नेपाल रिइन्स्योरेन्स र नेपाल बैंकका पूर्वसीईओ राष्ट्रिय वाणिज्य बैंकको सीईओ बन्ने लविङमा, यी हुन् २० आवेदक

  २०८१ वैशाख २७ गते १८:४९     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि २० जनाको आवेदन परेको छ । बैंकको सीईओका लागि आवेदन दिने आज (बिहीबार) अन्तिम दिनसम्म २० जनाको आवेदन परेको उपकार्यकारी अधिकृत (डीईओ) देवेशप्रसाद लोहनीले जानकारी दिए ।

उनका अनुसार बैंकको सीईओ बन्न रामदेव यादव, अगम मुखिया, दुर्गा कुमारी कँडेल छत्कुली, नरेशराज अर्याल, पवन रेग्मी, विष्णु देव यादव, विष्णुबाबु मिश्र, प्रकाशचन्द्र अधिकारी, डा. रामराज उपाध्याय, देवेन्द्ररमण खनाल, दीर्घबहादुर अर्यालले आवेदन दिएका हुन् ।

यस्तै, झविन्द्र खत्री, गणेशप्रसाद गौतम, कृष्णबहादुर अधिकारी, सुरेश देवकोटा, शंकर केसी, प्रमोदबाबु तिवारी, कृष्णप्रसाद आचार्य, शंकरकुमार रायमाझी, माधवप्रसाद रेग्मीले बैंकको सीईओ बन्न आवेदन दिएको उनको भनाइ छ ।

२० जना आवेदकमध्ये दुर्गाकुमारी कँडेल, पवन रेग्मी र देवेन्द्ररमण खनाल राष्ट्रिय वाणिज्य बैंकको उच्च तहमा कार्यरत छन् । खनाल बैंकको कायमुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) हुन् भने कँडेल र रेग्मी डीईओ हुन् ।

यस्तै, रामदेव यादव सिंहदरबार वैद्यखाना विकास समितिका पूर्वकार्यकारी निर्देशक हुन् भने अगम मुखिया साविक सानिमा लाइफ इन्स्योरन्सका पूर्वसीईओ हुन् । विष्णुदेव यादव नेपाल एसबिआई बैंकका डीसीईओ हुन् भने दीर्घबहादुर अर्याल कृषि विकास बैंकका नायब महाप्रबन्धक हुन् । कृष्णप्रसाद आचार्य पनि पूर्वसीईओ हुन् । नेपाल बैंकका पूर्वसीईओ कृष्णबहादुर अधिकारी र नेपाल पुनर्बीमा कम्पनीका पूर्वसीईओ शंकरकुमार रायमाझीले पनि बैंकको सीईओ बन्न आवेदन दिएका हुन् ।

सुरेश देवकोटा नबिल सेक्युरिटिजका पूर्वसीईओ हुन् । उनले हालै सो कम्पनीबाट राजीनामा दिएर बाहिरिएका थिए ।

सीईओ छनोट तथा सिफारिस समितिले योग्यता र अनुभवी व्यक्तिलाई आवेदनका आधारमा ५ जनाको नाम छनोट गर्नेछ । उम्मेदवारको शैक्षिक योग्यता तथा कार्य अनुभव र पेस भएको व्यावसायिक कार्ययोजनाको मूल्याङकनको आधारमा ५ जनालाई सर्ट लिष्टिङ्ग गरी अन्तर्वार्ताका लागि बोलाउने छ ।

पाँचै जनाले दिने प्रस्तुति तथा अन्तर्वार्ताको आधारमा उच्चतम अंक प्राप्त गर्ने ३ जनालाई सीईओका लागि सिफारिस गरिनेछ । र, तीनै जनामध्ये एक जना सीईओ बन्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.