मौसम सुचक नहुँदाको परिणामः सबा ७ अर्बको धानबाली नष्ट, किसान र सरकारलाई दोहोरो नोक्सान

  २०७८ कार्तिक ७ गते १६:२८     विकासन्युज

काठमाडौं । मौसम सुचक बनाउन ध्यान नदिदा किसान र सरकार दुबैले नोक्सानी व्यहोर्नु परेको छ । यस्तो सुचक बनाउँदा धान लगायतका बालीनालीको बीमा गर्न सकिने भएपनि सुचकको अभावमा धानबालीको बीमा हुन नसकेको हो ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार कात्तिक पहिलो साता परेका पानीका कारण करिब ७ अर्ब २२ करोड रुपैयाँ बराबरको धानबालीमा क्षति पुगेको छ । सुदुरपश्चिम, लुम्बिनी र प्रदेश १ को प्रारम्भिक तथ्यांकका आधारमा सो बराबरको क्षति पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

सरकारले कृषि तथा पशुबाली बीमामा बर्सेनि धेरै रकम खर्च गर्ने गरेको भएपनि मौसमी असरका कारण हुने क्षतिको बीमा हुन नसकेको बीमा कम्पनीहरुले जानकारी गराएका छन् । यद्यपि, सरकारले मौसम सुचक राखेका कारण जुम्लाको स्याउको भने मौसमी असरबाट हुने क्षतिको बीमा हुने गरेको छ ।

मौसम सुचक (वेदर इन्डेक्स) नहुँदा मौसमी असरबाट हुने क्षतिको बीमा गर्न समस्या भइरहेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

‘कृषि तथा बाली बीमा गर्नको लागि हामीले कम्पनीहरुलाई ताकेता गरिरहेका हुन्छौं, कम्पनीहरुलाई जिल्ला नै तोकेर यो जिल्लाको बीमा यो कम्पनीले गर्नै पर्छ भनिएको पनि छ तर, वेदर इन्डेक्स छैन, त्यसैले मौसमी असरका कारण हुने क्षतिको बीमा गर्न गराउन समस्या भइरहेको छ,’ कार्यकारी निर्देशक पौडेलले भने ।

बेमौसममा परेको पानीका काराण धानबालीमा क्षति पुगेका किसानलाई राहत दिन सरकारले राहत प्याकेज ल्याउने जानकारी प्रधानमन्त्री शेरबहादुर देउवाले दिइसकेका छन् । तर, अहिले क्षति पुगेको धानबालीको बीमा गरिएको हुने थियो भने किसानले धेरै क्षति व्यहोर्नु पर्ने थिएन भने सरकारले राहत दिनुपर्ने अवस्था पनि आउने थिएन ।

सरकारले कृषि तथा पशुपंक्षीको बीमा गर्दा लाग्ने बीमा शुल्कमा गत आर्थिक वर्षसम्म ७५ प्रतिशत र चालु आर्थिक वर्षदेखि ८० प्रतिशतसम्म अनुदान दिने कार्यक्रम ल्याएको छ । सरकारले बीमाको लागि बर्सेनि धेरै रकम खर्च गर्ने गरेको भएपनि बीमाको पहुँचमा नपरेको बालीमा क्षति हुँदा किसान पीडित बन्ने गरेका छन् ।

वर्षाको कारण ८ अर्ब रुपैयाँको धानबालीमा क्षति पुगेको रहेछ भने पनि बीमा गराएको थियो भने किसान वा सरकारलाई धेरै नोक्सानी पर्ने नै थिएन । जस्तो कि बीमा गराएको बालीनालीमा सामान्यतः त्यस्तो बालीनालीको ८० प्रतिशतसम्म बीमा कम्पनीहरुले क्षतिपूर्ति दिन्थे । यस्तो अवस्थामा ८ अर्ब रुपैयाँको धानबालीमा क्षति पुगेको भएपनि किसानले ६ अर्ब ४० करोड रुपैयाँ बीमा कम्पनीहरुबाट क्षतिपूर्ति आउने हुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.