इरान युद्ध : आईआरजीसीका खुफिया प्रमुख अमेरिकी–इजरायली हमलामा मारिए
काठमाडौं । इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) को खुफिया संगठनका प्रमुख माजिद खादेमी अमेरिका र इजरायलका हमलामा मारिएका छन् । आईआरजीसीले एक विज्ञप्ति जारी गर्दै यसको पुष्टि गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘माजिद खादेमीको मृत्यु सोमबार बिहान भएको हो ।’ इजरायलका रक्षा मन्त्री इजरायल कात्ज र इजरायल डिफेन्स फोर्सेज (आईडीएफ) ले खादेमीको हत्या गरेको जिम्मेवारी लिएका छन् । आईडीएफले टेलिग्राममा लेखेको छ कि उनको मृत्यु आईआरजीसीका लागि ‘अर्को ठूलो झट्का’ हो । १५ जुन २०२५ मा इजरायली हमलामा मोहम्मद काजेमीको हत्या भएको चार दिनपछि खादेमीलाई आईआरजीसीको खुफिया संगठनको कमान्डर नियुक्त गरिएको थियो । गत वर्ष अगस्टमा इरानको साइबर स्पेसको ‘सार्वभौमसत्ताको रक्षा’ आवश्यक रहेको बताउँदै खादेमीले संसदसँग घरेलु इन्ट्रानेट परियोजनालाई प्राथमिकता दिएर पूरा गर्न आग्रह गरेका थिए ।
सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकलाई न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा सुनिश्चित गर्न सबै रोजगारदातालाई आग्रह गरेको छ । मन्त्रालयले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी, नर्सिङ स्टाफ, निजी तथा संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारीलगायत विभिन्न प्रतिष्ठानमा कार्यरत श्रमिकले न्यूनतम पारिश्रमिक तथा अन्य सुविधा नपाएको भन्दै मन्त्रालयमा उजुरी तथा गुनासो आउने गरेको जनाएको छ । यसप्रति मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रचलित कानुनअनुसार श्रमिकका अधिकार पूर्ण रूपमा कार्यान्वयन गर्न सबै रोजगारदातालाई आग्रह गरेको हो । मन्त्रालयले श्रम ऐन, २०७४ अनुसार काममा लगाइएका व्यक्तिलाई न्यूनतम पारिश्रमिक, बिरामी बिदा तथा उपदान, सञ्चयकोष, बिमालगायतका सुविधा अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था रहेको स्मरण गराएको हो । साथै न्यूनतम पारिश्रमिकलगायतका सुविधाबाट वञ्चित गराइएको पाइएमा कानुनअनुसार कारबाही हुने चेतावनी दिँदै मन्त्रालयले सम्बन्धित निकाय, संस्था तथा सरोकारवालालाई कानुनको पालना गर्न अपिल गरेको छ ।
‘सेयर बजारमा सानो समूहले चलखेल गरिरहेको छ, इन्साइडर ट्रेडिङ भइरहेको छ’
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजारमा सीमित समूहको चलखेल र इन्साइडर ट्रेडिङ गरिरहेको आरोप लगाएका छन् । सोमबार अर्थ मन्त्रालयमा आर्थिक पत्रकारहरूसँग संवाद गर्दै उनले बजारमा कृत्रिम अफवाह फैलाएर लगानीकर्तालाई भ्रमित बनाउने प्रवृत्ति बढेको बताएका हुन् । उनका अनुसार स्टक मार्केटमा केही सानो समूहले चलखेल गर्न खोजिरहेको छ । इन्साइडर ट्रेडिङ र नियमविपरीत कारोबार गर्नेलाई सरकारले कडाइका साथ नियन्त्रणमा लिनेछ । उनले बजारलाई पारदर्शी र विश्वसनीय बनाउन सरकार क्रियाशील हुने बताए । अर्थमन्त्री वाग्लेले सरकारले आर्थिक सुशासनलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै राजनीतिक सुशासनसँगै आर्थिक सुधारलाई अगाडि बढाइने बताए । ‘हाम्रो लक्ष्य सामाजिक न्यायसहितको अर्थनीति हो । निजी