अतिन आचार्य

हातमा हतकडी लागेका गृहमन्त्रीहरु

काठमाडौं । गत शनिबार पूर्वगृहमन्त्री रमेश लेखक भक्तपुरको कटुञ्जेबाट पक्राउ परे । गत भदौ २३ गते जेनजी आन्दोलनका क्रममा हेलचक्र्याइँपूर्वक मानिस मारेको भन्दै त्यतिबेला गृह मन्त्रालयको नेतृत्व गरेकाले जाँचबुझ आयोगले लेखकलाई तीनदेखि १० वर्षसम्म कैद सिफारिस गरेअनुसार नै प्रहरीलाई उनलाई पक्राउ गरेको हो ।  यो समाचार तयार पार्दासम्म लेखक प्रहरी हिरासतमै छन् । उनी २०८१ असार ३१ गतेदेखि २०८२ भदौ २२ गतेसम्म गृहमन्त्री बनेका थिए । रमेश लेखक  २०८१ कात्तिक २ गते सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परे ।  जिल्ला अदालत कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट लामिछानेलाई पक्राउ गरेको थियो । उनी पहिलो पटक २०७९ पुस ११ गतेदेखि माघ १३ गतेसम्म गृहमन्त्री बनेका थिए । त्यसैगरी, दोस्रो पटक २०८० फागुन २३ गतेदेखि २०८१ असार ३० गतेसम्म गृहमन्त्री बनेका थिए । रवि लामिछाने  बलात्कार प्रयासको आरोप लागेका पूर्व सभामुख तथा गृहमन्त्रीको जिम्मेवारी निभाई सकेका कृष्णबहादुर महरा पनि पक्राउ परे । प्रहरीले उनलाई २०७६ असोज १९ गते साँझ बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ गरेको थियो ।  महरामाथि १२ असोजको साँझ संसद सचिवालयकी एक महिला कर्मचारीले बलात्कारको प्रयासको आरोपमा पक्राउ परेका थिए । उनी २०६८ वैशाख २० गतेदेखि २०६८ साउन १५ गतेसम्म गृहमन्त्री भएका थिए । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि पूर्वगृहमन्त्री हुन् । यो समाचार तयार पार्दासम्म ओली पनि प्रहरी हिरासतमा छन् । उनी २०५१ मङ्सिर १४ गतेदेखि २०५२ असोज ५ गतेसम्म गृहमन्त्री भएका थिए ।  ओलीलाई भदौ २३ गतेको जेनजी आन्दोलनमा १९ जनाको ज्यान जाने घटनामा संलग्न भएको आरोपको अनुसन्धानका लागि भन्दै प्रहरीले ओलीलाई पक्राउ गरेको हो । केपी शर्मा ओली बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री विजयकुमार गच्छदारविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । यद्यपि उनी भने पक्राउ परेनन् ।  गच्छदार २०६८ भदौ १२ गतेदेखि २०६९ फागुन ३० गतेसम्म गृहमन्त्री बनेका थिए । पूर्वगृहमन्त्री बालकृष्ण खाँण पनि पक्राउ परेका थिए । उनी २०८० वैशाख २७ गते नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई प्रहरीले निवासबाट पक्राउ गरेको थियो । खाँण २०७८ असार २९ गतेदेखि २०७९ पुस ११ गतेसम्म गृहमन्त्री भएका थिए । बालकृष्ण खाँण पूर्वगृहमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतबाट  दोषी ठहर भएका थिए । २०८१ साउन १३ गते न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ९ महिना कैद र ६९ लाख १५ हजार जरिवानाको सजाय सुनाएको थियो । जोशी २०५५ वैशाख ८ गतेदेखि २०५६ असार १५ सम्म गृहमन्त्री बनेका थिए । मान्छेले चाहेर आफू कहिले पनि कलंकित वा अपराधी बन्दैनन् । उनीहरू आफूलाई अपराधी बनाउन चाहँदैनन् । त्यस्तै, परिस्थितिहरूको निर्माण हुन्छ, जसले उनलाई अपराध कर्ममा उक्साउँछ । कतिपय अवस्थामा मानिसहरू प्रत्यक्ष रूपमा उपस्थित भएर अपराध गर्छन् त कोही बेला मानिस आफै अप्रत्यक्ष रूपमा नीतिगत रूपमा अपराध गर्न अग्रसर हुन्छन् । यस्तै–यस्तै उदाहरण नेपालका राजनीतिक व्यक्तित्वमा प्रभाव पर्ने गर्छ । राजनीति गरेर उदाएका व्यक्तिहरू नै नीतिगत अपराध गरेर वा विवेक प्रयोग गर्न नसक्दा प्रहरीको हिरासतमा पुग्ने गरेका छन् । यो समाचार तयार पार्दासम्म नेपालका आठ जना पूर्वगृहमन्त्रीहरू प्रहरी हिरासतमा पुगेका छन् । अझ प्रधानमन्त्री भइसकेका व्यक्तिसमेत प्रहरीको अनुसन्धानमा पुगेका छन् । कुनै समय प्रहरीले तिनै गृहमन्त्रीलाई अगाडि–पछाडि सुरक्षा दिएर हिँड्ने गर्थे । अहिले भने तिनै व्यक्तिहरू प्रहरी हिरासतमा रहेका छन् । गृह मन्त्रालयले मुलुकको सबैभन्दा ठूला प्रशासनलाई चलाउने गर्छ । देशभरको जिल्ला प्रशासन कार्यालयदेखि विभिन्न निकायसम्मको नेतृत्त्व गृहमन्त्रालय अन्तर्गत पर्ने गर्छ ।  गृहमन्त्रालय सबैभन्दा शक्तिशाली मन्त्रालयमा पर्छ । समग्र प्रहरी प्रशासनदेखि ७७ जिल्लाको स्थानीय प्रशासन वा सीमा सुरक्षासमेत गृहमन्त्रालय अन्तर्गत पर्छ । सामान्य मानिसलाई नागरिकताको पहिचान दिएर नागरिक बनाउने काम पनि गृह मन्त्रालयले गर्ने गर्छ ।  समग्रमा देशकै प्रशासन सञ्चालन गर्ने गृहमन्त्रीहरूले विवेक र आफ्नो जिम्मेवारी बिर्सिँदा विभिन्न समयमा तिनै मन्त्रीहरू प्रहरीको हिरासतमा पुगेका दृष्टान्त छन् । केही दिनअघि मात्र पूर्वगृहमन्त्रीहरू प्रहरी हिरासतमा पुगेका छन् । पूर्वगृहमन्त्री तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेपछि दिल्लीका पूर्व मुख्यमन्त्री अरबिन्द केजरीवालले आफ्नो पुरानो कुकर्मका कारण नेपालका पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्री पक्राउ परेको बताएका थिए । सामाजिक सञ्जालमा एबीपी न्युजको समाचार सेयर गर्दै उनले आफ्नो पुरानो कुकर्मका कारण नेपालका पूर्व प्रधानमन्त्री र पूर्वगृहमन्त्री पक्राउ परेको बताएका हुन् ।  नेतृत्वमा रहँदा समग्र मान वविकासको अध्ययन नगर्दा उच्चपदस्थमा रहेका व्यक्तिहरू अन्त्यमा प्रहरीको हिरासतमा पुग्ने गरेको दृष्टान्त रहेको पूर्वसचित गोपी मैनाली बताउँछन् । शक्तिमा रहँदा नेतृत्वहरूले विवेक प्रयोग गर्न नसक्नेहरू नै अन्त्यमा प्रहरीको अनुसन्धानको दायरा पर्ने गरेको उनको भनाइ छ । ‘शक्तिमा रहँदा शक्तिको सदुपयोग नगर्ने तर शक्तिको दुरुपयोग गर्नेहरू प्रहरीको हिरासतमा पुग्ने गरेका छन्,’ उनले भने, ‘नेतृत्त्वमा रहेका व्यक्तिहरूले सधैं प्रशासनका लागि पाएका जिम्मेवारी पुरा गर्नुपर्छ । आफू के का लागि राजनीति गरेको र किन त्यो पदमा पुगे त्यसको आत्ममूल्यांकन गरेमा त्यस्ता व्यक्तिले शक्तिको दुरुपयोग गर्दैन थिए ।’ नेताहरूमा हरेक कुरालाई स्वीकार्न सक्ने क्षमता हुने गरेको स्वमनोविद् वासु आचार्य बताउँछन् । नेताहरूको स्वभाव स्वीकार्ने हुन्छ र मनोविज्ञान फरक प्रवृत्तिका हुने गरेको उनको भनाइ छ । ‘कुनै पनि कुरालाई नेताले सामान्य रुपमा लिने गर्छन्,’ मनोविद आचार्य भन्छन्,’ मैले केही गरेको छैन । मेरो गल्ती कहीँ भएको छैन जस्ता कुरा गरेर जिद्दी गरेका हुन्छन् ।’ ठूला–ठूला पदमा पुगेका नेता तथा कर्मचारीहरूको पर्सनालिटी फरक किसिमको हुने गरेको उनले बताए ।  शक्तिको महत्त्व नबुझ्दा हिरासतमा शक्ति भएपछि संयम गुमाउनेहरू प्रहरीको फन्दामा पुग्ने गरेको वरिष्ठ पत्रकार तीर्थ कोइराला बताउँछन् । शक्तिमा भएपछि के गर्न हुन्छ वा हुन्न त्यसको निर्णय गर्न नसक्नेहरू प्रहरीको हिरासतमा पुगेको उनको भनाइ छ। शक्तिको दुरुपयोग गर्ने र शक्ति केही होइन भन्ने मानसिकता त्याग्न नसक्नेहरू कुनै न कुनै हिसाबले कानुनको फन्दामा पर्ने गरेको कोइरालाले बताए । शक्तिको उन्माद लाग्नेहरू प्रहरीको हिरासतमा पुग्ने नेपाल प्रहरीको पूर्व डीआइजी हेमन्त मल्ल ठकुरी बताउँछन् । गृहमन्त्रालय पावरफुल मन्त्रालय भएकाले शक्तिको मिस युज गरेकाले प्रहरीको अनुसन्धानमा दायरामा आउने गरेको उनको भनाइ छ । ‘अधिकार सम्पन्न मन्त्रालयको अधिकार र कर्तव्य नबुझेकाहरू प्रहरीको हिरासतमा पुगेका छन्,’ उनले भने ।  

