भाटभटेनीको सेयर बेचेर सबै नेपालीलाई व्यापारमा जोड्ने योजना, ५० हजार जनाले रोजगारी पाउने

  २०७६ जेठ ५ गते १६:२७     विकासन्युज

काठमाडौं । ‘भाटभटेनी सुपरमार्केटमा दैनिक एक लाख भन्दा बढी मान्छे पुग्छन् । कम्पनीले दैनिक ४० हजार बिल जारी गर्छ। अचेल दैनिक पुग नपुग ५ करोड रुपैयाँ बराबरको व्यापार हुन थालेको छ’ भाटभटेनी सुपरमार्केट प्रबन्ध निर्देशक मिनबहादुर गुरुङले थपे-‘आर्थिक वर्ष २०७४/७५ मा १५ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार भएको थियो । चालु आर्थिक वर्षमा १८ अर्ब रुपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य छ । हरेक साल २५ प्रतिशतले व्यापार वृद्धि भईरहेको छ ।’

शुक्रबार बिहान पूजापाठ गरी भाटभटेनीको १६औं आउटलेट सातदोबाटोमा खोलेपछि आगान्तुकहरुबाट बधाई थाप्न गेटमा बसेका गुरुङले विकासन्यूजसँगको कुराकानीमा महत्वपूर्ण बिजनेस तथ्यहरु खुलस्त पारे ।

‘राजश्व योगदानका आधारमा नेपालको टप थ्री कम्पनी बनाउने लक्ष्य लिएको छु । ५० हजार भाई-बहिनीलाई रोजगारी दिने लक्ष्य राखेको छु । यसमा ९० प्रतिशत महिलाहरु राख्ने मेरो चाहना छ । आगामी १५ वर्ष अर्थात २०९० सालसम्म हामी हाम्रो लक्ष्यमा पुग्नेछौं’ गुरुङले जोशिलो कुरा गरे ।

४५ हजार स्क्वायरफिट क्षेत्रफल भएको भाटभटेनीको सातदोबाटो स्टोर निर्माण गर्न करिब ५५ करोड लगानी लागेकाे उनले बताए । यसमा १७५ जनाले रोजगारी पाएका छन् ।

गुरुङका अनुसार योे स्टोर ठूलाे होइन । ‘भाटभटेनीका १६ मध्ये यो सबैभन्दा सानो स्टोर हो । अरु सबै स्टोर १ लाख स्क्वायरफिट भन्दा ठूला छन्’ गुरुङले प्रष्ट्याए ।

३ वर्षभित्र साधारण सेयर निष्काशन

जति ठूलो व्यापार त्यति ठूलो तनाव । भाटभटेनी भित्र धन मात्र पक्कै छैन । ऋण पनि छ । भाटभटेनीले बैंकबाट कर्जा कति लिएको छ ? व्याज खर्च कति छ ? हामीले प्रश्न गर्यौ ।

तर उनले गुमाउरो जवाफ दिए, समाचारको हेडलाइन बन्ने गरी । ‘३ वर्षपछि हामी पब्लिक कम्पनीमा जान्छौं । सर्वसाधारणका लागि सेयर निष्काशन गर्छौ । त्यस पश्चात सबै आर्थिक गतिविधि त्रैमासिक रुपमा सार्वजनिक गरौँला’, गुरुङले भने-‘त्यसपछि हामीले आयकर समेत देखाउने छौं ।’

हाल पनि भाटभटेनीले करमा एक अर्ब भन्दा बढी योगदान गरेको उनले चर्चा गरे । ‘आयकारमा केही तिरेका छौं, टिडीएस, भ्याट लगायत शीर्षकमा धेरै कर तिरेका हुन्छौं’ उनले करको अंक नभनी शीर्षक मात्र भने ।

किन पब्लिक कम्पनी ?

‘मैले जति राम्रो गर्न सके, मेरा सक्सेसर (हुर्काउदै गरेको नेतृत्व)ले त्यति नै राम्रो गर्न सक्छन् भन्ने हुँदैन । यो व्यवसाय गर्न म जति खटे आगामी दिनमा अरु पनि त्यति नै खट्छन् भन्ने छैन’ उनले थपे-‘यो संस्था हजारौं वर्षसम्म रहोस् भन्ने मेरो चाहना हो । हजारौँ वर्ष संस्था चलाउन एक्लै सम्भव नहुने मलाई महसुुश भएको छ । पश्चिम मुलुकमा एउटै संस्था १५ सय वर्षदेखि चल्दै आएका उदाहरण समेत छन् । संस्थालाई दीर्घकालिन रुपमा अगाडी बढाऔं भन्ने सोचसहित पब्लिक कम्पनी बनाउने सोच बनाएको छु ।’

अर्थशास्त्र अध्ययन गरेका गुरुङले आयको वितरणको लागि पनि पब्लिक कम्पनी हुनुपर्नेमा जोड दिए । ‘अब सबै नेपाली व्यापारी बन्नुपर्छ । सर्बसाधारणको समेत सेयर लगानी भएपछि भाटभटेनीको व्यापारमा धेरै नेपाली संलग्न हुनेछन्’ उनले भने ।

