किन घट्यो बैंकिङमा आकर्षण ?

  २०८१ वैशाख १७ गते १७:०६     सुमन शर्मा

साढे दुई दशक लामो बैंकिङ करिअरपछि म अहिले बैंकिङ क्षेत्रबाट बाहिर छु । नेपाल एसबिआई बैंकबाट करिअर सुरु गरेर ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक हुँदै सनराइज बैंक पुग्दासम्म महत्वपूर्ण साढे दुई दशक नेपाली बैंकिङ क्षेत्रका लागि काम गरेँ । सनराइज बैंक लक्ष्मी बैंकसँग मर्जर भएपछि कार्यकाल नसकिँदै म उक्त बैंकबाट बाहिरिएँ । कार्यकाल नसकिँदै बाहिरिनुभित्रको कथा पनि बेग्लै छ । तर, मैले बैंकिङ क्षेत्रमा जे जति समय काम गरेँ, जे जति अनुभवहरू हाँसिल गरेँ । त्यो अनुभव र ज्ञानलाई सेयर गरिरहेको छु । म अहिले काठमाडौं विश्वविद्यालयअन्तर्गतको कुसुम कलेजमा भिजिटिङ फ्याकल्टीका रूपमा अध्यापन गरिरहेको छु ।
शिक्षण र बैंकिङ फरक विषय हो । कामको सिलसिलामा मैले जति बैंकिङ बुझेँ । त्यो अनुभव विद्यार्थीहरूलाई सेयर गरिरहेको छु । यो देशमा युवालाई आफ्नो अनुभव सुनाउन सकियो भने पनि राम्रो प्रडक्ट निस्कन सक्छ । मैले भौतिकशास्त्र, अर्थशास्त्र र व्यवस्थापनमा स्नातकोत्तर गर्दै गर्दा र पछि बैंकरको रूपमा काम गर्दा धेरै भिन्नता थियो । म स्नातकोत्तरमा दुई पटक गोल्ड मेडलिष्ट पनि बनेँ । तर, कक्षा कोठामा पढाइने र शिक्षा र वर्किङ स्टेशनमा गर्ने काम कारबाहीमा धेरै फरक हुन्छ । विद्यार्थीको एउटा रूची हुन्छ, संयोगवस् अर्कैतर्फ मोडिनुपर्ने वातावरण सिर्जना हुन सक्छ । मेरो आफ्नै पनि त्यस्तो उदाहरण छ ।

हरेक आमाबुबाको चाहना आफ्नो छोराछोरी डाक्टर तथा इन्जिनियर बनोस् भन्ने हुन्छ नै । मैले पनि त्यही इन्जिनियर बन्नकै लागि ११ मा विज्ञान संकायमा भर्ना भएँ । तर, आईएस्सीमा कम अंक ल्याएपछि इन्जिनियर पढ्न पाइनँ । र, स्नातकोत्तरमा फिजिक्स पढ्ने योजना बनाएँ । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय विज्ञागमा त्यतिबेला खासै ठूलो सम्भावना र वातावरण देखिनँ । त्यसपछि अर्थशास्त्रतर्फ मोडिएँ । दुई वर्ष अनुसन्धानमा पनि काम गरेँ । त्यसपछि बैंकिङ सुरु गरेँ र निरन्तर २५ वर्ष बैंकमै काम गरेँ ।

हुन त मेरो आमाबुबा पनि नेपाल बैंकामा काम गर्नुहुन्थ्यो । कामबाट ढिला घर फर्किनुहुन्थ्यो । त्यो देखेर मेराे बैंकमा काम नगर्ने मनसाय थियो । तर, यही क्षेत्रमा प्रवेश गर्नुपर्यो । इच्छा भएको इन्जिनियर बनिनँ, इच्छा नभएको क्षेत्रमै आएर बैंकर बनेँ । पछि बैंकिङमै इन्जोए गरेँ । त्यतिखेर बैंकमा निकै आकर्षण थियो । तर, अहिले केही खस्किएको महसुस धेरैले गरेका छन् । विगतमा मान्छेमा सूचना हुदैनथ्याे । विश्वमा के भइरहेको छ ? नयाँ अवसर के आइरहेको छ ? भनेर कुनै जानकारी पाइँदैनथ्याे । त्यसैले पनि मान्छेहरूले देशमै भएको सम्भावना र अवसरमध्ये उत्कृष्टलाई राेज्थे । त्यसैले त्यतिखेर बैंकिङ सबैको आकर्षणको जागिर पर्थ्याे ।

अहिले विश्व ‘ग्लोबल भिलेज’ का रूपमा विकसित भयो । छिनमै विश्वभरका सूचना पाइने प्रविधि हामीसँग छन् । अहिले मान्छेहरूसँग धेरै विकल्पहरू छन् । अवसरहरू छन् । मान्छेहरू ग्लोबल सिटिजन बन्ने र विश्वमा भइरहेका नवीनतम् अवसरहरूका विषयमा जानकार छन् । जुन राम्रो त्यसैमा गइरहेका छन् । त्यसैले पनि मान्छेहरू विदेश गइरहेका छन् । किनकि नेपालभन्दा राम्रो अवसर विदेशमा छ । बैंकरमात्रै विदेश गइरहेका छैनन्, पत्रकार, डाक्टर, शिक्षक वा निजामती कर्मचारी पनि विदेश गइरहेका छन् । जागिर छोडेर विदेश जानु बैंकिङको मात्रै समस्या होइन सबै क्षेत्रको समस्या हो । उच्च शिक्षा पढेर पनि युवाहरू विदेश गइरहेका छन् ।

देश जुन गतिमा विकास हुनुपर्ने हो त्यो हुन सकेको छैन । विदेश जानेहरू देश बनेन भनेरमात्रै गएका छैनन्, उनीहरू थप अवसर खोज्न विदेश गइरहेका छन् । अहिले पनि यो देशमा तुइन चढेर नदी पार गर्नुपर्ने बाध्यता छ । देशमै रोजगारी सिर्जना गर्छु भनेरमात्रै हुँदैन । काम गर्ने वातावरण पनि हुनुपर्छ ।

म सनराइज बैंकमा प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यकाल नसकिँदै बाहिरिएँ । माछापुच्छ्रे बैंकको सीईओका रूपमा काम गर्दै गर्दा पनि कार्यकाल नसिकिँदै बाहिरिएँ । तर, काम गर्न नसकेर बाहिरिएको होइन । म माछापुच्छ्रे बैंकको सीईओ हुँदा बैंकिङ क्षेत्रको औसत ग्रोथभन्दा राम्रै पफर्मेन्स थियो । तर, कम्प्रमाइज गर्नुपर्ने अवस्था सबैका लागि हुँदैन । त्योभन्दा छोड्नु राम्रो हुन्छ । सनराइज बैंकमा गएपछि एक वर्षमा ४३ प्रतिशत कर्जा वृद्धि भयो । ४० प्रतिशत निक्षेप वृद्धि भयो । १४ वर्षको अवधिमा भएको बैंकको व्यवसाय वृद्धि एक वर्षमै सम्भव गरेँ ।

म सीईओको रूपमा काम गर्दै गर्दा बैंकलाई मर्जर गराउनुपर्ने जिम्मेवारी थियो । बैंक सञ्चालक र राष्ट्र बैंकको चाहना पनि सनराइज बैंकको मर्जर थियो । त्यो मर्जर गराउनका लागि मैले महत्वपूर्ण भूमिका खेलेँ । म सनराइज बैंकको सीईओ हुने दिनमै मेरो पूर्ण कार्यकाल हुँदैन भन्ने थाहा पाइसकेको थिएँ । तर, जति अवधिमा गरेँ सबैले सम्झिने किसिमले काम गरेँ । व्यक्तिगत स्वार्थ छोडेर मर्जरका लागि सबैसँग समन्वय गरेर काम गरेँ । मजृरपछि मलाई लक्षमी सनराइज बैंकको सिनियर डीसीईओ बस्नुपर्यो भन्ने प्रस्ताव नआएको होइन तर दुई बैंकको सीईओ भइसकेको मलाई नैतिकताले त्यो पदमा जान दिएन । र, बैंकबाट बाहिरिएँ ।

वर्तमान सकस र बैंकिङ

सन् २००८ मा ‘ग्लोबल फाइनान्सियल क्राइसिस’ भएपछि अमेरिकामा धेरै बैंक बन्द भए । त्यो बेला सबै ठिक हुँदाहुँदै पनि वित्तीय संकट आयो । त्यसको असर नेपालमा पनि पर्यो । केही नेपाली बैंक नै विलीन भए । त्यो बेला बैंकको कर्जा असुलीमा समस्या भयो । त्यस अगाडि बैंकिङ बुम थियो । तर, त्यो संकटपछि धेरैले रोजगारी गुमाए । अमेरिकी सरकारले केही बिग बैंकलाई बचाउनका लागि रेस्क्यू गर्नुपर्यो । पछि सुधार हुँदै गयो । अहिले अमेरिमा ठूला बैंक एकदमै बलिया छन् ।

कुनै बेला नेपाली बैंकको नन पर्फर्मिङ एसेट (एनपीए) १५ प्रतिशत बढी थियो । केहीको ४० प्रतिशत बढी पुगेको उदाहरण पनि हामीसामू छन् । त्यतिखेर बैंकको पर्फर्मेन्सप्रति नैराश्यता थियो । त्यसपछि फेरि बुम भयो । सबैको रोजाइ बैंकिङ क्षेत्र बन्यो । सहजै कर्जा पाइन्थ्यो । आकर्षक लाभांश थियो । घरजग्गा पनि बुलमा थियो । तर, अहिले फेरि नैराश्यता सुरु भएको छ । अधिकांश बैंकले लाभांश दिन सकेका छैनन् । कुनै बेला बैंकमा जागिर गर्न तछाडमछाड गर्ने युवाहरू अहिले काम छोडेर विदेशतर्फ लागिरहेका छन् ।

घरजग्गा बुलमा रहेको समयमा मान्छेको रहनसहन तथा जीवनशैलीमा परिर्वतन भयो । तर, अहिले घरजग्गा क्षेत्रमा मन्दी सिर्जना हुँदा धेरैलाई सकस भएको छ । एउटा चक्र हो । सबै व्यवसायमा नाफा बढाउनुपर्छ भन्ने मेन्टालिटी हुन्छ । नियामकलाई सहीरूपमा नियमन गर्नुपर्छ भन्ने हुन्छ । राज्यले वित्तीय स्थिरता कायम गर्नुपर्छ भन्ने मान्यता राख्छ । यी सबै कुरा राम्रो हुँदै जाँदा पनि समस्या आउँछ । मान्छेलाई एउटा घर भयो भने भइहाल्छ नि किन चार घर, चार ठाउँमा जग्गा चाहियो ? व्यक्तिमा सम्पत्ति बढाउने हुटहुटी छ । संस्थामा जसरी बढीभन्दा बढी नाफा कमाउने उद्देश्य छ । त्यसैले पनि यो समस्या सिर्जना हुनुमा एउटा, व्यक्ति, संस्था वा नियामकलाई दोष दिनु हुँदैन । यसमा सबै दोषी छन् । नीति निर्माताहरूले पनि समयमै निर्णय लिन सक्नुपर्छ । जब नीतिगत अस्थिरता हुन्छ अनि समस्या सिर्जना हुन्छ । आम्दानी बढाउने गतिविधिमा मान्छे बढी लागिरहेका छन् तर त्यो उत्पादनमुलक क्षेत्रमा प्रयोग भएन ।

एउटा ब्युटिपार्लरले राम्रो बिजेनस गर्यो भने सबैले त्यही ठाउँमा लगानी गर्छन् । नयाँ इनोभेसन छैन । सूचना प्रविधिमा जुन किसिमको इनोभेसन देखिइरहेको छ त्याे सन्तोषजनक छ । यसलाई बढाउनुपर्छ । तर, अन्य कुनै पनि इनोभेसन भएन । मान्छेहरूमा कन्फिडेन्स कम छ । लगानी गर्न पनि कन्फिडेन्स छैन । डिफल्ट बढिरहेको छ । डिफल्ट बढ्नुको कारण पनि अनुत्पादक क्षेत्रमा लगानी गर्नाले हो । अनुत्पादक क्षेत्रमा लगानी गर्नेहरूको कारण उद्योग व्यवसाय गर्नेहरूलाई समस्या भएको छ ।

(तत्कालीन सनराइज बैंकका सीईओ शर्मासँग गरेको कुराकानीमा आधारित) 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.