काठमाडौं । महिला सामुदायिक र जाल्पा लघुवित्त वित्तीय संस्था एक भएर बनेको संस्था हो, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड । यी दुई संस्था एक आपसमा मर्ज भई २०७७ मंसिर १६ गतेदेखि एकीकृत कारोबार शुरु गरेको हो ।
जाल्पा लघुवित्तले कारोबार सञ्चालन गरेको भने २०७८ भदौमा तीन वर्ष पुरा भएको छ । संस्थाले २०७५ कार्त्तिक ३० गते वित्तीय संस्थाको रुपमा वित्तीय कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र पाएको हो । र, सोहि साल चैत १ गतेदेखि राष्ट्रिय स्तरको ‘घ’ वर्गको वित्तीय संस्थाको रुपमा कारोबार सञ्चालन गर्दै आएको छ ।
सञ्चालनमा आएदेखि नै निरन्तर नाफामा रहेको संस्थाले सर्वसाधारणलाई सेयर जारी गर्दै छ । संस्थाले माघ २१ गतेदेखि सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्न लागेको हो । लघुवित्तले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गर्दै छ । जसमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुलाई, ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लगानीकोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्ता सेयर सर्वसाधारणमा निष्काशन गरिने छ ।
यससँगै इच्छुकले आगामी माघ २१ गतेदेखि छिटोमा माघ २५ गतेभित्र आवेदन दिइसक्नु पर्ने हुन्छ । यदि उक्त अवधिसम्म पनि माग अनुसारको आवेदन नपरेमा ढिलोमा फागुन ६ गतेसम्म आवेदन खुला गरिने व्यवस्था छ । इच्छुकले सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर वेबसाइट तथा एप मार्फत न्यूनतम १० कित्तादेखि ५ हजार २२० कित्तासम्मका लागि आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।
त्यस्तै, आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । संस्थाले आईपीओ निष्काशनका लागि इक्रा रेटिङ्ग नेपालबाट इक्रा एनपी आईआर डबल बि रेटिङ्ग पाएको छ, जसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
किन जारी गर्दै छ आईपीओ ?
संस्थाले जारी पुँजीको ३२.६२५ प्रतिशत अर्थात ५ करोड २२ लाख रुपैयाँ बराबरको सेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो । संस्थाले चुक्ता पुँजी बढाउन सो मात्राको सेयर जारी गर्न लागेको हो । हाल १० करोड ७८ लाख रुपैयाँ रहेको संस्थाको चुक्ता पुँजी आईपीओ बाँडफाँडपश्चात १६ करोड रुपैयाँ नाघ्ने छ ।
