विकासन्युज

सोमबारको बजारमा तीब्र उतारचढाव, नेप्से सामान्य अंकले ओरालो लाग्दा ३६ करोडको कारोबार

काठमाडौं । सोमबारको सेयर बजारमा तीब्र उतारचढाव आएको छ । बजार खुलेको करिब आधा घण्टामा बढेर १४०५ अंकमा पुगेको परिसूचक फेरि १२ः१३ मा घटेर १४०१ अंकमा पुगेको थियो । त्यस्तै, त्यसपछिको एक घण्टामा पुन बढेर सो दिनकै अधिकतम बिन्दु १४०७ अंकमा पुगेको थियो । त्यसपछिको कारोबारमा भने नेप्से परिसूचक निरन्तर ओरालो लागेको छ । समग्रमा सोमबारको नेप्से परिसूचक सामान्य ०.५८ अंकले ओरालो लागेर १४०२ अंकमा पुगको छ । त्यस्तै, अघिल्लो दिनको तुलनामा सोमबारको कारोबार रकममा पनि ओरालो लागेको छ । दिनभरको बजारमा १६३ कम्पनीको ३६ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । जुन आइतबारको तुलनामा १४ करोड रुपैयाँ घटी हो । बजारमा सबैभन्दा बढी बीमा समूहको परिसूचक १८ अंकले ओरालो लागेको छ । त्यस्तै, माइक्रोफाइनान्स समूह १३ अंकले घटेको छ । हाइड्रोपावर समूहको परिसूचक २३ अंकले उकालो लागेको छ । सोमबार सबैभन्दा बढी सानिमा माइ हाइड्रोपावरको ५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन कामना सेवा विकास बैंकका लगानीकर्ताले ७ प्रतिशत कमाएका छन् भने सबैभन्दा बढी बेष्ट फाइनान्सका लगानीकर्ताले ४ प्रतिशत गुमाएका छन् ।

सिभिल अपार्टमेन्टलाई होटलमा रुपान्तरण गर्ने

  काठमाडौं । राजधानीको सुन्धारामा रहेको सिभिल अपार्टमेन्टस् अब सिभिल होटल बन्ने भएको छ । सिभिल ग्रुपले काठमाडौं महानगरपालिका वडा नम्बर ११ मा रहेको सिभिल अपार्टमेन्टस्लाई सिभिल होटलमा रुपान्तरण गर्न लागेको हो । होटलको कुल क्षेत्रफल ३ हजार ५१ वर्ग मिटर रहेको छ । यस होटलमा अत्याआधुनिक सेवा सुविधा सहितका ३२३ वटा कोठा हुनेछन् । ती मध्ये ७७ वटा सुपर डिलक्स हुनेछन् भने १४६ वटा डिलक्स कोठा हुने सिभिलले जनाएको छ । त्यसैगरी होटलमा बार तथा रेस्टुरेन्ट सहित स्विमिङ्ग पुल, जिम, स्पा, हेल्थ क्लब, स्काई लाउन्ज÷रुफ टप बार, बगैंचा, बाहिरी समारोह स्थान लगायतको सेवा सुविधाहरु रहनेछन् । होटलको अन्य सुविधाहरुमा ८८५ जना क्षमताको ब्याङ्केट हुनेछ । फोहोर पानीको प्रशोधन, फोहोर मैला व्यवस्थापन जस्ता प्रदुषण न्यूनिकरण संयन्त्रहरु पनि राखिने भएका छन् । सिभिलले होटल निर्माणमा पार्ने वातावरणीय प्रभावको मूल्याकनका लागि सुचना प्रकाशित गरेको छ । होटल निर्माण गर्नुपुर्व वातावरण संरक्षण नियमावली २०५४ को दफा ४ को नियम ३ को अनुसूची २ को पर्यटन क्षेत्रको बुँदा (१) आकर्षित भएकोले सोही अनुसार वातावरणीय प्रभाव मुल्याङ्कनको लागी सूचना प्रकासित गरिएको होटल प्रालीले जनाएको छ । प्रालीले सूचना प्रकाशित भएको १५ दिनभित्र प्रस्तावकको ठेगानामा आइपुग्ने गरी लिखत राय तथा सुझावहरु पठाउन सकिने समेत जनाएको छ ।

