निर्जीवन बीमा कम्पनीहरुले नगद लाभांश नदिने

<p>काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले यो वर्ष नगद लाभांश नदिने भएका छन् । नियामक निकाय बीमा समितिले नगद लाभांश वितरण गर्न रोक लगाएसँगै कम्पनीहरुले यो वर्ष सेयरधनीलाई नगद लाभांश नदिने भएका हुन् । समितिले कोरोना बीमाको दाबी भुक्तानी नभएसम्म कम्पनीहरुलाई नगद लाभांश वितरणमा रोक लगाएको हो । यससँगै सञ्चालित २० वटा निर्जीवन बीमा कम्पनीहरुले नगद [&hellip;]</p>

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले यो वर्ष नगद लाभांश नदिने भएका छन् । नियामक निकाय बीमा समितिले नगद लाभांश वितरण गर्न रोक लगाएसँगै कम्पनीहरुले यो वर्ष सेयरधनीलाई नगद लाभांश नदिने भएका हुन् ।

समितिले कोरोना बीमाको दाबी भुक्तानी नभएसम्म कम्पनीहरुलाई नगद लाभांश वितरणमा रोक लगाएको हो । यससँगै सञ्चालित २० वटा निर्जीवन बीमा कम्पनीहरुले नगद लाभांश वितरण गर्न नपाएपनि बोनस सेयर भने वितरण गर्न पाउने छन् ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरुलाई कोरोना बीमाको दाबी भुक्तानी नगरेसम्म नगद लाभांश वितरण नगर्न निर्देशन दिएको बताएका छन् ।

‘कोरोना बीमा पोलिसी ल्याएको दुई वर्ष नाघिसक्यो, बीमितिले अहिलेसम्म भुक्तानी पाएका छैनन्, यस्तो अवस्थामा नगद लाभांश वितरण गर्न उचित हुँदैन, त्यसैले उक्त रकम भुक्तानी नभएसम्म कम्पनीहरुलाई नगद लाभांश वितरण नगर्न निर्देशन दिइएको हो,’ कार्यकारी निर्देशक पौडेलले भने ।

समितिको पछिल्लो तथ्यांक अनुसार १ लाख ५९ हजार २२५ वटा दाबी वापत १४ अर्ब ९३ करोड ६६ लाख रुपैयाँ बराबरको दाबी परेको छ । त्यसमध्ये पुल मार्फत ३ अर्ब ५० करोड रुपैयाँ र बीमा कम्पनीहरुबाट १ अर्ब २८ करोड ७८ लाख रुपैयाँ गरी ४ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ दाबी भुक्तानी भएको छ । र, बाँकी रहेको १० अर्ब १५ करोड १४ लाख रुपैयाँ बराबरको दाबी अझै भुक्तानी गर्न बाँकी रहेको समितिले जनाएको छ ।

कार्यकारी निर्देशक पौडेलले लामो समयदेखि बीमितको दावी भुक्तानी दिन नसकेको अवस्थामा नगद लाभांश दिनु उचित नहुने भएर लाभांशमा रोक लगाइएको बताए । साथै, सेयरधनीले यो वर्ष लाभांश नपाउँदा खासै असर नपर्ने समेत उनले बताएका छन् ।

‘अहिलेको अवस्थामा लाभांशभन्दा पनि दावी भुक्तानी महत्वपूर्ण हो, यो वर्ष सेयरधनीले नगद नपाउँदा केही पनि हुने होइन, त्यसैले हामीले लाभांशभन्दा पनि दावी भुक्तानीलाई प्राथमिकतामा राखेर यो निर्देशन दिएका हौं,’ उनले विकासन्युजसँग भने ।

कम्पनीहरुलाई बलियो बनाउन समेत यो निर्देशन दिइएको पौडेल बताउँछन् । यद्पि समितिले हालसम्म कम्पनीहरुलाई लिखित रुपमा भने निर्देशन दिएको छैन । कम्पनीहरुको प्रस्तावित लाभांश बीमा समितिले स्वीकृत गरेपछि मात्रै वितरण गर्न बाटो खुल्ने छ । त्यसैले समितिले लिखित नभई मौखिक रुपमै निर्देशन दिएपनि निर्जीवन बीमा कम्पनीहरुले यो कार्यान्वयनमा ल्याउनै पर्ने देखिन्छ ।

‘कम्पनीहरुले सेयरधनीलाई नगद लाभांश भन्दा बोनस सेयर दिए भने आफै बलियो हुँदै जान्छन्, त्यहि उद्देश्यले पनि कम्पनीहरुलाई यो वर्ष नगद लाभांश नदिनु भनेर मौखिक रुपमा भनेका छौं,’ विकासन्युजसँग बोल्दै उनले भने ।

साथै, समितिले यसअघि भुकम्पको बेलामा पनि कम्पनीहरुको नगद लाभांशमा रोक लगाएको थियो ।

२ कम्पनीले गरे लाभांश घोषणा

सञ्चालित २० निर्जीवन बीमा कम्पनीमध्ये १८ वटा नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएका छन् । जसमध्ये २ कम्पनीले मात्रै गत वर्षको लाभांश घोषणा गरेका छन् । हालसम्म हिमालयन जनरल र प्रिमियर इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को लाभांश घोषणा गरिसकेका छन् ।

जसमध्ये हिमालयन जनरलले ६.६५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै, प्रिमियर इन्स्योरेन्सले ७.५ प्रतिशत बोनस र ७.५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरिसकेको छ । बीमा समितिले भने हालसम्म स्वीकृति दिएको छैन ।

Share News