प्रहरी हेडक्वाटरदेखि मेटासम्म सक्रिय हुँदा शान्तिपूर्ण बन्यो निर्वाचन
काठमाडौं । प्रतिनिध सभा २०८२ को निर्वाचन सम्पन्न भइसकेको छ । फागुन २१ गते भएको निर्वाचन समग्रमा शान्तिपूर्ण रुपमा भयो । यस पटकको निर्वाचनमा सरकारी निकायले सामाजिक सञ्जाललाई अवसर र चुनौतीको रुपमा लिए । धेरै राजनीतिक दल तथा उम्मेदवारहरू सामाजिक सञ्जालकै कारण उदाएका छन् । राजनीतिक दल तथा उम्मेदवारले आफ्नो बारेमा निर्वाचनको प्रचारप्रसार सामाजिक सञ्जालबाट गरेका थिए । सामाजिक सञ्जाल मार्फत उम्मेदवारको एजेण्डाहरू भिडियोबाट प्रसारित भएका थिए । तर, उम्मेदवारविरुद्ध गालीगलौज तथा भ्रामक सूचनाहरू पनि सामाजिक सञ्जालबाट नै बाहिर आएका थिए । कतिपय उम्मेदवार सामाजिक सञ्जालमा चर्चित भएकाहरू निर्वाचितसमेत भएका छन् । त्यसैले पनि होला निर्वाचन आयोग र नेपाल प्रहरीले सबैभन्दा बढी ध्यान सामाजिक सञ्जाललाई दियो । निर्वाचन बिथोल्न खोज्ने समूहहरू र निर्वाचन हुनुपर्छ भन्ने दुवै समूहहरू सामाजिक सञ्जालमा सक्रिए देखिन्थे । निर्वाचन बिथोल्ने गतिविधि गर्नेलाई प्रहरीले नियन्त्रणमा पनि लिएको थियो । सामाजिक सञ्जालमा समाज भड्काउ तथा निर्वाचन बिथोलिने खालका अभिव्यक्ति दिने व्यक्तिलाई प्रहरीले पक्राउ ग¥यो । निर्वाचन आयोगले र प्रहरीले सबैभन्दा बढी चुनौतीको रुपमा सामाजिक सञ्जालाई ठानेको थियो । किनभने निर्वाध रुपमा मानिसले खुलेर आ-आफ्ना दल तथा मनपरेको उम्मेदवारको पक्षमा समर्थन गरिरहेका थिए । राजनीतिक दलका उम्मदेवारप्रति सामाजिक सञ्जालमार्फत समर्थन र विरोध भएका थिए । सोही अनुसार प्रहरीले पनि सामाजिक सञ्जालमा हुने गतिविधिलाई पूर्ण रुपमा कडाइको साथ निगरानी गरेको थियो । त्यसैले पनि शान्तिपूर्ण निर्वाचन सम्पन्न भयो । धेरैले अहिले भएको निर्वाचन इतिहासमै शान्तिपूर्ण भएको भनेर चर्चासमेत गर्न थालेका छन् । निर्वाचनको मौन अवधि सुरु भएपछि सामाजिक सञ्जाल कसरी संयमित भयो ? यी र यस्तै–यस्तै कुराहरू बुझ्न विकासन्युजले प्रहरीका विभिन्न निकाय तथा निर्वाचन आयोगलाई सम्पर्क गरेको थियो । प्रहरी प्रधान कार्यालयमै एआई एडभान्स एनालाइटिक्स सेल स्थापना गरेर निर्वाचन अवधिभर सामाजिक सञ्जाललाई सबैभन्दा बढी निगरानी गरिएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता अबिनारायण काफ्लेले बताए । ‘साइबर ब्यूरो लगायत प्रहरीका साइबर युनिटलाई पूर्ण रुपमा परिचालन गरिएको थियो,’ उनले भने,’ साइबर ब्यूरोमा २ वटा डेस्क खडा खरिएको थियो । सामाजिक सञ्जालबाट भ्रामक घृणा फैलाउने, निर्वाचन विरोधी गतिविधि गर्ने तथा निर्वाचन आचारसंहिता उल्लंघन गर्ने सबैलाई पूर्ण रुपमा निगरानी गरिएको थियो ।’ उनका अनुसार केन्द्रीय प्रहरी कार्यालय, प्रदेश, जिल्ला र उपत्यकामा निर्वाचन सेल बनाएर सामाजिक सञ्जालको निगरानी गरिएको काफ्लेको भनाइ छ । केन्द्रबाट निर्वाचनको अन्तिम समयसम्म नियमित रुपमा सामाजिक सञ्जालको निगरानी गरिएको उनले खुलाए । काफ्लेका अनुसार प्रहरी प्रधान कार्यालयमा ५ वटा डेस्क खडा गरिएको थियो । प्रहरी उपरीक्षकको नेतृत्वमा निर्वाचन सेलले काम गरेको थियो । सामाजिक सञ्जालबाट अनावश्यक सूचना प्रवाह हुन नदिने । निर्वाचनलाई लक्षित कुनै पनि गतिविधि गरिएको सामाजिक सञ्जालमा देखिएमा कारबाही गर्ने र उक्त पोष्ट हटाउन अनुरोध सम्म गरिएको थियो । सामाजिक सञ्जाल निगरानी गर्न दरबन्दी थप्दै निकट भविष्यमा प्रहरीले एआई एडभान्स एनालाइटिक सेललाई प्रदेशमा दरबन्दी थप्ने गरेर तयारी भइरहेको काफ्लेले जानकारी दिए । उनले आवश्यक नीति बनाएर सामाजिक सञ्जालबाट समाजलाई दिग्भ्रमित पार्ने गतिविधिलाई रोक्न प्रहरीको यो कदमले सहयोग पुग्ने बताए । सामाजिक सञ्जाललाई निगरानी गर्न प्रविधियुक्त डिभाइस राखिने काफ्लेले बताए । ‘सामाजिक सञ्जालबाट के-कस्ता गतिविधि हुन लागेको छ । ठूला-ठूला गतिविधि सामाजिक सञ्जालबाट हुने र प्रयोगकर्ताले धारणा लिने र अवाञ्छित गतिविध हुन नदिने तथा मुलुकभित्र भौतिक तथा मानवीय क्षति हुन नदिन यस्ता प्रविधिले जानकारी दिने र सुरक्षा रणनीति बनाएर अगाडि बढ्न सजिलो हुन्छ,’ उनले भने । नेपालमा निर्वाचन गतिविधि भएकाले त्यसको विरुद्ध हुने गतिविधिलाई हटाइदिन भनेर मेटालाई अनुरोधसम्म गरिएको काफ्लेले बताए । माघको तेस्रो सातादेखि प्रहरीले सामाजिक सञ्जाललाई पूंर्ण रुपमा निगरानी गरेको थियो । निर्वाचन आयोगमा डिएसपीको नेतृत्वमा निर्वाचन सेल खडा गरिएको थियो । प्रहरीले डिप फेक र निर्वाचन आचारसंहिता विपरीतका कन्टेन्ट हेर्ने र हटाउने समेत काम गरेको थियो । सामाजिक सञ्जाललाई निरन्तर रुपमा निगरानीमा राखेर निर्वाचन विरुद्ध कुनै पनि पोष्टलाई सामाजिक सञ्जालमा राख्न दिएको थिएन । ‘निर्वाचन अथवा युवा लक्षित प्रहरीले पोष्ट पनि सार्वजनिक गरेको थियो,’ प्रवक्ता काफ्लेले भने,’ प्रेम दिवसमा भनौँ अन्य दिनमा नेपाली युवाहरूलाई सामाजिक सञ्जालबाट अवाञ्छित गतिविधि नगर्न र पासवर्ड नसाट्न भनेर सचेतनामूलक पोष्ट गरेका थियौं ।’ उनका अनुसार प्रहरीले निर्वाचन विरोधी गतिविधि गर्ने व्यक्तिहरूलाई समयमै पहिचान गरी कानूनी कारबाही तथा नियन्त्रणमा समेत लिएको थियो । निर्वाचनमा प्रहरीले सोसल मिडियालाई अवसर र चुनौती दुवैको रुपमा लिएको उनले बताए । प्रहरीलाई नागरिकसमक्ष सूचना पु¥याउन धेरै सहज भएको छ । तर यही माध्यमको कारण समाजमा गलत सूचना तथा भ्रामक समाचार फैलने उत्तिकै जोखिम रहेको उनको भनाइ छ । निर्वाचन सुरक्षा व्यवस्थापन प्रभावकारी कार्यान्वयन, निर्वाचन आयोगसँग निरन्तर समन्वय र सहकार्य गरेर सुरक्षा व्यवस्था थप व्यवस्थित बनाइएको थियो । टिकटकका कन्टेन्ट पनि हटाइयो निर्वाचन विरोधी कन्टेन्ट टिकटकमा देखिएमा हटाउने काममा साइबर ब्यूरो सक्रिय भएर लागेको ब्यूरोका प्रवक्ता दीपकराज अवस्थीले बताए । ‘मौन अवधि सुरु भएपछि टिकटकले त्यस्ता कन्टेन्ट हटाउने गरेको थियो,’ उनले भने,’ युजर डिटेल उपलब्ध गराउनेदेखि टिकटक प्रयोगकर्ताले हालेका कन्टेन्ट हटाउन ठूलो सहयोग ग¥यो ।’ नेपालमा टिकटक सूचीकृत भएकाले पनि धेरै सहज भएको उनको भनाइ छ । अन्य सामाजिक सञ्जाल सूचीकृत नहुँदा भने कतिपय कन्टेन्ट हटाउन समय लागेको र युजर डिटेल ढिला पाइएको उनले जानकारी दिए । नेपालको जिल्ला अदालतले विदेशस्थित रहेका अदालतले युजरको डिटेल पठाउन माग गर्ने गरेको उनले बताए । अदालती प्रक्रियाको झन्झटले युजर पत्ता लगाउन र कन्टेन्ट हटाउन केही समस्या आउने गरेको उनले सुनाए । अदालतले चिठ्ठी पठाउने व्यवस्था गरेमा टिकटक जस्ता सोसल मिडिया कम्पनीले युजर पत्ता लगाउने तथा कन्टेन्ट हटाउन अझ सहज हुने उनले धारणा व्यक्त गरे । ‘साइबर ब्यूरोले सोसल इन्जिनियरिङको काम गरेको थियो । निर्वाचन आयोग र प्रेस काउन्सिलबाटसमेत पत्र आएको थियो,’ अवस्थीले भने । सोसल मिडियाको महत्व निर्वाचन जस्तो संवेदनशील विषयलाई लिएर सबैजना गम्भीर बनेकाले पनि मौन अवधिभरमा सामाजिक सञ्जालमा मानिसहरू सभ्य बन्न सकेको निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले बताएका छन् । सोसल मिडिया युजरहरू गम्भीर, जिम्मेवार तथा सभ्य बन्दा केही घटनाबाहेक निर्वाचनको वातावरण राम्रो बनेको उनको भनाइ छ । यो निर्वाचनले सामाजिक सञ्जाललाई अवसर र चुनौतीको रुपमा बुझाउन सफल भएको उनले बताए । सोसल मिडिया आफैँमा नराम्रो नभएको तर प्रयोगकर्ताहरू सचेत हुनुपर्ने अवस्था आएको उनको भनाइ छ । ‘राजनीतिक दल र उम्मेदवारले पनि यसपालिको निर्वाचनमा सामाजिक सञ्जालको महत्त्व बुझेको हुन सक्छन्,’ उनले भने,’ मतदाता शिक्षाको कार्यक्रम भए पनि सामाजिक सञ्जालबाट भएको कार्यक्रम प्रभावकारी देखिन्थ्यो ।’ उनका अनुसार सोसल मिडियाहरू आयोगसमक्ष सम्पर्क आए । उनीहरूलाई अवसर र चुनौती दुवैको बारेमा बुझाएको उनले बताए । ‘यहाँ आएकालाई टक्सिक इन्फर्मेसन निर्वाचनका लागि थ्रेट हुन्छ भन्यौं,’ उनले अगाडि भने । आयोगले निरन्तर नेपाल प्रहरी, नेपाली सेना र प्रेस काउन्सिलसँग समन्वय र सहकार्य गर्दै गएको उनले बताए । सोसल मिडिया प्रयोगकर्ताहरू सबैभन्दा बढी जिम्मेवार बनेको उनको बुझाइ छ । सोसल मिडियामा के-के कुराहरू समस्या हुन्, त्यसको पहिचान गरिएको भट्टराईले बताए । ‘एआईबाट निर्मित सूचना र डिप फेक इन्फर्मेसनको पहिचान सबैभन्दा चुनौती बनेको थियो । तर, त्यस्ता सूचनाहरूको पहुँचमा पनि सहजै पुगेकाले धेरै सहज भएकाले निर्वाचनको शान्तिपूर्ण वातावरणमा छ,’ उनले भने ।