क्षेत्रलाई चलायमान बनाउनेछौं, तर कानुनी र नियामकीय व्यवस्था कडाइका साथ लागू गरिनेछ,’ उनले भने । उनले आगामी जेठ १५ मा आउने बजेट आर्थिक रूपान्तरणमुखी हुने संकेत दिँदै लगानीमैत्री वातावरण निर्माणमा जोड दिने बताए । साथै, अनलाइन प्रणालीमा देखिएका समस्या समाधानका लागि प्रधानमन्त्री कार्यालय सक्रिय रूपमा लागिरहेको जानकारी पनि दिए । विदेशमा समस्यामा परेका नेपालीको उद्धारबारे बोल्दै उनले सबैलाई फर्काउनेभन्दा पनि अति अप्ठ्यारो अवस्थामा रहेका नागरिकलाई प्राथमिकतामा राखेर काम भइरहेको स्पष्ट पारे । उनले एकै पटक २५ लाख नेपालीलाई फर्काउनेभन्दा पनि समस्यामा परेकोलाई फर्काउने योजना रहेको सुनाए । त्यसैगरी, लामो समयदेखि रोकिएका मुद्दालाई अगाडि बढाउने र अन्तर्राष्ट्रिय ‘ग्रे लिस्ट’बाट देशलाई बाहिर निकाल्न सरकार सक्रिय रहेको उनले बताए । अर्थमन्त्रीले गोरखकाली टायर लगायत केही सरकारी संस्थानको पुनर्संरचना र सञ्चालन मोडालिटीबारे पनि छलफल भइरहेको जानकारी दिँदै ती विषय आगामी बजेटमा समावेश हुने संकेत गरेका छन् ।
अर्थनीतिमा डा.स्वर्णिम वाग्लेको दृष्टि पुस्तक सार्वजनिक, अर्थमन्त्रीले गरे विमोचन
काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज सेजनले अर्थनीतिमा डा. स्वर्णिम वाग्‍लेको दृष्टि : समृद्धि, असमानता र सुधारको वर्षौदेखिका बहस नामक पुस्तक प्रकाशन गरेको छ । यो पुस्तकको सोमबार अर्थमन्त्री वाग्लेले अर्थमन्त्रालमा विमोचन गरेका हुन् । पुस्तकमा सेजनले विभिन्न समयमा विषयगत विशिष्टताका साथ प्रकाशन गरेका उनका ८ वटा गहन लेखहरू समावेश गरिएको छ । अर्थमन्त्री वाग्लेले यो पुस्तकले सुधारको लागि विगतमा गरेको पैरवी स्मरण गराएको बताए । आम सरोकारवालालाई आफ्नो दृष्टिकोण बुझ्न सहयोग हुने उनको भनाइ छ । विगतमा उठाइएका आर्थिक सुधारका एजेण्डा पुस्तकमा छन् । पहिले विषय विज्ञका रूपमा सुधारका लागि उठाइएका धेरै कुरा सुनिएन । 'अन्तत राजनीतिमा आएर अहिले तीनै एजेण्डा कार्यान्वयन गर्ने कार्यकारी भूमिकामा छ,' अर्थमन्त्री वाग्लेले भने 'यीनै दस्तावेजको आधारमा सुधारका कामहरू गर्ने हो' । पुस्तकमा वि.सं. २०७१ देखि २०८२ सम्मको एक दशक लामो कालखण्डमा उनले नेपालको आर्थिक स्वरूपलाई विभिन्न आयामबाट सुक्ष्म ढङ्गले केलाइएको छ । दक्षिण एसियाली देशहरूबीचको व्यापार लागत, संघीयताको आर्थिक सबलीकरण, मिलिभगतको पुँजीवाद (क्रोनी क्यापिटालिजम) को अन्त्य र अन्तर्राष्ट्रिय सहायताको फेरिँदो स्वरूप जस्ता गम्भीर विषयहरू पुस्तकमा समेटिएका छन् । नेपालको उत्पादकत्व वृद्धि शून्य रहेको तीतो यथार्थलाई उजागर गर्दै अब सानातिना सुधारले मात्र नहुने र 'बिग ब्याङ रिफर्म' अर्थात् वृहत संरचनात्मक सुधार आवश्यक रहेको तर्क उनको विचारमा छन् । १०० अर्ब डलर माथिको अर्थतन्त्र पुर्याउने लक्ष्यका साथ डिजिटलाइजेसन, स्वच्छ ऊर्जा र पर्यटनलाई अर्थतन्त्रको मुख्य शक्तिका रूपमा प्रस्तुत गरेका छन् । सेजन अध्यक्ष भागत भट्टराईले यो पुस्तक प्रकाशन गर्नुको मुख्य उद्देश्य वर्तमान अर्थमन्त्रीको सोच र नेपालको अर्थतन्त्रलाई हेर्ने उनको दृष्टिकोणलाई आम नागरिक र सरोकारवालासम्म पुर्याउनु भएको बताए । साथै, आम पत्रकारका लागि उनका नीति र व्यवहारको मूल्यांकन गर्न पनि सहयोग पुग्‍ने उनले बताए ।
