बजारमा रौनकता कायमै, एकैदिन ९३.४६ प्रतिशतले बढ्यो सेयर कारोबार

  २०७८ पुष २५ गते १५:३८     विकासन्युज

काठमाडौं । पछिल्लो समय सेयर बजारले गति लिन थालेको छ । केही समयअघि मात्रै निरन्तर घटेर २३ सयभन्दा तल झरेको बजार अहिले भने बढेर पौने २८०० बिन्दु नजिकसम्म पुगेको छ ।

आइतबारको बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा सुधार देखिएको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा तलता संकटको समस्या समाधान हुन थालेसँगै त्यसको सकारात्मक प्रभाव सेयर बजारमा परेको देखिन्छ । त्यस्तै, केही दिनयता लगानीकर्ताको मनोबल बलियो हुँदै गएको र संक्रमितको संख्या पनि दिनानुदिन बढेसँगै पुनः लकडाउनको गरिने हल्लाले पनि बजारमा एकाएक सेयर कारोबार रकम बढेको बुझिन्छ ।

आइतबार सेयर मूल्य मापक नेप्से परिसूचक ७३.०१ बिन्दुले बढेर २७६५.४७ बिन्दुसम्म पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा २.७७ प्रतिशतले बढी हो ।

बजारमा परिसूचकसँगै कारोबार रकममा पनि उच्च सुधार देखिएको छ । गत बिहीबार ३ अर्ब ६७ करोड रुपैयाँमा सीमित भएको सेयर कारोबार आइतबार भने ७ अर्ब माथिको सेयर किनबेच भएको छ । बजारमा २३९ वटा स्क्रिप्स्को ७ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जुन अघिल्लो कारोबारको तुलनामा ९३.४६ प्रतिशतले बढी हो भने गत मंसिर यताकै उच्च कारोबार हो ।

गत मंसिर १ गतेको बजारमा ७ अर्ब ३७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । त्यसयताको बजारमा ७ अर्ब माथिको सेयर कारोबार भएको थिएन ।

बजारमा विभिन्न ३ कम्पनीको २० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । जसमध्ये अपि पावरको सबैभन्दा बढी अर्थात २९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, प्रभु बैंकको २० करोड,८६ लाख र अपर तामाकोशी हाइड्रोको २० करोड १५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यी तीन वटै कम्पनीको सेयर मूल्य बढेर क्रमशः ५१६, ३३७, ६९३ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

आइतबार ९ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । जसमध्ये अधिकांश हाइड्रो समूह अन्तर्गतका कम्पनीहरु रहेका छन् । जसमा नेपाल हाइड्रो डेभलपर्स र हिमालयन उर्जा विकास कम्पनीको सेयर मूल्य १०/१० प्रतिशतले बढेको छ । यूनियन हाइड्रोपावरको ९.९८, मध्य भोटेकाशी जलविद्युत कम्पनीको ९.९७, न्यादी हाइड्रोपावरको ९.४१, प्रोगेसिभ फाइनान्सको ९.३३, आईसीएफसी फाइनान्सको ९.२८, एचआईडीसीएलको ९.२७ र कर्पोरेट डेभलपमेन्टको ९.१८ प्रतिशतले सेयर मूल्य बढेको छ ।

आइतबार सबै समूह हरिया देखिएका छन् । जसमध्ये सबैभन्दा बढी निर्जीवन बीमा समूह ३७९.७७ अंकले बढेको छ । सबैभन्दा कम बढ्नेमा म्युचुअल फण्ड रहेको छ । उक्त समूह ०.२१ अंकले मात्रै बढेको हो ।

बजारमा १३ वटा स्क्रिप्स्को मात्रै मूल्य घटेको छ । जसमा चन्द्रागिरी लगायत नबिल बैंक पनि रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.