अर्थले स्थानीय तहसंग माग्यो आगामी वर्षका लागि राजश्व र खर्चको विवरण

काठमाडौं । स्थानिय तहले आगामी आर्थिक वर्षको बजेट तयारीका लागि आय तथा व्यय विवरण अर्थ मन्त्रालयमा पेश गर्नुपर्ने भएको छ । अर्थले  महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई आगामी आर्थिक वर्षको आय तथा व्यय विवरण पेश गर्न भनेको छ । अन्तर सरकारी वित्त व्यवस्थापन ऐनअनुसार प्रक्षेपण तथ्याँक पेश गर्न अर्थले स्थानीय तहलाई अनुरोध गरेको छ । गत पुससम्म आयव्ययको प्रक्षेपित विवरण पेश गर्नुपर्नेमा ढिलाइ भएको भन्दै अर्थले ताकेता गरेको छ । स्थानिय तहले आयव्ययको विवरण, आफनो स्रोतबाट संकलन हुने राजश्व, राजश्व बाँडफाँडबाट प्राप्त हुन सक्ने अनुमानित रकम र बजेट घाटा पूर्तिगर्न आवश्यक पर्ने अनुमानित रकम र त्यसको स्रोतको अनुमानित तथ्याँक सहितको विवरण अर्थमा उपलब्ध गराउनु पर्ने छ । स्थानिय तहकको प्रक्षेपण गरिएको तथ्याँकका आधारमा बजेट बनाउने तयारी अर्थको छ । अर्थ मन्त्रालयले आगामी आवको बजेटको तयारी थालेको छ । चालु आवमा सरकारले ७५३ स्थानीय तहलाई २ खर्ब २५ अर्ब रुपैयाँ बजेट उपलब्ध गराएको छ ।

नेपाल र चीनबीच व्यापार तथा लगानीका लागि व्यापारिक सम्झौता

काठमाडौं । नेपाल र चीन बीच व्यापार तथा लगानीका लागि अन्तराष्ट्रिय एवं व्यापारिक सम्झौता भएको छ । आइतबार बेजिङ्ग स्थित ओबिओआर अन्तर्राष्ट्रिय व्यापार तथा लगानी मञ्चमा नेपाली कम्पनीहरु र चिनियाँ उद्यमी, व्यापारीहरु बिच द्धीराष्ट्रिय व्यापार आदान प्रदान गर्ने सम्झौता भएको हो । ओबिओआर अन्तराष्ट्रिय व्यापार तथा लगानी मन्चको अध्यक्ष भाष्करराज राजकर्णिकारको नेतृत्वमा नौ सदस्यीय व्यापारिक मण्डल दक्षिण एसिया तथा दक्षिण पूर्व एसिया लगानी तथा व्यापार मेलामा सहभागी भएको हो ।कार्यक्रममा सार्क उद्योग वाणिज्य संघका अध्यक्षसुरज बैध समेत चीनका ओविओआर अन्तराष्ट्रिय व्यापार तथा लगानी मञ्चका संस्थापक सु या कार्यकारी अध्यक्ष जोङ जुझाङ लगायतले मन्तव्य व्यक्त गरेका थिए । उक्त गोष्ठीको दोस्रो दिन नेपाल र चीनको बिज्ञापन व्यवसायलाई परिष्कृत बनाउन दुई देशिय व्यापारिक आदान–प्रदान गर्न एक सम्झौता पत्रमा आनका पूर्व अध्यक्ष निर्मल राज पौडेलले हस्ताक्षर गरेका छन् । साथै, व्यापारिक सहकार्य र संयुक्त लागानीका लागि राजेश बज्राचार्य र चिनिया कम्पनी बिच सम्झौता समेत भएको छ । चीनको सरकारी पदाधिकारी, नेपाल, बंगलादेश तथा भितनामका सरकारी पदाधिकारीहरु समेत सहभागिता रहेको थियो । नेपालबाट दमक औद्योगिक पार्क समितिका अध्यक्ष गोविन्द थापा, नेपाल विज्ञापन संघका पूर्व अध्यक्ष एवं वेलकम गु्रपका अध्यक्ष निर्मल राज पौडेल, कार्यबिनायक ट्रेड समुहका राजेश बज्राचार्य, रज्जु श्रेष्ठ, विपिन तिमिला, राजु डंगोल लगायत उद्यमी व्यवसायीहरुको समेत सहभागिता रहेको छ । व्यापारिक मण्डल यहि माघ ४ गते चिन प्रस्थान गरेको थियो ।