भोट खसाल्न गाउँ नगएकाहरू
काठमाडौं । तनहुँका धनबहादुर मगर काठमाडौंमा रेष्टुरेण्ट व्यवसाय गर्छन् । एक दशक बढीदेखि लाजिम्पाटमा आफ्नो व्यवसाय गरिरहेका मगरलाई फागुन २१ गते हुने निर्वाचनले खासै उत्साह जगाएन । उनी यस पटक मतदान गर्नका लागि गाउँ गएनन् । ‘आफ्नो काम गर्नैपर्यो, काम नगरे खान पाइँदैन । जान आउन पनि अलिक समय लाग्ने भएकाले निर्वाचनमा सहभागी जनाउन सकिएन,’ मगरले भने । निर्वाचनपछि बन्ने नयाँ सरकारबाट सबैले गरिखान पाउनुपर्छ भन्ने माग रहको मगरले सुनाए । युवाहरूले काम गर्नकै लागि विदेश जान नपरोस् भन्ने चाहना रहेको उनले सुनाए । धनबहादुर मगर ‘दुई छाक खानका लागि नेपालीहरुको विदेश जानुपर्ने बाध्यता नयाँ सरकारले रोक्नुपर्छ,’ उनले भने, ‘निर्वाचनमा सहभागी नभए पनि सरकारले गरेको गलत कामको निरन्तर खबरदारी गर्नेछु । सरकार पारदर्शी र जवाफदेही हुनुपर्छ ।’ ५७ वर्षीय बाबु तामाङ २२ वर्षदेखि रिक्सा चलाएर जीवन गुजारिरहेका छन् । दोलखा घर भएका उनलाई पनि चुनाव लागेको छैन । उनी जीवन चलाउन रिक्साका पाङ्ग्रासँग पौठेजोरी खेल्दै ठमेलमा फन्को मारिरहेका छन् । मजदुरी गरेर जीवन चलाउनु परेकाले मत हाल्न जान नपाएको तामाङको भनाइ छ । पैसा खर्च अभावकै कारण मत हाल्न जान नपाएको उनले गुनासो पोखे । ‘गाडीमा लैजाने मानिस भए जान्थें तर अब जाँदिनँ होला,’ उनले भने । नयाँ बन्ने सरकारले केही गर्ला जस्तो आशा नलागेको उनी बताउँछन् । काम गरेर खानेलाई जुनसुकै सरकार आए पनि खासै महत्त्व नहुने उनको गुनासो छ । भाडाको रिक्सा कुदाउनेलाई निर्वाचन आए गएको केही मतलब नहुने उनको भनाइ छ । बाबु तामाङ ‘रिक्साको दैनिक १५० रुपैयाँ भाडा बुझाउनु पर्छ,’ उनले भने, ‘रिक्सा चलाएर जीवन बाँच्ने मानिसलाई जुनसुकै सरकार आए पनि मतलब हुँदैन । ठमेलको चोक–चोकमा रिक्सा पार्किङ गर्न दिए हुन्थ्यो भन्ने लाग्छ । यहाँ यसरी बस्न दिइँदैन, एकछिन बसेमा पुलिस आएर हटाइहाल्छन् ।’ बुधबार ठमेलमै पुग्दा रौतहटका ३३ वर्षीय शेखी इब्रान पुरानो घर भत्काउन व्यस्त थिए । उनको रौतहट २ नम्बर क्षेत्रमा मतदाता नामावली छ । उनले मजदुरी गरेर काठमाडौंका गल्लीमा बालुवा र इँटा बोकेको २२ वर्ष भयो । भोट हाल्न जानका लागि खर्च नभएको घर नगएको उनले सुनाए । मजदुरी गरेर खानेका लागि भोटले नछोएको र खासै उत्साह पनि नपलाएको उनको भनाइ छ । ‘भोट हाल्न जाउँ–जाउँ पनि लागेको छैन,’ उनले भने,’ भोट हाले पनि नहाले पनि मेरो लागि खासै प्रभाव पर्दैन ।’ शेखी इब्रान नयाँ बन्ने सरकारले राम्रो स्कुल बनाओस् र बिरामीले अस्पतालमा सहजै उपचार पाओस् भन्ने लागेको इब्रान बताउँछन् । ‘देशमै काम गरेर खाने वातावरण बनाइदियोस्,’ उनले अगाडि थपे,’ सरकारले मजदुरको पारिश्रमिक बढाइदियोस् । हरेक कामको सम्मान हुनुपर्ने संस्कृति बनोस् ।’ अछाम घर भएका ३५ वर्षीय पदम कुमार केसी पनि मतदान गर्न घर गएनन् । उनी अछाम भौगोलिक रुपमा टाढा भएकाले मत हाल्न जान नसकिएको बताउँछन् । ‘हस्पिटालिटी क्षेत्रमा काम गरिएको छ । बिदा मिलेन, त्यसैले पनि यो पटकको निर्वाचनमा जान सकिएन,’ केसीले भने, ‘निर्वाचन जस्तो उत्सवमा जान नपाउँदा दुःख लागेको छ । किनभने यो निर्वाचनमा निर्वाचित सांसदले हाम्रो दैनिकी चलाउन नीति बनाउँछन् ।’ पदम कुमार केसी आगामी सरकारले हस्पिटालिटी क्षेत्रमा पाइने सेवा सुविधा वृद्धि गरोस् भन्ने उनको माग छ । काम गरिखानेको सेवा सुविधा नयाँ सरकारले कटौती नगरोस् र पुराना सरकारले लागु गर्दै आएको सेवा सुविधा लागु गरोस् भन्ने माग उनको छ । जुम्लाकी २८ वर्षीय माया बोहरा न्युरोडमा राष्ट्रिय झण्डा बिक्री गर्दै हिँड्छिन् । उनले भोट भन्दा पनि झण्डा बिक्री हुन नसकेको चिन्ता व्यक्त गरिन् । भोट हाल्ने जाने समय भन्दा काठमाडौंमा झण्डा बिक्री गरेर बस्ने उनले सुनाइन्। ‘जुम्ला टाढा भएकै कारण मत हाल्न गइनँ, जाने–आउने समयमा काठमाडौंमा झण्डा बिक्री गरेर बस्छु,’ उनले भनिन्, ‘काठमाडौंमा संघर्ष गर्न आएकी हुँ । यतै संघर्ष गरेर बस्छु । मत हाल्नका लागि भनेर संघर्ष गर्दिनँ ।’ उनले काठमाडौंबाट गाउँतिर भोट हाल्न गएर होला झण्डा पनि कोही किन्न नआएको दुःखेसो पोखिन् । ‘आज त एउटा पनि भण्डा बिक्री भएको छैन । नयाँ सरकारले राम्रो कानुन ल्याएर काम गरिखाने वातावरण बनाइदिए हुन्थ्यो,’ बोहराले झण्डा मिलाउँदै भनिन् । माया बोहरा फागुन २१ गते अर्थात् भोलि देशभर प्रतिनिधि सभाको निर्वाचन हुँदैछ । निर्वाचनका लागि भनेर ८ लाख बढी मानिसले काठमाडौं छोडिसकेका छन् । विभिन्न पेशा व्यवसायमा रहेका मानिसहरू आ–आफ्नो मतदाता नामावली रहेको ठाउँमा पुगिसकेका छन् । तर, कतिपय मतदातालाई भने चुनावले नछोएको देखिएको छ । विभिन्न पेसा, व्यवसाय वा अध्ययन गरेर काठमाडौंमा बस्नेको संख्या पनि ठूलै छ । केही जीवन धान्न यहाँ बसेका छन त कोही भने सन्तानको शिक्षाका लागि पनि बसोबास गरेको पाइएको छ ।
भ्रष्टाचार र आसेपासे शासनको विरोध
काठमाडौं । यूट्यूबमा अहिलेसम्म सबैभन्दा बढी हेरिएको नेपाली फिल्म हो, छक्कापञ्जा ३ । हाइलाइट्स नेपालको यूट्यूब च्यानलमा रहेको यो फिल्म ३ करोड ७० लाखले हेरेका छन् । यस फिल्ममा रहेको चर्चित गीत ‘पहिलो नम्बरमा...’ ६ करोड ४० पटक हेरिएको छ । फिल्मभन्दा फिल्मको गीतको भ्यू झण्डै दोब्बर छ । सबै फिल्ममा यस्तो हुन्न । ‘झरीपछिको इन्द्रेणी’ फिल्ममा रहेको चर्चित गीत ‘फसायो लमीले’ ओएसआर डिजिटलको यूट्यूब च्यानलमा सार्वजनिक भएको २ महिनामा २ लाख भ्यू छ । उक्त फिल्म पूर्वमेयर बालेन्द्र शाह (बालेन)को यूट्युबबाट सार्वजनिक भएको १२ दिनमा ३१ लाखले हेरेका छन् । छोटो अवधिमा गीतभन्दा फिल्म १५ गुणा बढीले हेरेका छन् । जबकि बालेनको च्यानलमा १० लाखभन्दा कम सब्स्क्राइबर छन् भने ओएसआरको सब्स्क्राइबर १ करोड भन्दा बढी छन् । चलचित्र हलमा नचले पनि यो फिल्मले यूट्यूबमा राम्रै भ्यू पाइरहेको छ । झरीपछिको इन्द्रेणी अर्जुन घिमिरे अर्थात पाँडे बुढाको निर्देशनमा निर्माण भएको चलचित्र हो । उनी बालेनको निर्वाचन प्रसारप्रसारमा हिँडिरहेका छन् । अर्जुनको आफ्नै च्यानलमा पनि १० दिनअघि यो फिल्म राखिएको छ, जसमा जम्मा ५ हजारले मात्र हेरेका छन् । फेसबुकमा जस्तै बालेनको यूट्युब पनि धेरै मानिसले हेर्ने गरेको देखिन्छ । फिल्ममा रहेको उनको गीत बालेनकै च्यानलबाट ७१ लाख बढीले हेरेका छन् । बालेनको स्वरमा एउटा गीतबाहेक पुरै फिल्ममा उनको भूमिका देखिँदैन । तर, फिल्ममा जसरी सामाजिक र राजनीतिक विषय समेटिएका छन्, त्यसलाई नियाल्दा यस फिल्ममा बालेनले आफ्नो राजनीतिक चेत र चाहना अभिव्यक्त गरेको विश्लेषण गर्न सकिन्छ । फिल्मको सुरुवातीमै काठमाडौं महागनरपालिकाको ब्रुमरले सफा गर्दै गरेको रोड देखाइएको छ । मठ–मन्दिर तथा नेवारी संस्कृति झल्कने मानिसहरूले लगाएका लुगादेखि गीत गाइरहेको दृश्य देखाइन्छ । केही क्षणमा कान्तिपुरी महानगरपालिकाभित्र स्थानीयलाई शारीरिक अभ्यास गर्ने ठाउँ देखाइन्छ । जहाँ मुख्य भूमिकामा देखा पर्छन् कलाकार गणेश उप्रेती । उनको भूमिका वडा कार्यालयको सचिवमा छ । गणेशप्रसाद शर्माको नामले एक सच्चा इमान्दार कर्मचारीको रूपमा देखाइएको छ । उनले सामान्य जीवनशैली तथा असल कर्मचारी भएर आफ्नो भूमिका निभाउँछन् । शर्माको घरमा दुई छोरा छन् । आर्थिक,सामाजिक, खराब कर्मचारीतन्त्र, राजनीति विकृत र सांस्कृतिक सबै पक्षलाई समेटिएको छ । सम्पन्न भएपछि विपन्नलाई गरिने व्यवहार पनि देखाइएको छ । सामाजिक विसङ्गतिविरूद्ध आवाज उठाएको छ । इमान्दार र मिहिनेती कर्मचारीको प्रतिनिधित्व उनले गर्छन् । जसले सहरमा सामान्य जीवनशैली