कुमारी बैंकको १९ करोड कर्जा प्रकरणमा तानिए सीईओ तिमिल्सिना र सेन्चुरीका पूर्व संचालक प्रधान

  २०७८ कार्तिक २५ गते ११:४७     विकासन्युज

काठमाडौं । गायक योगेश्वर अमात्यको जग्गाको नक्कली कागजपत्र बनाएर १९ करोड रुपैयाँ कर्जा प्रवाह प्रकरणमा सोही बैंकका प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाको पनि संलग्नता रहेको शंका प्रहरीले गरेको छ ।

बैंकले गत साउनमा प्रदान गरेको १९ करोड रुपैयाँ कर्जा प्रवाहमा बैंकका प्रमुख कार्यकारी अधिकृतको पनि संलग्नता देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले तिमिल्सिनामाथि पनि अनुसन्धान थालेको हो ।

‘कुमारी बैंकको बीरगञ्ज शाखाका कर्मचारीले फिल्ड हेरेको र कर्जा दिन हुन्छ भनेर काठमाडौंको न्यूरोड शाखालाई पत्र लेखेको भेटियो, १९ करोड रुपैयाँ कर्जा दिनको लागि बैंकका शाखालाई अनुमति रहेनछ, यति परिमाणको कर्जा स्वीकृत हुनको लागि फाइल सीईओसम्म नै पुग्नुपर्ने रहेछ, त्यसैले यसमा सीईओको संलग्ता छ कि छैन भनेर हामी अनुसन्धान गरिरहेका छौं, सीईओ तिमिल्सिनालाई बोलाएर आवश्यक वयान लिने कार्य पनि भइरहेको छ,’ सीआईबी स्रोतले भन्यो ।

सीआईबीले सो कर्जा प्रकरणमा संलग्न सोनो ठाकुर लगायतलाई पक्राउ गरेको दिन कात्तिक २३ गते पनि बैंकका सीईओ तिमिल्सिनालाई बोलाएर बयान लिएको थियो । गायक अमात्यको बारा विश्रामपुरस्थित बिरुवाभूमि वनकाली कम्पनीको नाममा रहेको १२ बिघा जग्गा अर्कैको नाममा रहेको नक्कली कागजात बनाएर काठमाडौंका कुसन प्रधान, एसके महर्जन र मुक्तिलाल गौतमले कुमारी बैंकमा राखेर १९ करोड रुपैयाँ ऋण लिएका थिए ।

यसरी आफ्नो जग्गाको नक्कली कागजपत्र बनाएर कर्जा लिएको थाहा पाएपछि गायक प्रधानले सीआईबीमा उजुरी दिएका थिए । गायक अमात्यको उजुरीको आधारमा अनुसन्धान गर्दै जादा सीआईबी अहिलेको चरणसम्म आइपुगेको हो ।

मूख्य योजनाकार सेन्चुरी बैंकका पूर्व संचालक प्रधान ?

सीआईबीले गरेको प्रारम्भिक अनुसन्धानमा सो प्रकरणका मुख्य योजनाकार सेन्चुरी बैंकका पूर्व संचालक कुसन प्रधान रहेको देखिएको छ । उनी नेपाल फिलिपिन्स चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीका पूर्व कार्यकारी सदस्य पनि हुन् । उनी सन् २०१७ देखि २०१९ सम्मको कार्यसमिति सदस्य थिए भने सेन्चुरी बैंकका पूर्व संचालक पनि हुन् ।

कुमारी बैंकका सीईओ तिमिल्सिना पनि सेन्चुरी बैंकबाट नै कुमारी बैंकमा गएका थिए । तिमिल्सिना र प्रधान दुबैले सँगै फिलिपिन्सबाट एमबीए गरेका थिए । प्रधान र तिमिल्सिनाको निकट सम्बन्धकै कारण नक्कली कागजपत्र बनाएर त्यति ठूलो परिमाणमा कर्जा निकाल्न सम्भव भएको हुन सक्ने सीआईको अनुमान छ ।

‘त्यति धेरै कर्जा दिनको लागि बैंकले राम्रोसँग अध्ययन गर्नुपर्ने हो, नक्कली कागजपत्रको आधारमा सजिलै कसरी कर्जा गयो ? फेरि नक्कली कागजपत्रको आधारमा कर्जा गएको खुलेपछि बैंकले हतार हतार कर्जा सल्टाउनेतिर ध्यान दिएको पाइयो, नक्कली कागजपत्र बनाउनेलाई कारवाहीको प्रक्रिया बैंकले सुरु नै गराएन, त्यसैले शंका गर्ने ठाउँ प्रसस्त छ, अनुसन्धानले धेरै विषय खुल्दैजाने देखिन्छ,’ सीआईबीका एक अधिकृतले भने ।

सम्बन्धित समाचार

१९ करोड अपचलनको अभियोगमा कुमारी बैंकका कर्जा अधिकृत पक्राउ

2 comments on "कुमारी बैंकको १९ करोड कर्जा प्रकरणमा तानिए सीईओ तिमिल्सिना र सेन्चुरीका पूर्व संचालक प्रधान"

  • chan says:

    यो सबै मिलेर गरिएको प्रकरण हो।
    सबैलाई आवश्यक कारवाही गरी दोषीहरुलाई दण्डित गरिनु पर्छ।

    धन्यवाद।

  • राजु says:

    सन्चालक समेतकाे मिलाेमताे हुन सक्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.