५० प्रतिशत हकप्रद पछि एशियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन

काठमाडौं । सोमबार मात्रै एशियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले इन्स्योरेन्सको ५० प्रतिशत हकप्रद पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९११ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ८९२ रुपैयाँ रहेको थियो ।

बिजुलीको खपत घट्यो, उपभोक्ताले सघाएपछि कुलमानलाई राहत

काठमाडौं । उपभोक्ताले सहयोग गरेपछि यो वर्ष बिजुलीको माग प्रक्षेपण गरिएको भन्दा कम भएको छ । नेपाल विद्युत प्राधिकरणले यो वर्षको सुख्खायाममा बिजुलीको माग बढेर १ हजार ५ सय मेगावाट पुग्ने अनुमान गरेको थियो । हालसम्म बिजुलीको माग साँझ (पिकआवर) मा १ हजार २४१ मेगावाट मात्र भएको छ । लक्ष्य भन्दा २५९ मेगावाट बिजुली माग कम भएको हो । अघिल्ला वर्षको जस्तै यो वर्ष उपभोक्ताले सहयोग गरेका कारण बिजुलीको माग कम हुन गई व्यवस्थापनमा सहयोग पुगेको विद्युत प्राधिकरणका प्रवत्ता प्रवल अधिकारी बताउछन् । उपभोक्ताले पिकआवरमा हिटर, राइसकुकुर, आइरन, एसिलगायत बढी बिजुली खपत गर्ने उपकरण प्रयोग नगर्दा माग घटेको उनको भनाई छ । “उपभोक्ताले सहयोग गर्दा मुलुक लोडसेडिङ मुक्त भएको छ” उनले भने । हालसम्म पिक आवरमा २७० मेगावाट अपुग भएको उनले बताए । प्राधिकरण, निजी क्षेत्रका आयोजना र भारतबाट समेत गरी ९७० मेगावाट बिजुली आपूर्ति भइरहेको छ । भारतबाट मात्रै ४७६ मेगावाट बिजुली आयात भइरहेको छ । यो वर्षको लोडसेडिङ कम गर्न विद्युत प्राधिकरणले भारतबाट ४८० मेगावाटसम्म बिजुली आयातको लक्ष्य लिएको छ । यसैगरी विद्युत प्राधिकरणका आयोजनाबाट ३०९, निजी क्षेत्रबाट १८६ मेगावाट बिजुली आपूर्ति भइरहेको छ । झण्डै आधा हिस्सा भारतबाट आयाति बिजुलीले थेगेको छ । फागुनसम्म उत्पादन अझै घट्ने प्राधिकरणले जनाएको छ । फागुनदेखि तापक्रम बढ्ने भएकाले तराईमा बिजुलीको माग बढ्न सक्ने अधिकारीको भनाई छ । गर्मि बढेर पंखा चल्दा त्यहाँ बिजुलीको माग बढ्ने छ । तराई क्षेत्रमा बढी बिजुली चोरी हुने गरेको छ । यो वर्ष १३८ मेगावाट बिजुली थपिदै चालु आर्थिक वर्षमा सार्वजनिक र निजी क्षेत्रबाट गरी १३८ मेगावाट मात्र बिजुली थप हुने भएको छ । विद्युत प्राधिरकरण र निजी क्षेत्रको लगानीमा १७ आयोजना सम्पन्न भइ यो परिमाणमा बिजुली थप हुने भएको हो । यो वर्षदेखि नेपालको जडित क्षमता बढेर १ हजार १ सय मेगावाट नाघने भएको छ । विद्युत प्राधिकरणले यो वर्ष सार्वजनिक र निजी क्षेत्रबाट गरी साढे २ सय मेगावाट बिजुली थप हुने अनुमान गरेको थियो । बिजुली उत्पादन लक्ष्य भन्दा ११२ मेगावाट कम हुने भएको छ । चालु आवमा निजी क्षेत्रबाट २०५ र विद्युत प्राधिकरणबाट ४५ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखिएको छ । प्राधिकरणले प्रगतिका आधारमा यो वर्ष आउने संभावना भएको आयोजनाको संशोधित अनुमान सुची तयार पारेको छ । सो सुचिअनुसार लक्ष्य भन्दा कम बिजुली थप हुने देखिएको हो । यो वर्ष विद्युत प्राधिकरणबाट ३० मेगावाटको चमेलिया र १४ मेगावाटको कुलेखानी तेस्रो गरी ४४ मेगावाट बिजुली थप हुने अनुमान गरिएको थियो । यो वर्ष चमेलिया मात्र सम्पन्न भएको छ । चमेलियाबाट परीक्षणको रुपमा बिजुली उत्पादन भइरहेको छ । औपचारिक रुपमा बिजुली उत्पादन माघदेखि हुने प्राधिकरणले जनाएको छ । कुलेखानी तेस्रो आयोजना अझै अनिश्चित बनेको छ । हालसम्म निजी क्षेत्रका ९ आयोजना सम्पन्न भई प्रणालीमा ४२ मेगावाट थप भइसकको छ । हालसम्म सम्पन्न हुने आयोजनामा द्रोणाञ्चल हाइड्रोपावर कम्पनीको ६ सय किलोवाटको ढुङेजिरी, गज्र्याङ उपत्यका हाइड्रोपावरको २.८ मेगावाटको छ्याकेखोला, दिब्यश्वरी हाइड्रोपावर लिमिटेडको ४ मेगावाटको सभाखोला, पुवाखोला १ हाइड्रोपावरको ४ मेगावाटको पुवाखोला १ आयोजना रहेका छन् । सम्पन्न भएका अन्य आयोजनामा मन्दाकिनी हाइड्रोपावरको ४ मेगावाटको सार्दिखोला, सिवानी हाइड्रोपावर कम्पनीकोे ४ मेगावाटको फावाखोला, माइभ्याली हाइड्रोपावरले ५ मेगावाटको माइ सी आयोजना, माउन्ट कैलाश इनर्जीको १३.६ मेगावाटको थापाखोला र युनियन हाइड्रोपावरले ३ मेगावाटको मिदिम करापु आयोजना हुन् । यस्तै यो वर्षभित्र ७ वटा जलविद्युत आयोजना सम्पन्न हुने भएका छन् । यो वर्षभित्र सम्पन्न हुने अवस्थामा रहेका आयोजनामा बराही हाइड्रोपावरले १.५ मेगावाटको थेउलेखोला, मोलुङ हाइड्रोपावरले ७ मेगावाटको मोलुङखोला, हिमाल दोलखा हाइड्रोपावरले ८ मेगावाटको माई साना क्यासकेड, अपि पावर कम्पनीले ८ मेगावाटको माथिल्लो नौगाड छन् । यस्तै विन्दवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ८.८ मेगावाटको रुदीखोला ए, सिकलेस हाइड्रोपावरले १३ मेगावाटको मद्क्युखोला र मनाङ ट्रेडलिंकले २० मेगावाटको तल्लोमोदी सम्पन्न हुने चरणमा रहेका छन् ।  