त्यस्तै, संस्थाले सेवा विस्तार गर्ने क्रममा लगानी बढाउन एवम् वित्तीय एवम् आर्थिक गतिविधिहरुलाई विस्तार गर्न उक्त सेयर जारी गर्न लागेको हो । सेयर जारी पश्चात उठेको रकम संस्थाले विभिन्न स्थानमा लगानी गर्ने छ । संस्थाले आईपीओ जारीबाट ५ करोड २२ लाख रुपैयाँ बराबरको रकम संकलन गर्छ । जसमध्ये पशुपालन तथा कृषि कर्जामा २ लाख, खुद्रा व्यापार र सेवा कर्जामा २ लाख, साना तथा घरेलु उद्योग कर्जामा ७२ लाख र भौतिक पूर्वाधार तथा शाखा विस्तारमा ५० लाख रुपैयाँ लगानी गर्ने जानकारी गराएको छ ।
हाल संस्थाको अधिकृत पुँजी २५ करोड र जारी पुँजी १६ करोड रुपैयाँ रहेको छ । चुक्ता पुँजी १० करोड ७८ लाख रुपैयाँ छ । ५ करोड २२ लाख रुपैयाँ बराबरको आईपीओ पछि संस्थाको चुक्ता पुँजी १६ करोड रुपैयाँ पुग्ने छ । २०७८ असोज मसान्तसम्म संस्थाले २ अर्ब १९ करोड रुपैयाँ बराबरको निक्षेप संकलन गरी ४ अर्ब २२ करोड रुपैयाँ बराबरको कर्जा लगानी गरेको छ ।
वित्तीय संस्थाको हैसियतमा केवल करिब ३ वर्ष पुरानो लघुवित्त वित्तीय संस्थाले आफ्नो स्थितिलाई मजबुत बनाउँदै लगेको छ । स्थापनाको पहिलोवर्ष देखि नै मुनाफामा सञ्चालनमा रहेको यस वित्तीय संस्थाले हाल बजारमा छुट्टै पहिचान बनाई आफ्नो स्थान ओगट्न सफल भएको छ । साथै, संस्थाले रणनीतिक योजना तथा कार्यविधि तयार गरी नयाँ नयाँ सेवा मार्फत लक्षित वर्गमा आफ्नो सेवा सुविधाको पहुँच पुर्याई अग्रणी भूमिका समेत खेलेको छ ।
यस्तो छ लघुवित्तको तीन वर्षे वित्तीय प्रक्षेपण
संस्थाले आर्थिक वर्ष २०७७/७८ को आधारमा तीन वर्षसम्मको वित्तीय विवरणहरु प्रक्षेपण गरेको छ । जसमा पुँजी पर्याप्तताको मात्रा राष्ट्र बैंकले तोकेको अनुसार नै गरिएको छ । सो अनुसार आर्थिक वर्ष २०७८/७९ मा ९.७९, २०७९/८० मा १०.२४ र आर्थिक वर्ष २०८०/८१ को लागि ११.२१ प्रतिशत हुने छ । कर्मचारी खर्च क्रमशः ६०, २० र १० प्रतिशतले बढ्ने छ । अन्य सञ्चालन खर्च क्रमशः १८८.१४, ४५.९९ र १९.९३ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । त्यस्तै, तीन वर्षको अवधिमा निक्षेप औषतमा २०.७० प्रतिशत र कर्जा लगानी १७.३१ प्रतिशतले बढ्ने छ ।
प्रतिसेयर नेटवर्थ र प्रतिसेयर आम्दानी
२०७८ पुससम्ममा संस्थाको सेयर पुँजी १० करोड ७८ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा ३६ करोड ५७ लाख रुपैयाँ छ । र, यो अवधिमा संस्थाले ५ करोड ८० लाख रुपैयाँ बराबरको खुद नाफा कमाएको छ । आर्थिक वर्ष २०७७/७८ मा संस्थाको प्रतिसेयर नेटवर्थ ३७९.८३ रुपैयाँ छ भने प्रतिसेयर आम्दानी ९६.७५ रुपैयाँ छ । जुन आर्थिक वर्ष २०८०/८१ सम्ममा बढेर क्रमशः ४९३.६२ रुपैयाँ र ११२.८७ रुपैयाँ पुग्ने छ ।
यस्तो छ संस्थाको आगामी योजना
