एउटा कोठाबाट सुरु भएको भाटभटेनीको यात्राः अबको लक्ष्य १ नम्बर करदाता बन्ने, आईपीओ निकाल्ने

  २०७८ मंसिर १ गते ११:३५     विकासन्युज

भाटभटेनी ग्रुपका अध्यक्ष मिनबहादुर गुरुङ

काठमाडौं । कात्तिक ११ गते नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एउटा सफल व्यवसायिक ग्रुपको विगत सम्झिए । उनले सम्झिएको सफल व्यवसायिक ग्रुप भाटभटेनीको व्यवसायिक यात्रा थियो । गभर्नर अधिकारी भाटभटेनीमा क्युआर कोडबाट भुक्तानीको उद्घाटन कार्यक्रममा सहभागी थिए ।

गभर्नर अधिकारीले भनेका थिए– म सम्झिन्छु, त्यो बेला हामी बालुवाटार अफिस (राष्ट्र बैंकको) बाट फर्किँदा ब्रेड, बटर, फेन्टा कोक किन्थ्यौं, सानो पसल थियो, आज यत्रो ठूलो बनेको छ, एकदमै खुसी लागेको छ ।

उनी यतिमै रोकिएनन् । थपे– सानो पसलबाट सुरु भएको भाटभटेनी आज अन्तर्राष्ट्रियस्तरको सुपरस्टोर बनेको छ, कतिपय स्थानमा त पर्यटकीय स्थलसमेत भएको छ, इटहरीको भिडियोहरु सामाजिक सञ्जालमा देख्दा घुम्नका लागि पनि मान्छेहरु भाटभटेनी स्टोर छिरेको देखिन्छ ।

गभर्नर अधिकारी राष्ट्र बैंकको कर्मचारी थिए । उनी कार्यकारी निर्देशक हुँदै एक कार्यकाल डेपुटी गभर्नर बने । डेपुटी गभर्नरबाट बाहिरिएको करिब ४ वर्षपछि अधिकारी फेरि गभर्नरको रुपमा राष्ट्र बैंक पुगे । राष्ट्र बैंकको नजिकै रहेको भाटभटेनीको प्रगति देखिरहेका साक्षीमध्ये गभर्नर अधिकारी एक हुन् । त्यसैले उनी भाटभटेनीको १० बाई १२ फिटको कोठबाट सुरु भएको सफलताको उडान सम्झिरहेका थिए त्यो बेला ।

गभर्नर अधिकारीले पुरानो प्रसंगसँगै नयाँ प्रगतिको प्रशंसा गरेपछि भाटभटेनी ग्रुपका अध्यक्ष मिनबहादुर गुरुङ पनि उत्साही भए । आफ्नो मन्तव्यका क्रममा अध्यक्ष गुरुङले भने– भाटभटेनी देशकै नम्बर वान करदाता बन्ने लक्ष्यका साथ अघि बढिरहेको छ, रोजगारी सिर्जनामा पनि नम्बर वान हुने लक्ष्य छ ।

अध्यक्ष गुरुङले कात्तिक ११ गते सुनाएको करदाताको रुपमा नम्बर वान हुने लक्ष्य पुरा भएको मंसिर १ गते सरकारले स्पष्ट पारिदियो । १०औं राष्ट्रिय कर दिवसको उपलक्ष्यमा आन्तरिक राजस्व विभागले भाटभटेनी सुपरमार्केटलाई वस्तु व्यापारतर्फ सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा सम्मान गरेको छ । अर्थात वस्तु व्यापार गरेर सबैभन्दा बढी कर तिर्ने कम्पनीहरुमा भाटभटेनी नम्बर वान बनेको छ ।

उत्कृष्ट करदाता सम्पान ग्रहण गर्दै कार्यकारी निर्देशक कल्याण गुरुङ

तर, अध्यक्ष गुरुङ अहिलेको सफलता आंशिक मात्रै भएको बताउँछन् ।

‘हामी वस्तु व्यापारतर्फ बढी कर तिर्ने कम्पनी भएका मात्रै हौं, समग्रमा बढी कर तिर्ने कम्पनी बन्ने हाम्रो लक्ष्य हो, रोजगारी प्रदान गर्ने सुचकमा पनि हामी एक नम्बर नै हौला, अहिले हामीले करिब ७ हजार जनालाई प्रत्येक्ष रोजगारी दिइरहेका छौं, बढी बुझाएर र बढी रोजगारी सिर्जना गरेर सरकारलाई सहयोग गर्ने हाम्रो लक्ष्य हो, यो लक्ष्य प्राप्त गर्न हामी अघि बढिरहेका छौं,’ अध्यक्ष गुरुङले विकासन्युजसँग भने ।

२०७६ जेठ ५ गते भने अध्यक्ष गुरुङले विकासन्युजसँगको कुराकानीमा बेग्लै कुरा सुनाएका थिए । उनले भनेका थिए– हामी नेपालको सबैभन्दा बढी कर तिर्ने तेस्रो कम्पनी बन्ने लक्ष्यका साथ अघि बढेका छौं । तर, अहिले उनी यो कुरा पुरानो भएको र अब नम्बर वान करदाता बन्ने लक्ष्य राखिएको सुनाउँछन् ।

पब्लिक कम्पनी बन्ने, आईपीओ निकाल्ने

अध्यक्ष गुरुङले भाटभटेनी सुपरमार्केटले चाढै सर्वसाधारणको लागि आईपीओ जारी गर्न लागेको बताए ।

‘हामीले २०७६ सालमै ३ वर्षभित्रमा आईपीओ जारी गरिसक्ने भनेका थियौं, कोभिड महामारीको कारण केही ढिला भयो, अब कोभिड संक्रमण र त्रास कम हुँदै गएको छ, आईपीओ जारी गर्ने तयारीमा हामी जुटिसकेका छौं, केही वर्षभित्रै भाटभटेनीको आईपीओ आउँछ,’ अध्यक्ष गुरुङले थपे ।

उनले करिब ३७ वर्षअघि नेपाल बैंकको स्थायी जागिर छोडेर काठमाडौंको नक्साल नजिकै भाटभटेनीमा ग्रोसरी व्यवसाय शुरु गरेका थिए । भाटभटेनीमा २० अर्ब रुपैयाँ भन्दा बढी लगानी भईसकेको छ भने करिब ७ हजारले रोजगारी पाएका छन् ।

वस्तु उत्पादक तथा आपूर्तिकर्ताको लागि पनि भाटभटेनी सुपरमार्केट महत्वपूर्ण बजार हो । भाटभटेनीमा २५ सय भन्दा बढी बस्तु आपूर्तिकर्ता छन् । त्यसमा करिब ४५० नेपाली सप्लायर्स रहेका छन् ।

खोटाङ जिल्लाको सामान्य किसान परिवारमा जन्मे हुर्केका मीनबहादुर गुरुङ नेपालको व्यवसायिक क्षेत्रमा पायोनियर नै बनेका छन् । भाटभटेनी सुपरमार्केट शुरुवातसँगै यसलाई उचाईमा पुर्याउने कार्यमा उनले जुन सफलता हासिल गरेका छन्, त्यो सबै क्षेत्रका व्यवसायीहरुको लागि प्रेरणादायी नै रहेको छ ।

सम्बन्धित समाचार

भाटभटेनीको सेयर बेचेर सबै नेपालीलाई व्यापारमा जोड्ने योजना, ५० हजार जनाले रोजगारी पाउने

संकटमै भाटभटेनी ग्रुपको छलाङः ईटहरीमा १ अर्ब लागतको आउटलेट, दशैंअघि नै सञ्चालनमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.