स्क्यामरको पासोले बैंक खाता रित्तियो

काठमाडौं । ‘हेल्लो म खल्ती एपको म्यानेजर बोलेको हुँ । तपाईंले खल्ती एप चलाउनु हुँदो रहेछ । बधाई छ, तपाईंलाई ६ हजार रुपैयाँको बोनस प्राप्त भएको छ,’ ललितपुरका नवीन श्रेष्ठको फोनमा नयाँ नम्बरको ह्वाट्सएपबाट अनौठो आवाज सुनिन्छ । उनी अपरिचित नम्बरबाट पैसा प्राप्त भएको खबर सुनेर मख्ख पर्दै बोल्छन् । ती व्यक्तिको कुराले नवीन उत्साहित पनि भए । उनीहरूबीच केही समय कुराकानी लम्बिन्छ । अपरिचित व्यक्तिले उनलाई बोनसको पैसा प्राप्त गर्न खल्ती एपको लिङ्कको सम्पूर्ण विवरणसहितको नम्बर लगायत सबै जानकारी पठाउन अनुरोध गरे । नवीनले पनि बोनस पाउने लोभमा खल्ती एपको सबै विवरणसहितको लिङ्क अपरिचित व्यक्तिलाई ह्वाटसएपमा पठाइदिन्छन् । त्यसपछि उनले फोन राखे । फोनमा कुरा गरेको तीन दिनपछि ४२ वर्षीय नवीनको खल्ती एपबाट क्षण–क्षणमा गरेर ९० हजार काट्यो । लगत्तै खल्तीको अफिसमा गए । त्यहाँ जाँदा उनले सबै थाहा पाए । पैसा अरु कसैले लगेको । खल्तीको प्रतिनिधिले जब उनलाई सोधे, ‘तपाईंले कसैलाई खल्तीको एप वा ओटीपी दिनु भएको थियो,’ नवीनले जवाफ दिए, ‘हो मैले एकजनालाई खल्ती एपको लिङ्क दिएको थिए ।’ खल्ती एपका प्रतिनिधिले पुनः भने, ‘तपाईं प्रहरीकोमा जानू । तपाईंको पैसा कसैले लगेको देखिन्छ । प्रहरीकोमा गएर उजुरी दिनू ।’ नवीन लगत्तै प्रहरीकोमा उजुरी दिन पुगे । सबै डिटेल लिएर उजुरी दिन पुगे । उनको पैसा काठमाडौंकै हिमाल भन्ने व्यक्तिको खातामा गएको देखियो हिमालसँग सम्पर्क गर्दा उनले पनि आफ्नो पैसा हराएको सुनाउँछन् ।  ईसेवाबाट आफू ठगिएको भन्दै २७ वर्षीय सीता तामाङ पनि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुगिन् । ईसेवाको कर्मचारी भन्दै उनलाई एक साताअघि फोन आएको थियो ।  ईसेवाकी महिला कर्मचारी बताउनेले उनलाई फोन गर्दै भनेकी थिइन्, ‘म्याम नमस्ते । हजुरलाई बधाई ।’ केका लागि बधाई पाइन् त्यसको चाल सीताले थाहा पाइनन् । उनलाई बिहान आएको फोन पुनः सोही नम्बरबाट साँझ आयो । बेलुकी फोन गर्दा पनि ती महिलाले सीताले भनिन्, ‘बधाई छ । हजुरको ईसेवामा बोनस आएको छ । तर,  हजुरले बोनस रकम प्राप्त गर्न केवाइसी भर्नु पर्छ ।’  सीता पनि सित्तैमा पैसा पाइने भएपछि फुरुङ्ग भइन् । उनले भनिन्, ‘केवाइसी फाराम कसरी भर्नु ? यो भनेको के हो मलाई थाहा छैन ।’ ती महिलाले सीतालाई भनिन, ‘केवाइसी फारम भर्न नआएमा हामी नै सहजीकरण गरिदिन्छौं । हामी तपाईंहरूका लागि सहयोग गर्न बसेका हौ ।’ यति भनेपछि सीताले पनि उनको कुरामा विश्वास गरिन र समर्थन जनाइन् । सीतालाई ती महिलाले तपाईंको मोबाइल म्यासेजमा एउटा नम्बर आएको होला हेरेर ओटीपी नम्बर बताइदिन आग्रह गरिन् । उनको मोबाइलमा पनि नम्बर आएको रहेछ लगतै ओटीपी नम्बर बताइदिन् । नम्बर पाएपछि उनले सीतालाई भनिन्, ‘मैले नम्बर पाएँ । सबै प्रक्रिया पुरा गरेपछि बोनस आउँछ र संकलन गर्नूहोला ।’  सीता र उनको कुरा भएको भोलिपल्ट ईसेवाबाट पैसा काटियो । उनको खातामा १२ हजार थियो । ईसेवाबाट ५ सय रुपैयाँ मात्र राखेर उनको पैसा हरायो । उनी आत्तिन र चिनेजानेका साथी तथा आफन्तलाई आफ्नो समस्या सुनाइन् । उनले अन्ततः स्क्यामरबाट ठगिएको थाहा पाइन् । उनले पनि नवीनको जस्तै प्रक्रिया गरेर बुझिन् । ईसेवामा सम्पर्क गरिन् । ईसेवाबाट पैसा हरायो ।  कसरी यस्तो भयो भनेर ईसेवामा सोधपुछ गरिन् । तर, ईसेवाको जवाफ पाएपछि उनी आफू ठगिएको र स्क्यामरको सिकार बनेकी थाहा पाइन् । अनलाइनको भर पर्दा पैसा गुम्यो डल्लुकी २३ वर्षीय कल्पना महर्जन अनलाइनबाट लुगा मगाउँथिन् । फेसबुक र इन्स्टाग्राममा लुगाका राम्रा–राम्रा विज्ञापन देख्थिन् । अनलाइनमा लुगाको राम्रो विज्ञापन देखेर अनलाइनबाट लुगा मगाइन् । उनले विभिन्न आइटमका लुगाका साथै लेडिज ब्याग मगाइन् । उनले सामान प्राप्त गर्नका लागि फेसबुक र इन्स्टाग्राममा रहेको नम्बरमा सम्पर्क गरिन् । फोन गरेर आफूले चाहेको लुगा मगाइन् । पहिलोपटक कल्पनाले १२ हजार रुपैयाँ पठाइन् । फेसबुकमा रहेको नम्बरको ईसेवामा पैसा पठाइन् । पैसा पठाए पनि अनलाइन सपिङ्गको नम्बरबाट पैसा नआएको उनलाई बताइन्छ । कल्पनाले पैसा पठाए पनि उताबाट पैसा अड्किएको बताइन्छ । अनलाइनवालाले पैसा नआउनुको कारण कल्पनालाई बताउँछन् । ‘तपाईंको सायद केवाइसी नभरेकाले त्यसरी पैसा अड्किएको हुन सक्छ,’ अनलाइनवालाले कल्पनालाई भन्छन् । उनले पनि केवाइसी नभरेको जानकारी दिन्छिन् । केवाइसी नभरेको भए हामी भरिदिन्छौ । तपाईंको मोबाइलमा ओटीपी नम्बर आएको होला मलाई भन्दिनु । सबै काम एकैछिनमा सकिने र अड्किएको सबै पैसा यता आउने अनलाइनवालाले उनलाई बताउँछन् । ओटीपी नम्बर कल्पनाले हतपत्त अनलाइनवालालाई दिन्छिन् । उताबाट अड्केको पैसा पनि आफूले पाएको उनलाई खबर दिन्छन् । त्यसको भोलिपल्ट कल्पनाको ईसेवामा खातामा रहेको ४५ हजार सबै हराउँछ । उनी पनि सीताजस्तै आत्तिइन पैसा हराएपछि लगत्तै ईसेवालाई सम्पर्क गरिन् । पैसा हराएको विवरण र सम्पूर्ण जानकारी ईसेवालाई दिइन् । ईसेवाले सम्पूर्ण पैसा स्क्यामरबाट लगिएको कल्पनालाई जानकारी दियो ।   आफू ठगिएको थाहा पाएपछि कल्पना काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी लिएर पुगिन् ।  पछिल्लो समय काठमाडौं उपत्यका अपराध अनुसन्धा कार्यालयमा पनि  खल्ती, ईसेवा र अनलाइन लुगा पसलबाट ठगिएको भनेर उजुरी दिन पुग्नेको संख्या बढेको छ । दैनिक जसो ओटीपीको माग गरेर पैसा हराएको भन्दै सेवाग्राहीहरू गुनासो पुग्न थालेका छन् ।  अपराध अनुसन्धान कार्यालयका एक अनुसन्धान अधिकृतका अनुसार ओटीपीको माग गरेर पैसा हराएको भन्दै दैनिक ८–९ वटा निवेदन पर्न थालेका छन् । केवाईसी अपडेट गर्नुपर्ने भन्दै स्क्यामरले ओटीपी माग गरेर पैसा हराएको भन्दै सेवाग्राही आएको उनले जानकारी दिए । ह्वाट्सएपमा मात्र कुराकानी सेवाग्राहीबाट नयाँ नम्बरबाट ¥यान्डमली व्यक्तिलाई फोन आउने गरेको उनले सुनाए । अपरिचित व्यक्तिबाट पैसा पाउने प्रलोभनमा परेर सेवाग्राहीहरू पनि बोल्ने गर्दा फस्ने गरेको ती प्रहरी अनुसन्धान अधिकृतले विकासन्युजलाई बताए । स्क्यामरले साथीहरूको फेसबुकबाट फ्रेण्ड लिस्ट हेरेर फ्लोअप गर्ने गरेको अनुसन्धानबाट खुलेको उनको भनाइ छ । पैसा गुमाउनेमा शिक्षित तथा सबै प्रकारका मानिसहरू पर्ने गरेको ती प्रहरीको अनुभव छ । स्क्यामरहरूले ह्वाटसएपबाट मात्र कुरा गर्ने गरेको उनले जानकारी दिए । स्क्यामरले ह्वाट्सएपबाट मात्र कुरा गर्ने भएकाले भेट्न नसकिने प्रहरीको भनाइ छ । उनीहरूले व्यक्तिको हराएका नम्बर फेला पारेर कुरा गर्ने गरेको उनको भनाइ छ । स्क्यामरहरू विदाको दिनमा सक्रिय कलेजका विद्यार्थी तथा सरकारी पेन्सन खाने कर्मचारीहरू ओटीपी माग गरेर ठगी भएको भन्दै उजुरी दिन आउने पीडितको संख्या बढिरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सन्तोष खड्का बताउँछन् । स्क्यामहरूले सेवाग्राहीहरूको रूचि अनुसारको कुरा गरेर ओटीपी माग गर्ने गरेको उनले बताए । ‘स्क्यामरले सेवाग्राहीको रुचि तथा स्वभावका कुरा गर्छन्,’ उनले भने, ‘सेवाग्राहीको कुरा तथा भावना बुझेपछि सोही अनुसारको कुरा गरेर ओटीपी माग्न सफल हुन्छन् ।’  सेवाग्राहीले पनि एक पटक कसलाई र किन नम्बर दिँदैछु भनेर नसोची ओटीपी नम्बर दिने गरेको प्रमुख खड्का बताउँछन् । ठगीमा पर्नेहरू विभिन्न पेशामा आवद्ध र घरायसी काम गर्नेदेखि विद्यार्थीहरू समेत ठगिएको उनले जानकारी दिए । प्रलोभनमा परेर, अरुलाई विश्वास र सोधखोज नगरी पैसा तथा ओटीपी नम्बर दिँदा आममानिसहरू पीडित बनिरहेको खड्काले अनुभव सुनाए । पेन्सन खाने कर्मचारीलाई वाणिज्य बैंकबाट बोलेको भन्दै प्रलोभनमा परेर बैंक डिटेल मागेर लैजाने गरेको उनले बताए । स्क्यामरले खाताग्राहीको सम्पूर्ण विवरण पाएपछि खाताको सबै पैसा झिकेको भन्दै उजुरी दिन आएको उनले जानकारी दिए । स्क्यामरले ह्वाट्सएपबाट मात्र कुराकानी गर्ने गरेको खड्काले बताए । स्क्यामरले धेरैजसो विदाको अघिल्लो दिन पारेर वा विदाको दिनमा पैसा झिक्ने गरेको उनले बताए । बिदाको दिन अफिस बन्द रहने भएकाले बैंकमा कम्प्लेन गर्न नसकून् भनेर उनीहरूले त्यस्तो गरेको हुन सक्ने खड्काले बताए। स्क्यामरहरूलाई नियन्त्रणमा लिन धेरै गाह्रो पर्ने उनको भनाइ छ । उनीहरूलाई नियन्त्रणमा धेरै समय लाग्ने गरेको उनले उल्लेख गरे । ‘ओटीपी कसैलाई नदिनू’ साइबर ब्यूरोका प्रवक्ता दीपकराज अवस्थीका अनुसार फेसबुक तथा इन्स्टाग्रामबाट अनलाइन लुगा तथा अन्य सामग्री मगाएर पैसा नआएको भन्दै ओटीपीको माग गरिएको छ । सामान मगाउँदैमा पैसा आएन भनेर ओटीपी नदिने उनले आग्रह गरे । स्क्यामरले ओटीपी राख्न लगाएर मोबाइल बैंकिङबाट पैसा लैजान सक्ने अवस्थीको भनाइ छ । सेवाग्राहीलाई प्रलोभनमा पारेर स्क्यामरले बैंक खाताबाहकको विवरण लिने गरेको अवस्थी बताउँछन् । म समस्या वा अप्ठ्यारोमा परेको छु, तुरुन्त पैसा पठाइदिनुहोस्, मेरो बैंकिङ्ग एपमा समस्या आएर मैले पैसा पठाउन सकिरहेको छैन । तपाईं यस क्यूआरमा पैसा पठाइदिनुहोस् भन्ने प्रकारका म्यासेज आएर ठगी क्रम बढेको उनले उल्लेख गरे । उनले साथीभाई लगायत आफन्तहरूलाई पठाई ठगी गर्ने घटनाहरू बढिरहेकोले यस्ता घटनाबाट जोगिन सचेत गराए । उनले ह्वाटसएपमा आएका म्यासेजहरूमा तुरुन्त विश्वास नगर्न आग्रह गरे । सम्भव भएसम्म व्यक्तिलाई प्रत्यक्ष फोन गरेर शंकास्पद लिंक, कोड वा फाइल क्लिक/डाउनलोड नगर्न आग्रह गरे । टु स्टेप भेरिफेकसन अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने अवस्थीको भनाइ छ । आफ्नो ओटीपी तथा भेरिफेकिसेन कोड कसैलाई नदिन अवस्थीले बताए ।  डिजिटल साक्षरता नहुँदा पैसा गुमाउने बढे आम मानिसमा डिजिटल साक्षरता नहुनुमा ओटीपी नम्बरको माध्यमबाट पैसा गुमाउनेको संख्या बढ्दै गएको साइबर विज्ञ बिक्रम लामा बताउँछन् । डिजिटल कारोबार गर्ने मानिसले मुख्यतया लोभ त्याग गर्नुपर्ने उनको भनाइ छ । ‘डिजिटल कारोबार गर्दा कस्ता मानिससँग आर्थिक व्यवहार गर्दैछु, त्यस विषयमा सचेत हुनुपर्ने र सोच्नुपर्छ,’ साइबर विज्ञ लामाले भने, ‘कसैले गिफ्ट दिँदैछ भनेर फोन गर्छ भने किन र कसले सित्तैमा दिन्छ भनी सोचेर प्रश्न गर्नुपर्छ ।’ उनका अनुसार नियामक निकाय नेपाल राष्ट्र बैंक तथा डिजिटल कारोबार गर्ने पसल वा इकमर्स बजारले डिजिटल साक्षरता बढाउन ध्यान दिनुपर्छ ।  बैंकमा खाता खोल्दा अनिवार्य रूपमा केवाइसी फाराम भर्नु पर्दछ । केवाईसी फाराममा आफ्नो फोटो, परिचयपत्र, ठेगाना र पारिवारिक विवरण पूर्ण रूपमा खुलाउनु पर्दछ । बचत खाता खोल्न बचत खाता खोल्ने फाराम, फोटो र आवासको प्रमाण (जस्तैः धारा, टेलिफोन वा बिजुलीको रसिद) आवश्यक पर्छ ।