हालको कोरोना भाइरसको प्रकोप बढ्ने सम्भावना भएकालेसँगै संस्थाले हाल प्रयोगमा ल्याएको हाई टच मोडललाई लो टच मोडलमा परिवर्तन गर्ने छ । जसको लागि डिजिटलाईजेशन र इनोभेटिभ फाइनान्स जस्ता प्रविधिहरु प्रयोग गर्ने संस्थाले जनाएको छ । लघुवित्तको कार्यक्रम सञ्चालनमा सूचना प्रविधिको उच्चतम प्रयोग र्ने गरी डिजिटल कारोबारलाई अगाल्ने संस्थाको रणनीति रहेको छ ।
संस्थाले नयाँ ऋणी तथा कर्जा नलिएका सदस्यसमेतलाई कर्जा लिन उत्प्रेरित गर्ने गरी लगानी बढाउने भएको छ । र, नियमित कर्जाको भुक्तानी गर्ने असल ऋणीहरुको परियोजनामा कर्जाको लगानी सीमा बढाउने लक्ष्य लिएको छ । त्यस्तै, हाल कर्जामा देखिएको दोहोरोपना तथा बहुपनाको कारणले अस्वस्थ लघुवित्त क्षेत्रको सुधारको लागि ‘स्वच्छ लघुवित्त हाम्रो अभियान’लाई सार्थकता दिने छ । र, संस्थामा आवद्ध भई कर्जा लिने ऋणी सदस्यलाई ब्याजदरमा सहुलियत पनि दिने संस्थाको रणनीति छ ।
साथै वर्तमान आर्थिक, राजनैतिक र बैंकिङ्ग प्रतिष्पर्धा बीच सफलताका साथ अगाडि बढ्न वित्तीय संस्थाले आफ्ना सेवा तथा कार्यक्रममा भिन्नता, शाखा विस्तारमा बैंक नभएका अर्ध सरकारी र ग्रामीण क्षेत्रमा जोड, आधुनिक तथा प्रविधियुक्त बैंकिङ्ग सेवा जस्ता रणनीति अवलम्वन गरेर अगाडि बढिरहेको जनाएको छ ।
पोखरा ८ कस्कीमा रजिष्टर्ड कार्यालय रहेको संस्थाले २४ वटा जिल्लामा कूल ८७ वटा शाखा कार्यालय विस्तार गरी लघुवित्त कारोबार सञ्चालन गर्दै आएको छ । त्यस्तै, संस्थाको कारोबारको मुख्य स्थान ५ वटा प्रदेश (बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम) मा रहेको छ ।
संस्थाले आर्थिक वर्ष २०८१/८२ सम्ममा ६० वटा जिल्लाका १५५ वटा शाखा कार्यालयबाट ९५ हजार सदस्यलाई कर्जा सुविधा प्रवाह गर्ने योजना लिएको छ । सो अवधिसम्ममा ५५ हजार समूहमार्फत संस्थाका लक्षित समूहका एक लाख ९५ हजार जनालाई वित्तीय संस्थाको सदस्यमा आवद्ध गर्ने र उनीहरुको आर्थिक तथा सामाजिक जीवनस्तरमा सुधार ल्याउने संस्थाको लक्ष्य रहेको छ ।
जोखिम न्यूनिकरण गर्न २ करोड बढीको बीमा, कुनमा कति ?
संस्थाले जोखिम न्यूनिकरणको लागि संस्थाका सवारीसाधान, स्थिर सम्पत्तिहरु तथा भल्टको बीमा गरेको छ । संस्थाले एनएलजी इन्स्योरेन्स र शिखर इन्स्योरेन्समा २ करोड २७ लाख रुपैयाँ बराबरको बीमा गरेको छ । निश्चित अवधिको लागि गरिएको उक्त बीमाको प्रिमियम कूल २ लाख १३ हजार ९२४ रुपैयाँ रहेको छ । संस्थाले सामान्य सम्पत्ति बीमालेख, विविध दुर्घटना बीमा, सवारी साधनको बीमा गराएको हो ।
कुन सञ्चालकको लगानी कति ?