कामना सेवा विकास बैंकको नाफा १३ करोड ६० लाख

काठमाडौं । कामना सेवा विकास बैंकले १३ करोड ६० लाख नाफा कमाएको छ । बैंकले चालु आवको पुस मसान्त अवधीमा सो नाफा कमाएको हो । बैंकले गत आवको सोही अवधीमा भने जम्मा १० करोड नाफा कमाएको थियो । कामनाले ६ महिनामा १३ अर्ब ८७ करोड निक्षेप संकलन गरेर १२ अर्ब ३९ करोड कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा २.१३ प्रतिशत रहेको छ भने १६ करोड प्रोभिजन गरेको छ । बैंकले ४ करोड ७२ लाख राइट ब्याकबाट प्राप्त गरेको देखिन्छ ।

गरिमा विकास बैंकको नाफा १८ कराेड, निष्क्रिय कर्जा घटेर ०.४७ प्रतिशतमा

  काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा गरिमा विकास बैंकको खुदनाफा बढेको छ । गत पुससम्म बैंकले १८ करोड रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले १५ करोड ९५ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले सोमबार सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाशको वित्तीय विवरणअनुसार बैंकको निष्क्रिय कर्जा घटेर ०.४७ प्रतिशतमा झरेको छ । गत असारमा बैंकको यस्तो कर्जा १ प्रतिशत थियो । बैंकको निक्षेप लागत बढेर ८.१४ प्रतिशत पुगेको छ । गत असारमा बैंकको लागत ७.९५ प्रतिशत थियो । बैंकको सीडी रेसियो ७७.३४, आधार ब्याजदर ११.६३ र कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर ६ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी १४ रुपैयाँ २५ पैसा छ । समीक्षा अवधिमा बैंकले १७ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । यस्तै १५ अर्ब ७५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको संचित कोषमा ४६ करोड ९९ लाख रुपैयाँ छ । बैंकको चुक्तापँुजी बढेर २ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ ।