अर्थमन्त्रीको निर्देशनपछि लघु बीमाको लाइसेन्स वितरण गर्ने गृहकार्यमा बीमा समिति

  २०७८ कार्तिक १० गते १४:२५     विकासन्युज

काठमाडौं । बीमा समितिले लघु बीमाको लाइसेन्स दिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले लघु बीमाको लाइसेन्स प्रदान गर्नको लागि बीमा समितिलाई अनौपचारिक निर्देशन दिएपछि समिति लाइसेन्स दिने गृहकार्यमा जुटेको हो ।

अर्थमन्त्री शर्माले बीमा समितिका अध्यक्ष तथा उच्च अधिकारीलाई मन्त्रालयमै बोलाएर लघु बीमाको लाइसेन्स दिन निर्देशन दिएका मन्त्रालय स्रोतले पुष्टी गर्यो । यद्यपि कतिवटा कम्पनीको लागि लाइसेन्स दिने र पुँजी कति राख्ने भन्ने विषयमा भने अझै टुंगो लागेको छैन ।

‘अर्थमन्त्रीज्यूले समितिका अध्यक्षसहित उच्च अधिकारीलाई बोलाएर लघु बीमाको लाइसेन्स दिन निर्देशन दिनुभएको छ, आवश्यक गृहकार्य गरेर लाइसेन्स दिने विषयमा आफूहरु तयार रहेको समितिको तर्फबाट जवाफ आएको छ,’ मन्त्रालय स्रोतले भन्यो ।

अहिलेको बीमा ऐनले लघु बीमा कम्पनीको परिकल्पना भने गरेको छैन । तर, समितिले बीमा ऐन २०४९ (संशोधनसहित) को दफा ८ (घ२) अनुसार २०७६ सालमा लघु बीमा निर्देशिका भने जारी गरेको छ । सो दफामा ‘बीमा व्यवसायको सम्बन्धमा बिमकलाई समय–समयमा आवश्यक निर्देशन दिने’ बीमा समितिको काम, कर्तव्य र अधिकार हुने भनिएको छ ।

समितिले २०७६ सालमा जारी गरेको लघु बीमा निर्देशिका भने अहिले संचालनमा रहेका जीवन र निर्जीवन बीमा कम्पनीहरुले लघु बीमा गर्नको लागि हो । समितिले अहिले भने बेग्लै लघु बीमा कम्पनीको लाइसेन्स दिन खोजेको हो ।

यसका लागि समितिले आफ्नो संचालक समितिबाट निर्णय गर्नुपर्ने हुन्छ । बीमा समितिको संचालक समिति अहिले अपुरो छ । समितिमा अर्थमन्त्रालयको तर्फबाट संचालक रहेका झक्कप्रसाद आचार्यलाई हटाइएको छ भने राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले पनि बीमा समितिको संचालक पदबाट राजीनामा दिइसकेका छन् । श्रेष्ठ पनि अर्थमन्त्रालयको सिफारिसमा समितिको संचालक बनेका थिए ।

समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल भने संचालक समिति नै अपूर्ण रहेकोले अहिले नीतिगत निर्णय हुन नसक्ने बताउँछन् ।

‘लघु बीमाको लाइसेन्स वितरणका लागि हामीले कुनै निर्णय गरेका छैनौं, संचालक समिति नै अपूर्ण छ, लाइसेन्स दिइने भइयो भने सार्वजनिक सुचना नै प्रकाशित हुन्छ नि,’ समितिका अध्यक्ष सिलवालले भने ।

अर्थमन्त्रालय स्रोतले भने समितिको संचालक समितिलाई चाढै पूर्णता दिएर लाइसेन्स प्रदान गर्ने तयारी भएको दाबी गर्यो ।

‘समितिमा २ जना संचालकको नाम केही दिनभित्रै सिफारिस भइसक्छ, त्यसपछि समितिले लघु बीमाका लाइसेन्स दिनको लागि सार्वजनिक सुचना प्रकाशित गर्ने लगायतका प्रशासनिक काम हुन्छ होला,’ मन्त्रालय स्रोतले भन्यो ।

बीमा ऐनमा लघु बीमा सम्बन्धी व्यवस्था नभएको ऐनको कुनै दफामा टेकेर निर्देशिका जारी गर्ने र सोही निर्देशिकाको आधारमा लाइसेन्स वितरण गर्नेदेखि त्यस्ता कम्पनीको न्यूनतम चुक्ता पुँजी तोक्नेसम्मको कार्य गर्ने तयारी समितिले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.