आइएमई लाइफ : व्यवसायमा बलियो, लाभांशमा आकर्षक

  २०८१ वैशाख २० गते १५:५०     विकासन्युज

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले बीमा क्षेत्रमै दोस्रो बढी लाभांश घोषणा गर्यो ।  आईपीओ जारी गरेको १० महिनामामै कम्पनीले ३४.५० प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतले हुन आउने १ अर्ब रुपैयाँ बराबरको बोनस सेयर र ९.५० प्रतिशतले हुन आउने ३८ करोड रुपैयाँ बराबरको नगद (कर सहित) लाभांश घोषणा गरेको हो । यो लाभांश नियामक बिमा प्राधिकरणबाट स्वीकृत र आगामी साधारण सभाबाट पारित भए पश्चात् वितरण हुनेछ ।

कम्पनीले पछिल्लो समय व्यवसाय पनि राम्रै गर्दै आएको छ । कम्पनीको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको वित्तीय विवरणअनुसार ३३ करोड १५ लाख ६० हजार रुपैयाँ खुद नाफा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको ७५.७९ प्रतिशत नाफा बढाएको हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १८ करोड ८६ लाख १३ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

कम्पनीको चुक्ता पूँजी ४ अर्ब रुपैयाँ छ । चालु आर्थिक वर्षको समीक्षा अवधिमा कम्पनीले १ अर्ब ५३ करोड रुपैयाँ सेयर प्रिमियम शिर्षकमा सञ्चित गरेको छ । यस अवधिमा कम्पनीको महाविपत्ति कोषमा १५ करोड ९१ लाख रुपैयाँ र सञ्चित जगेडा कोषमा ८५ करोड ९२ लाख रुपैयाँ छ । कम्पनीका अधिकांश वित्तीय सूचकहरू बलियो देखिन्छन् । वित्तीय संस्था तथा बीमा कम्पनीहरू आर्थिक सुस्तताको समस्या भोगिरहँदा आइएमई लाइफले भने राम्रो व्यवसाय गरिरहेको देखिन्छ ।

सेयर बजारमा उच्च कारोबार

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले उच्च लाभांश घोषणा गरेपछि त्यसको प्रभाव सेयर बजारमा पनि देखिएको छ । बिहीबार ३४.५० प्रतिशत लाभांश घोषणा भएपछि सुरुवाती अवस्थामा कम्पनीको सेयर मूल्य बढेको थियो । तर, अन्तिम अवस्थामा भने त्यो अवस्था रहन सकेन । अर्थात्, बिहीबार कम्पनीको सेयर मूल्य २ रुपैयाँले घट्यो । मूल्य घटे पनि कारोबार भने बढी भएको छ । हाल यस कम्पनीको सेयर मूल्य ५७१ रुपैयाँ छ ।

बिहीबार कम्पनीको ४ लाख ९७ हजार ५७ कित्ता सेयर किनबेच भएर कुल २८ करोड ७७ लाख ५७ हजार रुपैयाँको कारोबार भएको छ । जुन बिहीबार भएको कम्पनीहरूमध्येको उच्च कारोबार हो ।

लगानीकर्ता राजन लम्साल अन्य कम्पनीको तुलनामा आइएमई लाइफको लाभांश आकर्षक नै भएको बताउँछन् । उनी कम्पनीमा सर्टटर्म लगानीकर्ताको आकर्षण भएको धारणा राख्छन् ।

हाल यस कम्पनीको सञ्चालक समितिको अध्यक्षको रूपमा रामहरी अर्यालले नेतृत्व गरिरहेका छन् भने व्यवस्थापनबाट कबी फुयालले प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.