हाल संस्थाको सञ्चालक समितिमा ५ जना रहेका छन् । वीर बहादुर अधिकारी अध्यक्ष रहेको यस संस्थामा सदस्यमा अर्जुन श्रेष्ठ, गिता कुमारी योगी गिरी, सुष्मा गौतम र स्वतन्त्र सञ्चालकमा ओमकार पाण्डे रहेका छन् । जसमध्ये सदस्य गिता कुमारी योगी गिरीको सबैभन्दा बढी सेयर स्वामित्व रहेको छ । आधारभूत सेयरधनीसमेत रहेकी गिरीको २० हजार कित्ता सेयर स्वामित्व रहेको संस्थाले जनाएको छ । उनी नेपाल महिला सामुदायिक सेवा केन्द्रकी सञ्चालक समेत हुन् ।
संस्थाको अनुसार गिरी बाहेक आधारभूत सेयरधनीमा प्राइम कमर्शियल बैंकसहित ५ वटा संस्थाहरु रहेका छन् । जसमध्ये प्राइम बैंकको ६५ हजार ८०० कित्ता, ज्योति विकास बैंक र पोखरा फाइनान्सको बराबर ५६ हजार ४०० कित्ता, सामुदायिक सेवा केन्द्रको २ लाख ५८ हजार कित्ता र सृजना विकास केन्द्रको ३ लाख ४३ हजार १०० कित्ता सेयर स्वामित्व रहेको छ ।
महिला नेतृत्वसहित ११ जनाको व्यवस्थापकीय टीम
महिला नेतृत्वले लिड गरिरहेको जाल्पा लघुवित्तमा ११ जनाको व्यवस्थापकीय टीम छ । जसमा प्रमुख कार्यकारी अधिकृतमा बिमला योगी, नायब प्रमुख कार्यकारी अधिकृतमा अशोककुमार आचार्य, सामान्य सेवा विभाग प्रमुख (वरिष्ठ मुख्य व्यवस्थापक) मा शारदा शर्मा, मुख्य व्यवस्थापकमा दिवस ढकाल, दाङ्गको प्रदेश प्रमुखमा पवन योगी, प्रमुख कर्जा तथा जोखिम व्यवस्थापन विभागमा लोकमणी रेग्मी, बरिष्ठ प्रबन्धकमा सुरज शर्मा, प्रबन्धकमा रामप्रसाद भण्डारी, मेनुका गिरी, यमला गौतम र कल्पना कार्की रहेका छन् । चार जना प्रबन्धकलाई भिन्नाभिन्नै विभागको जिम्मेवारी दिइएको छ ।
संस्थाका अनुसार सञ्चालक समिति लगायत उच्च व्यवस्थापन समिति तथा पदाधिकारीहरुमा लामो समयको बैंकिङ्ग तथा लघुवित्तको अनुभव रहेको छ । जसले गर्दा अन्य प्रतिष्पर्धीभन्दा पृथक किसिमले भावी योजनाहरु सजिलै पुरा गर्न सक्ने क्षमता रहेको छ । हाल संस्थामा ४७४ जना कर्मचारी कार्यरत छन् । जसमा २८५ जना स्थायी, १२३ जना करारका कर्मचारी हुन् भने ६६ जना प्रशिक्षार्थी कर्मचारी हुन् ।
कसको तलब तथा भत्ता कति ?
संस्थाकी सीईओ बिमला योगीले २१ लाख ९ हजार ४१४ रुपैयाँ तलब लिएकी छिन् । त्यस्तै, डीसीईओ अशोक कुमार आचार्यले २० लाख २ हजार ९४२ रुपैयाँ र वरिष्ठ मुख्य व्यवस्थापक शारदा शर्माले १२ लाख १९ हजार ८६ रुपैयाँ बराबरको पारिश्रमिक लिएका छन् । उनीहरुले आर्थिक वर्ष २०७७/७८ मा सो मात्राको तलब बुझिलिएका हुन् ।
संस्थाका सञ्चालकले १०० अमेरिकी डलरसहित ८ हजार रुपैयाँ भत्ता स्वरुप लिँदै आएका छन् । जसमध्ये बैठकममा उपस्थित भए बापत प्रति बैठक २ हजार ५०० रुपैयाँ भत्ता पाइरहेका छन् । त्यस्तै, स्वदेशमा दैनिक भत्ता २ हजार ५०० रुपैयाँ, भारतमा दैनिक भत्ता ३ हजार रुपैयाँ र भारत बाहेकका अन्य विदेशी मुलुकमा दैनिक भत्ता अमेरिकी डलर १०० छ । साथै, भ्रमण भत्ता बिल बमोजिम हुने र अन्य सुविधा साधारण सभाले समय समयमा निर्धारण गरे बमोजिम हुने पनि संस्थाले जनाएको छ ।