कुमारी बैंकको १९ करोड कर्जा प्रकरणः किन गयो न्यूरोड ब्रान्चबाट ऋण ? तानिए मालपोतका कर्मचारी ?

  २०७८ मंसिर १ गते १८:५८     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा ऋण लिन जानु भयो र धितो यो ठाउँको छ भनेर भन्नुभयो भने बैंकले सामान्यतः तपाईंलाई सोही स्थानमा रहेको बैंकको शाखाबाट प्रक्रिया अघि बढाउन सल्लाह दिन्छन् ।

व्यवसायिक प्रयोजनको लागि कर्जा लिन खोज्नुभयो भने बैंकले धितो भएको स्थानको शाखाबाट प्रक्रिया अघि बढाउन र जुन ठाउँमा व्यवसाय गर्ने कम्पनी छ त्यही शाखाबाट कर्जा लिन बैंकहरुले सुझाउँछन् ।

गायक योगेश्वर अमात्यको जग्गाको नक्कली कागजात बनाएर कर्जा लिने गिरोहले कुमारी बैंककाे बीरगन्ज शाखाबाट प्रक्रिया अघि बढाएर काठमाडौंको न्यूरोड शाखाबाट १९ करोड रुपैयाँ ऋण निकाले । जबकि, सो ऋण निकाल्न पेश गरिएको नक्कली कागजातमा पनि गायक अमात्य र उनकी श्रीमती संचालक सेयरधनी रहेको कम्पनी विरुवाभूमि बनकाली कम्पनीको नाममा रहेको बारा जिल्लाको विश्रामपुरमा रहेको १२ विघा जग्गा धितो देखाइएको थियो ।

कर्जा निकाल्ने प्रयोजनको लागि तयार पारिएको नक्कली कागजातमा काठमाडौंको कोटेश्वरमा रहेको बेनियल ट्रेडिङ कम्पनीको नाममा सो जग्गा आएको देखाइएको थियो ।

प्रहरीले कुमारी बैंक पर्सा शाखाका जुनियर असिस्टेन्ट सोनु ठाकुर, धितो मूल्यांकनकर्ता राजेश्वर चौरसिया, मुक्तिनाथ गौतम र एसकुमार महर्जनलाई पक्राउ गरेको थियो । गायक योगेश्वर अमात्यको बारा, विश्रामपुरको १२ बिघा जग्गाको नक्कली कागजात बनाएर कुमारी बैंकबाट १९ करोड रुपैयाँ निकालिएको थियो ।

कुमारी बैंकले कर्जा दिँदा प्राप्त गरेको कागजपत्र के थियो भने बेनियल ट्रेडिङ कम्पनी कोटेश्वरको नाममा बारा जिल्लाको विश्रामपुरमा १२ विघा जग्गा छ, सो जग्गा धितो राखेर बेनियल ट्रेडिङ कम्पनीले १९ करोड ऋण लिन चाहेको छ । भलै, जग्गाको कागजपत्र नक्कली थिए ।

यसमा प्रश्न उठ्छ– बारा जिल्लामा भएको धितो राखेर कर्जा लिनको लागि किन पर्साको बीरगन्ज शाखाबाट प्रक्रिया सुरु गरियो ? अनि काठमाडौंको कोटेश्वरमा भएको कम्पनीले किन न्यूरोड शाखाबाट ऋण लियो ?

के भन्छ सीआईबी ?