बिताउने मध्यमवर्गीय परिवारको प्रतिनिधित्व गरेका छन् । एउटा असल अभिभावकले आफ्नो परिवारको लागि निभाउने भूमिका वडासचिवमार्फत देखाइएको छ । सामान्य कमाइ हुनेले सहरी क्षेत्रमा कति धेरै संघर्ष गर्नुपर्छ यस फिल्मले उजागर गरेको छ । शर्माको जेठो छोरा शोहनले भर्खरै प्लस टु पास गरेका हुन्छन् । उनले प्लस टु पास गरेपछि उच्च शिक्षाका लागि विदेश जाने मनसाय बनाउँछन् । अभिभावक तथा मुख्य भूमिकामा रहेका उप्रेतीले छोरालाई ‘युवाहरू भनेको देशका मेरुदण्ड हुन् । सबै बाहिरिए भने देशमा को बाँकी रहला,’ भनेर सम्झाउँछन् । उनी छोरामार्फत युवाहरूलाई सम्झाउन चाहन्थे । अहिलेको नेपाली समाजमा युवाहरूले देश छोड्ने ट्रेण्ड चलेकाले ती युवाहरूलाई संकेत गरिरहेको छ । युवाहरूले देश छोड्न हुँदैन । युवाहरूले जिम्मेवारी लिएर मुलुकको काँचुली फेर्दैछ भन्ने वाक्यले अबको नेपालमा शासकीय जिम्मेवारीमा युवा पुग्नुपर्छ । जसले गर्दा युवाको उर्जा मुलुक बनाउन खर्च गर्नुपर्नेमा उनले जोड दिएका छन् । युवाहरू भनेको भविष्यका कर्णधार हुन् । कुलतमा नपर्नु र असल संगत गरेमा असल मानिस बनिन्छ भनेर बारम्बार भनेर छोरालाई सम्झाउँछन् । नेपालमा प्लस टु सकेपछि युवाहरूले विदेशको सपना देख्छन् । प्लस टुको परीक्षा सकेर फुर्सदको समयमा कन्सल्टेन्सी धाउने युवाहरू हुन्छन् । अष्ट्रेलिया, युके, यूएसए, जापान वा क्यानडाको तयारीका लागि आइएलएस तथा टोफल गर्न थाल्छन् । परीक्षा सकेर बसेका युवाहरूले लोकसेवाको तयारी भन्दा विदेशको सपना देख्ने युवाहरू देखाइन्छ । इमान्दार कर्मचारीले घर व्यवहार कसरी चलाउँछन् । मासिक आम्दानीको भरमा सामान्य जीवन चलाउँछन् । आफूजस्तै अनुशासित बनेर मुलुकमै बसेर देश तथा समाजमै बसेर सन्तानले केही गरोस् भन्ने चाहना कर्मचारीले राखेको कलाकार उप्रेतीमार्फत देखाइन्छ । अहिलेका युवाहरूलाई विदेश जान साथी तथा आफन्तले प्रोत्साहित गरिरहेको देखाइन्छ । विदेश नगए जीवन सफल नभएको र घरमा तला थप्नका लागि भए पनि नेपाल छोड्नुपर्ने सामाजिक बाध्यता आइपरेको छ । फिल्मले पनि शोहनमार्फत विदेश जान मरिहत्ते गरिरहेको देखाएको छ । विदेश जान नपाए अभिभावकको अगाडि आन्दोलन गर्छन् । बाउछोराको बोलचाल बन्द हुन्छ । अहिलेक युवाहरू प्लस टु सकेपछि २०-२५ लाख तिरेमा सहजै अष्ट्रेलिया जाने सपना बुनेर बसेका छन् । शोहनको आमाले सम्झाउँछिन्,’ विदेशमा गएर मन्जन पठाउनु भन्दा त स्वेदेशमा बसेर मन्जन बेचेर धनी हुनुपर्छ।’ परिवारका सदस्यले दाई र दिदी विदेश गइदियोस् । यता नेपालमा भने आफन्तहरू विदेशी ब्राण्डको सामान चलाउन पाइयोस् भन्ने मानसिकता बोकेका हुन्छन् । सन्तानको मायाका बारेमा अभिभावकले सोच्न सक्दैनन् । अधिकांश अभिभावक बढ्दो उमेरका छोराछोरीले नछोडून् भन्ने चाहना राख्छन् । शर्मा पनि छोरालाई सम्झाउँदै भन्छन्, ‘भात पकाउन नजान्ने र ओछयान मिलाउन नसक्नेले विदेश जाने कुरा नगर । यहाँ सबै काम ममीले गर्नुपरेको छ ।’ युवाहरूको आत्मविश्वास बोलीमा मात्र सुनिन्छ । सोहनको आवाजमा बुबालाई जवाफमा जन्मिँदै कसैले जान्दैनन् । गरेर र परेपछि जानिन्छ ।’ हातमा चियाका कप बोकेर देश घुम्दै काम गर्न सकिन्छ । ‘लगन र इमान भएर गरेको काम महान हुन्छ,’ उप्रेतीले छोरालाई सम्झाउँदै भन्छन्,’ विदेश जानुभन्दा अगाडि काम गरेर वा काम सिक्नुपर्छ ।’ अर्कातिर कार्यालयमा सबै एकनासका कर्मचारी हुँदैनन् । फिल्ममा स्थानीय तहका विकृति तथा विसंगति पनि देखाइएको छ । वडाअध्यक्ष, पिउन तथा अन्य कर्मचारी मिलेर सेवाग्राहीको काम कसरी ढिलासुस्ती र भ्रष्टाचार गरिरहेका छन् । चलचित्र हेरेर थाहा पाउन सकिन्छ । वडा कार्यालय पिउनले चलाइरहेको देखाइन्छ । अहिले पनि कतिपय स्थानीय तहमा गयो भने चलचित्रको दृश्य जस्तै देख्न सकिन्छ । निर्देशक घिमिरे पिउनको भूमिकामा छन् । उनी भन्छन्, ‘यो राज्यसँग सकिन्न । मन्त्री फेरिएपिच्छे नियम फेरिन्छ ।’ नेपालको राजनीतिक अस्थिरतालाई सांकेतिक रुपमा देखाइएको छ । पिउनको भनाइले त्यहीँ बुझाउँछ । नयाँ मन्त्री आएपिच्छे नयाँ–नयाँ नियमले हैरानी बनाएको छ । पिउनले वडाअध्यक्ष, सचिव लगायत अन्य कर्मचारीको काम गरेर गरेर वडा चलाउँछन् । स्थानीय तहको अर्को विकृति देखाइन्छ । वडाबाट पाउने सेवा सुविधाहरू एउटै मानिसले विभिन्न शीर्षकमा सुविधा लिएको पनि देखाइन्छ । नातावाद र कृपावादले जकडिएको समाजमा चलचित्रको कथामा उक्त दृश्य पनि समेटिएको छ । वडामा सेवाग्राहीलाई विभिन्न बहाना बनाएर अलमल्याउने गरेको दृश्य पनि देखाइन्छ । महिनौंसम्म वडाबाट हुने कामलाई दर्ता तथा सिफारिसको काममा अल्झाएर घुस तथा कमिसन लिनका लागि कार्यालयका पिउन, वडाअध्यक्ष र अन्य कर्मचारी कसरी लाग्छन सहजै दृश्यमा देख्न सकिन्छ । अस्पताल सञ्चालकको भूमिका निर्मल शर्मा देखिन्छन् । उनी वडा कार्यालयमा सेवाग्राहीको रूपमा पुग्छन् । समयमा नक्सा नपाएको र घुस माग्ने बेथितिले हैरानी बनेका छन् । ‘देश र समाजका लागि दिने योगदान यहीँ हो तपाईंहरूको । स्वास्थ्य उपकरणमा मगायो भन्सारमा घुस, तला थप्न भन्यो वडामा घुस । देशको करप्टेड सिस्टम देखेर धैरे जना विदेश पलायन भए तर म देशमा बसेर सेवा गरिरहेको छु,’ डाक्टरको भूमिकामा रहेका शर्माले भन्छन् । स्थानीय जनप्रतिनिधिको एरियामा भौतिक संरचना बनाएमा विभिन्न समूह आएर आर्थिक सहयोग माग्ने चलन रहेको छ । त्यस्ता विकृतिको साक्षी डाक्टर बन्छन् । अध्यक्षको कार्यकर्ता भन्दै आर्थिक सहयोग माग्न पुगेको व्यथा उनले सुनाएको दृश्य देखिन्छ । जनतालाई भेडाका रूपमा तुलना गरिन्छ । विम्बात्मक रूपमा शब्द चयन गरिएको छ, ‘अलिअलि घाँस मागिहाल्छन् ब्यूरोक्रेसीसँग जोगिनु है ।’ सबैभन्दा बढी विकृतिको रुपमा कर्मचारीलाई देखाइएको छ । कर्माचारीलाई घुस खुवाइएन भने कुनै काम बन्दैन । हरेक सिफारिसमा कमिसन चाहिने दृश्यले सोही कुराको पुष्टि गर्छ । उनले अर्को दृश्यमा कर्मचारीलाई भन्छन्, ‘यो देशको अस्पतालमा बिरामी भन्दा वाद र तन्त्र जुधेको छ । घुस माग्नुभन्दा अस्पतालको रिपोर्ट हेर्नुहोस्, यति नगरी मेरो काममा सहयोग नगरी उल्टै अड्काइदिँदै हुनुहुन्छ । तपाईंहरूको दायित्व यही हो । आइन्दा यहाँ आउँदिन र तला थप्नु छैन ।’ अभिनेत्री दिपाश्री निरौलालाई घुस खाने कर्मचारीको श्रीमतीको रुपमा देखाइन्छ । उनले सहरिया महिलाको स्वभाव देखाउँछिन् । आफ्नै दिदीलाई पनि उनले अलिक हेपाहा शैलीमा व्यवहार गर्छिन् । गणेश उप्रेतीको श्रीमतीलाई दिदीको रूपमा देखाइन्छ । दिपाश्रीको घर भने आलिशान देखाइन्छ । सुविधायुक्त घर भएकाले दिदीका छोराहरू उनकोमा पुग्दा हरेक पटक नयाँ सामान फेरिएका देख्छन् । रमेश उप्रतीलाई मुख्य कर्मचारीको रुपमा देखाइन्छ । उनले भ्रष्ट कर्मचारीको भूमिकाको निभाएका छन् । समाजलाई सकारात्मक सन्देश दिने उनी कुनै पनि भूमिकामा छैनन् । ‘गलत काम गरेर कमाएको पैसा परिवारको लागि काम लागेन । राम्रो बाउ बन्ने हतारमा असल नागरिक बन्न सकिनँ,’ उनले भनेका छन्,’ अप्ठयारो पर्दा आफूले हेपेको मानिस काम लाग्ने रहेछ । आफू इमान्दार भएमा पैसा भन्दा व्यवहार काम लाग्दो रहेछ ।’ सम्पत्ति सकिएपछि सबथोक सकिने तर आफन्त नबदलिने भन्दै दिपाश्रीलाई दिदीले अप्ठयारो पर्दा सम्झाउँछिन्। फिल्मले सम्पत्ति हुँदा मात्र मानिस साथमा हुन्छन् । कलाकारको अभिनयले असल कर्मले मानिसको मन सधैँभरि जित्न सकिने सन्देश दिएको छ । समाजमा भ्रष्ट्राचार जस्तो जघन्य अपराध गर्नेलाई साथ दिन नहुने फिल्मले बताएको छ । अरूको कुरा नसुन्नु र गलत कुरा सुन्नु पनि महाभुल हुने देखाइएको छ । शोहनले फिल्ममा भावुक सन्देश छोड्छन् । ‘सन्तानले घर र अभिभावक चिन्न घर छोड्नै पर्ने रहेछ ।’ अभिभावकले छोराछोरीलाई अनुशासन राख्न विभिन्न नियम बनाएको फिल्मले देखाएको छ । फिल्मका अन्त्य २०८२ भदौ २३ र २४ को तयारीमा लगेर टुङ्याएको छ, जहाँ भ्रष्ट शासकविरुद्ध युवाहरू डिजिटल माध्यमबाट आन्दोलनको तयारीमा जुटेको देखाइएको छ । भ्रष्टाचार र आसेपासे शासन संस्कारको विरोधमा युवाहरू माइतीघर जुट्दै गर्दा फिल्मको अन्त्य गरिएको छ । फिल्ममा युवापुस्ता र बुढा पुस्ताको चाहना र बाध्यता स्पष्ट अभिव्यक्त भएको छ । राजनीतिक र प्रशासनिक द्वन्द्व र त्यसले समाजमा पारेको नकारात्मक असरलाई पनि राम्ररी चित्रण गरेको छ । देशप्रतिको माया, परिवारप्रतिको माया, समाजमा विकसित वर्गविभाजन, त्यसले निम्त्याएको द्वन्द्व, नेपालीमा भएको कोमल भावना र द्वन्द्वपछिको मिलनको प्रस्तुति सुपर नै छ । जसरी फिल्ममा परिवार र आफन्तबीच द्वन्द्वपछिको सुखद पुनर्मिलन देखाइएको छ, परिवारमा बसेर फिल्म हेर्दा त्यस्तै अनुभूति हुनेछ । फिल्ममा जस्तै परिवारमा द्वन्द्व, रुवाबासी र अंकमाल हुनेछ, यदि परिवार सँगै बसेर फिल्म हेर्ने हो भने ।