यौनधन्दामा संलग्न युगाण्डाका दुई महिला देश निकाला, १ वर्षसम्म नेपाल आउन नपाउने
काठमाडौं । ठमेलमा यौनधन्दा संलग्न भएको आरोपमा युगाण्डाका दुई नागरिकलाई अध्यागमन विभागले देश निकाला गरेको छ । अध्यागमन विभागले दुई जनालाई अध्यागमनको कानुन विपरीत कार्य गरेकाले देश निकाला गरिएको विभागका प्रवक्ता टीकाराम ढकालले जानकारी दिए । केही हप्ताअघि ठमेलबाट अनैतिक क्रियाकलाप गर्ने युगाण्डाका २० जना महिला पक्राउ परेका थिए । घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरूलाई सार्वजनिक स्थानमै अवैध रूपमा पैसामा बार्गेनिङ गरी यौनधन्दामा संलग्न गराउने विदेशी महिलालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरूविरूद्ध जिल्ला प्रशासन कार्यालयले अभद्र व्यवहारमा मुद्दा चलाएको थियो । अभद्र व्यवहारमा मुद्दा चलाएकाहरू धरौटीमा छुटेपछि युगाण्डाका महिलाहरू विभागको सम्पर्कमा आएको प्रवक्ता ढकालले जानकारी दिए । ‘दुई जना युगाण्डाका महिलाहरू विभागमा टिकट लिएर आएका थिए । आज राति उनीहरू नेपाल छोड्दैछन्,’ उनले भने, ‘प्रस्थान भएको मितिदेखि १ वर्षसम्म नेपाल आउन नमिल्ने गरेर उनीहरूलाई स्वदेश फिर्ता गर्दैछौं ।’ विभागमा देश छोड्ने भनेर अझै ७ जना महिलाहरू विभागको सम्पर्कमा आएको प्रवक्ता ढकालले जानकारी दिए । विभागले नेपाल छोडेको मितिदेखि १ देखि ३ वर्षसम्म आउन नपाउने गरेर पठाउनेछ । जरिवाना बुझाएर रिहा हुनेहरू विभाग आएकालाई स्वदेश पठाइदिन लागेको प्रवक्ता ढकालले बताए । जरिवाना बुझाउन नसक्नेहरू कारागार चलान हुने उनको भनाइ छ ।
घरमा पार्किङ गरेको मोटरसाइकलबाट पेट्रोल चोर्दाचोर्दै पक्राउ
काठमाडौं । घरमा पार्किङ गरेको मोटरसाइकलबाट पेट्रोल चोर्ने चार जना पक्राउ परेका छन् । आइतबार कीर्तिपुरस्थित एक घरमा पार्किङ गरिराखेको बा. २९ प २४२ नम्बरको मोटरसाइकलबाट पेट्रोल चोरी गर्ने बर्दियाका २१ वर्षीय समीर विक, गुलरिया नगरपालिका ५ घर भइ कीर्तिपुर बस्ने २३ वर्षीय सुवाश विक, नुवाकोट, बेलकोटगढी नगरपालिका ७ घर भइ काठमाडौं, तारकेश्वर ७ बस्ने २८ वर्षीय रमेश सदाशंकर र बर्दिया बाँसगढी नगरपालिका ७ २३ वर्षीय सन्देश श्रीपाली रहेका काठमाडौं जिल्ला प्रहरी परिसरले जनाएको छ । उनीहरूको साथबाट छपन्न हजार, तामाको धातुबाट बनेको जस्तो देखिने मूर्ति ४० थान, चुरोट १५ बन्डल (१ बन्डलमा १० प्याकेट) एन्ड्रोइड मोबाइल ६ थान, किप्याड मोबाइल ४ थान, सुनको जस्तो देखिने कानको झुम्का १ जोर , सुनको जस्तो देखिने रातो पोते सहितको नेकलेश, शिरबन्दी २ थान, चाँदीको जस्तो देखिने पाउजु १ जोर, प्रदेश ३ -०२-००७ प ९३८६ नम्बरको, बा २५ प ६८७० नम्बरको मोटरसाइकल र हेलमेट १० थानसहित पक्राउ परेका हुन् ।
प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत
काठमाडौं । प्रतिनिधिसभाबाट तीन अध्यायदेश स्वीकृत भएको छ । सभाको सोमबारको बैठकबाट ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ सर्वसम्मत रूपमा स्वीकृत भएको हो । बैठकमा गृहमन्त्री सुधन गुरुङले उक्त अध्यादेश स्वीकृत गरियोस् भनी प्रस्ताव राखेका थिए । त्यसअघि सभामुख डोलप्रसाद अर्यालले ती विधेयकलाई अस्वीकार गर्ने सूचना प्राप्त नभएको व्यहोरा जानकारी गराएका थिए । बैठकले नेपाली कम्युनिष्ट पार्टीका सांसद रामचन्द्र भट्टराईको निधनमा सर्वसम्मत रूपमा शोक प्रस्ताव पारित गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही चैत २४ गते मङ्गलबार अपराह्न १ः०० बजे बस्नेछ ।