हामीले यो प्रश्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) का प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोसँग पनि गरेका थियौं ।

‘बैंकले के कसरी कर्जा दिने प्रक्रिया अपनाएको छ, कुन शाखाबाट प्रोसेस गर्ने भनिएको छ भन्ने जस्ता विषयमा हामीले खासै ध्यान दिएका छैनौं, हाम्रो मूल ध्येय भनेको पहिला लिखत सम्बन्धी कसुर र अहिले बैंकिङ कसुरमा को को संलग्न छन् भनेर अनुसन्धान गर्ने हो, हामीले लिखत सम्बन्धी कसुर र बैंकिङ कसुरमा अनुसन्धान गरिरहेका छौं,’ प्रहरी उपरीक्षक महतोले भने ।

कर्जा प्रवाहको लागि कोटेश्वर शाखाको साटो किन न्यूरोड शाखा भयो भन्ने प्रश्नको जवाफ बैंकले नै दिन सक्ने उनको भनाई छ ।

कुमारी बैंकको जवाफ

हामीले यो प्रश्नको जवाफका लागि कुमारी बैंकका कामु प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनासँग सोध्ने प्रयास गरेका थियौं । तर, तिमिल्सिनासँग सम्पर्क हुन सकेन । अनि हामीले यो प्रश्न बैंककै उच्च व्यवस्थापनमा रहेका एक अधिकारीसँग सोधेका थियौं ।

‘बारा जिल्लामा हाम्रो शाखा छैन, त्यसैले नजिकको शाखाको रुपमा बीरगन्ज शाखाबाट प्रक्रिया सुरु भएको हुन सक्छ, बीरगन्ज शाखाले नै धितो मूल्यांकन गराएर न्यूरोड शाखामा पठाएको देखिन्छ,’ ती अधिकारीले भने ।

काठमाडौंको कोटेश्वरमा रहेको डेनियल ट्रेडिङलाई कोटेश्वरमै रहेको कुमारी बैंकको शाखाबाट किन कर्जा प्रवाह भएन ? किन न्यूरोड शाखाले कर्जा प्रवाह गर्यो ?

‘नक्कली कागजात बनाएर ऋण लिने गलत उदेश्यसहित काम भएको रहेछ, त्यसैले फर्जी काम गर्नेहरु बैंकका सबै प्रक्रियाबारे जानकार थिए होलान्, किनभने हाम्रो कोटेश्वर शाखामा कर्पाेरेट ऋण हेर्ने एक्सपर्टिज छैन, कर्पाेरेट लोन हाम्रो न्यूरोड शाखाले हेर्ने गरेको छ, त्यसैले उनीहरु कर्पाेरेट लोन लिनको लागि न्यूरोड शाखाम गएका हुन सक्छन्, हाम्रो कोटेश्वर शाखाले पनि कर्पाेरेट लोन लिनको लागि न्यूरोड शाखा जानु भन्ने सल्लाह दिएको हुन सक्छ, जुन सामान्य नै हो,’ कुमारी बैंकका ती उच्च अधिकारीले भने ।

मालपोतका कर्मचारी तानिए ?

बैंकले कर्जा दिदाँ सो कर्जाको धितोमा राखिएको जग्गा मालपोत कार्यालयमा रोक्का हुन्छ । गायक अमात्य र उनकी श्रीमतीको कम्पनीको जग्गाको नक्कली कागजपत्र बनाएर कर्जा लिइएको भएपनि जग्गा रोक्का गर्ने काम त मालपोतको नै हो । नक्कली कागजपत्रका आधारमा जग्गा रोक्का राखिएको छ भने मालपोतका कर्मचारीमाथि अनुसन्धान भएर कारबाहीको प्रक्रिया अघि बढ्नु पर्ने होइन ?

सीआईबी प्रवक्ता प्रहरी उपरीक्षक महतो मालपोतबाट कुनै गलत काम भएको फेला नपरेको बताउँछन् ।

‘हामीले अहिलेसम्म पाएको जानकारी अनुसार मालपोत कार्यालयमा सो जग्गा रोक्का नै भएको छैन, जग्गा रोक्काको कागजात नै नक्कली रहेको पाइयो, सुरुमा हाम्रो जिज्ञासा पनि मालपोतमा केही गडबढी भएको छ कि भन्ने नै थियो तर, अनुसन्धानले त्यस्तो देखाएन, मालपोतबाट बैंकलाई कुनै औपचारिक पत्राचार भएको पाइएको छैन,’ प्रवक्ता महतोले भने ।

को–को तानिएलान् ?