‘नयाँको नाराले’ले मोरङ-२ मा पूर्वमन्त्री र मेयरलाई चुनौती
काठमाडौं । देशका अन्य निर्वाचन क्षेत्रजस्तै मोरङ–२ मा पनि केही उम्मेदवारहरूबीच झिनो मतान्तरले प्रतिस्पर्धा र हारजित हुने अंक गणित देखिएको छ । सो क्षेत्रमा तीन जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने अहिलेसम्मको चुनावी माहोल र रणनीतिले देखाएको छ । नेपाली कांग्रेस र नेकपा एमालेको बढी मतदाता भएको यो क्षेत्रमा अहिले नयाँ र परिवर्तनको नाराले समीकरण फेरबदल गरिदिएको छ । नेपाली कांग्रेसबाट डा. मीनेन्द्र रिजाल उम्मेदवार बनेका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा डा. शेखर कोइराला समूहबाट महामन्त्री पदमा पराजित भएपछि रिजालले मन्त्री पदबाट राजीनामा दिए । रिजाल पार्टीको महामन्त्रीमा पराजित भएपछि केही समय मौन र गुमनाम बने । रिजाल केही समय पार्टीमा सक्रिय थिएनन् । उनी अध्ययन र आफ्नै कर्ममा व्यस्त थिए । तर, जब शेरबहादुर देउवाले रिजाललाई पार्टीको केन्द्रीय सदस्यमा मनोनित गरे त्यसपछि पार्टीको गतिविधिमा खुले । जिल्ला–जिल्ला दौडमा पुग्ने उनी कोइराला समूहमा बसे । पार्टीका जिल्ला, क्षेत्रीय तथा गुटगत भेलामा सक्रिय रुपमा डा. शेखर कोइराला समूहमा देखा पर्न थाले । पछिल्लो समय रिजाल कांग्रेसको नियमित महाधिवेशन हुनुपर्ने पक्षमा थिए । १५ औं महाधिवेशन समयमा नहुने देखिएपछि विशेष महाधिवेशनको माग बढ्यो । उनी पनि खुलेरै विशेष महाधिवेशन पक्षधरको विरोधमा थिए । निर्वाचन आयोगले विशेष पक्षधरलाई मान्यता दिएपछि उनी आयोग परिसरमा अन्य नेतासँगै विरोध गर्न पुगेका थिए । विशेष पक्षधरले मान्यता पाएपछि सभापति गगनकुमार थापाले हस्ताक्षर गरेको टिकट लिएर उनी जिल्ला पुगे । गत निर्वाचनमा भने उनलाई शेरबहादुर देउवाले टिकट दिएनन् । उनको बदलामा सुजाता कोइरालाले टिकट पाएकी थिइन् । शेरबहादुरको विरोधमा उत्रेका कारण पनि उनले गत निर्वाचनमा टिकट पाएका थिएनन् । उनी तत्कालीन अवस्थामा देउवा विरोधी खेमा उभिएका थिए । रिजाल देउवा क्याम्प छाडेर कोइराला समूहमा प्रवेश गरेपछि देउवाको चर्को आलोचक थिए । उनले १४ औं महाधिवेशनमा अब निकास दिन नसक्ने भएपछि शेरबहादुर देउवाको काम नभएको भनेर अन्तर्वार्तामा समेत बोलेका थिए । देउवाले टिकट दिएका सुजताले मोरङ २ मा ३१ हजार ९४० मत प्राप्त गरेकी थिइन । उनले गठबन्धनको तर्फबाट उम्मेदवार बन्दा समेत हार बेहोरेकी थिइन । उनी पार्टीमा लामो समयसम्म सभापति रहेका स्व. गिरिजाप्रसाद कोइरालाकी छोरी हुन् । यो पटक उनै कोइरालाले हार बेहोरेकी क्षेत्रमा रिजाल छन् । उनी पार्टीभित्र विद्वान र सक्षम नेताको रूपमा चिनिन्छन् । त्यसैले पनि विशेष महाधिवेशन पक्षधरले उनलाई टिकट प्रदान गरेको हो । २०७४ को निर्वाचनमा रिजालले ३५ हजार ८१९ मत प्राप्त गरी विजयी भएका थिए । नेकपा एमालेका ऋषिकेश पोखरेलले ३४ हजार १४ मत प्राप्त गरेका थिए । यो पटकको निर्वाचनमा उनले व्यक्तिगत रुपमा एजेण्डा बोकेका छैनन् । पार्टीले पनि एजेण्डा सार्वजनिक नगरिसकेको अवस्थामा यतिखेर मतदाताको घरदैलोमा पुगिरहेका छन् । पार्टीमा उनलाई बौद्धिक तथा अध्ययनशील नेताको रूपमा मानिन्छ । उनी सञ्चार तथा सूचना प्रविधिमन्त्री र रक्षामन्त्रीसमेत भइसकेका छन् । फरक दलका कार्यकर्ताले पनि रिजालको उम्मेदवारीलाई सकारात्मक रूपमा लिएका छन् । मोरङको २ नम्बर क्षेत्र मध्य पुर्वी भागमा रहेको छ । तर यो पटक उनलाई पुराना दलका उम्मेदवारको भन्दा नयाँ दलको उम्मेदवारबाट त्रास छ । गत निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ठगेन्द्रप्रसाद न्यौपानेले ४९८७ मत प्राप्त गरेका थिए । देशभरै परिवर्तनको आवाज उठिरहँदा यो पटक भने रिजाललाई नयाँको चुनौती थपिएको छ । दुई पटक मेयर, अब सांसद बन्ने रहर नेकपा एमालेले भने स्थानीयबासी तथा रंगेली नगरपालिकाका निवर्तमान मेयर दिलिपकुमार अग्रवाललाई उम्मेदवार बनाएको छ । अग्रवाल मेयरमा दुई पटक निर्वाचित भइसकेका उम्मेदवार हुन् । २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रबाट मेयरमा निर्वाचित अग्रवाल २०७९ मा एमालेबाट मेयरमा निर्वाचित भएका थिए । उनी स्थानीय तह निर्वाचनअघि एमाले प्रवेश गरेका थिए । अग्रवालले कांग्रेस उम्मेदवार मोदराज घिमिरेलाई पराजित गरेका थिए । अग्रवाल १२ हजार ८६१ मत प्राप्त गरी मेयरमा निर्वाचित भएका थिए । दुई–दुई पटक मेयर भएकाले पनि २ नम्बर क्षेत्रमा अग्रवालको प्रभाव रहेको मानिएकाले एमालेले उनलाई टिकट दियो । २ नम्बर क्षेत्रबाट गत निर्वाचनमा नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेल विजयी भएका थिए । उनले ३३ हजार १४८ मत प्राप्त गरी सुजाता कोइरालालाई हराएका थिए । एमालेका उम्मेदवार अग्रवाल मतदाताको घरदैलोमा मेयर भएर काम गरेको अनुभव सुनाउँदै र नियम कानुन बनाउन जाने भन्दै मत मागिरहेका छन् । संविधान संशोधन र स्थानीयस्तरको विकासका एजेण्डालाई बोकेको अग्रवालले बताए । यहाँका समस्याहरू संघीय संसद र प्रदेश सरकारलाई जानकारी गराउने एजेण्डा बोकेको अग्रवालले बताए । मेयर भएर यस क्षेत्रमा काम गरिसकेकाले मतदाताले काम गर्न सक्ने भएकाले आफूलाई विजयी गराउने उनको दाबी छ । ‘२ नम्बर क्षेत्रका लागि विकास गर्न पर्याप्त बजेट लगाउनलाई सरकारसँग पहल गर्नेछु,’ उनले भने,’ मेयर हुनुभन्दा सांसद बन्न धेरै गाह्रो छ । मेयर रहँदा काम गरिएको थियो तर संसद बनेपछि संविधान र जनताको विषयमा मात्र बोल्न पाइन्छ ।’ साना–ठूला सबै दलका उम्मेदवारलाई कमजोर सम्झन नहुने अग्रवालको भनाइ छ । ‘मेयर हुँदा कार्यकारी भएर बस्यो अब भने ऐन बनाउने लाग्नेछु,’ उनले भने । परिवर्तनको नारा बन्दै चुनौती यो पटक मुलुकभर ठूला दलका उम्मेदवारलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चुनौती बनिरहेको छ । किनभने मतदाताले परिवर्तन खोजेको आवाज बुलन्द बनाइरहँदा त्यसको माध्यम रास्वपालाई ठानिएको छ । गत प्रतिनिधि सभाको निर्वाचनमा रास्वपाका उम्मेदवार ठगेन्द्रप्रसाद न्यौपानेले ४ हजार ९८७ मत प्राप्त गरेका थिए । यस निर्वाचनमा भने रास्वपाले थप मत बढाउने विश्वास गरिएको छ । रास्वपाले २ नम्बर क्षेत्रमा कृष्ण कुमार कार्कीलाई उठाएको छ । उनी स्थानीय भएकाले पनि स्थानीय समस्या बुझेको उनको दाबी छ । पार्टीको एजेण्डा बोकेर मतदाताको घरमा पुगिरहेको कार्कीले बताए । यद्यपि पार्टीले एजेण्डा अगाडि नसारे पनि कार्की भने पार्टीले अगाडि सारेको सुशासन, भ्रष्टाचारको न्यूनीकरणसहित देश तथा समाज निर्माण पहल गर्ने बताए । सबैभन्दा बढी स्थानीय क्षेत्रको समस्यालाई बोकेर संघीय संसद र सरकारमा जाने उनको भनाइ छ । शिक्षा र स्वास्थ्यलाई सबै नागरिकको पहुँचमा सहजै पुर्याउने एजेण्डा लिएको कार्कीले सुनाए । उम्मेदवार को-को छन् ? यस निर्वाचन क्षेत्रमा मुख्यगरी कांग्रेस, एमाले र रास्वपाबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ । यस क्षेत्रमा राष्ट्रिय ऊर्जाशील पार्टीबाट मनोज राजवंशी उम्मेदवार बनेका छन् भने मंगोल नेशनल अर्गनाइजेसनबाट धनबहादुर लिम्बू, जनमत पार्टीबाट घनश्याम चौधरी, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट माधवप्रसाद राजवंशी उम्मेदवार छन् । यस्तै, जनता समाजवादी पार्टी, नेपालबाट विनोदकुमार सिंह गनगाईं, राष्ट्रिय परिवर्तन पार्टीबाट धनबहादुर सुनुवार, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट मेघेन्द्रकुमार रोक्का, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कन्सराज राजवंशी, श्रम संस्कृति पार्टीबाट अबुहो रैरह उम्मेदवार छन् । नरेशकुमार साह, अनिलकुमार साह र बुधु रिषिदेव स्वतन्त्र उम्मेदवार छन् । निर्वाचन आयोगका अनुसार मोरङ-२ मा १ लाख २९ हजार १८४ मतदाता रहेका छन् । महिला मतदाता ६१ हजार ५९०, पुरुष ६७ हजार ५९३ र अन्य १ जना छन् । मतदान स्थल ६८ र मतदान केन्द्र १५४ वटा रहेको छ । कानेपोखरी गाउँपालिकाका १, २, ३, पथरीशनिश्चरे नगरपालिकाका ५ र ६, रंगेली नगरपालिकाका १, २, ३, ८ र ९ वडा, रतुवामाई नगरपालिका र सुनवर्षी नगरपालिकाका १० वटै र सुनवर्षी नगरपालिकाका ९ वटै वडा यस क्षेत्रमा पर्छन् ।
