सानिमा जनरल इन्स्योरेन्सको सेयर मूल्यमा सर्किट, दुई दिनमै ६५ रुपैयाँले बढ्यो भाउ
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बुधबारदेखि दोश्रो बजारमा कारोबार शुरु भएको कम्पनीको सेयर मूल्यमा दोश्रो दिन पनि सर्किट लागेको हो । बिहीबारको बजार खुलेको केही समयमै कम्पनीको सेयर मूल्य ९.९४ प्रतिशतले बढेर सर्किट लागेको छ । प्रतिकित्ता ३४२ रुपैयाँदेखि कारोबार शुरु भएको कम्पनीको सेयर मूल्य बढेर प्रतिकित्ता ३७६ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ३४ रुपैयाँले बढी हो । अघिल्लो दिन अर्थात कार्तिक १९ गते भएको कम्पनीको पहिलो कारोबारमा पनि सेयर मूल्यमा सर्किट लागेको थियो । सो दिनको बजारमा कम्पनीको सेयर ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता ३४२ रुपैयाँ पुगेको छ । कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३११ रुपैयाँदेखि शुरु भएको थियो । आजसम्म अर्थात कारोबार शुरु भएको दुई दिनको अवधिमै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६५ रुपैयाँले बढेर ३७६ रुपैयाँ पुगेको छ । यो समाचार तयार पार्दासम्म बिहीबारको बजारमा कम्पनीको ८ लाख ४१ हजार ९ सय २२ कित्ता सेयर किन्न लगानीकर्ता इच्छुक रहेका छन् भने बेच्ने कोही पनि छैनन् ।
२ हजारले पाए २० करोड रुपैयाँ बराबरको कोरोना बीमाको दावी भुक्तानी
काठमाडाैं । नेपालमा करिब २ हजार व्यक्तिले २० करोड रुपैयाँ बराबरको दावी भुक्तानी पाइसकेका छन् । बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईंका अनुसार अहिलेसम्म साे मात्राले कोरोना बीमाको दावी भुक्तानी पाएका हुन् । अहिले पनि बीमा कम्पनीहरुमा करिब १३ हजार दावी परेको बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले बताए । बीमा समितिले हिजाे मात्रै कोरोना बीमाको दावी भुक्तानी सात दिन भित्र दिन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । कोरोना बीमाको दावी भुक्तानीमा ढिलो हुने गरेको जनगुनासो बढेपछि समितिले निर्जीवन बीमा कम्पनीहरुलाई दावी परेको सात दिन भित्रै भुक्तानी दिन निर्देशन दिएको हो । बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले अर्थमन्त्रालयसँगको छलफल पछि सबै प्रक्रिया सात दिन भित्र पुरा गरी भुक्तानी दिन निर्देशन दिइएको बताए । यसअघि बिमितको नाम र मिति फरक पर्ने गरेको, परीक्षण गरिएका ल्याबहरु विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नभएको र दोहोरो बीमा भएको पाइएकाले त्यसको प्रमाणिकरण गर्न समय लाग्दा दावी भुक्तानीमा ढिलाई भएको पनि अध्यक्ष चापागाईंले बताए । तर अवदेखि प्रमाणिकरणका सबै प्रक्रियाहरु एक साता भित्र पुरा गरी भुक्तानी दिइसक्न निर्देशन दिएको उनले बताए । कुनैपनि बिमितले बीमा दावी गर्दा पीसीआर परीक्षणमा पोजेटिभ भएको रिपोर्ट, संक्रमित भएपछि होम आइसोलेसनमा बसेको प्रमाणित गर्न सम्बन्धित स्थानीय तहको सिफारिस, अस्पतालमा उपचार गराएको खण्डमा अस्पतालमा भर्ना भएको र डिस्चार्ज भएको कागजात सहित नागरिकताको प्रतिलिपि बुझाउनुपर्ने पनि अध्यक्ष चापागाईंले बताए ।
सूर्या लाइफको सिइओ पाण्डेले दिए राजीनामा, आफै केही गर्ने योजना बनाउँदै
काठमाडौं । सूर्या लाइफ इन्स्यारेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले राजीनामा दिएका छन् । ४ वर्षे कार्यकाल सकिन करिब २ महिना बाँकी रहदा उनले पदबाट राजीनामा दिएका हुन् । कोभिड महामारीको बेलामा कति दौडनु भनेर कार्यकाल सकिन लाग्दा आफूले राजीनामा दिएको पाण्डेले जानकारी दिए । ‘कार्यकाल सकिन २ महिनाजति मात्रै समय बाँकी थियो, त्यो भनेको कार्यकाल पूरा भए जस्तै पनि हो, अब आफै केही गरौं कि भन्ने सोँच पनि बनाएको छु, त्यसैले अस्ति (कात्तिक १७) गते राजीनामा दिएँ,’ पाण्डेले विकासन्युजसँग भने । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश पाएका पाण्डे चार्डर्ट एकाउन्टेन्ट पनि हुन् । अब अडिटको काममा लाग्ने वा अन्य कुनै व्यवसाय गर्ने भन्नेमा आफू परामर्शमै रहेको उनले बताए । पाण्डेलाई निवर्तमान गभर्नर डा. चिरन्जीवी नेपालले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर बनाउन चाहेका थिए । गभर्नरको सिफारिसमा मन्त्रिपरिषदले डेपुटी गभर्नर नियुक्त गर्ने व्यवस्था छ । तत्कालिन सरकारले पाण्डेसँगै सिफारिसमा परेका शिवराज श्रेष्ठलाई डेपुटी गभर्नरमा नियुक्त गरेपछि पाण्डे डेपुटी गभर्नर हुन पाएका थिएनन् । राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट अवकाश पाएको केही समयपछि उनी सूर्या लाइफको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए । उनी जीवन बिमक संघको अध्यक्ष पनि हुन् ।