भाटभटेनीको पुँजी संरचना र सर्वसाधारणका लागि निष्काशन गरिने सेयर पुँजीबारे अहिले निश्चित नभएको बताए । हालसम्म भाटभटेनीमा उनको एकल सेयर लगानी छ ।

३ वर्ष भित्रमा २५ वटा स्टोर बनाउने योजना उनले सुनाए । सुनसरीमा ३ लाख स्क्वायर फिटमा नयाँ स्टोर हुनेछ । यस्तै, धनगढी, सुर्खेत, जनकपूर, वीरगंज र विर्तामोडमा गरेर हामीले २५ वटा स्टोर पुर्याउने योजना बनाउका छाैं ।

नेपाली हिस्सा बढ्दै

सुरुवाती चरणमा भाटभटेनीमा ९० प्रतिशत सामान विदेशबाट आयात गरेका हुन्थे । १० प्रतिशत मात्र नेपाली उत्पादन हुने गरेकाे थियाे । अहिले भाटभटेनीमा नेपाली बस्तुले ३० प्रतिशत र विदेशी बस्तुले ७० प्रतिशत हिस्सा लिएको गुरुङले जानकारी दिए ।

‘नेपाली वस्तुलाई बढी स्थान दिने चाहाना छ । हाम्रो पहिलो चाहाना नै नेपाली ग्राहकको लागि नै हो । नेपाली धनी नभई हाम्रो स्टोर धनी हुन सक्दैन । नेपाली धनी हुनको लागि भाटभटेनीमा पनि नेपाली बस्तु बिक्री हुनुपर्छ भन्ने लाग्छ’ गुरुङले भने । हाल भाटभटेनीमा दाल, चामल, गेडागुडी, फलफुल, बेकरी, विस्कुट, चाउचाउ, चकलेट लगायत स्थानीय उत्पादन हुन्छन् ।

३५ वर्षको उपलब्धि

उनले ३५ वर्षअघि नेपाल बैंकको स्थायी जागिर छोडेर ग्रोसरी व्यवसाय शुरु गरेका थिए । भाटभटेनीमा हालसम्म २० अर्ब रुपैयाँ भन्दा बढी लगानी भईसकेको उनले बताए । यहाँ हाल करिब ६ हजार ५ सय जनाले रोजगारी पाएका छन् ।

बस्तु उत्पादक तथा आपूर्तिकर्ताको लागि पनि भाटभटेनी सुपरमार्केट महत्वपूर्ण बजार हो । भाटभटेनीमा २५ सय भन्दा बढी बस्तु आपूर्तिकर्ता छन् । त्यसमा करिब ४५० नेपाली सप्लायर्स रहेका छन् ।

खोटाङ् जिल्लाको सामान्य किसान परिवारमा जन्मे हुर्केका मीनबहादुर गुरुङ नेपालको व्यवसायिक क्षेत्रमा पायोनियर नै बनेका छन् । भाटभटेनी सुपरमार्केट शुरुवातसँगै यसलाई उचाईमा पुर्याउने कार्यमा उनले जुन सफलता हासिल गरेका छन् त्यो सबै क्षेत्रका व्यवसायीहरुको लागि प्रेरणादायी नै रहेको छ ।

अरु क्षेत्रमा पनि लगानी विस्तार

सुपरमार्केट बाहेक गुरुङले काठमाडौं स्टील उद्योगमा ठूलो लगानी गरेका छन् । चन्द्रागिरी केबलकारमा २५ प्रतिशत सेयर लगानी गरेका छन् । अजोड इन्स्योरेन्स, आईएमई लाईफ इन्स्योरेन्स, विभिन्न बैंक र जलविद्युत कम्पनीमा उनले ठूलो लगानी गरेका छन् ।

चन्द्रागिरी केबलकार, जलविद्युत कम्पनीहरुमा आईएमई ग्रुपसँग साझेदारी गरेका मीनबहादुर गुरुङले रियल स्टेट बिजनेशमा कालु गुरुङसँग साझेदारी गरेका छन् ।

निन्द्रा बाहेकको समय व्यापारमा

‘सफलता चुम्न मिहेनत गर्नैपर्छ । म दैनिक १६ घण्टा काम गर्छु । म निदाएको बेला भन्दा अन्य बेला काम नै गरिरहेको हुन्छु’ श्रीमती सावित्री गुरूङसँगै उभिएर उनले भने-‘मैले दाल, चामल, कपडा बेच्छु । वकिलले बोली बेच्छन् । त्यस्तै तपाईहरु समाचार बेच्नु हुन्छ । कुनै पनि पेशामा लाग्दा आफ्नो धर्मभित्र, कर्मभित्र ईमान्दार हुनुपर्छ, सफलता पाइन्छ’ उनले भने ।

‘संसार धेरै माथि पुगिसकेको छ । अमेरिका, चीनले आफ्नो आर्थिक पाटो मजबुद बनाएका छन् । उनीहरु धनी भएकाले विश्वमञ्चमा उनीहरुको फूर्ती धेरै देखिन्छ । नेपाली पनि धनी हुने हो भने हाम्रो पनि फूर्ती अर्कै हुनेछ । सबैले आर्थिक हैसियत मजबुत बनाउन आवश्यक छ भन्ने लाग्छ’ उनले अरुलाई प्रेरित गर्न खोजे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.