चोरीको ‘इपिसेन्टर’ बन्दै काठमाडौं, जेनजी आन्दोलनपछि घर-घरमा पस्न थाले चोर
घटना १- गत मंसिर २४ गते सिनामंगलस्थित राज श्री फाइनान्सबाट करिब पौने १ बजे रातको समयमा १० लाख २३ हजार ५ सय रुपैयाँ चोरी भयो । मंसिरकै २६ गते सोह्रखुट्टेमा रहेको होटल लोटस ग्राण्डमा रहेको नेपाल होलिडे ट्रेक एण्ड ट्राभल्समा पनि चोरी भयो । घटनालगत्तै काठमाडौंका २ ठाउँमा चोरी गरेको आरोपमा नुवाकोट, बेलकोट नगरपालिका ९ का ठमेल बस्ने दीपक गजुरेललाई प्रहरीले २६ गते नै नियन्त्रणमा लियो । उनीविरुद्ध सहकारी चोरी, चोरी र लागुऔषध तथा अभद्र व्यवहार मुद्दा शीर्षकमा २२ वटा मुद्दा दर्ता भएको थियो । गजुरेल भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा फरार भएका कैदी थिए । घटना २- पुस १२ गते काठमाडौंको बालुवाटारमा रहेको स्टोर्म नेटवर्कमा चोरी भयो । त्यहाँबाट ४८ लाख ७२ हजार ६२० रुपैयाँ चोरी भएको थियो । सोही दिन इको भ्याली प्रालिबाट ८ लाख ५८ हजार ५४१ रुपैयाँ चोरी भयो । प्रहरीले खोजी गर्ने क्रममा दुर्गाबहादुर केसीलाई ६५ लाख १७ हजार १४० रुपैयाँसहित नियन्त्रणमा लियो । दाङ तुलसीपुर उपमहानगरपालिका ६ का उनलाई दाङ प्रहरीको समन्वयमा प्रहरीले पक्राउ गर्यो । घटना ३- पुस १ गते तारकेश्वर नगरपालिका–११ नेपालटारमा सुनिता बजगाईंको कोठाबाट दुई लाख ९१ हजार रुपैयाँ, तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा जयराम अधिकारीको घरबाट तीन लाख ७७ हजार रुपैयाँ भयो । काठमाडौं महानगरपालिका–१५ मा धर्मरत्न शाहीको कोठाबाट सुन तथा चाँदीका गरगहना र ल्यापटप एक थान गरी करिब सात लाख ४० हजार रुपैयाँ बराबरको चोरी भएको थियो । केही साताअघि काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा पनि चोरी भयो । उनको घरमा चोरी गर्नेका मुख्य योजनाकार नख्खु कारागारबाट फरार रहेका कैदी थिए । काठमाडौं-१६ बालाजुका ४२ वर्षीय विष्णुबहादुर राजवाहक यसअघि २४ जेठ २०७२ मा प्रहरी वृत्त कालिमाटी केही साधारण अपराधको कसुरमा र ८ असार २०७२ मा प्रहरी वृत्त महाराजगञ्जबाट चोरीको कसुरमा मुद्दा चलेको भेटिएको छ । उनी २४ भदौमा जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट फरार भएका थिए । नख्खु कारागारबाट भागेपछि उनी पाँचवटा चोरीमा संलग्न रहेको देखिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । काठमाडौंमा अत्यधिक मात्रामा चोरीको घटना बढेको प्रहरीको तथ्यांकले देखाएको छ । साउनदेखि पुससम्म मात्र काठमाडौंमा चोरी सम्बन्धी शीर्षकमा ४८४ मुद्दा दर्ता भएका छन् । प्रहरीले सोही अवधिमा मात्र ६८४ जनालाई पक्राउ गरिसकेको छ । डाका चोरीमा २५, साधारण चोरी ४०८, सवारी चोरी ४८ र चोरी उद्योगमा ३ वटा मुद्दा दर्ता भएको छ । डाका चोरीमा ४९, साधारण चोरी ५७०, सवारी चोरी ६२ र चोरी उद्योगमा ३ जना पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । काठमाडौं प्रहरी परिसरको तथ्यांक अनुसार बर्सेनि चोरीको घटना बढ्दै गएका छन् । पाँच आर्थिक वर्षमा मात्र जिल्ला प्रहरी परिसर काठमाडौंमा ३ हजार २८८ चोरी मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०७७/०७८ मा ४३२ मुद्दा दर्ता भएकोमा आर्थिक वर्ष २०७८/०७९ मा ४६०, २०७९/०८० मा ६५१, २०८०/०८१ मा ७९४ र २०८१/०८२ मा ९५१ वटा चोरीका मुद्दा दर्ता भएको थिए । पछिल्लो केही महिनायता काठमाडौं लगायत विभिन्न ठाउँमा चोरीको घटना बढ्दै गएका छन् । दिउँसो र रातको समयमा पारेर मानिसहरूका घर–घरमा चोरी भइरहेको प्रहरीले जानकारी दिएको छ । चोरी गर्नेको समूहहरूले हातहतियारसहित घर फोर्न जाने गरेका छन् । अझ बाटामा हिँडिरहेका मानिसलाई कुटपिट गरेर लुट्ने गरेका छन् । गन्तव्यमा गइरहेकाहरूलाई र आफ्नो व्यवसाय गरेर फर्केकालाई समेत मोटरसाइकलमा गएर लुटपाट गर्नेहरू सक्रिय भएका छन् । अझ विशेषगरी भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि काठमाडौं उपत्यकामा चोरीका घटना बढेका हुन् । कारागारबाट फरार भएका कैदीहरू चोरीमा संलग्न पाइएको प्रहरी अनुसन्धानबाट खुलेको परिसरका प्रवक्ता पवन कुमार भट्टराई बताउँछन् । पछिल्लो समय काठमाडौंमा चोरी घटना बढ्दा कारागारबाट भागेका कैदीबन्दीहरू रहेका छन् । विभिन्न समयमा चोरी जस्ता जघन्य अपराध गरेर कैद भुक्तान गरेर सामान्य जीवनमा फर्केकाहरू संलग्न छन् । कैद भुक्तान गरिसकेका तथा कारागार पुग्नुअघि पुराना काममा अभ्यस्त भइसकेकाहरू काठमाडौंमा चोरीको घटनामा संलग्न रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । सहरीकरण बढ्दा असामाजिक व्यवहार बढ्दै चोरी अपराधमा सजाय कम हुनाले मानिसहरू यस्ता गलत कर्ममा लाग्ने गरेको पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी बताउँछन् । पुराना अपराध कर्म गर्नेहरू चोरी कार्यमा संलग्न रहने गरेको उनको भनाइ छ । ‘सजाय भुक्तान गरेर बाहिर निस्केकाहरूलाई नयाँ कर्म नसक्ने र नआउने भएकाले पुरानो काममा फर्कन्छन्,’ मल्ल भन्छन्,’ काठमाडौं सहर ठूलो भएकाले तथा धनी मानिस बस्ने र धेरै समय कोठामा मानिस बस्दैनन् । मानिसहरू काम गर्न जान्छन र चाबीको भरमा कोठा छोड्ने भएकाले चोरका लागि सहर सहज बनेको छ । चोरले काठमाडौंलाई चोरीको इपिसेन्टर मान्ने गरेका छन् ।’ छिमेकमा मानिसहरू सामाजिक नहुने र एकअर्काबीच बोलचाल नहुनाले घरमा को आयो गयो वास्ता नहुने भएकाले को चोर हो भनेर पहिचान गर्न नसकिने मल्लले बताए । समाजमा चोरी हुनासाथ प्रहरीको सक्रियता बढ्ने गरेको उनको भनाइ छ । ‘किनभने एकजना मानिसको चोरी हुनु भनेको उसको वर्षभरिको कमाइ सकिने गर्छ । समाज वरिपरिका मानिस आफ्नो घरमा चोरी हुन्छ भनेर सचेत हुन्छन्,’ ठकुरीले भने । समाजभित्रका सामाजिक संरचनाले मानिसका इच्छा र आकांक्षा पूरा हुन नदिएपछि विचलित हुने गरेको समाजशास्त्री टीकाराम गौतम बताउँछन् । समाज रूपान्तरण हुने बेला समाजले संक्रमण भोग्ने हुँदा समाजले फरक-फरक स्वरूप देखाउने गरेको उनको बुझाइ छ । ‘मानिस विचलित हुँदा आफ्ना इच्छा तथा आकांक्षा पुरा गर्न चोरी कार्यमा संलग्न हुने गरेका छन्,’ समाजशास्त्री गौतम भन्छन्,’ पैसा र धन प्रधान मानिने समाजमा मानिसहरू चोरी गर्छन् ।’ समाजमा विचलित भएपछि समाजले कानुन र नियमको परिधिमा नबस्ने गौतमको भनाइ छ । चोरी गर्नेहरू समाजबाट विचलित भएका र आफूलाई कानुनभन्दा माथि सोच्ने भएकाले चोरी गर्ने गरेको उनले उल्लेख गरे । पुँजीवादी बजार र समाजको विकास हुँदा मानिसहरू नयाँ–नयाँ कुराको खोजी गर्ने गरेको गौतमले बताए । समाज रुपान्तरण हुन थालेपछि समाज र मानिसले फरक–फरक व्यवहार गर्ने गरेको उनको बुझाइ छ । विद्यमान मानिसहरूले सामाजिक मूल्य मान्यतालाई नस्वीकार्नेहरू चोरी कर्ममा लाग्ने गरेको उनले बताए । पटके चोरी बढ्दै वार्षिक तथ्यांकले चोरीको घटना बढेको मान्न सकिने परिसरका प्रवक्ता पवन कुमार भट्टराई बताउँछन् । स–साना चोरीका घटना बढिरहेको उनको भनाइ छ । अपराधका विभिन्न स्वरूप हुने गरेको प्रवक्ता भट्टराई बताउँछन् । ‘चोरीको घटनामा पटके अपराधमा मुछिएका हुन्छन्,’ उनले भने, ‘उनीहरू पुरानो काममा फर्कने गरेको पाइएको छ । दुई–तीन वर्षसम्म कारागार बसेर निस्केकाहरू चोरीका घटना संलग्न रहेका छन् ।’ अपराधको विभिन्न स्वरूपहरू हुने गरेको उनले प्रस्ट पारे । प्रहरीको अनुसन्धानबाट लुगा चोर्नेले लुगा चोर्ने र सुनचाँदी चोर्नेले सुनचाँदी मात्र चोर्ने गरेको उनको भनाइ छ । चोरी गर्नेले सधैंभरि एकैनासको मात्र चोरी गर्ने गरेको उनले बताए । उनका अनुसार चोरी कार्यमा बढीजसो १३ देखि ६५ वर्ष उमेर समूहका पुरुषहरू संलग्न छन् । चोरी अपराधमा अधिकांश युवाहरू हुन्छन् । विवाहित र अविवाहित दुवै खालका मानिसहरू चोरी कार्यमा रहने गरेका छन् । चोरीबाट बच्न के गर्ने ? मानिस कहीँकतै जानुपर्ने भएमा घर पूर्णरुपमा खाली गरेर नजान तथा जानैपर्ने भए नजिकको प्रहरी कार्यालयमा जानकारी गराउनुपर्ने सुझाव प्रहरीको छ । रातको समयमा झ्याल, ढोका राम्रोसँग बन्द गर्न र महँगा गरगहना लगाएर एक्लै नहिँड्न पनि प्रहरीको सुझाव छ । प्रहरीले नचिनेको मान्छेलाई फोन नदिन पनि सल्लाह दिएको छ । सरकारी कार्यालय र बैंक वित्तीय संघ संस्थाहरूमा काम विशेषले जाँदा सवारीसाधन सुरक्षित ठाउँमा पार्किङ गरी सुरक्षा गार्डलाई जानकारी गराउनुपर्ने सुझाव पनि प्रहरीको छ । प्रहरीका अनुसार जथाभावी सवारीसाधन पार्किङ नगर्न, पार्किङ गर्दा ह्विल लक, साइरन प्रयोग गर्न, रातको समयमा अध्याँरो गल्लीमा पार्किङ नगर्न तथा बैंक तथा वित्तीय संस्थाका सुरक्षा गार्डलाई सीसी क्यामेराको अगाडि राख्न लगायत सुझाव दिएको छ ।
धनकुटामा राईबीच कडा प्रतिस्पर्धा, कांग्रेस र एमालेलाई प्रतिष्ठाको लडाइँ
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले घरदैलो अभियान तीव्र पारेका छन् । हाल उनीहरू मतदाताको घरदैलोमा गई मतदातासँग भोट मागिरहेका छन् । धनकुटामा पनि चुनावी चहलपहल बढ्दै गइरहेको छ । एकमात्र क्षेत्र रहेको यस जिल्लामा नेपाली कांग्रेसबाट दिनेश राई उम्मेदवार बनेका छन् । उनी कांग्रेस जिल्ला सभापति पनि हुन् । धनकुटामा कांग्रेसको तर्फबाट शक्तिशाली दाबेदार मानिएका सुनिलबहादुर थापा राष्ट्रिय सभामा निर्विरोध निर्वाचित भएपछि राईले टिकट पाएका हुन् । २०७९ को प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसबाट उम्मेदवारी दिएका थापा नेकपा एमालेका उम्मेदवार राजेन्द्र राईसँग पराजित भएका थिए । जबकि २०७० को निर्वाचनमा तिनै राईलाई पराजित गर्दै थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट निर्वाचित भएका थिए । थापा राप्रपाका तत्कालीन अध्यक्ष सूर्यबहादुर थापाका छोरा हुन् । पिताको विरासत थाम्न नसकेर उनी नेपाली कांग्रेसमा समाहित भएका हुन् । कांग्रेसबाट टिकट पाएका राई धनकुटा तरुण दलको पूर्वअध्यक्ष, धनकुटा क्याम्पसको नेविसंघ पूर्वसभापति र महाधिवेशन प्रतिनिधिसमेत हुन् । यसपालि कोशी प्रदेशबाट नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरको अगुवाइ पनि उनै राईले गरेका थिए । राई धनकुटा कांग्रेसमा आफ्नो बेग्लै पहिचान बनाउन सफल छन् । पार्टीभित्र फरक विचार र विरोधी स्वभाव भएकैले उनी धनकुटाको भूगोलमा भिजेका छन् । आगामी निर्वाचनमा आफ्नो पक्षमा मत पार्ने गरी उनी हाल घरदैलो अभियानमा पुगिसकेका छन् । कांग्रेसले फ्रेस र विवादरहित उम्मेदवार उठाएकाले निर्वाचित हुन सक्ने स्थनीय बताउँछन् । कांग्रेसका उम्मेदवार राईले पनि आफूले सहजै जित हासिल गर्ने बताए । ‘हाम्रो प्रतिस्पर्धा नेकपा एमालेसँग हो । नयाँ वा पुरानो कुनै दलसँग प्रतिस्पर्धा गर्नुपर्ने छैन मात्र एमालेसँग हो,’ उनले भने । गत निर्वाचनमा वाम गठबन्धनको विरुद्धमा बागी उम्मेदवार खडा गरिएकाले पनि कांग्रेसको उम्मेदवार पराजित भएको उनको भनाइ छ । यसपटक सबै दलका सिंगल-सिंगल उम्मेदवार उठेकाले कांग्रेसले जित हासिल गर्ने उनको दावी छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गत निर्वाचनमा धेरै मत लिए पनि आफ्नो जित सुनिश्चित रहेको राईले जिकिर गरे । नेकपा एमालेले भने दुई पटक विजयी भइसकेका उम्मेदवार राजेन्द्र राईलाई उठाएको छ । राई धनकुटाबाट तीन पटक चुनाव लडिसकेका नेता हुन् । २०७० को संविधान सभा निर्वाचनमा पराजित भएपनि उनले २०७४ र २०७९ को निर्वाचनमा जित हासिल गरेका थिए । गत निर्वाचनमा राईले ३० हजार १०१ मत प्राप्त गरेका थिए । राई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीसमेत भइसकेका छन् । धनकुटाको मतदातालाई रिझाउन सकेकै कारण उनी दुई पटक निर्वाचित भएका हुन् । राई २०४७ सालमा अनेरास्ववियूको धनकुटा अध्यक्ष थिए । एमालेका तर्फबाट २०४९ मा तत्कालीन जिल्ला विकास समिति सदस्य बनेका उनी २०५४ मा जिविस उप-सभापतिसमेत भएका थिए । २०६४ पछि तीन पटक गरी करिब १३ वर्ष जिल्ला अध्यक्ष भएर पार्टीमा काम गरेको अनुभव राईसँग छ । राईले निर्वाचित भएर गएपछि विकासका काम धेरै गरेकाले उनीप्रति धेरै मतदाताहरू आशावादी रहेकाे एमालेका नेताहरू बताउँछन् । तर कर्मचारीवृत्तमा भने राईको छवि राम्रो देखिँदैन । दुई वर्षअघि उनले पाख्रिबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेललाई ज्यान मार्ने धम्कीसमेत दिएका थिए । राईले पौडेलको अस्तित्व समाप्त पारिदिने धम्की दिएको अडियो सार्वजनिक भएको थियो । यद्यपि पार्टीले उनै राईलाई पुनः टिकट दिएको छ । उनी अहिले मतदाताको घरदैलोमा पुगेर मत मागिरहेका छन् । राईलाई तेस्रोपटक विजयी गराउन धनकुटा एमालेले वडा-वडामा निर्वाचन कमिटी बनाएर प्रचारप्रसार अभियान सुरु गरिसकेको एमाले धनकुटा जिल्ला कमिटीका अध्यक्ष शिव आङ्ला लिम्बु बताउँछन् । एमालेको उम्मेदवारले हार्नुपर्ने कुनै कारण नभएको उनले दाबी गरे । ‘अन्य राजनीतिक दलका कार्यकर्ताहरू पनि एमालेमा प्रवेश गर्न थालिसकेका छन् । राम्रो उम्मेदवार भएकैले अरू दलका कार्यकर्ता एमालेमा आकर्षित भएका छन्,’ अध्यक्ष लिम्बु भन्छन्, ‘जिल्लाभरका अधिकांश मतदाताहरू हाम्रो उम्मेदवारप्रति सकारात्मक छन् । हाम्रो उम्मेदवार विजयी हुनेमा सतप्रतिशत ढुक्क छौं ।’ गत निर्वाचनमा अन्य दलले गठबन्धन गर्दा पनि जित्न सफल भएको उनले स्मरण गराए । ‘फागुन २१ गते हुने निर्वाचनमा सबै दलका उम्मेदवारहरू सिंगल-सिंगल चुनावी मैदानमा छन् । सहजै विजयी हासिल गर्नेमा हामी विश्वस्त छौं,’ उनले प्रस्ट पारे । एमालेको उम्मेदवारसँग प्रतिस्पर्धा गर्न अन्य दलका उम्मेदवार नभएको लिम्बुले जिकिर गरे । ‘हाम्रो प्रतिस्पर्धा भयो भने कांग्रेसको उम्मेदवारसँग मात्र हुन्छ । नयाँ दलका कुनै पनि उम्मेदवारसँग प्रतिस्पर्धा हुन्न । हामीसँग प्रतिस्पर्धा गर्ने कुनै पनि योग्य उम्मेदवार देखा परेका छैनन्,’ उनले सुनाए । रास्वपाको तर्फबाट उम्मेदवार दिनेश भण्डारी छन् । २०७९ को प्रतिनिधि सभाको निर्वाचनमा रास्वपाले धनकुटामा उम्मेदवार उठाएको थिएन । धनकुटा रास्वपाका सभापति बालानन्द दाहालले पार्टीले तोकेको उम्मेदवारीलाई विजयी बनाउने गरी चुनावी प्रचारप्रसार गरिरहेको बताए । मतदाताको प्रतिक्रिया सकारात्मक पाइएकाले रास्वपा उम्मेदवारले राम्रो मत प्राप्त गर्न सक्ने उनको बुझाइ छ । ‘मतदातालाई पटक-पटक झुक्याउने काम भएको छ,’ उनले भने, ‘पुराना दलले मतदातालाई झुक्याएको कारण हाम्रो दलप्रति धेरै मतदाताहरू सकारात्मक रहेका छन् ।’ ‘रास्वपासँग ठूला दलका उम्मेदवारहरू आत्तिएका छन् । हाम्रो उम्मेदवारको प्रतिस्पर्धा ठूला दलसँग हुनेछ,’ उनको दाबी छ । क-कसले दिए उम्मेदवारी ? नेकपा एमालेबाट राजेन्द्र राई, नेपाली कांग्रेसबाट दिनेश राई, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट धर्मराज पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विभत्सु थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट दिनेश भण्डारी, जनता समाजवादी पार्टीबाट निशान राई, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट रविवन कुमार राई, जनता समाजवादी पार्टी नेपालबाट आइतराज लिम्बु, राष्ट्रिय परिवर्तन पार्टीबाट शालिकराम राई, मंगोल नेशनल अर्गनाइजेशनबाट सागर राईले उम्मेदवारी दर्ता गराएका छन् । मनकुमार योञ्जन, जीतेन्द्र राई, गंगाराम गोम्देन र लाक्पा तामाङले स्वतन्त्र उम्मेदवारी दिएका छन् । जिल्ला निर्वाचन कार्यालय, धनकुटाका अनुसार १ लाख १८ हजार ४२५ मतदाता रहेका छन् । ११९ वटा मतदानस्थल र १६६ वटा मतदान केन्द्र रहेको छ ।