सहकारीकी कर्मचारी प्रेममा परेर ठगिएपछि...

काठमाडौं । उनको दैनिकी कार्यालय जाने आउनेमा बितिरहेको थियो । एक सहकारीमा क्यासियर काम गर्ने उनले आफूलाई बदलिरहेकी थिइन् । सोचेभन्दा फरक जीवनशैली थियो उनको अर्थात् उदयपुरकी सोबिता दाहालको । स्वावलम्बी बनेकी उनी आफ्नो मनमौजीले काठमाडौंमा बस्दै आएकी थिइन । उनी सहकारीमा क्यासियरको मात्र काम गर्दैन थिइन्, सहकारीमा आउने बचतकर्ता र ऋणीसँग पनि कुरा गर्थिन् उनी ।  सोबिताको सहकारीमा नियमित आइरहने बचतकर्तासँग एक दिन चिनजान हुन्छ । उनी जुम्लाका २२ वर्षीय दीपक बुढा (परिवर्तित नाम)सहकारीमा बचत गरेको पैसा लिन आउँथे । उनीहरुबीच कुराकानी मात्र हुन्न, एक आपसमा मोबाइल नम्बर पनि साटछन् । बिस्तारै उनीहरूंको कुराकानी सामाजिक सञ्जालमार्फत् पनि हुन थाल्यो । दीपक पसलमा काम गर्थे । काम गरेको पैसा सहकारीमा बचत गर्थे ।  उनीहरुको भेटघाट र कुराकानी बाक्लिदै गयो । दिपक र सोबिताबीचको कुराकानी प्रेममा बदल्यो । उनीहरू बिस्तारै दैनिक रुपमा भेटघाट गर्न थाले । बसुन्धारा बस्ने दिपकले पनि सोबिताको खोजी गर्न थाले । उनी भने कमल पोखरीमा काम गर्थिन् । उनीहरूको नियमित भेट गहिरो प्रेममा परिणत भयो । उनीहरू अब सँगै बस्ने निधो गर्छन् । सँगै पनि बस्छन् ।  तर, सामाजिक रुपमा उनीहरू दिदीभाई कोठामा भनेर बस्ने गरेका थिए । टोलमा वा वरपरको पसलमा भने दिदीभाइको सम्बन्ध परिचय बनेको थियो । बाहिर उनीहरूको परिचय भने प्रेमी–प्रेमिकाको सम्बन्ध थियो । सँगै बसे पनि उनीहरुको काम भने फरक– फरक ठाउँमा थियो । डेरामा सँगै बसे पनि काम गर्ने स्थान फरक थियो । सोबिता काम गर्ने सहकारीमा थरि–थरिका मानिसहरू आउँथे । सबैसँग उनी बोल्थिन् । दीपकजस्तै गरेर सहकारीमा आएका अन्य व्यक्तिसँग पनि उनको परिचय हुन्छ । उसैगरी उनीहरुको कुराकानी बढ्दै जान्छ । दीपकसँग सँगै बसे पनि उनले नयाँ युवकसँग बोल्न भने छोडिनन् । हेटौडाका २५ वर्षीय नारायण प्रसाद घिमिरे (परिवर्तित नाम) सँग पनि सोबिताको कुराकानी र भेटघाट बाक्लिँदै गयो । कार्यालयमा हुँदा उनले नारायणसँग फेसबुक र ह्वाटसएपमा कुरा गर्थिन् । कोठामा पुगेपछि भने उनीहरुको कुराकानी बन्द हुन्थ्यो । किनभने उनी कोठामा दिपकसँग बस्थिन् । सोबिता बिहान ९ बजे कोठाबाट निस्किन्थिन् । अफिसमा पुग्नसाथ उनको र नारायणको कुराकानी हुन सुरु हुन्थ्यो । नारायण र सोबिताको कुराकानीले बाक्लै रुप लिएपछि प्रेममा नै परिणत हुन्छ । उनले अफिस बिदा हुनेबित्तिकै नारायणलाई समय दिने गर्थिन् । हरेक दिन उनको भेटघाट नारायणसँग हुन थाल्यो । उनीहरूको प्रेम सम्बन्धबाट शारीरिक सम्बन्धसम्म पुग्छ । नारायणसँग सम्बन्ध बढेपछि सोबिताको दिपकसँग खटपट बढ्न थाल्छ । दिपक र सोबिताको दैनिक झगडा हुन थाल्छ । बिस्तारै सोबिता पनि दीपकसँग भन्दा नारायणसँग नजिक हुन्छिन् । नारायणले पनि सोबितालाई नजिक पारेपछि आफ्नो समस्या खुलेर बताउँन थाल्छन् । उनले आफ्नो भन्दा परिवारको समस्या बताउन थाल्छन् । सोबितालाई समस्या सुनाएर ऋणमा पैसा पनि माग्छन् । उनले पनि प्रेम गरेकीले पहिलो पटक पैसा माग्न साथ १० लाख रुपैयाँ दिन्छिन् । पैसाले उनीहरू बीचको निकटता झन कायम ग¥यो । यता नारायणसँग सम्बन्ध बढेपछि दीपकसँगको सम्बन्ध बिग्रदै गयो ।  नारायणले पनि पैसा पाइने लोभमा नाटकीय रुपमा झन गहिरो प्रेममा परेको आभास दिलाए । उनले सोबितासँग पुनः ५ लाख रुपैयाँ मागे तर उनले दिन सकिनन् ।  नारायणले पैसा मागेर हैरान बनाए । हैरान मात्र बनाएनन् । ब्ल्याकमेलिङसमेत गर्न थाले । ह्वाटसएप र फेसबुकमा अनैतिक सम्बन्धको फोटो सार्वजनिक गरिदिने भन्दै धम्क्याउन थाले नारायणले । उनले सामाजिक सञ्जालमा पैसा नदिएपछि निरन्तर धम्क्याउन थालेपछि अन्त्तयमा नेपाल प्रहरीको साइबर ब्यूरोमा उनी पुग्छिन् । सोबिताले साइबर ब्यूरोमा उजुरी दिइन् । ब्यूरोका प्रहरी अनुसन्धान अधिकृतका अनुसार नारायले सोबितालाई फेसबुक म्यासेन्जरमा पोर्न फिल्मको फोटो पठाउँथे । अश्लील भिडियो/फोटोमा सोबिताको टाउको राखेर फोटो सार्वजनिक गरिदिने धम्की दिने गरेका थिए । ब्यूरोमा उजुरी परेपछि नारायणलाई बोलाएर अनुसन्धान गरिएको ब्यूरोका एक प्रहरी अनुसन्धान अधिकृत बताउँछन् । सामाजिक सञ्जालबाट बढी यातना दिने गरेकाले नारायणको मोबाइल नियन्त्रणमा लिएर फर्म्याट गरि बुझाएको उनको भनाइ छ ।  ब्यूरोका प्रहरी निरीक्षक राजकुमार श्रेष्ठले केटालाई बोलाएर अबदेखि सामाजिक सञ्जालबाट धम्की नदिने र यातना नदिने बताएपछि सम्झाएर छाडिएको बताए । उनले करिब दश दिनअघि ब्यूरोमा उजुरी दिएकी ब्यूरोले जनाएको छ । विद्युतीय कारोबार ऐन २०६३ को परिच्छेद-९ मा उल्लेख गरिएका अपराधहरू साइवर अपराध अन्तर्गत पर्छन् । ऐनको दफा ४६ अनुसार कुनै संस्थालाई गलत तरिकाले हानी नोक्सानी पुर्याउनका लागि कम्प्युटरमा रहेको कुनै सूचनालाई नष्ट गरेमा, क्षति पु¥याए वा मेटाएमा र हानिकारक प्रभाव पारेमा कसुर गर्ने व्यक्तिलाई दुई लाखसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै हुन सक्छ ।  ऐनको दफा ४७ मा उल्लेख भएअनुसार सार्वजनिक रुपमा नैतिकता शिष्टाचार विरुद्धका सामग्री प्रकाशन वा प्रदर्शन गरेमा, कसैप्रति घृणा वा द्वेष फैल्याउने वा कम्प्युटर वा इन्टरनेटको  प्रयोगबाट विभिन्न सामाजिक सञ्जाल मार्फत सार्वजनिक जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन वा प्रदर्शन गरेमा, महिलालाई जिस्काउने, हैरानी गर्ने, अपमान गर्ने वा अर्मयादित कार्य गरेमा र गर्न लगाएमा साइबर अपराध गरेको मानिने छ । यस्ता अपराध गर्ने व्यक्तिलाई १ लाख रूपैयाँ जरिवाना र पाँच वर्षसम्म कैद गरिने वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।