सो कर्जा प्रकरणमा बैंकका कामु सीईओ तिमिल्सिना पनि तानिएका छन् । किनभने सो परिमाण बराबरको कर्जा दिनको लागि सीईओको जिम्मेवारीमा रहेको व्यक्तिले हस्ताक्षर गर्नै पर्छ ।

कुमारी बैंकले अहिले कुनै पनि शाखालाई कुनै पनि परिमाणको कर्जा प्रवाह गर्ने अधिकार दिएको छैन । शाखाहरुले कर्जा माग सम्बन्धी फाइल संकलन गरी प्रदेशस्तरीय शाखामा पठाउनु पर्छ ।

प्रदेश शाखा कार्यालयहरुलाई भने ५ करोड रुपैयाँसम्मको कर्जा दिने अधिकार छ । सोभन्दा माथिको कर्जाको लागि प्रदेश शाखाहरुले केन्द्रमा फाइल पठाउनु पर्छ ।

कुमारी बैंकले सीईओलाई २० करोड रुपैयाँसम्मको कर्जाको फाइल सदर गर्ने अधिकार दिएको छ । त्यसैले गायक अमात्यको जग्गाको नक्कली कागजात बनाएर कुमारी बैंकले प्रवाह गरेको कर्जामा कामु सीईओ तिमिल्सिनाको हस्ताक्षर छ ।

‘हामीले यो मुद्दा बैंकिङ कसुरमा पनि अनुसन्धान गरिरहेका छौं, यसमा संलग्न व्यक्तिहरु अनुसन्धानको दायरामा त पर्ने नै भए तर, हस्ताक्षर हुँदैमा कुनै व्यक्ति दोषी हुन्छन् नै भन्ने पनि हुँदैन, कसैले प्रक्रियागत रुपमा आएको फाइलमा हस्ताक्षर गरेको र बैंकिङ कसुरमा संलग्न नभएको पनि हुन सक्छ,’ सीआईबी प्रवक्ता प्रहरी उपरीक्षक महतोले भने ।

उठ्यो कर्जा ?

अर्काे एउटा प्रश्न पनि छ । नक्कली कागजात बनाएर निकालिएको १९ करोड रुपैयाँ कर्जा उठेको छ कि छैन ?

कुमारी बैंकको उच्च व्यवस्थानका एक अधिकारीले दिएको जवाफलाई आधार मान्दा सो कर्जा उठेको मान्न पनि सकिन्छ र उठेको छैन भन्दा पनि हुन्छ ।

‘डेनियल ट्रेडिङ कम्पनीले नक्कली कागजात पेश गरी लिएको १९ करोड रुपैयाँ कर्जा तिरिएको छ, ललितपुरको जग्गा धितो राखेर अन्य कसैले हाम्रै बैंकबाट ऋण लिएको छ र त्यस्तो ऋणबाट डेनियल ट्रेडिङले लिएको १९ करोड रुपैयाँ कर्जा तिरिएको छ, अर्काे बरोअर (ऋणी) ले भने कर्जाको किस्ता मात्रै तिरेको छ, कर्जा बाँकी छ,’ कुमारी बैंकका ती अधिकारीले भने ।

सम्बन्धित समाचार

कुमारी बैंकको १९ करोड कर्जा प्रकरणमा तानिए सीईओ तिमिल्सिना र सेन्चुरीका पूर्व संचालक प्रधान

१९ करोड अपचलनको अभियोगमा कुमारी बैंकका कर्जा अधिकृत पक्राउ

One comment on "कुमारी बैंकको १९ करोड कर्जा प्रकरणः किन गयो न्यूरोड ब्रान्चबाट ऋण ? तानिए मालपोतका कर्मचारी ?"

  • Pannalal prasad says:

    Yo Rin din kaha bat kin Kun branch bat prakriya gariyiko ho tyo chabin gariyo vane grand designer samatin xa.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.