काठमाडौं । मंगलबारको सेयर बजार साढे एक घण्टा अघि नै बन्द भएको छ । नेप्से परिसूचक ६ प्रतिशतले बढेपछि सेयर कारोबार आज दिनभरीको लागि बन्द भएको हो ।
दिउँसो १ बजेर २६ मिनेट जाँदा परिसूचक ६.०१ प्रतिशतले बढेपछि नेप्से आज दिनभरको लागि सेयर कारोबार बन्द गरेको हो । नेप्सेको सर्किट ब्रेकरको व्यवस्था अनुसार परिसूचक ६ प्रतिशतभन्दा बढी बढेमा वा घटेमा सो दिनको लागि कारोबार बन्द हुने छ । यससँगै अब बुधबार मात्रै सेयर कारोबार खुल्ने छ ।
मंगलबारको बजारमा दुई पटक सर्किट ब्रेक लाग्यो । यसअघि ५ प्रतिशत भन्दा बढीले परिसूचक बढेपछि सेयर कारोबार ४० मिनेटको लागि स्थगित भएको थियो । त्यसपछि पुनः खुलेको बजारमा पनि परिसूचक ६.०१ प्रतिशतले बढेपछि दोश्रो पटक सर्किट लागेको हो ।
यससँगै एकैदिनमा परिसूचक १३७.१८ अंकले बढेर २४१८.८५ बिन्दुमा पुगेको छ । पछिल्लो समय निरन्तर घटेर २२०० को बिन्दुमा झरेको परिसूचकले मंगलबार एकैदिनमा २४०० बिन्दु पार गरेको छ ।
करिब २ घण्टा कारोबार भएको बजारमा एक अर्ब ८४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । २२० कम्पनीको ४० लाख ८५ हजार ९५६ कित्ता धितोपत्र किनबेच भएको हो ।
जसमध्ये सबैभन्दा बढी नबिल बैंकको सेयर कारोबार भएको छ । दुई घण्टामा बैंकको ९ करोड ८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । जसको सेयर मूल्य पनि बढेर प्रतिकित्ता १४६० रुपैयाँ पुगेको छ । जुन सोमबार १३६६ रुपैयाँमा झरेको थियो ।
त्यस्तै, कारोबारमा आएका सबै समूह हरिया देखिएका छन् ।