ठमेलमा दिपक मनाङ्गेको ‘कम ब्याक’

काठमाडौं । गत शनिबार दिउँसो ठमेलको नोभा क्लबको प्राङ्गणमा फरक दृश्य देखियो । अरूबेला सुनसान हुने क्लब शनिबार भने युवाहरूको भीडले खचाखच थियो । युवाहरूको भीड, मोटरसाइकल तथा अन्य सवारीसाधनको लावालस्कर क्लब वरिपरि थियो । सबैको हात–हातमा खादा र माला थिए ।  मानौं उनीहरूट्ठ ठूलै भीआईपीलाई कुरिरहेका थिए । केहीबेरमै आइपुगे भर्खरै जेलबाट छुटेका पूर्वमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङ्गे । उनको स्वागत गर्ने युवाहरूको भीड र तछाडमछाड थियो त्यहाँ । नेपाली कांग्रेसका नेता गणेश लामादेखि कांग्रेसका अन्य कार्यकर्ताको पनि बाक्लै उपस्थिति थियो । कार्यक्रममा पुगेका युवाहरू ‘दिपक दाईको कार्यक्रम छ’ भन्दै आइरहेका थिए । जेलबाट छुटेका मनाङ्गे पुग्दा ठमेलका व्यवसायी र समर्थकले क्लब नोभामा स्वागत गरे । मनाङ्गे ज्यान मार्ने उद्योगको कसुरमा कैद काटेर डिल्लीबजार कारागारबाट बुधबार मात्र छुटेका थिए । नोभा क्लबको आयोजनामा चियापान तथा भेटघाट कार्यक्रम मनाङ्गे नै प्रमुख अतिथि थिए । उनलाई स्वागत गर्न राखिएको कार्यक्रममा उनी केन्द्रबिन्दुमा देखिनु सामान्य नै थियो । स्वागत कार्यक्रममा चिया तथा बिस्कुट राखिएको थियो । सबै युवाहरू खादा र माला लगाउँदै चिया पिउँदै गफिरहेका थिए । सबैभन्दा रोचक पक्ष त कार्यक्रममा सहभागी युवाहरूले भनिरहेका थिए– ‘दीपक दाईको कमब्याक भयो ।’ त्यतिका धेरै युवाहरू भने ठमेलका मात्र थिएनन् । ठमेलदेखि बाहिरबाट समेत उनीहरू त्यहाँ आएका थिए ।  एक समय मनाङ्गे काठमाडौंमा ‘गुन्डा नाइके’का रूपमा परिचित थिए । उनले ठमेलबाटै आफ्नो परिचय बनाए । उनको उपस्थितिबिना त्यहाँ कुनै काम गर्न पाइँदैनथ्यो । उनलाई असुली बुझाउने शर्तमा काम अगाडि बढ्ने गरेको चर्चा पनि हुन्थ्यो । उनी जब राजनीतिमा लागे, उनको परिचय बदलियो । समाजसेवी र राजनीतिको रूपमा उनको परिचय बन्यो । मनाङ्गे स्वतन्त्र सांसदका रूपमा गण्डकी प्रदेशसभाका सदस्य बने ।  कुनै समय कानुनले नगर भनेकै मात्र काम गरिहिँड्ने मनाङ्गेसँग कानुन बनाएको अनुभव समेत छ । अहिले कानुन र समाजको बारेमा राम्रो ब्रिफिङ दिनसमेत पोख्त भएका छन् । उनी सुशासन, सभ्य समाज र राष्ट्र निर्माण गर्ने दौडमा लागेकाले पनि होला उनको स्वागत र सम्मानमा युवाहरूको उपस्थिति थियो । उनै मनाङ्गे अहिले भने अहिले मुलुक र समाजलाई राम्रो कर्म गरेर युवाहरूलाई जोड्न सकिने बताउने गरेका छन् ।  काठमाडौंका एक उच्च प्रहरी अधिकारीले भने उनको भेलालाई लिएर केही शंकाको सुविधा दिनु पर्ने बताए । उनका अनुसार अहिले पनि ठमेलमा मेरो उपस्थिति रहने तथा प्रभाव रहेको सन्देश दिन खोजेको जस्तो देखिन्छ । ठमेलका व्यवसायीलाई यहीँ भीडभाड देखाएर आफ्नो प्रभाव देखाउन खोजिएको जस्तो देखिने ती प्रहरीको बुझाइ छ । राजनीतिमा लागिसकेकाले उनले यहीँ भीडलाई देखाएर राजनीतिमा प्रवेश गर्ने पनि सम्भावना उत्तिकै रहेको उनले बताए । ठमेलमा मनाङ्गेको कार्यक्रम भएको बारेमा जानकारी भएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले  बताए । उनको सम्मान, स्वागत कार्यक्रम तथा भेलालाई व्यक्तिको स्वतन्त्रता तथा भेला हुने र कार्यक्रम गर्न पाउने अधिकार रहेको भन्दै सामान्य रूपमा हेरिएको धारणा राखे । कुनै पनि व्यक्तिको अपराध तथा आपराधिक क्रियाकलाप बढेको खण्डमा प्रहरीले निगरानी गर्ने उनको भनाइ छ । प्रहरीले भने उनको भेलालाई सामान्य रूपमा लिएको उनको धारणा छ । त्यसो त शनिबारको स्वागत कार्यक्रममा कांग्रेसका नेता तथा कार्यकर्ताको बाक्लै उपस्थिति थियो । कार्यक्रममा मनाङ्गेको छेउमा अर्का नेपाली कांग्रेसका युवा नेता गणेश लामाको उपस्थिति थियो । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा उनी शेरबहादुर देउवा पक्षमा खुलेका थिए । विशेष महाधिवेशनपछि लामाले पार्टी कार्यालयको सुरक्षासमेत दिएका थिए । विशेष महाधिवेशन पक्षधर गगन थापा समूहलाई उपस्थिति हुन नदिनलाई लामा समूहले पार्टी कार्यालयको सुरक्षा दिएर बसेका थिए । मनाङ्गेको राजनीतिक यात्रा बारम्बार विवादमा पर्दै आएको थियो । सायद अब त्यहीँ विवादित चरित्रलाई सुधार्ने पक्षमा उनी देखिएकाले राजनीतिको मैदानमा देखिने लामाको उपस्थितिले संकेत गर्छ । गत असारमा सर्वोच्च अदालतले मनाङेलाई गण्डकी प्रदेशको सांसदबाट पदमुक्त गरेको थियो । उनी मनाङ प्रदेश (२) बाट निर्वाचित भएका थिए । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र कुमार चुडालको संवैधानिक इजलासले फौजदारी कसुरमा सजाय पाएको हुनाले उनको निर्वाचित पद जारी रहन नसक्ने फैसला गरेको थियो ।  अधिवक्ता वीरेन्द्रराज कार्कीले फौजदारी अभियोग लागेका मनाङ्गे प्रदेशसभा सदस्य हुन अयोग्य भएको भन्दै उनको उम्मेदवारी नै खारेज गराउन माग गर्दै निर्वाचन आयोगविरुद्ध २०७९ पुस ११ मा रिट दायर गरेका थिए । विसं २०६१ वैशाख ३१ गते महाराजगन्जमा खुकुरी प्रहारबाट चक्रे मिलनको हात काटिएको थियो । सोही घटनामा अभियुक्त ठहर गर्दै मनाङ्गे जेल परेका थिए । सोही मुद्दामा पाँच वर्ष जेल सजाय सुनाइएका मनाङे यस पटक एक वर्ष ४ महिना कैद भुक्तानी गरेर छुटेका हुन् । जेनजी आन्दोलनका बेला भदौ २४ गते देशभरका जेलबाट कैदीबन्दीहरू भाग्दा मनाङ्गे ‘फेरि आउनुपर्छ, किन भाग्ने ?’ भन्दै जेलमै बसेका थिए । उनी आफू मात्रै बसेनन्, आफूसँगै रहेका अन्य कैदीबन्दीलाई पनि रोकेका थिए।

