सेवोन अध्यक्षका ३ प्रत्यासीः घरजग्गा, सेयर बजारदेखि बैंकसम्मका विज्ञ, कसको सम्भावना बलियो ?

  २०७८ फागुन ३ गते १३:५९     विकासन्युज

काठमाडौं । धितोपत्र बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस भएको छ । अर्थ मन्त्रालयले गठन गरेको छनौट तथा सिफारिस समितिले बोर्डको अध्यक्ष नियुक्तिको लागि ३ जनाको नाम सिफारिस गरेको हो ।

समितिले डा. गोपाल प्रसाद भट्ट, रमेशकुमार हमाल र कृष्णराज पोखरेलको नाम सिफारिस गरेको हो । यसअघि आवेदन दिएका १५ जनामध्येबाट ५ जनाको सर्ट लिस्ट आएको थियो । ५ जनामा डा. गोपाल भट्ट, डा. रमेश हमाल, कृष्णराज पोखरेल, खगेन्द्र कटुवाल र निरज गिरी परेका थिए ।

गिरी र कटुवाल प्रतिस्पर्धाको रिङ्गबाट बाहिरिसकेका छन् । अब यी तीन जनामध्ये सरकारले कसलाई बोर्डको अध्यक्ष बनाउँछ भन्ने चासो र चर्चा हुन थालेको छ । स्रोतका अनुसार यी तीनै जना नेपाली काँग्रेस निकट मानिन्छन् ।

कसको सम्भावना बलियो ?

नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपालप्रसाद भट्ट बोर्डको अध्यक्षका लागि बलियो उम्मेदवारका रुपमा लिइएको छ । डा. भट्टले नेपाली बैंकिङ क्षेत्रमा तीन दशक लामो समयसम्म काम गरिसकेका छन् ।

उनी पूँजी बजार विज्ञ भनेर पनि परिचित छन् । बैंकरसँगै विभिन्न शैक्षिक संस्थामा अध्यापन गरेको पनि उनीसँग अनुभव छ । त्यसैले पनि उनलाई धेरैले बलियो उम्मेदवारको रुपमा लिएका छन् ।

यस्तै, बोर्डको अध्यक्षका लागि सिफारिस भएका अर्का उम्मेदवार हुन् डा. रमेशकुमार हमाल । हमालसँग विदेशका सेयरबजारको ज्ञान र अनुभव छ । हमाल पनि पूर्वाधार, वित्तीय र घरजग्गा क्षेत्रको विज्ञका रुपमा परिचित छन् । ग्रिन हेरिटेज ग्रुपका चिफ अपरेटिङ्ग अफिसरका रुपमा कार्यरत उनीसँग एसिया क्षेत्रकाे रियलस्टेट र हस्पिटालिटीमा काम गरेको लामो अनुभव छ ।

हमाल पुर्व गैरआवासिय नेपाली पनि हुन् । उनले एनआरएन थाइल्याण्डका पूर्व अध्यक्षका रुपमा काम गरिसकेका छन् । हमाललाई बोर्डको अध्यक्ष बनाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा नै लागिपरेको चर्चा पनि बजारमा छ । त्यस कारण पनि उनलाई बोर्डको अध्यक्षका लागि सम्भावित पात्रको रुपमा धेरैले लिएका छन् ।

हाल धितोपत्र बोर्डको कानुन महाशाखाका उप–कार्यकारी निर्देशक समेत रहेका कृष्णराज पोखरेल पनि बोर्डको अध्यक्षका लागि सिफारिस भएका छन् । पोखरेलले ९ वर्ष नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काम गरिसकेका छन् । नेप्सेमा सन् २००७ मा सिनियर अफिसरबाट काम सुरु गरेका उनी सन् २०१४ देखि २०१६सम्म एक्टिङ डेपुटी म्यानेजरका रुपमा काम गरेको अनुभव छ ।

वाणिज्यशास्त्रमा स्नातकोत्तर गरेका उनी कानुनको पनि विद्यार्थी हुन् । उनी लेखक पनि हुन् । उनले वाणिजयशास्त्रका स्नातक र स्नातकोत्तरका विद्यार्थीका लागि ‘फाइनानसियल इन्सिच्युट र मार्केटस्’ नामक पुस्तक पनि लेखेका छन् ।

बोर्डको अध्यक्षका लागि दौडमा रहेका कार्यकारी निर्देशक निरज गिरीलाई ‘आउट’ गरेर बरियतामा छैठौं नम्बरमा रहेका पोखरेललाई प्रतिस्पर्धाको रिङ्गमै राख्नुलाई पनि धेरैले रोचक विषयका रुपमा लिएका छन् । २६ वर्षसम्म बोर्डमै काम गरेका गिरीलाई पछार्दै पोखरेललाई अगाडि बढाएकोले पनि कतै पोखरेल नै अध्यक्षमा नियुक्त हुने हुन् की भन्ने कौतुहलता धेरैमा छ ।

धितोपत्र ऐन २०६३ मा धितोपत्र अध्यक्षका लागि उच्च नैतिक चरित्र भएको नेपाली नागरिक हुनुपर्ने, धितोपत्र बजार व्यवस्थापन, पुँजीबजार विकास, आर्थिक, वित्तीय, वाणिज्य व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तिमा ७ वर्षको पेशागत अनुभव हासिल गरेको व्यक्ति हुनुपर्ने प्रावधान छ ।

One comment on "सेवोन अध्यक्षका ३ प्रत्यासीः घरजग्गा, सेयर बजारदेखि बैंकसम्मका विज्ञ, कसको सम्भावना बलियो ?"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.