सुनसरी ४ मा पूर्वमन्त्रीको भीडन्त : ह्याट्रिक दौडमा कार्की र बदला लिने दाउमा जगदीश
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिएसँगै विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले घरदैलो अभियान तीव्र पारेका छन् । हाल उनीहरू मतदाताको घरदैलो कार्यक्रममा व्यस्त छन् । सुनसरीको क्षेत्र नम्बर ४ मा पनि चुनावी चहलपहल बढ्दै गइरहेको छ । यहाँ नेपाली कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्कीले टिकट पाएका छन् । २०७९ र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कार्की सोही क्षेत्रबाट विजयी भएका थिए । दुई पटक निर्वाचित भइसकेका कार्की फागुन २१ गते हुने निर्वाचनमा ह्याट्रिक बनाउने तामझामसहित चुनावी मैदानमा कार्की कस्सेर लागिपरेका छन् । गत निर्वाचनमा कार्कीले ३० हजार ४८३ मत प्राप्त गरी विजयी भएका थिए । उनी तत्कालीन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धनको उम्मेदवार थिए । पार्टी र सत्तामा पहुँच राख्दै आइरहेका खोज्ने कार्की लाई गत निर्वाचनमा जस्तो सहज छैन । गठबन्धन हुँदा पनि उनी नेकपा एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैतसँग झिनो मतान्तरले मात्र विजयी भएका थिए । ४ नम्बर क्षेत्रका स्थानीयहरू उनलाई पर्यटक उम्मेदवार भन्ने गर्दछन् । भोजपुरमा पटक–पटक पराजित भएपछि कार्की सुनसरीतिर झरेका थिए । २०५१, २०५६ र २०६४ सालका तीनपटक चुनाव लडे पनि उनी पराजित भए । पहाडबाट तराई झरेसँगै उनी दुईपटक निर्वाचित भइसकेका छन् । स्थानीयहरू कार्कीसँग असन्तुष्ट छन् । दुई–दुई पटक सांसद भइसक्दा पनि केही गर्न नसकेको गुनासो उनीहरूको छ । घरदैलो अभियान व्यस्त कार्कीले हाल मतदाताहरूको प्रश्नको सामना गरिरहेका छन् । ४ नम्बर क्षेत्रबाट जितेर गएका व्यक्ति देशको प्रधानमन्त्री र मन्त्री बनिसके पनि यस क्षेत्रको विकास र समृद्धिमा नेताले ध्यान नदिएको मतदाताहरूले आरोप लगाउने गरेका छन् । अहिलेको चुनावी घरदैलो कार्यक्रममा पहिलाजस्तो छैन । मतदाताहरूले उम्मेदवारहरूलाई विभिन्न प्रश्न गर्न थालेका छन् । धेरैले ‘पुरानाले केही गर्न सकेनन्’ भनी परिवर्तनलाई आत्मसाथ गर्नुपर्छ भन्दै आएको सुनिन्छ । सुनसरी ४ मा यसपटक कार्कीले पाइरहेको मत अन्यत्र जान सक्ने सम्भावना धेरै छ । किनभने स्थानीय स्तरका नेताहरूले टिकट नपाएकाले धेरैजना उनीप्रति रुष्ट बनेका छन् । नेपाली कांग्रेसमा नेतृत्त्व परिवर्तन भएको छ । गगन थापा सभापति भएका छन् । प्रतिनिधि सभाको निर्वाचन दिने टिकटमा उनै थापाले हस्ताक्षर गरेका छन् । यद्यपि कार्की विशेष महाधिवेशनको विपक्षमा थिए । उनी देउवा समूहमा भए पनि टिकट पाएका छन् । कार्यकर्ता र मतदाताले साथ दिएमा ४ नम्बर क्षेत्रमा पुनः ह्याट्रिक गर्ने प्रयासमा उनी छन् । यसैगरी, एमालेले पनि पुनः गत प्रतिनिधि सभाको निर्वाचनमा पराजित उम्मेदवारलाई दोहोर्याएको छ । कोशी प्रदेशका पूर्व वन वातावरण तथा पर्यटनमन्त्री जगदीशप्रसाद कुसियैत चुनावी मैदानमा छन् । एमालेले उनलाई अन्तिम समयमा आएर टिकट प्रदान गरेको थियो । उनको ठाउँमा कांग्रेसबाट एमालेमा प्रवेश गरेका आब्बुल हुसेन अन्सारीलाई उम्मेदवारीको टिकट दिएको थियो । हुसेन कांग्रेसबाट टिकट नपाएपछि एमाले प्रवेश गरेका थिए । जगदीशको क्षेत्र र जिल्लाबाट एकल नाम सिफारिस भएको थियो । एकल नाम सिफारिस हुँदा पनि पार्टी फेरेर आएकालाई उम्मेदवार बनाइएको भन्दै उनी आक्रोशित बनेका थिए । पार्टीले सुरुमा कुसियैतलाई नै टिकट दिएको थियो । पछि एमालेमा प्रवेश गरेका हुसेनलाई टिकट दिएपछि सुनसरी एमालेमा तरंग फैलियो । चौतर्फी विरोधस्वरूप भएपछि कुसियैतले टिकट पाएका छन् । पार्टीले पनि यसवर्ष नेपाली कांग्रेसको उम्मेदवार कार्र्कीलाई टक्कर दिनसक्ने उम्मेदवारको रूपमा ठानेर उनैलाई टिकट दियो । २०७९ को निर्वाचनमा मात्र ११२ मतले कुसियैत पराजित भएका थिए । उनले ३० हजार ३७१ मत प्राप्त गरेका थिए । सुनसरी– ४ कुसियैतको स्थानीय क्षेत्र भएकाले पनि उनलाई यस पटकको निर्वाचनमा मत प्राप्त गर्न कुनै कठिनाइ नहुने बुझिएको छ । उक्त निर्वाचन क्षेत्रमा कुसियैत समुदायका मानिसहरूको बाहुल्याता रहेको छ । गत निर्वाचनमा भन्दा एमालेको मत बढ्ने अपेक्षा पनि गरिएको छ । भर्खरै पार्टी परिवर्तन गरेका अब्दुल हुसेनका कारण कांग्रेसको मत कुसियैततर्फ जानसक्ने आंकलन स्थानीयस्तरमा हुन थालेको छ । प्रदेश सभामा निर्वाचित भएर गइसकेका कारण पाउने मत नहराउनेमा उनी विश्वस्त छन् । हेभीवेटको उम्मेदवार भएकाले कांग्रेसको जित पक्का नेपाली कांग्रेसका ४ नम्बरको क्षेत्रीय सभापति ऐयुब अन्सारीले यस पटकको निर्वाचनमा सहजै जित हासिल गर्ने बताए । ‘नेपाली कांग्रेसका उम्मदेवार मत माग्न घरदैलोमा लागिसक्नु भएको छ,’ उनले भने, ‘पटक–पटक जितेको उम्मेदवार हुनु भएकाले हाम्रो उम्मेदवारको विजयी हुने विश्वास छ ।’ धेरै उम्मेदवार उठेकाले मत विभाजन हुने भएकाले कांग्रेसको उम्मेदवारलाई फाइदा हुने देखिएको उनले बताए । ‘कांग्रेसले उठाएको उम्मेदवार हेभीवेटको हुनुहुन्छ र मन्त्रीसमेत भइसकेकाले यसपटक पनि यहाँको मतदाताले उहाँलाई विजयी गराउनु हुने कुरामा म ढुक्क छु,’ अन्सारीले भने । कांग्रेसको नेतृत्व फेरिएकाले हाम्रो उम्मेदवारले मत बढाउने उनको भनाइ छ । कांग्रेसको उम्मेदवारप्रति बाहिर कहीँ कतै नकरात्मक टिप्पणी नआएको उनको दावी छ । यसपटकको जित एमालेकै हो एमाले रामधुनी नगरपालिका नगर कमिटी सचिवालय सदस्य कमल कार्कीले गत निर्वाचनमा एमालेको उम्मेदवार झिनो मतले पराजित भएकाले यसपटक विजयी हुने विश्वास व्यक्त गरे । अहिले एमालेका संगठित कार्यकर्ताहरू टोल–टोलमा आफ्नो उम्मेदवारलाई कसरी विजयी गराउने भनेर गृहकार्य गरिरहेको उनले बताए । ‘गत निर्वाचनमा कसरी एमालेका उम्मेदवार पराजित भए त्यसको समीक्षा गरेर अगाडि बढ्नेछौ,’ उनले भने, ‘हाम्रा कमजोरी कहाँ–कहाँ भए त्यसको पहिचान गरेर उम्मेदवारलाई विजयी बनाउने छौं ।’ कांग्रेसका उम्मेदवारप्रति यस क्षेत्रका मतदाता सन्तुष्ट नभएकाले एमालेको उम्मेदवारको विजयी सुनिश्चित भएको उनले दाबी गरे । ४ नम्बर क्षेत्रमा नयाँ दलले पुराना दलका उम्मेदवारलाई चुनौती दिन नसक्ने उनको ठहर छ । ‘एमालेको उम्मेदवारले पाउने मत यसपालि बढ्नेछ,’ नगर कमिटी सचिवालय सदस्य कार्की भन्छन्, ‘मत बढ्नु भनेको हाम्रो जित सुनिश्चित हो । एमालेबाट निर्वाचित स्थानीय तहका उम्मेदवारले कहाँ-कहाँ के-के विकास त्यसको समीक्षा भइरहेको छ ।’ स्थानीय तहमा एमालेका जनप्रतिनिधिले विकासका मुद्दालाई लिएर उठाएकाले यस क्षेत्रमा एमालेको उम्मेदवारले जित्ने विश्वास व्यक्त गरे । अन्य को–को छन् उम्मेदवार ? महमद महफुज अन्सारी नेपाल कम्युनिष्ट पार्टी, दीपक कुमार साह रास्वपा, प्रेमप्रसाद भट्टराई राप्रपा, सबिता यादव जनता समाजवादी पार्टी, नेपाल, कपलेश्वर यादव जनमत पार्टी, चन्चला न्हिसुतु नेपाल मजदुर किसान पार्टी, मनकुमार राई मंगोल नेशनल अर्गनाइजेशन, रमेश कुमार शाह नेपाल जनता पार्टी, सत्य नारायण लहुटिया नेपाल कम्युनिष्ट पार्टी संयुक्त, एयुव अंसारी समावेशी समाजवादी पार्टी नेपाल, मो सदिक मिया संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, विष्णुर राना श्रम संस्कृति पार्टी, भेषराज बजगाई नेपाल कम्युनिष्ट पार्टी माओवादी, समिद खान राष्ट्र निर्माण दल नेपाल, तवरेज आलम अंसारी आम जनता पार्टी, शर्मानन्द खतिवडा स्वतन्त्र, तेजनारायण गोईत स्वतन्त्र, बुधेश्वर यादव स्वतन्त्र, मो गुलाब अंसारी स्वतन्त्र, पार्वती मुखिया स्वतन्त्र, मो तजमुल मिया स्वतन्त्र, अंकित कार्की स्वतन्त्र, हरि पराजुली स्वतन्त्र, महेन्द्र सुनचौरी स्वतन्त्र, रोजन विश्वकर्मा स्वतन्त्र, देवनारायण महत्तो स्वतन्त्र, कुन्दन कौसिक स्वतन्त्र, जलाल मिया स्वतन्त्र, फुल कुमारी खान स्वतन्त्र, उपेन्द्र कुमार साह स्वतन्त्र र स्वतन्त्र यमुना केसी लगायतका उम्मेदवार छन् । सुनसरी निर्वाचन कार्यालयका अनुसार ४ नम्बर क्षेत्रमा ४२ वटा मतदानस्थल छन् । १५० वटा मतदान केन्द्र रहेका छन् । उक्त क्षेत्रमा कोशी गाउँपालिकाको १ देखि ७ नम्बर वडा, बराहक्षेत्र नगरपालिकाको ६ देखि ११ नम्बर वडा, रामधुनी नगरपालिका ४, इनरूवा नगरपालिकाको ३,४ र ८ नम्बर वडा, भोक्राहा नरसिंह गाउँपालिकाको १ देखि ८ नम्बर वडा र हरिनगर गाउँपालिकाको १, २, ४, ५,६ र ७ नम्बर वडा पर्छन् ।