प्रहरी हेडक्वाटरदेखि मेटासम्म सक्रिय हुँदा शान्तिपूर्ण बन्यो निर्वाचन

काठमाडौं । प्रतिनिधि सभा २०८२ को निर्वाचन सम्पन्न भइसकेको छ । फागुन २१ गते भएको निर्वाचन समग्रमा शान्तिपूर्ण रूपमा भयो । यस पटकको निर्वाचनमा सरकारी निकायले सामाजिक सञ्जाललाई अवसर र चुनौतीको रुपमा लिए । धेरै राजनीतिक दल तथा उम्मेदवारहरू सामाजिक सञ्जालकै कारण उदाएका छन् ।  राजनीतिक दल तथा उम्मेदवारले आफ्नो बारेमा निर्वाचनको प्रचारप्रसार सामाजिक सञ्जालबाट गरेका थिए । सामाजिक सञ्जाल मार्फत उम्मेदवारको एजेण्डाहरू भिडियोबाट प्रसारित भएका थिए । तर, उम्मेदवारविरुद्ध गालीगलौज तथा भ्रामक सूचनाहरू पनि सामाजिक सञ्जालबाट नै बाहिर आएका थिए । कतिपय उम्मेदवार सामाजिक सञ्जालमा चर्चित भएकाहरू निर्वाचितसमेत भएका छन् । त्यसैले पनि होला निर्वाचन आयोग र नेपाल प्रहरीले सबैभन्दा बढी ध्यान सामाजिक सञ्जाललाई दियो । निर्वाचन बिथोल्न खोज्ने समूहहरू र निर्वाचन हुनुपर्छ भन्ने दुवै समूहहरू सामाजिक सञ्जालमा सक्रिय  देखिन्थे । निर्वाचन बिथोल्ने गतिविधि गर्नेलाई प्रहरीले नियन्त्रणमा पनि लिएको थियो । सामाजिक सञ्जालमा समाज भड्काउ तथा निर्वाचन बिथोलिने खालका अभिव्यक्ति दिने व्यक्तिलाई प्रहरीले पक्राउ गर्‍यो । निर्वाचन आयोगले र प्रहरीले सबैभन्दा बढी चुनौतीको रुपमा सामाजिक सञ्जाललाई ठानेको थियो । किनभने निर्वाध रुपमा मानिसले खुलेर आ-आफ्ना दल तथा मन परेको उम्मेदवारको पक्षमा समर्थन गरिरहेका थिए । राजनीतिक दलका उम्मदेवारप्रति सामाजिक सञ्जालमार्फत समर्थन र विरोध भएका थिए । सोही अनुसार प्रहरीले पनि सामाजिक सञ्जालमा हुने गतिविधिलाई पूर्ण रुपमा कडाइको साथ निगरानी गरेको थियो । त्यसैले पनि शान्तिपूर्ण निर्वाचन सम्पन्न भयो । धेरैले अहिले भएको निर्वाचन इतिहासमै शान्तिपूर्ण भएको भनेर चर्चासमेत गर्न थालेका छन् । निर्वाचनको मौन अवधि सुरु भएपछि सामाजिक सञ्जाल कसरी संयमित भयो ? यी र यस्तै–यस्तै कुराहरू बुझ्न विकासन्युजले प्रहरीका विभिन्न निकाय तथा निर्वाचन आयोगलाई सम्पर्क गरेको थियो । प्रहरी प्रधान कार्यालयमै एआई एडभान्स एनालाइटिक्स सेल स्थापना गरेर निर्वाचन अवधिभर सामाजिक सञ्जाललाई सबैभन्दा बढी निगरानी गरिएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता अविनारायण काफ्लेले बताए । ‘साइबर ब्यूरो लगायत प्रहरीका साइबर युनिटलाई पूर्ण रुपमा परिचालन गरिएको थियो,’ उनले भने, ‘साइबर ब्यूरोमा २ वटा डेस्क खडा खरिएको थियो । सामाजिक सञ्जालबाट भ्रामक घृणा फैलाउने, निर्वाचन विरोधी गतिविधि गर्ने तथा निर्वाचन आचारसंहिता उल्लंघन गर्ने सबैलाई पूर्ण रुपमा निगरानी गरिएको थियो ।’ उनका अनुसार केन्द्रीय प्रहरी कार्यालय, प्रदेश, जिल्ला र उपत्यकामा निर्वाचन सेल बनाएर सामाजिक सञ्जालको निगरानी गरिएको काफ्लेको भनाइ छ । केन्द्रबाट निर्वाचनको अन्तिम समयसम्म नियमित रूपमा सामाजिक सञ्जालको निगरानी गरिएको उनले खुलाए । काफ्लेका अनुसार प्रहरी प्रधान कार्यालयमा ५ वटा डेस्क खडा गरिएको थियो । प्रहरी उपरीक्षकको नेतृत्वमा निर्वाचन सेलले काम गरेको थियो । सामाजिक सञ्जालबाट अनावश्यक सूचना प्रवाह हुन नदिने । निर्वाचनलाई लक्षित कुनै पनि गतिविधि गरिएको सामाजिक सञ्जालमा देखिएमा कारबाही गर्ने र उक्त पोष्ट हटाउन अनुरोध सम्म गरिएको थियो । सामाजिक सञ्जाल निगरानी गर्न दरबन्दी थप्दै निकट भविष्यमा प्रहरीले एआई एडभान्स एनालाइटिक सेललाई प्रदेशमा दरबन्दी थप्ने गरेर तयारी भइरहेको काफ्लेले जानकारी दिए । उनले आवश्यक नीति बनाएर सामाजिक सञ्जालबाट समाजलाई दिग्भ्रमित पार्ने गतिविधिलाई रोक्न प्रहरीको यो कदमले सहयोग पुग्ने बताए । सामाजिक सञ्जाललाई निगरानी गर्न प्रविधियुक्त डिभाइस राखिने काफ्लेले बताए । ‘सामाजिक सञ्जालबाट के-कस्ता गतिविधि हुन लागेको छ । ठूला-ठूला गतिविधि सामाजिक सञ्जालबाट हुने र प्रयोगकर्ताले धारणा लिने र अवाञ्छित गतिविधि हुन नदिने तथा मुलुकभित्र भौतिक तथा मानवीय क्षति हुन नदिन यस्ता प्रविधिले जानकारी दिने र सुरक्षा रणनीति बनाएर अगाडि बढ्न सजिलो हुन्छ,’ उनले भने । नेपालमा निर्वाचन गतिविधि भएकाले त्यसको विरुद्ध हुने गतिविधिलाई हटाइदिन भनेर मेटालाई अनुरोधसम्म गरिएको काफ्लेले बताए । माघको तेस्रो सातादेखि प्रहरीले सामाजिक सञ्जाललाई पूर्ण रूपमा निगरानी गरेको थियो ।  निर्वाचन आयोगमा डिएसपीको नेतृत्वमा निर्वाचन सेल खडा गरिएको थियो । प्रहरीले डिप फेक र निर्वाचन आचारसंहिता विपरीतका कन्टेन्ट हेर्ने र हटाउने समेत काम गरेको थियो । सामाजिक सञ्जाललाई निरन्तर रुपमा निगरानीमा राखेर निर्वाचन विरुद्ध कुनै पनि पोष्टलाई सामाजिक सञ्जालमा राख्न दिएको थिएन । ‘निर्वाचन अथवा युवा लक्षित प्रहरीले पोष्ट पनि सार्वजनिक गरेको थियो,’ प्रवक्ता काफ्लेले भने, ‘प्रेम दिवसमा भनौं अन्य दिनमा नेपाली युवाहरूलाई सामाजिक सञ्जालबाट अवाञ्छित गतिविधि नगर्न र पासवर्ड नसाट्न भनेर सचेतनामूलक पोष्ट गरेका थियौं ।’ उनका अनुसार प्रहरीले निर्वाचन विरोधी गतिविधि गर्ने व्यक्तिहरूलाई समयमै पहिचान गरी कानूनी कारबाही तथा नियन्त्रणमा समेत लिएको थियो । निर्वाचनमा प्रहरीले सोसल मिडियालाई अवसर र चुनौती दुवैको रुपमा लिएको उनले बताए । प्रहरीलाई नागरिकसमक्ष सूचना पु¥याउन धेरै सहज भएको छ । तर यही माध्यमको कारण समाजमा गलत सूचना तथा भ्रामक समाचार फैलने उत्तिकै जोखिम रहेको उनको भनाइ छ । निर्वाचन सुरक्षा व्यवस्थापन प्रभावकारी कार्यान्वयन, निर्वाचन आयोगसँग निरन्तर समन्वय र सहकार्य गरेर सुरक्षा व्यवस्था थप व्यवस्थित बनाइएको थियो ।  टिकटकका कन्टेन्ट पनि हटाइयो  निर्वाचन विरोधी कन्टेन्ट टिकटकमा देखिएमा हटाउने काममा साइबर ब्यूरो सक्रिय भएर लागेको ब्यूरोका प्रवक्ता दीपकराज अवस्थीले बताए ।  ‘मौन अवधि सुरु भएपछि टिकटकले त्यस्ता कन्टेन्ट हटाउने गरेको थियो,’ उनले भने, ‘युजर डिटेल उपलब्ध गराउनेदेखि टिकटक प्रयोगकर्ताले हालेका कन्टेन्ट हटाउन ठूलो सहयोग गर्‍यो ।’ नेपालमा टिकटक सूचीकृत भएकाले पनि धेरै सहज भएको उनको भनाइ छ । अन्य सामाजिक सञ्जाल सूचीकृत नहुँदा भने कतिपय कन्टेन्ट हटाउन समय लागेको र युजर डिटेल ढिला पाइएको उनले जानकारी दिए । नेपालको जिल्ला अदालतले विदेशस्थित रहेका अदालतले युजरको डिटेल पठाउन माग गर्ने गरेको उनले बताए । अदालती प्रक्रियाको झन्झटले युजर पत्ता लगाउन र कन्टेन्ट हटाउन केही समस्या आउने गरेको उनले सुनाए । अदालतले चिठ्ठी पठाउने व्यवस्था गरेमा टिकटक जस्ता सोसल मिडिया कम्पनीले युजर पत्ता लगाउने तथा कन्टेन्ट हटाउन अझ सहज हुने उनले धारणा व्यक्त गरे । ‘साइबर ब्यूरोले सोसल इन्जिनियरिङको काम गरेको थियो । निर्वाचन आयोग र प्रेस काउन्सिलबाट समेत पत्र आएको थियो,’ अवस्थीले भने । सोसल मिडियाको महत्त्व निर्वाचन जस्तो संवेदनशील विषयलाई लिएर सबैजना गम्भीर बनेकाले पनि मौन अवधिभरमा सामाजिक सञ्जालमा मानिसहरू सभ्य बन्न सकेको निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले बताएका छन् ।  सोसल मिडिया युजरहरू गम्भीर, जिम्मेवार तथा सभ्य बन्दा केही घटनाबाहेक निर्वाचनको वातावरण राम्रो बनेको उनको भनाइ छ । यो निर्वाचनले सामाजिक सञ्जाललाई अवसर र चुनौतीको रुपमा बुझाउन सफल भएको उनले बताए । सोसल मिडिया आफैँमा नराम्रो नभएको तर प्रयोगकर्ताहरू सचेत हुनुपर्ने अवस्था आएको उनको भनाइ छ । ‘राजनीतिक दल र उम्मेदवारले पनि यसपालिको निर्वाचनमा सामाजिक सञ्जालको महत्त्व बुझेको हुन सक्छन्,’ उनले भने, ‘मतदाता शिक्षाको कार्यक्रम भए पनि सामाजिक सञ्जालबाट भएको कार्यक्रम प्रभावकारी देखिन्थ्यो ।’ उनका अनुसार सोसल मिडियाहरू आयोगसमक्ष सम्पर्क आए । उनीहरूलाई अवसर र चुनौती दुवैको बारेमा बुझाएको उनले बताए । ‘यहाँ आएकालाई टक्सिक इन्फर्मेसन निर्वाचनका लागि थ्रेट हुन्छ भन्यौं,’ उनले अगाडि भने ।  आयोगले निरन्तर नेपाल प्रहरी, नेपाली सेना र प्रेस काउन्सिलसँग समन्वय र सहकार्य गर्दै गएको उनले बताए । सोसल मिडिया प्रयोगकर्ताहरू सबैभन्दा बढी जिम्मेवार बनेको उनको बुझाइ छ । सोसल मिडियामा के-के कुराहरू समस्या हुन्, त्यसको पहिचान गरिएको भट्टराईले बताए । ‘एआईबाट निर्मित सूचना र डिप फेक इन्फर्मेसनको पहिचान सबैभन्दा चुनौती बनेको थियो । तर, त्यस्ता सूचनाहरूको पहुँचमा पनि सहजै पुगेकाले धेरै सहज भएकाले निर्वाचनको शान्तिपूर्ण वातावरणमा छ,’ उनले भने ।

