्स्यारेन्स कम्पनी नेपालले निष्काशन गरेको प्राथमिक सेयर(आईपीओ)को आज बाँडफाँड भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको केन्द्रिय कार्यालयमा उक्त सेयर बाँडफाँड भएको हो । क्यापिटलका अनुसार २ लाख ७० हजार जना आवेदकले कम्पनीकाे १० कित्ताको दरले २७ लाख कित्ता सेयर हात पारेका छन् । बाँकी ५ लाख २४ हजार ५ सय ४६ जनाको हात खाली भएको छ । गत असोज ११ गतेदेखि असोज १४ गतेसम्म निष्काशन भएको कम्पनीको आईपीओमा ७ लाख ९६ हजार ७ सय ३४ जनाबाट आवेदन २ करोड १४ लाख कित्ता सेयरकाे लागि आवेदन परेको थियो । जुन आईपीओमा यति धेरै लगानीकर्ताको आवेदन परेको यो नै पहिलो पटक हो । जसमध्ये २ हजार १ सय ८८ जना आवेदकबाट परेको ४८ हजार ६ सय ४० कित्ता सेयरकाे लागि परेकाे आवेदन रितपूर्वक नभएकाे रद्द गरिएकाे र बाँकी ७ लाख ९४ हजार ५ सय ४६ आवेदनबाट २ लाख ७० हजारलाई गोलाप्रथाबाट सेयर बाँडफाँड गरिएको हो ।

६ जनामा कोरोना देखिएपछि बीमा समिति सिल, अब वर्क फ्रम होम

काठमाडौं । बीमा समितिका ६ जना कर्मचारीमा कोरोना पोजेटीभ देखिएपछि बीमा समितिको कार्यालय नै सिल गरिने भएको छ । समितिका अनुसार कार्यालयमा आएर दैनिक काम गर्ने ६ जनामा कोरोना देखिएपछि भोलि अर्थात सोमबारदेखि समितिको कार्यालय नै सिल गरिने भएको हो । कार्यालय एक साताका लागि सिल हुने बीमा समितिले जानकारी दिएको छ । बीमा समितिको कार्यालय सिल हुने भएपनि सेवाग्राहीलाई दिइने सेवा भने यथावथ रहेको बताइएको छ । अब बीमा समितिका कर्मचारीहरुले भोलिबाट वर्क फ्रम हम अर्थात घरबाटै काम गर्नु पर्ने भएको छ । बीमा समितिको भौतिक संरचना साँघुरो भएका कारण समिति सिल गर्न बाध्य भएको बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले जानकारी दिए । ‘हाम्रो भौतिक संरचना साघुँरो छ, कार्यालयमा नै कोभिड देखिएको अवस्थामा काम गर्न सहज भएन, एक हप्ता हामीले कार्यालय बन्द गर्ने निर्णय गरेका छौं, अब एक हप्तापछि अवस्था हेरेर पुनः कार्यालयबाटै कर्मचारीहरुले काम गर्नु हुनेछ’, उनले भने । बीमा समितिमा विभिन्न सामाग्रीहरु प्रयोग गर्दा एक अर्कामा कोभिड–१९ सर्न सक्ने सम्भावना अत्याधिक रहेकोले कार्यालय सिल गरेर घरबाटै काम गर्नु वाहेको विकल्प नरहेको समिति बताउँछ ।