सुनसरी-२ मा एमालेभित्रको द्वन्द्वले कांग्रेस र रास्वपालाई राहत, यस्तो छ चुनावी अंकगणित
काठमाडौं । सुनसरी २ मा फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन रोचक हुँदैछ । किनभने गत निर्वाचनमा जस्तै पुराना दलले नयाँ र टेस्टेड उम्मेदवार उठाएका छन् । नेपाली कांग्रेसले प्रतिनिधि सभा सदस्यका लागि प्रदेश सभा सदस्य भइसकेका राजीव कोइरालालाई उठाएको छ । कोइराला जिल्लामा कांग्रेसवृत्तमा राम्रो नेता मानिन्छन् । उनी सुनसरी कांग्रेसको दुई पटक सभापति भइसकेका छन् । गत प्रतिनिधि सभाको निर्वाचनमा २ नम्बर क्षेत्रबाट नेकपा एमालेका भीम आचार्य निर्वाचित भएका थिए । उनले ३२ हजार ८ सय मत प्राप्त गरेका थिए । नेपाली कांग्रेसका उम्मेदवार सीताराम मेहताले २६ हजार ५८ पाएका थिए । प्रदेश सभाकै निर्वाचनमा कोइरालासमेत पराजित भएका थिए । उनी एमालेका उम्मेदवार रामप्रसाद मेहतासँग पराजित भएका थिए । एमालेका उम्मेदवार मेहताले १८ हजार १९१ मत प्राप्त गरेका थिए । कोइरालाले १७ हजार ६३६ मत प्राप्त गरेका थिए । यतिखेर कांग्रेसका उम्मेदवार कोइरालाले घरदैलो अभियान सुरु गरिसकेका छन् । उनलाई यसपटक प्रदेशसभाको निर्वाचनमा पराजित भएको बदला लिनु छ । कोइराला निर्वाचित भए यात्रा विराटनगरबाट काठमाडौंतर्फ मोडिनेछ । यसअघि उनी प्रदेशसभाका लागि विराटनगर जाने गर्थे । उनी कोशी प्रदेश सभा कांग्रेसबाट संसदीय दलका नेतासमेत भएका थिए । कांग्रेसका कार्यकर्ता तथा शुभ चिन्तकहरूले एमालेले कमजोर उम्मेदवार उठाएकाले पनि राजीव कोइरालाले सहजै जित हासिल गर्ने अनुमान गरेका छन् । २ नम्बर क्षेत्रमा पर्ने रामधुनी नगरपालिकाका कांग्रेस सभापति सुदीप अधिकारी कांग्रेस र रास्वपाको उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने बताउँछन् । ‘कांग्रेसको विशेष महाधिवेशनको कारण हामीलाई मतदाताको घरमा जान सहज भएको छ,’ उनले भने, ‘पुराना नेताहरूलाई विशेष अधिवेशनबाट नेतृत्वबाट विदा गरेका छौं भनेर भन्न पाइएको छ । यसपटक कांग्रेसको उम्मेदवार निर्वाचित भएमा युवा नेतृत्वले मुलुक हाँक्न सक्छन् ।’ पार्टीले विवादरहित र निष्कलंक उम्मेदवार उठाएको अधिकारी दाबी गर्छन् । उनले भने, ‘अन्य दलका व्यक्तिहरू पनि कांग्रेसको उम्मेदवारप्रति सकारात्मक रहेको पाइएको छ । प्रदेश सभा सदस्य भइसकेको र दुई पटक जिल्ला सभापति भइसकेकाले उहाँप्रति सबैको भरोसा छ ।’ कार्यकर्ताहरूले मिहिनेत गरेमा यसपटक कांग्रेसको उम्मेदवार विजयी हुने सम्भावना रहेको उनको भनाइ छ । जति धेरै जितको सम्भावना भए पनि कोइरालालाई चुनौती उत्तिकै रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी र अन्य नयाँ दलहरूले भोट काट्ने जोखिम उत्तिकै छ । गत प्रतिनिधि सभाको निर्वाचनमा रास्वापाले करिब २० हजार मत हासिल गरेको थियो । यस पटकको निर्वाचन झन रास्वपामय भएको चुनावी माहोलले देखाइरहेको छ । सुनसरी २ मा आलोपालो कांग्रेस एमालेको जित हुँदै आएको इतिहास छ । प्रतिनिधि सभाको अघिल्लो निर्वाचनमा कांग्रेसका सीताराम मेहताले जित हासिल गरेका थिए । गत निर्वाचनमा भने एमालेका भीम आचार्य निर्वाचित भएका थिए । त्यहीँ भएर पनि कांग्रेसका उम्मेदवार निर्वाचित हुनेमा कार्यकर्ताहरू ढुक्क छन् । कतिपय कार्यकर्ताहरू आत्मविश्वासका साथ निर्वाचन प्रचारप्रसारमा लागेका छन् । त्रिपक्षीय प्रतिस्पर्धा सुनसरी २ मा भने एमालेले कोशी प्रदेश युवा संघका संयोजक सुजन लामालाई टिकट दिएको छ । सुरुमा एमालेले प्रदेश सभा सदस्य रेवतीरमण भण्डारीलाई त्यस क्षेत्रमा टिकट दिइएको थियो । तर, पछि उनको टिकट खोसेर लामालाई दिइएको थियो । उनले टिकट पाउनासाथ सुनसरी एमालेमा विरोध भएको थियो । लामा एमाले युवाहरूमा मात्र परिचित छन् । २ नम्बर क्षेत्रमा युवाको भन्दा वयस्क उमेरका एमालेहरूको बाहुल्यता रहेकाले उनीमाथि अन्तर्घात हुन सक्ने सम्भावना देखिन्छ । लामा युवा उम्मेदवार भएकाले समाज र राजनीतिक चेतना समेत नभएको भन्दै स्थानीयहरू असन्तुष्टि छन् । उनलाई निर्वाचनमा सबैभन्दा धेरै धोका एमालेका कार्यकर्ताबाट हुने बताइएको छ । इटहरीको १० वटा वडामा एमालेको मत राम्रो रहेको छ । सोही क्षेत्रमा एमालेको मतदाता रहे पनि तल्लो क्षेत्रमा भने एमालेको उपस्थिति न्यून छ । अन्य स्थानीय तहका वडामा एमालेको मत कमजोर रहेको छ । अन्य भेगमा एमालेको भन्दा कांग्रेसको मतदाताहरूको संख्या बढी छ । एमाले जिल्ला कमिटी सचिवालय सदस्य डेगराज फुँयालले २ नम्बर क्षेत्रमा २० भन्दा बढी वडामा एमाले जनप्रतिनिधि रहेकाले आफ्नो उम्मेदवारले सहजै जित हासिल गर्ने दाबी गरे । ‘एमालेको उम्मेदवारलाई जिताउन घरदैलो अभियान सुरु भइसकेको छ,’ उनले भने, ‘हाम्रो क्षेत्रबाट युवा उम्मेदवार रहेकाले अन्य दलका युवाहरू एमालेमा प्रवेश गर्ने लहर बढेको छ ।’ २ नम्बर क्षेत्रका एमालेहरू उम्मेदवारलाई विजयी गराउन एकढिक्का भएर लागिसकेको फुँयालले बताए । पार्टीका पुराना तथा अग्रज कार्यकर्ताहरूमा अहिलेको उम्मेदवारमा कुनै तुष नभएको दाबी गरे । कार्यकर्ता एक भएर सबै वडामा निर्वाचन कमिटी बनाएर प्रचारप्रसारमा लागिसकेको फुँयालले बताए । ‘२ नम्बर क्षेत्रमा एमालेको प्रतिस्पर्धा कांग्रेसको उम्मेदवारसँग हुन्छ,’ उनले भने । गत निर्वाचनमा रास्वपाका उम्मेदवार लालविक्रम थापाले १९ हजार ३९१ मत प्राप्त गरेका थिए । यस पटक पनि पार्टीबाट तिनै उम्मेदवार पुनः दोहोरिएका छन । मुलुकभर रास्वपातर्फ मतदाताहरू आकर्षित भएकाले उनले पनि जित हासिल गर्न सक्ने सम्भावना बढी देखिन्छ । यी हुन् अन्य उम्मेदवारहरू सुनसरी २ मा २८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमालेबाट सुजना लामा, नेपाली कांग्रेसबाट राजीव कोइराला, नेपाल कम्युनिस्ट पार्टीबाट रामकुमारी चौधरी, रास्वपाबाट लालविक्रम थापा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट दिनेशकुमार बस्नेत, जनता समाजवादी पार्टी नेपालबाट रामचन्द्र मेहता, जनमत पार्टीबाट महावीर मेहता, नेमकिपाबाट गीता मैया बाजीको उम्मेदवारी परेको छ । यस्तै, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट ताजिना विष्ट, नेपाल लोकतान्त्रिक पार्टीबाट नुनुराम चौधरी, मंगल नेशनल अर्गनाइजेशनबाट सन्तहिरा राई, नेपाल कम्युनिष्ट पार्टी संयुक्तबाट अतित नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट तुलसा लिम्बु, श्रम संस्कृति राईबाट चेतन राई, नेपाल कम्युनिष्ट पार्टी माओवादीबाट कृष्णकुमारी दनुवार, उज्यालो नेपाल पार्टी गोपाल तामाङ, राष्ट्रिय मुक्ति नेपाल सन्तोष कुमार मेहता, राष्ट्र निर्माण दल नेपालबाट आदित्य आचार्य र आम जनता पार्टीबाट निरञ्जन ठाकुर चुनावी प्रतिस्पर्धामा छन् । सुनसरी–२ मा स्वतन्त्र उम्मेदवारका रुपमा अन्जनता देवी गुप्ता, इफतखार हसन (इकवाल), डम्बरबहादुर बराइली, देवेन्द्र पौडेल, नवराज पौडेल, भीमबहादुर दाहाल, रोसनी राई, राजकुमार खत्री रसत्यनारायण पण्डित उम्मेदवार बनेका छन् । जिल्ला निर्वाचन कार्यालय सुनसरीका अनुसार यस निर्वाचन क्षेत्रमा १ लाख ५८ हजार ९१० मतदाता रहेका छन् भने ४० वटा मतदानस्थल र मतदान केन्द्र १६१ वटा रहेका छन् । २ नम्बर क्षेत्रमा इटहरी उपमहानगरपालिकाको १० वटा वडा, रामधुनी नगरपालिकाको ६ वटा वडा, इनरूवा नगरपालिकाको ६ वटा वडा, देवानगञ्ज गाउँपालिकाको ७ वटा वडा र हरिनगर गाउँपालिका १ वटा वडा पर्छन् ।