अर्थमन्त्रीको सम्बोधनले सेयर बजारमा हरियाली : नेप्से ८३.३३ अंकले बढ्दा १० अर्ब ९२ करोडको कारोबार
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार (आज) नेप्सेमा हरियाली छाएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजार सम्बन्धमा पहिलोपटक विस्तृत अभिव्यक्ति दिएसँगै बजारमा हरियाली छाएको हो । अर्थमन्त्री वाग्लेले पहिलो पटक लगानीकर्ताको मनोबल बढाउने गरी अभिव्यक्ति दिएसँगै बजारमा रौनक देखिएको सेयर विश्लेषकहरूको भनाइ छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज नेप्से ८३.३३ अंकले बढेर २७६०.०२ विन्दुमा कायम भएको छ ।आज ३४५ स्टकको १ लाख २४ हजार ९३ पटक कारोबारमा २ करोड ५१ लाख ५५ हजार ८५४ कित्ता सेयर खरिदबिक्री हुँदा १० अर्ब ९२ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार कारोबारमा आएका सबै उपसमूह बढेका छन् । सबैभन्दा धेरे हाइड्रोपावरको ४.४९ प्रतिशतले बढेको छ । बैंकिङ ३.१८, विकास बैंक ३.६३, वित्त ४.०३, होटल तथा पर्यटन ३.२४, लगानी ३.३३, जीवन बीमा २.६६, उत्पादन १.५३, माइक्रोफाइनान्स २.४३, म्युचल फण्ड १.४०, निर्जीवन बीमा २.९४, अन्य २.३६ र व्यापार २.४० प्रतिशतले बढेको छ । कारोबार रकमको आधारमा आज रिलायन्स स्पिलिङ मिल्सको सबैभन्दा धेरै कारोबार भएको छ । उक्त कम्पनीको १ अर्ब १३ करोड ५८ लाख ५८ हजार रुपैयाँको कारोबार भएको छ । दोस्रो धेरै कारोबार भएको कम्पनी हिमालयन रिइन्स्योरेन्स कम्पनीको ५४ करोड ९२ लाख ९८ हजार रुपैयाँको कारोबार भएको छ । एनआरएन इन्फ्रास्ट्रक्चरको ४८ करोड १९ लाख १८ हजार रुपैयाँ, अपि पावर कम्पनीको ३१ करोड ५२ लाख ९८ हजार रुपैयाँ र रिदी पावर कम्पनीको ३० करोड ७ लाख रुपैयाँको कारोबार भई शीर्ष पाँचमा प्रवेश गरेका छन् । आज चार कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । उपकार लघुवित्त, भुजुङ हाइड्रोपावर, रिदी पावर कम्पनी र नेशनल हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । त्यस्तै शिखर खुदी हाइड्रोपावर, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो र होटल फरेस्ट इनका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । पुँजी बजारको वर्तमान अवस्था, सुधारका उपाय र बजार सुधार सम्बन्धी अर्थमन्त्री डा. वाग्ले र नेपाल स्टक ब्रोकर एशोसिएसनबीच सोमबार बिहान सिंहदरबारमा भेटघाट भएको थियो । भेटघाटका क्रममा अर्थमन्त्री वाग्लेले आफ्नो राजनीतिक दलले सेयर बजारका विषयमा स्पष्ट र उदार धारणा राख्दै आएको उल्लेख गर्दै हाल बजारमा अनावश्यक अफबाह फैलाएकोप्रति चिन्ता व्यक्त गरेका थिए । साथै उनले नेपालको अर्थतन्त्रका लागि अब ‘स्वर्णिम समय’ आउन लागेको दाबी गर्दै बजारमा फैलिएका हल्ला र गलत अफबाहको पछि नलाग्न सबैलाई आग्रहसमेत गरेका थिए । ब्रोकर व्यवसायीहरूसँग अर्थमन्त्रीले भने- स्वर्णिम समय आउँदैछ, हल्लाको पछि नलागौँ