भोट खसाल्न गाउँ नगएकाहरू

काठमाडौं । तनहुँका धनबहादुर मगर काठमाडौंमा रेष्टुरेण्ट व्यवसाय गर्छन् । एक दशक बढीदेखि लाजिम्पाटमा आफ्नो व्यवसाय गरिरहेका मगरलाई फागुन २१ गते हुने निर्वाचनले खासै उत्साह जगाएन । उनी यस पटक मतदान गर्नका लागि गाउँ गएनन् ।  ‘आफ्नो काम गर्नैपर्यो, काम नगरे खान पाइँदैन । जान आउन पनि अलिक समय लाग्ने भएकाले निर्वाचनमा सहभागी जनाउन सकिएन,’ मगरले भने । निर्वाचनपछि बन्ने नयाँ सरकारबाट सबैले गरिखान पाउनुपर्छ भन्ने माग रहको मगरले सुनाए । युवाहरूले काम गर्नकै लागि विदेश जान नपरोस् भन्ने चाहना रहेको उनले सुनाए ।  धनबहादुर मगर ‘दुई छाक खानका लागि नेपालीहरुको विदेश जानुपर्ने बाध्यता नयाँ सरकारले रोक्नुपर्छ,’ उनले भने, ‘निर्वाचनमा सहभागी नभए पनि सरकारले गरेको गलत कामको निरन्तर खबरदारी गर्नेछु । सरकार  पारदर्शी र जवाफदेही हुनुपर्छ ।’ ५७ वर्षीय बाबु तामाङ २२ वर्षदेखि रिक्सा चलाएर जीवन गुजारिरहेका छन् । दोलखा घर भएका उनलाई पनि चुनाव लागेको छैन । उनी जीवन चलाउन रिक्साका पाङ्ग्रासँग पौठेजोरी खेल्दै ठमेलमा फन्को मारिरहेका छन् । मजदुरी गरेर जीवन चलाउनु परेकाले मत हाल्न जान नपाएको तामाङको भनाइ छ ।  पैसा खर्च अभावकै कारण मत हाल्न जान नपाएको उनले गुनासो पोखे । ‘गाडीमा लैजाने मानिस भए जान्थें तर अब जाँदिनँ होला,’  उनले भने ।  नयाँ बन्ने सरकारले केही गर्ला जस्तो आशा नलागेको उनी बताउँछन् । काम गरेर खानेलाई जुनसुकै सरकार आए पनि खासै महत्त्व नहुने उनको गुनासो छ । भाडाको रिक्सा कुदाउनेलाई निर्वाचन आए गएको केही मतलब नहुने उनको भनाइ छ ।  बाबु तामाङ ‘रिक्साको दैनिक १५० रुपैयाँ भाडा बुझाउनु पर्छ,’ उनले भने, ‘रिक्सा चलाएर जीवन बाँच्ने मानिसलाई जुनसुकै सरकार आए पनि मतलब हुँदैन । ठमेलको चोक–चोकमा रिक्सा पार्किङ गर्न दिए हुन्थ्यो भन्ने लाग्छ । यहाँ यसरी बस्न दिइँदैन, एकछिन बसेमा पुलिस आएर हटाइहाल्छन् ।’ बुधबार ठमेलमै पुग्दा रौतहटका ३३ वर्षीय शेखी इब्रान पुरानो घर भत्काउन व्यस्त थिए । उनको रौतहट २ नम्बर क्षेत्रमा मतदाता नामावली छ । उनले मजदुरी गरेर काठमाडौंका गल्लीमा बालुवा र इँटा बोकेको २२ वर्ष भयो ।  भोट हाल्न जानका लागि खर्च नभएको घर नगएको उनले सुनाए । मजदुरी गरेर खानेका लागि भोटले नछोएको र खासै उत्साह पनि नपलाएको उनको भनाइ छ । ‘भोट हाल्न जाउँ–जाउँ पनि लागेको छैन,’ उनले भने,’ भोट हाले पनि नहाले पनि मेरो लागि खासै प्रभाव पर्दैन ।’ शेखी इब्रान नयाँ बन्ने सरकारले राम्रो स्कुल बनाओस् र बिरामीले अस्पतालमा सहजै उपचार पाओस् भन्ने लागेको इब्रान बताउँछन् । ‘देशमै काम गरेर खाने वातावरण बनाइदियोस्,’ उनले अगाडि थपे,’ सरकारले मजदुरको पारिश्रमिक बढाइदियोस् । हरेक कामको सम्मान हुनुपर्ने संस्कृति बनोस् ।’ अछाम घर भएका ३५ वर्षीय पदम कुमार केसी पनि मतदान गर्न घर गएनन् । उनी अछाम भौगोलिक रुपमा टाढा भएकाले मत हाल्न जान नसकिएको बताउँछन् ।  ‘हस्पिटालिटी क्षेत्रमा काम गरिएको छ । बिदा मिलेन, त्यसैले पनि यो पटकको निर्वाचनमा जान सकिएन,’ केसीले भने, ‘निर्वाचन जस्तो उत्सवमा जान नपाउँदा दुःख लागेको छ । किनभने यो निर्वाचनमा निर्वाचित सांसदले हाम्रो दैनिकी चलाउन नीति बनाउँछन् ।’ पदम कुमार केसी आगामी सरकारले हस्पिटालिटी क्षेत्रमा पाइने सेवा सुविधा वृद्धि गरोस् भन्ने उनको माग छ । काम गरिखानेको सेवा सुविधा नयाँ सरकारले कटौती नगरोस् र पुराना सरकारले लागु गर्दै आएको सेवा सुविधा लागु गरोस् भन्ने माग उनको छ ।  जुम्लाकी २८ वर्षीय माया बोहरा न्युरोडमा राष्ट्रिय झण्डा बिक्री गर्दै हिँड्छिन् । उनले भोट भन्दा पनि झण्डा बिक्री हुन नसकेको चिन्ता व्यक्त गरिन् । भोट हाल्ने जाने समय भन्दा काठमाडौंमा झण्डा बिक्री गरेर बस्ने उनले सुनाइन्।  ‘जुम्ला टाढा भएकै कारण मत हाल्न गइनँ, जाने–आउने समयमा काठमाडौंमा झण्डा बिक्री गरेर बस्छु,’ उनले भनिन्, ‘काठमाडौंमा संघर्ष गर्न आएकी हुँ । यतै संघर्ष गरेर बस्छु । मत हाल्नका लागि भनेर संघर्ष गर्दिनँ ।’ उनले काठमाडौंबाट गाउँतिर भोट हाल्न गएर होला झण्डा पनि कोही किन्न नआएको दुःखेसो पोखिन् । ‘आज त एउटा पनि भण्डा बिक्री भएको छैन । नयाँ सरकारले राम्रो कानुन ल्याएर काम गरिखाने वातावरण बनाइदिए हुन्थ्यो,’ बोहराले झण्डा मिलाउँदै भनिन् ।  माया बोहरा फागुन २१ गते अर्थात् भोलि देशभर प्रतिनिधि सभाको निर्वाचन हुँदैछ । निर्वाचनका लागि भनेर ८ लाख बढी मानिसले काठमाडौं छोडिसकेका छन् । विभिन्न पेशा व्यवसायमा रहेका मानिसहरू आ–आफ्नो मतदाता नामावली रहेको ठाउँमा पुगिसकेका छन् ।  तर, कतिपय मतदातालाई भने चुनावले नछोएको देखिएको छ । विभिन्न पेसा, व्यवसाय वा अध्ययन गरेर काठमाडौंमा बस्नेको संख्या पनि ठूलै छ । केही जीवन धान्न यहाँ बसेका छन त कोही भने सन्तानको शिक्षाका लागि पनि बसोबास गरेको पाइएको छ । 

