२०८१ माघ १३ गते १५:३८ सम्पादकीय
कुनै बेला मनोरञ्जनका लागि हेरिने र निर्माण हुने सिनेमाहरु पछिल्लो समय व्यापारिक दृष्टिकोणले हेरिन थालिएको छ । अभिनय गर्न रुचाउने र सिनेमा बनाउन इच्छा भएकाहरूले सानोतिनो रकम जुटाएर चलचित्र निर्माण गर्ने चरणबाट नेपाली सिनेमा क्षेत्र अहिले एउटा उद्योगको रूपमा विकास हुन थालेको हाे । विशेषगरी केही सिनेमा निर्माणकर्ताले राम्रो विषयवस्तु पस्केर स्रोता तथा दर्शकको मन जितेर आकर्षक आम्दानी गरेपछि यो क्षेत्रप्रति धेरैको चासो बढेको हो । विगतमा उद्योगी व्यवसायीहरूको नजरमा नपरेको सिनेमा क्षेत्रमा पछिल्लो समय उनीहरू लगानी गर्न तयार भएका छन् । यसले नेपाली सिनेमा क्षेत्र नयाँ मोडमा प्रवेश गरेको बुझ्न सकिन्छ ।
सिनेमा उद्योगमा ठूला व्यवसायीहरूको प्रवेशले थप लगानी, प्रविधि र सिर्जना भित्रिन सक्ने सम्भावना देखिएको छ । पूरानो संरचना र प्रणालीलाई विकसित गर्दै सिनेमा क्षेत्रमा नयाँ आयाम थपिन सक्ने संकेत देखिन थालेका छन् । जसरी व्यवसायी नकिम उद्दिनले परम्परागत प्रविधिका हललाई परिणत गरी सुविधासम्पन मल्टिप्लेक्स हलको नयाँ मोड दिन सफल भए । जसरी उनले नेपाली सिनेमा इन्ड्रस्ट्रीजको डिजिटलाइजेशन गर्नेदेखि सिनेमा हलको गुणस्तर वृद्धिमा एउटा ट्रेण्ड सेटरको भूमिका खेले । त्यसरी नै नयाँ व्यवसायीले यो क्षेत्रमा प्रवेश गरेर नयाँ आयाम थप्ने संकेत देखिन थालेको छ ।
शुक्रबारमात्रै नेपालको एक ठूलो व्यावसायिक घराना गोल्छा समूह सिनेमा क्षेत्रमा प्रवेश गरेको छ । गोल्छा अर्गनाइजेसनका अध्यक्ष शेखर गोल्छा र अर्का व्यवसायी तथा प्रिज्मा एड्भटाइजिङका प्रमुख रन्जीत आचार्यले बाइस्कोप सिनेमा प्रालि नामक कम्पनी नै स्थापना गरेर नयाँ सिनेमा ‘परान’ निर्माण गर्ने घोषणा गरेका छन् । सिनेमा क्षेत्रमा गोल्छा र आचार्यको प्रवेश पक्कै पनि एउटा कोशेढुङ्गा बन्नेमा दुईमत छैन । उनीहरूसँगै अन्य उद्योगी व्यवसायी पनि सिनेमा उद्योगमा प्रवेश गर्नका लागि उनीहरूले भूमिका खेल्नेछन् । परान सिनेमामा पुराना वरिष्ठ कलाकारहरुको अभिनयले पनि यो क्षेत्रमा थप इँटा थप्न मद्दत गर्नेछ ।
गोल्छा, आचार्य र नकिम उद्दिनहरूले अब सिनेमा निर्माण र लगानीमात्रै गर्ने छैनन्, उनीहरूले सिनेमा उद्योगलाई विश्वस्तरीय प्रविधि र व्यवस्थापकीय शैली पनि सिकाउनेछन् । गुणस्तरीय चलचित्र निर्माणबाट राम्रो कमाउन सकिन्छ भन्ने सन्देश प्रवाह गर्नेछन् । अन्तर्राष्ट्रिय बजारसँग कसरी प्रतिस्पर्धा गर्न सकिन्छ भन्ने उपाय सिकाउनेछन् ।
यस वर्ष मात्रै चलेका चलचित्रहरू छक्का पञ्जा- ५, पूर्ण बहादुरको सारङ्गी र १२ गाउँले पनि त्यो प्रमाणित गरे । विगतका वर्षहरूमा बलिवुड र हलिवुडको दबदबा रहने नेपाली सिनेमा क्षेत्रमा यस वर्ष भारतीय सिनेमाले पानी भन्न पनि पाएनन् । यी तीनवटै सिनेमाले आकर्षक कमाइ मात्रै गरेनन्, हालसम्मकै सिनेमाहरूको कमाइको रेकर्डसमेत ब्रेक गरे ।
विगतमा सिनेमा निर्माण गर्नैका लागि गर्ने दिनहरू अब सकिनेछन् । ठूला व्यवसायीहरूले सिनेमा उद्योगमा लगानी बढाउँदा उनीहरूले त्यसको वितरण, बजारीकरण तथा प्रचारप्रसारमा पनि उत्तिकै कुशलता देखाउनेछन् । डिजिटल प्लेटफर्महरूको विकाससँगै चलचित्रको ग्लोबल मार्केटिङ र अन्तर्राष्ट्रिय प्रदर्शनमा समेत उनीहरूले भूमिका खेल्नेछन् । ठूला व्यवसायीहरूको प्रवेशले सिनेमा उद्योगमा नयाँ रोजगारीका अवसरहरू सिर्जना गर्ने, विदेशी मुद्रा समेत आउने र नेपालबाट विदेश जाने ठूलो परिमाणको विदेशी मुद्रा समेत रोकिन सक्ने आँकलन गर्न सकिन्छ । विगतमा मनोरञ्जनका लागि निर्माण हुने सिनेमा उद्योगमा अब नाफाघाटाको पनि बहस हुनेछ र नेपाली चलचित्रलाई पनि विदेशमा पुर्याउने एउटा प्रस्थान बिन्दु बन्न सक्ने आँकलन गर्न सकिन्छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.