भ्रष्टाचार र आसेपासे शासनको विरोध

काठमाडौं । यूट्यूबमा अहिलेसम्म सबैभन्दा बढी हेरिएको नेपाली फिल्म हो, छक्कापञ्जा ३ । हाइलाइट्स नेपालको यूट्यूब च्यानलमा रहेको यो फिल्म ३ करोड ७० लाखले हेरेका छन् । यस फिल्ममा रहेको चर्चित गीत ‘पहिलो नम्बरमा...’ ६ करोड ४० पटक हेरिएको छ । फिल्मभन्दा फिल्मको गीतको भ्यू झण्डै दोब्बर छ ।  सबै फिल्ममा यस्तो हुन्न । ‘झरीपछिको इन्द्रेणी’  फिल्ममा रहेको चर्चित गीत ‘फसायो लमीले’ ओएसआर डिजिटलको यूट्यूब च्यानलमा सार्वजनिक भएको २ महिनामा २ लाख भ्यू छ । उक्त फिल्म पूर्वमेयर बालेन्द्र शाह (बालेन)को यूट्युबबाट सार्वजनिक भएको १२ दिनमा ३१ लाखले हेरेका छन्  । छोटो अवधिमा गीतभन्दा फिल्म १५ गुणा बढीले हेरेका छन् । जबकि बालेनको च्यानलमा १० लाखभन्दा कम सब्स्क्राइबर छन् भने ओएसआरको सब्स्क्राइबर १ करोड भन्दा बढी छन् । चलचित्र हलमा नचले पनि यो फिल्मले यूट्यूबमा राम्रै भ्यू पाइरहेको छ ।  झरीपछिको इन्द्रेणी अर्जुन घिमिरे अर्थात पाँडे बुढाको निर्देशनमा निर्माण भएको चलचित्र हो । उनी बालेनको निर्वाचन प्रसारप्रसारमा हिँडिरहेका छन् । अर्जुनको आफ्नै च्यानलमा पनि १० दिनअघि यो फिल्म राखिएको छ, जसमा जम्मा ५ हजारले मात्र हेरेका छन् । फेसबुकमा जस्तै बालेनको यूट्युब पनि धेरै मानिसले हेर्ने गरेको देखिन्छ । फिल्ममा रहेको उनको गीत बालेनकै च्यानलबाट ७१ लाख बढीले हेरेका छन् ।  बालेनको स्वरमा एउटा गीतबाहेक पुरै फिल्ममा उनको भूमिका देखिँदैन । तर, फिल्ममा जसरी सामाजिक र राजनीतिक विषय समेटिएका छन्, त्यसलाई नियाल्दा यस फिल्ममा बालेनले आफ्नो राजनीतिक चेत र चाहना अभिव्यक्त गरेको विश्लेषण गर्न सकिन्छ ।  फिल्मको सुरुवातीमै काठमाडौं महागनरपालिकाको ब्रुमरले सफा गर्दै गरेको रोड देखाइएको छ । मठ–मन्दिर तथा नेवारी संस्कृति झल्कने मानिसहरूले लगाएका लुगादेखि गीत गाइरहेको दृश्य देखाइन्छ । केही क्षणमा कान्तिपुरी महानगरपालिकाभित्र स्थानीयलाई शारीरिक अभ्यास गर्ने ठाउँ देखाइन्छ । जहाँ मुख्य भूमिकामा देखा पर्छन् कलाकार गणेश उप्रेती ।  उनको भूमिका वडा कार्यालयको सचिवमा छ । गणेशप्रसाद शर्माको नामले एक सच्चा इमान्दार कर्मचारीको रूपमा देखाइएको छ । उनले सामान्य जीवनशैली तथा असल कर्मचारी भएर आफ्नो भूमिका निभाउँछन् । शर्माको घरमा दुई छोरा छन् ।  आर्थिक,सामाजिक, खराब कर्मचारीतन्त्र, राजनीति विकृत र सांस्कृतिक सबै पक्षलाई समेटिएको छ । सम्पन्न भएपछि विपन्नलाई गरिने व्यवहार पनि देखाइएको छ । सामाजिक विसङ्गतिविरूद्ध आवाज उठाएको छ । इमान्दार र मिहिनेती कर्मचारीको प्रतिनिधित्व उनले गर्छन् । जसले सहरमा सामान्य जीवनशैली बिताउने मध्यमवर्गीय परिवारको प्रतिनिधित्व गरेका छन् । एउटा असल अभिभावकले आफ्नो परिवारको लागि निभाउने भूमिका वडासचिवमार्फत देखाइएको छ । सामान्य कमाइ हुनेले सहरी क्षेत्रमा कति धेरै संघर्ष गर्नुपर्छ यस फिल्मले उजागर गरेको छ  । शर्माको जेठो छोरा शोहनले भर्खरै प्लस टु पास गरेका हुन्छन् । उनले प्लस टु पास गरेपछि उच्च शिक्षाका लागि विदेश जाने मनसाय बनाउँछन् । अभिभावक तथा मुख्य भूमिकामा रहेका उप्रेतीले छोरालाई ‘युवाहरू भनेको देशका मेरुदण्ड हुन् । सबै बाहिरिए भने देशमा को बाँकी रहला,’ भनेर सम्झाउँछन् । उनी छोरामार्फत युवाहरूलाई सम्झाउन चाहन्थे । अहिलेको नेपाली समाजमा युवाहरूले देश छोड्ने ट्रेण्ड चलेकाले ती युवाहरूलाई संकेत गरिरहेको छ । युवाहरूले देश छोड्न हुँदैन । युवाहरूले जिम्मेवारी लिएर मुलुकको काँचुली फेर्दैछ भन्ने वाक्यले अबको नेपालमा शासकीय जिम्मेवारीमा युवा पुग्नुपर्छ । जसले गर्दा युवाको उर्जा मुलुक बनाउन खर्च गर्नुपर्नेमा उनले जोड दिएका छन् । युवाहरू भनेको भविष्यका कर्णधार हुन् । कुलतमा नपर्नु र असल संगत गरेमा असल मानिस बनिन्छ भनेर बारम्बार भनेर छोरालाई सम्झाउँछन् । नेपालमा प्लस टु सकेपछि युवाहरूले विदेशको सपना देख्छन् । प्लस टुको परीक्षा  सकेर फुर्सदको समयमा कन्सल्टेन्सी धाउने युवाहरू हुन्छन् ।  अष्ट्रेलिया, युके, यूएसए, जापान वा क्यानडाको तयारीका लागि आइएलएस तथा टोफल गर्न थाल्छन् । परीक्षा सकेर बसेका युवाहरूले लोकसेवाको तयारी भन्दा विदेशको सपना देख्ने युवाहरू देखाइन्छ ।   इमान्दार कर्मचारीले घर व्यवहार कसरी चलाउँछन् । मासिक आम्दानीको भरमा सामान्य जीवन चलाउँछन् ।  आफूजस्तै अनुशासित बनेर मुलुकमै बसेर देश तथा समाजमै बसेर सन्तानले केही गरोस् भन्ने चाहना कर्मचारीले राखेको कलाकार उप्रेतीमार्फत देखाइन्छ । अहिलेका युवाहरूलाई विदेश जान साथी तथा आफन्तले प्रोत्साहित गरिरहेको देखाइन्छ । विदेश नगए जीवन सफल नभएको र घरमा तला थप्नका लागि भए पनि नेपाल छोड्नुपर्ने सामाजिक बाध्यता आइपरेको छ ।  फिल्मले पनि शोहनमार्फत विदेश जान मरिहत्ते गरिरहेको देखाएको छ । विदेश जान नपाए अभिभावकको अगाडि आन्दोलन गर्छन् । बाउछोराको बोलचाल बन्द हुन्छ । अहिलेक युवाहरू प्लस टु सकेपछि २०-२५ लाख तिरेमा सहजै अष्ट्रेलिया जाने सपना बुनेर बसेका छन् । शोहनको आमाले सम्झाउँछिन्,’ विदेशमा गएर मन्जन पठाउनु भन्दा त स्वेदेशमा बसेर मन्जन बेचेर धनी हुनुपर्छ।’  परिवारका सदस्यले दाई र दिदी विदेश गइदियोस् । यता नेपालमा भने आफन्तहरू विदेशी ब्राण्डको सामान चलाउन पाइयोस् भन्ने मानसिकता बोकेका हुन्छन् ।  सन्तानको मायाका बारेमा अभिभावकले सोच्न सक्दैनन् । अधिकांश अभिभावक बढ्दो उमेरका छोराछोरीले नछोडून् भन्ने चाहना राख्छन् ।   शर्मा पनि छोरालाई सम्झाउँदै भन्छन्, ‘भात पकाउन नजान्ने र ओछयान मिलाउन नसक्नेले विदेश जाने कुरा नगर । यहाँ सबै काम ममीले गर्नुपरेको छ ।’ युवाहरूको आत्मविश्वास बोलीमा मात्र सुनिन्छ । सोहनको आवाजमा बुबालाई जवाफमा जन्मिँदै कसैले जान्दैनन् । गरेर र परेपछि जानिन्छ ।’  हातमा चियाका कप बोकेर देश घुम्दै काम गर्न सकिन्छ । ‘लगन र इमान भएर गरेको काम महान हुन्छ,’ उप्रेतीले छोरालाई सम्झाउँदै भन्छन्,’  विदेश जानुभन्दा अगाडि काम गरेर वा काम सिक्नुपर्छ  ।’ अर्कातिर कार्यालयमा सबै एकनासका कर्मचारी हुँदैनन् । फिल्ममा स्थानीय तहका विकृति तथा विसंगति पनि देखाइएको छ ।  वडाअध्यक्ष, पिउन तथा अन्य कर्मचारी मिलेर सेवाग्राहीको काम कसरी ढिलासुस्ती र भ्रष्टाचार गरिरहेका छन् । चलचित्र हेरेर थाहा पाउन सकिन्छ ।  वडा कार्यालय पिउनले चलाइरहेको देखाइन्छ । अहिले पनि कतिपय स्थानीय तहमा गयो भने चलचित्रको दृश्य जस्तै देख्न सकिन्छ । निर्देशक घिमिरे पिउनको भूमिकामा छन् । उनी भन्छन्, ‘यो राज्यसँग सकिन्न । मन्त्री फेरिएपिच्छे नियम फेरिन्छ ।’ नेपालको राजनीतिक अस्थिरतालाई सांकेतिक रुपमा देखाइएको छ । पिउनको भनाइले त्यहीँ बुझाउँछ । नयाँ मन्त्री आएपिच्छे नयाँ–नयाँ नियमले हैरानी बनाएको छ । पिउनले वडाअध्यक्ष, सचिव लगायत अन्य कर्मचारीको काम गरेर गरेर वडा चलाउँछन् । स्थानीय तहको अर्को विकृति देखाइन्छ ।  वडाबाट पाउने सेवा सुविधाहरू एउटै मानिसले विभिन्न शीर्षकमा सुविधा लिएको पनि देखाइन्छ । नातावाद र कृपावादले जकडिएको समाजमा चलचित्रको कथामा उक्त दृश्य पनि समेटिएको छ । वडामा सेवाग्राहीलाई विभिन्न बहाना बनाएर अलमल्याउने गरेको दृश्य पनि देखाइन्छ । महिनौंसम्म वडाबाट हुने कामलाई दर्ता तथा सिफारिसको काममा अल्झाएर घुस तथा कमिसन लिनका लागि कार्यालयका पिउन, वडाअध्यक्ष र अन्य कर्मचारी कसरी लाग्छन सहजै दृश्यमा देख्न सकिन्छ । अस्पताल सञ्चालकको भूमिका निर्मल शर्मा देखिन्छन् । उनी वडा कार्यालयमा सेवाग्राहीको रूपमा पुग्छन् । समयमा नक्सा नपाएको र घुस माग्ने बेथितिले हैरानी बनेका छन् । ‘देश र समाजका लागि दिने योगदान यहीँ हो तपाईंहरूको । स्वास्थ्य उपकरणमा मगायो भन्सारमा घुस, तला थप्न भन्यो वडामा घुस । देशको करप्टेड सिस्टम देखेर धैरे जना विदेश पलायन भए तर म देशमा बसेर सेवा गरिरहेको छु,’ डाक्टरको भूमिकामा रहेका शर्माले भन्छन् ।  स्थानीय जनप्रतिनिधिको एरियामा भौतिक संरचना बनाएमा विभिन्न समूह आएर आर्थिक सहयोग माग्ने चलन रहेको छ । त्यस्ता विकृतिको साक्षी डाक्टर बन्छन् । अध्यक्षको कार्यकर्ता भन्दै आर्थिक सहयोग माग्न पुगेको व्यथा उनले सुनाएको दृश्य देखिन्छ । जनतालाई भेडाका रूपमा तुलना गरिन्छ । विम्बात्मक रूपमा शब्द चयन गरिएको छ, ‘अलिअलि घाँस मागिहाल्छन् ब्यूरोक्रेसीसँग जोगिनु है ।’ सबैभन्दा बढी विकृतिको रुपमा कर्मचारीलाई देखाइएको छ । कर्माचारीलाई घुस खुवाइएन भने कुनै काम बन्दैन । हरेक सिफारिसमा कमिसन चाहिने दृश्यले सोही कुराको पुष्टि गर्छ । उनले अर्को दृश्यमा कर्मचारीलाई भन्छन्, ‘यो देशको अस्पतालमा बिरामी भन्दा वाद र तन्त्र जुधेको छ । घुस माग्नुभन्दा अस्पतालको रिपोर्ट हेर्नुहोस्, यति नगरी मेरो काममा सहयोग नगरी उल्टै अड्काइदिँदै हुनुहुन्छ । तपाईंहरूको दायित्व यही हो । आइन्दा यहाँ आउँदिन र तला थप्नु छैन ।’ अभिनेत्री दिपाश्री निरौलालाई घुस खाने कर्मचारीको श्रीमतीको रुपमा देखाइन्छ । उनले सहरिया महिलाको स्वभाव देखाउँछिन् । आफ्नै दिदीलाई पनि उनले अलिक हेपाहा शैलीमा व्यवहार गर्छिन् । गणेश उप्रेतीको श्रीमतीलाई दिदीको रूपमा देखाइन्छ । दिपाश्रीको घर भने आलिशान देखाइन्छ । सुविधायुक्त घर भएकाले दिदीका छोराहरू उनकोमा पुग्दा हरेक पटक नयाँ सामान फेरिएका देख्छन् ।  रमेश उप्रतीलाई मुख्य कर्मचारीको रुपमा देखाइन्छ । उनले भ्रष्ट कर्मचारीको भूमिकाको निभाएका छन् । समाजलाई सकारात्मक सन्देश दिने उनी कुनै पनि भूमिकामा छैनन् । ‘गलत काम गरेर कमाएको पैसा परिवारको लागि काम लागेन । राम्रो बाउ बन्ने हतारमा असल नागरिक बन्न सकिनँ,’ उनले भनेका छन्,’ अप्ठयारो पर्दा आफूले हेपेको मानिस काम लाग्ने रहेछ । आफू इमान्दार भएमा पैसा भन्दा व्यवहार काम लाग्दो रहेछ ।’ सम्पत्ति सकिएपछि सबथोक सकिने तर आफन्त नबदलिने भन्दै दिपाश्रीलाई दिदीले अप्ठयारो पर्दा सम्झाउँछिन्। फिल्मले सम्पत्ति हुँदा मात्र मानिस साथमा हुन्छन् । कलाकारको अभिनयले असल कर्मले मानिसको मन सधैँभरि जित्न सकिने सन्देश दिएको छ ।  समाजमा भ्रष्ट्राचार जस्तो जघन्य अपराध गर्नेलाई साथ दिन नहुने फिल्मले बताएको छ । अरूको कुरा नसुन्नु र गलत कुरा सुन्नु पनि महाभुल हुने देखाइएको छ ।  शोहनले फिल्ममा भावुक सन्देश छोड्छन् ।  ‘सन्तानले घर र अभिभावक चिन्न घर छोड्नै पर्ने रहेछ ।’ अभिभावकले छोराछोरीलाई अनुशासन राख्न विभिन्न नियम बनाएको फिल्मले देखाएको छ ।  फिल्मका अन्त्य २०८२ भदौ २३ र २४ को तयारीमा लगेर टुङ्याएको छ, जहाँ भ्रष्ट शासकविरुद्ध युवाहरू डिजिटल माध्यमबाट आन्दोलनको तयारीमा जुटेको देखाइएको छ । भ्रष्टाचार र आसेपासे शासन संस्कारको विरोधमा युवाहरू माइतीघर जुट्दै गर्दा फिल्मको अन्त्य गरिएको छ ।  फिल्ममा युवापुस्ता र बुढा पुस्ताको चाहना र बाध्यता स्पष्ट अभिव्यक्त भएको छ । राजनीतिक र प्रशासनिक द्वन्द्व र त्यसले समाजमा पारेको नकारात्मक असरलाई पनि राम्ररी चित्रण गरेको छ । देशप्रतिको माया, परिवारप्रतिको माया, समाजमा विकसित वर्गविभाजन, त्यसले निम्त्याएको द्वन्द्व, नेपालीमा भएको कोमल भावना र द्वन्द्वपछिको मिलनको प्रस्तुति सुपर नै छ । जसरी फिल्ममा परिवार र आफन्तबीच द्वन्द्वपछिको सुखद पुनर्मिलन देखाइएको छ, परिवारमा बसेर फिल्म हेर्दा त्यस्तै अनुभूति हुनेछ । फिल्ममा जस्तै परिवारमा द्वन्द्व, रुवाबासी र अंकमाल हुनेछ, यदि परिवार सँगै बसेर फिल्म हेर्ने हो भने । 

‘नयाँको नाराले’ले मोरङ-२ मा पूर्वमन्त्री र मेयरलाई चुनौती

काठमाडौं । देशका अन्य निर्वाचन क्षेत्रजस्तै मोरङ–२ मा पनि केही उम्मेदवारहरूबीच झिनो मतान्तरले प्रतिस्पर्धा र हारजित हुने अंक गणित देखिएको छ । सो क्षेत्रमा तीन जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने अहिलेसम्मको चुनावी माहोल र रणनीतिले देखाएको छ ।  नेपाली कांग्रेस र नेकपा एमालेको बढी मतदाता भएको यो क्षेत्रमा अहिले नयाँ र परिवर्तनको नाराले समीकरण फेरबदल गरिदिएको छ । नेपाली कांग्रेसबाट डा. मीनेन्द्र रिजाल उम्मेदवार बनेका छन् ।  नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा डा. शेखर कोइराला समूहबाट महामन्त्री पदमा पराजित भएपछि रिजालले मन्त्री पदबाट राजीनामा दिए । रिजाल पार्टीको महामन्त्रीमा पराजित भएपछि केही समय मौन र गुमनाम बने ।  रिजाल केही समय पार्टीमा सक्रिय थिएनन् । उनी अध्ययन र आफ्नै कर्ममा व्यस्त थिए । तर, जब शेरबहादुर देउवाले रिजाललाई पार्टीको केन्द्रीय सदस्यमा मनोनित गरे त्यसपछि पार्टीको गतिविधिमा खुले । जिल्ला–जिल्ला दौडमा पुग्ने उनी कोइराला समूहमा बसे । पार्टीका जिल्ला, क्षेत्रीय तथा गुटगत भेलामा सक्रिय रुपमा डा. शेखर कोइराला समूहमा देखा पर्न थाले ।  पछिल्लो समय रिजाल कांग्रेसको नियमित महाधिवेशन हुनुपर्ने पक्षमा थिए । १५ औं महाधिवेशन समयमा नहुने देखिएपछि विशेष महाधिवेशनको माग बढ्यो । उनी पनि खुलेरै विशेष महाधिवेशन पक्षधरको विरोधमा थिए ।  निर्वाचन आयोगले विशेष पक्षधरलाई मान्यता दिएपछि उनी आयोग परिसरमा अन्य नेतासँगै विरोध गर्न पुगेका थिए । विशेष पक्षधरले मान्यता पाएपछि सभापति गगनकुमार थापाले हस्ताक्षर गरेको टिकट लिएर उनी जिल्ला पुगे । गत निर्वाचनमा भने उनलाई शेरबहादुर देउवाले टिकट दिएनन् । उनको बदलामा सुजाता कोइरालाले टिकट पाएकी थिइन् ।  शेरबहादुरको विरोधमा उत्रेका कारण पनि उनले गत निर्वाचनमा टिकट पाएका थिएनन् । उनी तत्कालीन अवस्थामा देउवा विरोधी खेमा उभिएका थिए । रिजाल देउवा क्याम्प छाडेर कोइराला समूहमा प्रवेश गरेपछि देउवाको चर्को आलोचक थिए । उनले  १४ औं महाधिवेशनमा अब निकास दिन नसक्ने भएपछि शेरबहादुर देउवाको काम नभएको भनेर अन्तर्वार्तामा समेत बोलेका थिए । देउवाले टिकट दिएका सुजताले मोरङ २ मा ३१ हजार ९४० मत प्राप्त गरेकी थिइन । उनले गठबन्धनको तर्फबाट उम्मेदवार बन्दा समेत हार बेहोरेकी थिइन । उनी पार्टीमा लामो समयसम्म सभापति रहेका स्व. गिरिजाप्रसाद कोइरालाकी छोरी हुन् । यो पटक उनै कोइरालाले हार बेहोरेकी क्षेत्रमा रिजाल छन् । उनी पार्टीभित्र विद्वान र सक्षम नेताको रूपमा चिनिन्छन् । त्यसैले पनि विशेष महाधिवेशन पक्षधरले उनलाई टिकट प्रदान गरेको हो । २०७४ को निर्वाचनमा रिजालले ३५ हजार ८१९ मत प्राप्त गरी विजयी भएका थिए । नेकपा एमालेका ऋषिकेश पोखरेलले ३४ हजार १४ मत प्राप्त गरेका थिए । यो पटकको निर्वाचनमा उनले व्यक्तिगत रुपमा एजेण्डा बोकेका छैनन् । पार्टीले पनि एजेण्डा सार्वजनिक नगरिसकेको अवस्थामा यतिखेर मतदाताको घरदैलोमा पुगिरहेका छन् । पार्टीमा उनलाई बौद्धिक तथा अध्ययनशील नेताको रूपमा मानिन्छ । उनी सञ्चार तथा सूचना प्रविधिमन्त्री र रक्षामन्त्रीसमेत भइसकेका छन् ।  फरक दलका कार्यकर्ताले पनि रिजालको उम्मेदवारीलाई सकारात्मक रूपमा लिएका छन् । मोरङको २ नम्बर क्षेत्र मध्य पुर्वी भागमा रहेको छ । तर यो पटक उनलाई पुराना दलका उम्मेदवारको भन्दा नयाँ दलको उम्मेदवारबाट त्रास छ ।  गत निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ठगेन्द्रप्रसाद न्यौपानेले ४९८७ मत प्राप्त गरेका थिए । देशभरै परिवर्तनको आवाज उठिरहँदा यो पटक भने रिजाललाई नयाँको चुनौती थपिएको छ ।  दुई पटक मेयर, अब सांसद बन्ने रहर नेकपा एमालेले भने स्थानीयबासी तथा रंगेली नगरपालिकाका निवर्तमान मेयर दिलिपकुमार अग्रवाललाई उम्मेदवार बनाएको छ । अग्रवाल मेयरमा दुई पटक निर्वाचित भइसकेका उम्मेदवार हुन् । २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रबाट मेयरमा निर्वाचित अग्रवाल २०७९ मा एमालेबाट मेयरमा निर्वाचित भएका थिए । उनी स्थानीय तह निर्वाचनअघि एमाले प्रवेश गरेका थिए । अग्रवालले कांग्रेस उम्मेदवार मोदराज घिमिरेलाई पराजित गरेका थिए । अग्रवाल १२ हजार ८६१ मत प्राप्त गरी मेयरमा निर्वाचित भएका थिए । दुई–दुई पटक मेयर भएकाले पनि २ नम्बर क्षेत्रमा अग्रवालको प्रभाव रहेको मानिएकाले एमालेले उनलाई टिकट दियो । २ नम्बर क्षेत्रबाट गत निर्वाचनमा नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेल विजयी भएका थिए । उनले ३३ हजार १४८ मत प्राप्त गरी सुजाता कोइरालालाई हराएका थिए ।  एमालेका उम्मेदवार अग्रवाल मतदाताको घरदैलोमा मेयर भएर काम गरेको अनुभव सुनाउँदै र नियम कानुन बनाउन जाने भन्दै मत मागिरहेका छन् । संविधान संशोधन र स्थानीयस्तरको विकासका एजेण्डालाई बोकेको अग्रवालले बताए ।  यहाँका समस्याहरू संघीय संसद र प्रदेश सरकारलाई जानकारी गराउने एजेण्डा बोकेको अग्रवालले बताए । मेयर भएर यस क्षेत्रमा काम गरिसकेकाले मतदाताले काम गर्न सक्ने भएकाले आफूलाई विजयी गराउने उनको दाबी छ । ‘२ नम्बर क्षेत्रका लागि विकास गर्न पर्याप्त बजेट लगाउनलाई सरकारसँग पहल गर्नेछु,’ उनले भने,’ मेयर हुनुभन्दा सांसद बन्न धेरै गाह्रो छ । मेयर रहँदा काम गरिएको थियो तर संसद बनेपछि संविधान र जनताको विषयमा मात्र बोल्न पाइन्छ ।’  साना–ठूला सबै दलका उम्मेदवारलाई कमजोर सम्झन नहुने अग्रवालको भनाइ छ । ‘मेयर हुँदा कार्यकारी भएर बस्यो अब भने ऐन बनाउने लाग्नेछु,’ उनले भने । परिवर्तनको नारा बन्दै चुनौती  यो पटक मुलुकभर ठूला दलका उम्मेदवारलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चुनौती बनिरहेको छ । किनभने मतदाताले परिवर्तन खोजेको आवाज बुलन्द बनाइरहँदा त्यसको माध्यम रास्वपालाई ठानिएको छ । गत प्रतिनिधि सभाको निर्वाचनमा रास्वपाका उम्मेदवार ठगेन्द्रप्रसाद न्यौपानेले ४ हजार ९८७ मत प्राप्त गरेका थिए । यस निर्वाचनमा भने रास्वपाले थप मत बढाउने विश्वास गरिएको छ । रास्वपाले २ नम्बर क्षेत्रमा कृष्ण कुमार कार्कीलाई उठाएको छ । उनी स्थानीय भएकाले पनि स्थानीय समस्या बुझेको उनको दाबी छ । पार्टीको एजेण्डा बोकेर मतदाताको घरमा पुगिरहेको कार्कीले बताए । यद्यपि पार्टीले एजेण्डा अगाडि नसारे पनि कार्की भने पार्टीले अगाडि सारेको सुशासन, भ्रष्टाचारको न्यूनीकरणसहित देश तथा समाज निर्माण पहल गर्ने बताए । सबैभन्दा बढी स्थानीय क्षेत्रको समस्यालाई बोकेर संघीय संसद र सरकारमा जाने उनको भनाइ छ । शिक्षा र स्वास्थ्यलाई सबै नागरिकको पहुँचमा सहजै पुर्‍याउने एजेण्डा लिएको कार्कीले सुनाए । उम्मेदवार को-को छन् ? यस निर्वाचन क्षेत्रमा मुख्यगरी कांग्रेस, एमाले र रास्वपाबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ । यस क्षेत्रमा राष्ट्रिय ऊर्जाशील पार्टीबाट मनोज राजवंशी उम्मेदवार बनेका छन् भने मंगोल नेशनल अर्गनाइजेसनबाट धनबहादुर लिम्बू, जनमत पार्टीबाट घनश्याम चौधरी, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट माधवप्रसाद राजवंशी उम्मेदवार छन् । यस्तै, जनता समाजवादी पार्टी, नेपालबाट विनोदकुमार सिंह गनगाईं, राष्ट्रिय परिवर्तन पार्टीबाट धनबहादुर सुनुवार, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट मेघेन्द्रकुमार रोक्का, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कन्सराज राजवंशी, श्रम संस्कृति पार्टीबाट अबुहो रैरह उम्मेदवार छन् । नरेशकुमार साह, अनिलकुमार साह र बुधु रिषिदेव स्वतन्त्र उम्मेदवार छन् । निर्वाचन आयोगका अनुसार मोरङ-२ मा १ लाख २९ हजार १८४ मतदाता रहेका छन् । महिला मतदाता ६१ हजार ५९०, पुरुष ६७ हजार ५९३ र अन्य १ जना छन् । मतदान स्थल ६८ र मतदान केन्द्र १५४ वटा रहेको छ । कानेपोखरी गाउँपालिकाका १, २, ३, पथरीशनिश्चरे नगरपालिकाका ५ र ६, रंगेली नगरपालिकाका १, २, ३, ८ र ९ वडा, रतुवामाई नगरपालिका र सुनवर्षी नगरपालिकाका १० वटै र सुनवर्षी नगरपालिकाका ९ वटै वडा यस क्षेत्रमा पर्छन् ।